पोखरा– बुढेसकाल भनेको जीवनको ओझेलतिरको यात्रा हो भन्ने मान्यता छ । तर, कहिलेकाहीं त्यही बुढेसकाल उज्यालो बन्छ, प्रेरणाको प्रकाशस्तम्भ बनिदिन्छ । पोखराको माछापुच्छ्रे टोलमा यस्तै एक प्रेरणादायी उज्यालो बनेकी छन्- १०७ वर्षीया इन्द्रकला गौतम ।
दुई छोरी र दुई छोराकी आमा इन्द्रकलाको जीवनकै दुर्लभ संयोग जुरेको छ अहिले । समयले उनको अनुहारमा झिनो मुस्कान राखेको छ, आँखामा गहिरो शान्ति । लौरीको सहारामा हिँड्ने भए पनि उनी निरन्तर रूपमा जीवनलाई हेरिरहेकी छन् नाती, पनाति, खनातीहरूको भीडमा आफ्नै जेठा छोराको चौरासी पूजाको तयारी नियाल्दै ।
‘म धेरै बाँचें,’ उनी भन्छिन्, ‘तर आजजस्तो दिन बाँच्न पाउनु, यो त स्वर्ग पाउनु सरह हो ।’
इन्द्रकलाकी बुहारी डासीमाया अहिले ८३ वर्षकी भइन् । भन्छिन्, ‘सासूआमाले जुन सङ्घर्ष गर्नुभयो, त्यसको फल आज हामीले भोगिरहेका छौं । ठूलो परिवार, त्यसमाथि ससुरा गुमाउनु परेको अवस्था उहाँले सबै सम्हाल्नुभयो ।’
यी वाक्यहरू केवल भावुकताका लागि होइनन्, एउटा युगको कथा बोकेका छन् । यो त्यो युग हो, जहाँ महिलाहरूले शब्दभन्दा बढी कर्म गरेर इतिहास लेख्थे ।
८ वर्षको उमेरमा बाबु गुमाएका डण्डपाणिले बाल्यकाल आमाकै सहारामा बिताए । तनहुँको बाबियाडाँडा मुलर थलो भएका उनी मावली स्याङंजाको कुलवाँध हो । उनले बाल्यकालमा आमाको हातबाट रोटी खाए, किशोर हुँदा आमाको प्रेरणाले पढे-बढे, र प्रौढ भएपछि राजनीतिमा होमिए । दुईपटक वडाध्यक्ष, सुकुम्बासी आयोगको सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष – यी पदहरू उनले भोगे, तर कहिल्यै पनि आमाको सल्लाहबिना कुनै निर्णय लिएनन् ।
‘म राजनीतिमा थिएँ, समाजसेवामा पनि लागेँ । तर जहाँ गएँ, आमा सधैँ साथमा हुनुहुन्थ्यो । उहाँको हिम्मत मेरो बल बन्यो,’ उनी सम्झिन्छन् ।
आज, ८३ वर्षको उमेरमा उनले आफ्नै चौरासी पूजा गर्दा आमा सँगै भएको देख्दा आँखा रसाउँछन् । ‘मैले आमा बिना जिन्दगी सोच्न सक्दिनँ,’ उनी भन्छन्, ‘उहाँ आमा मात्र होइन, बाबा पनि उहाँ नै हुनुहुन्थ्यो ।’
चौरासी पूजा केवल विधि होइन, यो संस्कार हो- जसले जिन्दगीलाई सम्मान गर्छ, समयलाई आदर गर्छ । यो त्यो क्षण हो, जहाँ परिवार एकताबद्ध हुन्छ, पुराना घाउहरू सम्झनामा परिणत हुन्छन्, र आशिर्वादको स्वर गुञ्जिन्छ ।
इन्द्रकलाको हातबाट छोरा र बुहारीको पूजा हुनु भनेको परम्पराको अद्भुत पुनर्जन्म हो ।
आज सोमबार हुने पूजाका लागि घरमा अहिले तयारी चलिरहेको छ, रोटी पकाउने, कसार बनाउने, रंगीन कपडाले आँगन सजाउने । पूजाको दिन आज सबै आफन्त, नातेदार, छिमेकी भेला हुनेछन् । तर त्यो भीडभित्र सबैभन्दा प्रमुख अनुहार भनेकी हुनेछन्, आमा ईन्द्रकला, जो छतबाट सारा दृश्य नियालिरहेकी हुन्छिन्, नतमस्तक भएर, सन्तोषका आँसु लुकाउँदै ।
इन्द्रकला आज पनि पूर्ण थलिएकी छैनन् । खानपान राम्रो छ, स्मरण शक्ति ठिकै छ । केवल शारीरिक सहारा चाहिन्छ ।
उनी भन्छिन्, ‘नातिनातिनाको पनि चौरासी हेर्ने मन छ, भगवानले सुन्नुभएछ भने!’
प्रतिक्रिया