म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रूपान्तरण « Khabarhub

म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रूपान्तरण


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुना ‘एफएम भिलेज’ ‘फ्रुट’(फलफूल) र ‘मिल्क’ दूध गाउँमा रूपान्तरण भएको छ । करिब १६ घरपरिवारको बसोबास रहेको बास्कुनाका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती र गाईभैँसीपालन गरेर फलफूल र दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका हुन् । 

झण्डै २० वर्षअघि अगुवा किसान तिलक गुरुङले बास्कुनालाई ‘एफएम भिलेज’ बनाउने परिकल्पना गरेका थिए ।

‘धान फल्ने खेतबारी मासेर काँडाको रुख रोप्न थालेको भनेर सुरु सुरुमा धेरैले विश्वास गरेनन्, म आफैले सुन्तला र दूध बेचेर आम्दानी गर्न थालेपछि बल्ल साथ पाए’, उनले भने, ‘पूरै गाउँ सुन्तलाखेती र दूध उत्पादनमा आवद्ध भएपछि बास्कुनालाई एफएम भिलेज बनाउने मेरो सपना पूरा भएको छ ।’

तीन सय ५० बोटमा गतवर्ष रु १४ लाखको सुन्तला बिक्री गरेका केञ्जन बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक गुरुङले दैनिक ९० लिटर दूध बिक्री गर्छन्। 

यसवर्ष सुन्तला बिक्रीबाट गाउँमा दुई करोड भित्रने बास्कुना कृषि सहकारी संस्थाका सञ्चालकसमेत रहेका किसान गुरुङको अनुमान छ । धादिङबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर प्रतिकिलो ८० का दरले बेनी, पोखरा, काठमाडौंमा बास्कुनाका सुन्तला टिपेर लैजाने गरेका छन् । बास्कुना कृषि सहकारी संस्थामार्फत प्रति दिन ५०० देखि एक हजार लिटर दूध पोखराको सुजल डेरीमा बिक्री हुने गरेको छ । 

यसअघि बेनीमा दूध बेच्दै आएका यहाँका किसानले गत असोजदेखि सिङ्गामा संकलन केन्द्र स्थापना गरेर पोखरामा बिक्री गर्न थालेका हुन् । बास्कुना, सुर्केमेला र थामडाँडाका ४० घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । करिब ५० हजार उत्पादन दिने सुन्तलाका बोट छन् । पूर्व फर्किएको बास्कुना गाउँभरि सुन्तलाखेती छ । लटरम्म फलेका सुन्तलाले गाउँ रङ्गिएको छ । सुन्तला बगैँचा अवलोकनका लागि किसान समूह र पाहुना बास्कुना पुग्छन् ।

खेतबारीमा धान, मकै र कोदोबाली रोप्न छाडेर सुन्तलाखेती गरेका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । किसान मेककुमारी र टेकबहादुर खत्री दम्पत्तीले यसपाली रु १० लाख मूल्य बराबरको सुन्तला बिक्री गरे । गतवर्ष नौ लाखको सुन्तला बेचेका खत्रीले यसपालि उत्पादन दिने बोट थपिएकाले उत्पादन र आम्दानी बढेको बताए। 

सुन बचेर सुन्तलाखेती गरेकी ७० वर्षीय तीलकुमारी हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तलाखेतीबाटै फेरिएको छ ।

‘सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ’, उनले भनिन्, ‘यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ ।’ उनी र दुई छोराको सुन्तला बगैँचामा अहिले करिब चार सयबढी बोट छन् । वार्षिक १५ लाख मूल्य बराबरको सुन्तला बिक्री हुने हुमेनले बताइन्। 

सुन्तला बिक्री गरेर एकजना किसानले रु एक लाखदेखि १५ लाखसम्म आम्दानी गरेका छन् । बास्कुनाको सुन्तला अन्य ठाउँको भन्दा रसिलो, गुलियो र स्वादिलो हुने सुन्तला व्यापारी कान्छा तामाङले बताए । मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले सुन्तलाको न्यूनतम मूल्य कायम गरिएको बेनी–४ का वडासदस्य सन्दीप खत्रीले बताए । गतवर्ष ८५ प्रतिकिलो सुन्तलाको मूल्य कायम भएको थियो ।

‘यसअघि मङ्सिरमा रङ र गुलियो नपस्दै सुन्तला बजार पठाउँदा नराम्रो सन्देश गएको थियो । किसानले व्यापारीले जति भने त्यति मूल्यमा सुन्तला बेच्ने गरेका थिए’, उनले भने, ‘पछिल्लो तीन वर्षयता किसानले सामान र उचित मूल्य पाउने, पाकेको गुणस्तरीय र स्वादिलो सुन्तला बजारमा जाने वातावरण बनाएका छौँ ।’

कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झर्‍याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने प्लास्टिकको थैलोलगायतका सामग्री सहयोग गरिएको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताए।

प्रदेश सरकारमार्फत तीन वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण भएको थियो । सिँचाइ सुविधा भएपछि सुन्तलाखेती गरेका किसानलाई सहज भएको छ । बेनी–थामडाँडा–बरङ्जा सडक स्तरोन्नति नहुनु, बाँदर आतंक र सुन्तलाको दाना झर्ने समस्या मुख्य चुनौतीका रुपमा देखिएको किसानले बताएका छन् ।

किसानसमेत रहेका वडासदस्य खत्रीले बेनी–थामडाँडा सडक स्तरोन्नति, सिँचाइ आयोजनाको क्षमता विस्तार गर्न पहल गरेको र दाना झर्ने समस्या समाधानका लागि कृषि निर्देशनालयसँग समन्वय गरेको बताए। 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १ : २१ बजे

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी