पर्यटन प्रवर्धन गर्दै चतरा हाइकिङ « Khabarhub

पर्यटन प्रवर्धन गर्दै चतरा हाइकिङ


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धार्मिक तीर्थको केन्द्र वराहक्षेत्रका ऐतिहासिक, पुरातात्विक र धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न विगत ३ वर्षदेखि हाइकिङ आयोजना गरिँदै छ । चतरा हाइकिङ समूहले सोमबार नयाँ गन्तव्यको यात्रा गरेको छ ।

समूहले पहिचान गरेको हाइकिङको नयाँ गन्तव्यको औपचारिक यात्रा सुरु गरेको बराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापाले जानकारी दिए । वडाध्यक्ष थापाले नै नयाँ गन्तव्यको औपचारिक उद्घाटन गरे ।

स्थानीय पत्रकारहरूको सक्रियतामा सुरु भएको चतरा हाइकिङ समूहले हाइकिङका नयाँ गन्तव्यको खोजीसँगै स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले हाइकिङ यात्रा आयोजना गर्दै आएको छ ।

विशेषगरी शनिबार आयोजना गरिने यो पदयात्रा सुनसरीको चतरामा बिहान भेला भएर ३ किलोमिटरदेखि १० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । आधा दर्जन बढी गन्तव्यलाई चतरा हाइकिङले प्रवर्धन गर्दै आएको छ ।

यी गन्तव्यमा ऐतिहासिक किल्ला, दरबार, मन्दिरलगायतका धार्मिक क्षेत्रको प्रवर्धन गर्ने उद्देश्य रहेको चतरा हाइकिङका संस्थापक भीषण राई बताउँछन् ।

हाइकिङ समूहले चतरास्थित खारखोलाबाट कटहरे–चियाबारी–सूर्यकुण्ड हुँदै लालकोट गढी पुग्ने ८ किलोमिटरको हाइकिङ रुटबाट यात्रा सुरु गरेको हो । यस्ता हाइकिङ रुट आधा दर्जन बढी पहिचान गरी यात्रा सुरु गरको छ ।

झण्डा चोक–बान्द्रे चौरी–अर्चले–लालकोट गढी हुँदै ५ किलोमिटर दूरी रहेको अर्को हाइकिङ रुट छ । यस्तै मिलन चोक–फूलबारी–अर्चले हुँदै लालकोट गढी जोड्ने ४.५ किलोमिटरको हाइकिङ रुट छ ।

अन्य रुटहरूमा औलिया मठ–छिन्नमस्ता–हिन्दूपती दरबार–बागदलबारी–अर्चले–लालकोट गढी ४ किलोमिटर, भण्डारीटार– चिहान डाँडा– चावाचा– खप्तपुर– झाँक्री गुफा– जुगपाख्री हुँदै लालकोट गढी ५.५ किलोमिटर, वराहक्षेत्र मन्दिर– सिन्दुर पुच्छर–जुगपाख्री –लालकोट गढी ३.५ किलोमिटर, वराहक्षेत्र मन्दिर– झरना– सिलपाखा– चौडण्डा–भवानीथान– लालकोट गढी ४ किलोमिटर रुट रहेको छ ।

पछिल्लो समय पहिचान गरिएको कोशी पुल– खप्तपुर– झाँक्री गुफा– जुगपाख्री– लालकोट गढी ३ किलोमिटर यात्रामा सोमबार १ सय ५० जना सहभागी लिएर चतरा हाइकिङको टोली निस्किएको संस्थापक राईले जानकारी दिए । १ सय वटा टिसर्टमा छापिएकामा सहभागीलाई अपुग भएको संस्थापक राईले बताए । यो हाइकिङ यात्रालाई ‘कोशी पर्यटन वर्ष २०८२ सफल पारौँ’ भन्ने नारासमेत जोडिएको उनले बताए ।

‘प्राकृतिक सौन्दर्यको अवलोकन, ऐतिहासिक स्थलको अवलोकन, स्थानीय जनजीविकाको अध्ययन, स्थानीय खानाको स्वादको पारख गर्न पाइन्छ,’ चतरा हाइकिङका संस्थापक राईले भने, ‘मानसिक, शारीरिक स्वास्थ्यको फाइदा त छँदैछ ।’

हाइकिङ समूहले पहिचान गरेका नयाँ रुटहरूबाट हिमालका सुन्दर दृश्य, सप्तकोशी नदीका मनोरम दृश्य र तराईका हरिया फाँट देख्न सकिने चतरा हाइकिङका संस्थापक विजयकुमार राउत बताउँछन् ।

‘लालकोट गढी, हिन्दूपती दरबार, झाँक्री गुफा, सूर्यकुण्डजस्ता ऐतिहासिक र धार्मिक तीथस्थल अध्ययन अवलोकन आफैँमा महत्वपूर्ण छ,’ संस्थापक राउत भन्छन्, ‘हाइकिङका क्रममा यहाँका रैथाने संस्कृति, यहाँका पुराना जातिका मौलिक परिकार, संस्कृति र रहनसहन पनि अनुभव गर्न सकिन्छ ।’

वडाको सहयोग

चतरा हाइकिङले पहिचान गरेका रुटलाई प्रवर्धन गर्न बराहक्षेत्र– १ नम्बर वडाले सहयोग गर्दै आएको छ ।

मिलन चोकदेखि सूर्यकुण्ड र छिन्नमस्तादेखि बागदलबारी रुटमा वडाले बाटो देखाउने सूचना पाटी लगाइदिएको छ । सोमबारदेखि सुरु गरिएको नयाँ हाइकिङ गन्तव्यमा वडाध्यक्षसमेत यात्रा गर्दैछन् ।

उनले चतरा हाइकिङले सुरु गरेको अभियानलाई बजेट विनियोजन गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चतरा हाइकिङको पहलमा चालु आर्थिक वर्षमा खुट्किला बनाउने कामका लागि विनियोजन भएको १५ लाख रुपैयाँ बजेटलाई मुन्धुम ट्रेलसँग जोडिएको छ । स्थानीय, प्रदेश, सङ्घीय सरकार र स्वीस सरकारको बजेटमा निर्माण हुन लागेको मुन्धुम ट्रेल चतरा हाइकिङ समूहको सहजीकरणमा भएको संस्थापक दुर्गाबहादुर बस्नेत बताउँछन् ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ३ : ०७ बजे

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा