काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि घुस रिसवत लेनदेन र सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको छ। अख्तियारले त्यस प्रकरणसँग थप जोडिएका केही विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
अख्तियारले भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकसहित गृहमन्त्रालयका विभिन्न ओहदाका अधिकारीको संलग्नताको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईको तत्कालीन गृहमन्त्री रमेश लेखकको सचिवालय र मन्त्रालयका विभिन्न तहका अधिकारीसँग अस्वभाविक सम्बन्ध देखिएको भन्दै लेनदेन समेत हुनसक्ने भन्दै अनुसन्धान भइरहेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, भट्टराईले कार्यालयको जिम्मेवारी सम्हालेको समयमा ३० हजार बढी नेपाली विदेश गएको अहिलेसम्म पनि नफर्किएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रमुख अध्यागमन अधिकृतको रूपमा तीर्थराज भट्टराई मिति २०८१.०६.२३ देखि २०८२.०२.०७ सम्म कार्यरत रहेको देखिएको । उक्त अवधिमा जम्मा १,५३,९७४ (एक लाख त्रिपन्न हजार नौ सय चौहत्तर) जना व्यक्ति भिजिट भिसामा विभिन्न देशहरूमा गएको बेहोरा त्रि.अ.वि अध्यागमन कार्यालयका चलानी नम्बर २३८ मिति २०८२.०५.०४ गतेको पत्रसाथ प्राप्त विवरणबाट देखिएको। उक्त १,५३,९७४ जना व्यक्तिहरू मध्ये जम्मा ४२,३५७ (बयालिस हजार तीन सय सन्ताउन्न) जना व्यक्तिहरु (श्रमका हिसाबले जोखिमपूर्ण देशहरू युएईमा २३,३४९ जना, ओमान ७,१६१ जना, त्तबतबच – २,७१९ जना गरी जम्मा ३३,२२९ जना व्यक्तिहरू उक्त संख्या मध्ये १६,७६९ महिला रहेको) भिजिट भिसामा विदेश गएको लामो अवधि व्यतित हुँदा पनि अझैसम्म (२०८२.०४.२९ सम्म) स्वदेश फर्केको देखिएन । ती नेपाली नागरिकहरू कहाँ कस्तो अवस्थामा छन् कसरी गए, को-को मार्फत गए, भिजिटमा गएर हालसम्म किन फर्किएनन् लगायतको सम्बन्धमा’, अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न ट्राभल एजेन्सी मार्फत भिजिट भिसामा विदेश गएका यात्रीहरूको भोइड हुने टिकटहरू एउटै प्यासेन्जर नेम रेकर्ड दुईवटा नम्बरको टिकट भएको आयोगले जनाएको छ ।
यस्तो किसिमका टिकट हुँदाहुँदै ग्राउन्ड ह्यान्डलिङ गर्ने कर्मचारी र अध्यागमन अधिकृतले विदेश प्रस्थानको अनुमति दिएको देखिएको भन्दै यस सम्बन्धमा ग्राउन्ड ह्यान्डलिङ गर्ने निकाय तथा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका संलग्न कर्मचारीहरूको बदनियतको सम्बन्धमा थप छुट्टै अनुसन्धान गर्नु पर्ने देखिएको भन्दै आयोगले राष्ट्रसेवकको बदनियतपूर्वक संलग्नतामा सेटिङ्ग गरी भिजिट भिसामा विदेश पठाउने ट्राभल एजेन्सीहरुको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
नेपालको विमानस्थल प्रयोग गरी तेस्रो देश जाने भारतीय नागरिकहरूले भारतीय दूतावासबाट नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्ने व्यवस्था रहेकोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भारतीय नागरिकहरूलाई समेत बदनियतपूर्वक सेटिङ गरी एनओसी बिना नै ती मुलुक पठाएको देखिएको आयोगले जनाएको छ ।
त्यस क्रममा तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई लगायत अध्यागमन कार्यालयका कर्मचारीहरूले ठूलो रकम असुली गरेको हुन सक्ने देखिएको भन्दै आयोगले कति भारतीयहरू एनओसीबिना नै तेस्रो देश जाँदा के कति रकम असुली भयो र यो रकम कहाँ कहाँसम्म पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको आयोगको भनाइ छ ।
यसका साथै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कालोसूचीमा रहेका मानिसले प्रस्थान अनुमति लिई विदेश यात्रा गरेको भनी तत्कालीन प्रमुख अध्यागन अधिकृत तीर्थराज भट्टराईले अधिकार प्राप्त अधिकारीसमक्ष वयानमा खुलाएको देखिएको सम्बन्धमा पनि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
अख्तियारको अनुसन्धानअनुसार विदेशको वर्किङ्ग भिसा लिएका नेपाली नागरिकहरू पनि भिजिट भिसामा विदेश गएको देखिएको छ ।
त्यस्ता नेपाली नागरिकहरूलाई भिजिट भिसामा विदेश पठाउँदा भिजिट भिसामा लिने रकम भन्दा बढी रकमको चलखेल गरी विदेश पठाएको समेत अनुसन्धानको एक प्रसङ्गमा खुल्न आएको भन्दै यसरी वर्किङ भिसा लिएको मानिस किन भिजिट भिसामा विदेश जान्छन्, यस्तो भिसामा को–को गएका छन् र यस कार्यमा संलग्न राष्ट्रसेवकको सम्बन्धमा अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
काठमाडौंको सामाखुशीमा संचालित नवदुर्गा गेष्ट हाउस बर्दियाकी होटल सञ्चालिका लिला तिमिल्सेनाको ९८४४८२३०४१ मोबाइल नम्बर राखी १४९ जनासम्मको राहदानी बनाएको अनुसन्धानबाट खुल्न आएकोले उक्त कार्यमा संलग्न राष्ट्रसेवकहरूको सम्बन्धमा पनि थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ ।













प्रतिक्रिया