समयसँगै जोडिएको सौभाग्य : आमाको काखमा छोराको चौरासी « Khabarhub

समयसँगै जोडिएको सौभाग्य : आमाको काखमा छोराको चौरासी


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

पोखरा– बुढेसकाल भनेको जीवनको ओझेलतिरको यात्रा हो भन्ने मान्यता छ । तर, कहिलेकाहीं त्यही बुढेसकाल उज्यालो बन्छ, प्रेरणाको प्रकाशस्तम्भ बनिदिन्छ । पोखराको माछापुच्छ्रे टोलमा यस्तै एक प्रेरणादायी उज्यालो बनेकी छन्- १०७ वर्षीया इन्द्रकला गौतम ।

दुई छोरी र दुई छोराकी आमा इन्द्रकलाको जीवनकै दुर्लभ संयोग जुरेको छ अहिले । समयले उनको अनुहारमा झिनो मुस्कान राखेको छ, आँखामा गहिरो शान्ति । लौरीको सहारामा हिँड्ने भए पनि उनी निरन्तर रूपमा जीवनलाई हेरिरहेकी छन् नाती, पनाति, खनातीहरूको भीडमा आफ्नै जेठा छोराको चौरासी पूजाको तयारी नियाल्दै ।

‘म धेरै बाँचें,’ उनी भन्छिन्, ‘तर आजजस्तो दिन बाँच्न पाउनु, यो त स्वर्ग पाउनु सरह हो ।’

इन्द्रकलाकी बुहारी डासीमाया अहिले ८३ वर्षकी भइन् । भन्छिन्, ‘सासूआमाले जुन सङ्घर्ष गर्नुभयो, त्यसको फल आज हामीले भोगिरहेका छौं । ठूलो परिवार, त्यसमाथि ससुरा गुमाउनु परेको अवस्था उहाँले सबै सम्हाल्नुभयो ।’

यी वाक्यहरू केवल भावुकताका लागि होइनन्, एउटा युगको कथा बोकेका छन् । यो त्यो युग हो, जहाँ महिलाहरूले शब्दभन्दा बढी कर्म गरेर इतिहास लेख्थे ।

८ वर्षको उमेरमा बाबु गुमाएका डण्डपाणिले बाल्यकाल आमाकै सहारामा बिताए । तनहुँको बाबियाडाँडा मुलर थलो भएका उनी मावली स्याङंजाको कुलवाँध हो । उनले बाल्यकालमा आमाको हातबाट रोटी खाए, किशोर हुँदा आमाको प्रेरणाले पढे-बढे, र प्रौढ भएपछि राजनीतिमा होमिए । दुईपटक वडाध्यक्ष, सुकुम्बासी आयोगको सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष – यी पदहरू उनले भोगे, तर कहिल्यै पनि आमाको सल्लाहबिना कुनै निर्णय लिएनन् ।

‘म राजनीतिमा थिएँ, समाजसेवामा पनि लागेँ । तर जहाँ गएँ, आमा सधैँ साथमा हुनुहुन्थ्यो । उहाँको हिम्मत मेरो बल बन्यो,’ उनी सम्झिन्छन् ।

आज, ८३ वर्षको उमेरमा उनले आफ्नै चौरासी पूजा गर्दा आमा सँगै भएको देख्दा आँखा रसाउँछन् । ‘मैले आमा बिना जिन्दगी सोच्न सक्दिनँ,’ उनी भन्छन्, ‘उहाँ आमा मात्र होइन, बाबा पनि उहाँ नै हुनुहुन्थ्यो ।’

चौरासी पूजा केवल विधि होइन, यो संस्कार हो- जसले जिन्दगीलाई सम्मान गर्छ, समयलाई आदर गर्छ । यो त्यो क्षण हो, जहाँ परिवार एकताबद्ध हुन्छ, पुराना घाउहरू सम्झनामा परिणत हुन्छन्, र आशिर्वादको स्वर गुञ्जिन्छ ।

इन्द्रकलाको हातबाट छोरा र बुहारीको पूजा हुनु भनेको परम्पराको अद्भुत पुनर्जन्म हो ।

आज सोमबार हुने पूजाका लागि घरमा अहिले तयारी चलिरहेको छ, रोटी पकाउने, कसार बनाउने, रंगीन कपडाले आँगन सजाउने । पूजाको दिन आज सबै आफन्त, नातेदार, छिमेकी भेला हुनेछन् । तर त्यो भीडभित्र सबैभन्दा प्रमुख अनुहार भनेकी हुनेछन्, आमा ईन्द्रकला, जो छतबाट सारा दृश्य नियालिरहेकी हुन्छिन्, नतमस्तक भएर, सन्तोषका आँसु लुकाउँदै ।

इन्द्रकला आज पनि पूर्ण थलिएकी छैनन् । खानपान राम्रो छ, स्मरण शक्ति ठिकै छ । केवल शारीरिक सहारा चाहिन्छ । 

उनी भन्छिन्, ‘नातिनातिनाको पनि चौरासी हेर्ने मन छ, भगवानले सुन्नुभएछ भने!’

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १ : ०३ बजे

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका

नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ

धनकुटा– सहिदभूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ९०

पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुङ्ग्याउन गम्भीर छलफल गर्दै रवि

काठमाडौं- पहिलो महाधिवेशन सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका