काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मास डिस्ट्रक्सन (सर्वनाशक)का हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भइरहेको बताएका छन् । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक भएको बताएका छन् ।
सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्तीका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबाट उन्मूक्तिका लागि विश्व शान्तिको पक्षमा रहनुपर्ने बताएका छन् ।
‘आज जतिबेला मास डिस्ट्रक्सनका हतियारहरूको निर्माण र त्यसको थुप्रो लगाउने काम भएको छ, यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसबाट उन्मूक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनुपर्छ र काम गर्नुपर्दछ ।’ उनले भने ।
उपदेशमार्फत् बुद्धले दिनुभएको शिक्षा विश्वका लागि महत्त्वपूर्ण भएको बताउँदै ओलीले भारत र पाकिस्तानको युद्धविरामको सम्झौताप्रति प्रतिबद्ध भएकामा धन्यवाद दिए ।
‘हाम्रा छिमेकी मुलुकहरूको अलिकति हातहालाहाल त भएको थियो, हातहालाहाल बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस्, यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूसँग पनि कुरा गर्यौं । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता गर्नुभयो । फेरि पनि केही कचकचहरू आरोप र प्रत्यारोपहरूको स्थिति छ ।’
ओलीले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि रहेको बताए । व्यक्तिको मनस्थिति र पारिवारिक शान्तिका लागि शान्तिको महत्त्व रहेको बताए । प्रधानमन्त्री ओलीले मूल कुरा बुद्धका उपदेशमा केन्द्रि रहनुपर्ने बताए ।
‘बुद्धिजम फैलने क्रममा कतै महायानका रूपमा रह्यो । कतै थिरवादका रूपमा रह्यो । कतै बज्रयानका रूपमा रह्यो । सबैका सानातिना भिन्नता रहे पनि मूल कुरा बुद्धका उपदेश हुन् । शान्तिका उपदेश हुन् । मानवतावादका उपदेश हुन् । र, करुणाका उपदेश हुन्,’ ओलीले भने, ‘डिफरेन्सेजमा होइन, बुद्धका मुख्य उपदेशहरू, आदर्शहरूलाई समाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्र, यसको बफरजोनको विकासमा लाग्ने बतए । बुद्धको शिक्षा, उपदेशको विस्तारका लागि र तिनको व्यवस्थित बुझ्ने, बुझाउने, खोज अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्व विद्यालयको स्थापना गरेको बताए ।
उनले भने, ‘विश्वविद्यालयले बुद्धिजमको खोज, अध्ययन र अनुसन्धानमा ध्यान दिने छ । र यसमा महत्त्वपूर्ण योगदान पुर्याउने छ भन्नेमा विश्वास गर्दछु ।’
प्रतिक्रिया