एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ « Khabarhub

अन्तर्वार्ता

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

पाटीभित्र जेन–जीको पक्षमा आवाज उठाइरहेको छु


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन बाँकी छ। यस पटक ४० वर्षमुनिका युवा पनि केन्द्रीय कमिटीका लागि तयारी गरिरहेका छन् । एमालेमा यो पटक २५१ केन्द्रीय कमिटी बन्दा १० प्रतिशत अथवा २५ जना युवा अट्ने छन् ।

यो अवसरका कारण युवाहरूले केन्द्रीय कमिटीमा इच्छा जाहेर गरिरहेका छन्। त्यसमध्ये विगठित प्रतिनिधि सभा सांसद सुहाङ नेम्बाङदेखि, गोरखाबाट २०७९ को निर्वाचनमा उम्मेदवारी दिएका अब्दुस मियासम्म छन्।

यस्तै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि केन्द्रीय कमिटीमा आउने अनुहारमा गनिँदै छ। पूर्व अखिल अध्यक्ष नबिना लामा, सुनिता बराल, युवा संघका अध्यक्ष क्षितिज थेबे, निवर्तमान अखिल अध्यक्ष नरेश रोकाया, अखिल नेता दानसी परियार, सुनिल थापा, बागमती पार्टी सचिव भक्तकुमारी लामा, नेता जेनिस लामा, नवराज ओझा, वकिल राधिका लगायतका युवा अहिले केन्द्रीय कमिटीमा आउने लबिइङमा छन् ।

उनीहरूले नेताहरूलाई भेटघाट गर्नेदेखि व्यक्तिगत तयारी र सामूहिक तयारी समेत गरिरहेको बुझिन्छ । यसबारे सांसद नेम्बाङ पनि आफू केन्द्रीय कमिटीमा जानका लागि छलफल गरिरहेको बताउँछन्। नेम्बाङ युवाको तर्फबाट एमालेलाई हेर्दा पार्टीमा केही गल्ती कमजोरी भएकाले यसलाई सच्याएर अगाडि बढ्नुपर्ने धारणा राख्दछन् ।

‘शत प्रतिशत म मात्रै हो भन्ने भावना लिनु हुन्न । कमजोरी सच्याएर जानुपर्छ,’ उनले भने, ‘जेन–जी आन्दोलनपछि एमालेले मात्रै होइन, सबै पार्टीले आत्मालोचना गर्ने बेला भएको छ।’

उनी एमालेले ११ औँ महाधिवेशनबाट जनता र देशको भावना समेटेर अगाडि बढ्नुपर्ने बताउँछन्। कार्यकर्ता र जनताले के चाहेका छन् भन्ने कुरा आफ्ना नेताहरूलाई थाहा भएकाले त्यसै अनुरूप अगाडि बढ्नका लागि उनी सुझाव दिन्छन् ।

एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि उनी कुन टिममा रहने तय गरिसकेका छैनन् । यसबारे भने, ‘म खुलाबाट उम्मेदवारी दिन्छु । गुटभन्दा स्वस्थ ढङ्गले प्रतिस्पर्धा हुनुपर्ने मेरो मान्यता छ। पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्ने बेला छ।’

नेम्वाङ केपी शर्मा ओलीका विश्वासिला पात्र मानिन्छन् । तर उनले एमालेको नेतृत्व परिवर्तनका पक्षमा उभिने पनि सम्भावना छ । अधिवक्ता समेत रहेका नेम्बाङसँग एमाले महाधिवेशनमा युवा सहभागिता, युवाको नजरमा महाधिवेशन र अबको नेतृत्वबारे कुराकानी गरेका छौँ। उनीसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

यहाँ केन्द्रीय कमिटीमा उठ्दै हुनुहुन्छ रे हो ?

हो । म केन्द्रीय कमिटीमा जाने तयारीमा छु । अहिले पार्टीले आफ्नो कोर्स करेक्सन गर्दै अगाडि जाने हो भने आउँदो पुस्तालाई समेट्नु पर्छ । राम्रो स्कुलिङ गर्दै उहाँहरूलाई भावी चुनौतीको सामना गर्न सक्ने बनाउँदै जानुपर्छ । पार्टीले युवा समायोजन गर्ने कुरा स्वागतयोग्य छ । त्यसमा सहभागी हुन पाउँदा खुसी छु ।

जेन–जी आन्दोलनपछि अहिलेको नेतृत्व परिवर्तन गर्ने कुरा सबै पार्टीमा उठेको छ, तर यहाँले एमाले नेतृत्व हस्तान्तरणबारे बोल्नुभएन । युवा भएर पनि अध्यक्ष केपी शर्मा ओलीको बचाउमा लाग्नुभयो भन्छन् नि ?

यो त पोल्ने गरी सोध्नुभयो । जेन–जी साथीहरूले बुझ्नुभएको छ । म उहाँहरूको पक्षमा छु । मैले पाटीभित्र जेन–जीको पक्षमा आवाज उठाइरहेको छु । मैले अग्रजहरूलाई खबरदारी गरिरहेको छु । महाधिवेशनमा युवा आउन जरुरी छ । युवाको भावना समेट्न र बुझ्न सक्ने नेतृत्व आउनुपर्छ भनेरै उठ्ने निर्णय गरेको छु । एकै पटक नेतृत्व परिवर्तन हुन कहाँ सम्भव छ र ?

उसो भए यहाँको उम्मेदवारी कुन समूहबाट रहन्छ ?

केन्द्रीय सदस्यमा प्यानल छैन जस्तो लागेको छ । म खुल्लाबाट उम्मेदवारी दिन्छु । हाम्रो पार्टीको सिद्धान्त नै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने भएकाले प्रतिस्पर्धा हुन्छ । सर्वसम्मत नभए चुनाव हुन्छ । पार्टी सबै परिवार हो, तर लोकतन्त्रलाई अँगाल्ने भएकाले नेताहरूबीच प्रतिस्पर्धा हुन सक्छ । गुटगत भन्दा स्वास्थ्य र स्वतन्त्र प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्यता छ । किनकि पार्टी एक ढिक्का हुनुपर्छ ।

यहाँ त प्रतिनिधि सभाको सांसद पनि हुनुहुन्थ्यो, के ४० वर्षमुनिका नेताहरू पदाधिकारीमा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराउन सामूहिक छलफल गर्दै हुनुहुन्छ ?

हामीले मात्रै होइन अग्रजहरूले पनि गर्नुभएको छ । यो छलफल सबैतिर भएको छ । यो पटक जिल्ला जिल्लाबाट छनोट हुँदा युवा कलस्टर राख्नु पनि यसैको उपज हो । पदाधिकारीमा त मलाई जानकारी भएन केन्द्रीय कमिटीमा धेरै युवा आउनुहुन्छ । यो राम्रो कुरा पनि हो । १० प्रतिशतभन्दा बढी युवा आउनुहुन्छ भन्ने लागेको छ । यसबारे हामीले तयारी पनि गरिरहेका छौँ । देशले युवा प्रतिनिधित्व मागेको छ । पार्टीले पनि हामीलाई अगाडि सारेको छ ।

एमालेमाथि उठेको चौतर्फी प्रश्नलाई ११ औँ महाधिवेशनले सम्बोधन गर्ला ?

महाधिवेशन नेता परिवर्तन, आत्मलोचना र आत्मासमीक्षा गरेर सँच्चिएर अगाडि जाने अवसर पनि हो । त्यसकारण महाधिवेशनपछि सबै एक ढिक्का भएर अगाडि बढ्छ । प्रत्येक जनताको भावना र चुनौतीलाई समाधान गर्ने हिसाबले अगाडि बढ्छ । यो एउटा सन्देश पनि हो । प्रतिनिधिले पनि यो बुझ्नुभएको छ नि ।

यहाँ त अधिवक्ता पनि युवा पनि साँच्चै छातीमा हात राखेरभन्दा एमालेले आलोचना गर्नुपर्ने बेला आएको हो ?

एमालेले मात्रै होइन । आत्मलोचना सबै पार्टीले गर्नुपर्ने बेला आएको छ । सबै नेताले गर्नुपर्ने छ । शतप्रतिशत म मात्रै हो भन्ने खालको भावना रहनु हुन्न । कमी कमजोरी सच्चाएर जानुपर्छ । कसको के बेला आयोभन्दा पनि सबैको गल्ती छ सँच्चिएर जानुपर्छ । सबै सँच्चिनुपर्छ भन्ने सन्देश छ । आलोचना सबैले गर्नुपर्छ र गरौँ पनि ।

एमालेले महाधिवेशनबाट के –के कुराचाहिँ सच्याउनुपर्छ ?

देश र जनताको भावना समेटेर अगाडि जानुपर्छ । कमी कमजोरी भन्दा पनि जनता र कार्यकर्ताले के चाहेका छन्, त्यो नेतृत्वले बुझेका छन् । सँच्चिएर जानुपर्छ । हामी सबैले आत्मलोचना गर्नुपर्छ । मैले त माफी पनि मागिसकेको छु । अरू नेताहरूले पनि माग्नुहोला । पार्टी सङ्गठनलाई पनि एकता र सुदृढ बनाएर यो महाधिवेशन अगाडि बढ्छ भन्ने लागेको छ । महाधिवेशनपछि एमाले अझै बलियो र एकताबद्ध र सुदृढ भएर जनताबीचमा जान्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : ०१ बजे

ललितपुरमा पाँच वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं – उपत्यकाको ललितपुरस्थित युएन पार्क नजिक आज अपराह्न करिब

ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं- ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको

यूक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका विमानस्थलहरू प्रभावित

मस्को – रूसले रातभरि लगभग ३०० यूक्रेनी ड्रोन नष्ट गरेको

‘वनफूलको विद्रोह’ कविता कृति विमोचन

काठमाडौं – सभ्यता अन्वेषण केन्द्रले आज यहाँ आयोजित एक कार्यक्रमकाबीच

नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन : बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले