नेपालको नर्सिङ क्षेत्र दयनीय छ, स्वास्थ्यमन्त्रीको परिपत्र कार्यान्वयन गरियोस् | Khabarhub Khabarhub

सन्दर्भ : विश्व नर्सिङ दिवस

नेपालको नर्सिङ क्षेत्र दयनीय छ, स्वास्थ्यमन्त्रीको परिपत्र कार्यान्वयन गरियोस्

निजी अस्पतालमा ८ देखि १५ हजार रुपैयाँ मासिक तलबमा काम गर्नुपर्ने बाध्यता छ


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 8 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नर्सिङ पेशालाई नेपाली समाजमा सम्मानित पेशाका रुपमा लिने गरिन्छ । धेरै अभिभावकको रोजाई
आफ्ना छोराछोरीलाई खर्च गरेरै भए पनि नर्स बनाउँछु भन्ने हुन्छ । तर, पछिल्लो समय नेपालमा नर्सिङ कलेजहरुमा सरकारले कडाइ गरेको र सहज रुपमा नर्सिङ पढ्न नपाएको गुनासो सुनिने गरेको छ ।

नेपालका नर्सहरुले रोजगारी र राम्रो तलब नपाइरहेको गुनासो सरकारसँग गर्दै आएका छन् । नेपालमा पढ्न नपाएर भारत जानु परेको गुनासो पनि बढेको छ ।

आज विश्व नर्सिङ दिवस । ‘हाम्रा नर्सहरू हाम्रा भविष्य : नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई सुदृढ बनाउँछ’ भन्ने नाराका साथ विश्वभर आज नर्सिङ दिवस मनाइएको छ । नर्स पेसाकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्म आजकै दिन भएको थियो । उनकै सम्झनामा हरेक वर्ष मे १२ तारिखलाई विश्व नर्स दिवसको रुपमा मनाइँदै आएको छ ।

विश्वभर नर्सिङ दिवस मनाइरहँदा नेपालको नर्सिङ क्षेत्रको अवस्था, उनीहरूको सेवा सुविधा र सरकारले यस क्षेत्रमा गर्नुपर्ने कार्यहरुबारे नेपाल नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्मासँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

आज विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउँदै गर्दा नेपालको नर्सिङ क्षेत्रको अवस्था कस्तो छ ?

फ्लोरेन्स नाइटिङ्गेलको जनमदिनलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा मनाउने गरिएको छ । आज उहाँको २ सय पाँचौँ जन्म दिन हो । नेपालको समग्र नर्सिङ क्षेत्र एकदमै दयनीय छ । सरकारी अस्पतालमा समस्यै समस्याले भरिएको छ । गैरसरकारी स्वास्थ्य संस्थामा फरक किसिमको समस्या छ । सरकारी अस्पतालमा सरकारले तोके बराबरको सेवा सुविधा होला । त्योबाहेक अन्य थुप्रै समस्या छन् ।

निजी स्वास्थ्य संस्थाहरूमा सरकारले तोकेको तह अनुसारको सेवा सुविधा नपाएको अवस्था छ । ८ हजारदेखि १५ हजार रुपैयाँ सम्ममा काम गर्नुपर्ने बाध्यता छ ।

प्रमाणपत्र तहको पढाइ सक्दा ७–८ लाख रुपैयाँ खर्च भइसकेको हुन्छ । ८–१० हजार तलबले काठमाडौंमा बस्नलाई कोठा पनि पाइँदैन । तलबको समस्या त्यत्तिकै छ । अर्को सरकारकै सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको निजामती अस्पतालमा ‘टेक्निकल ह्युमन रिसोर्सेज’ लाई पनि ज्यालादारी कर्मचारीका रूपमा विडम्बनापूर्ण तरिकाले राखिएको छ । दशौं वर्षसम्म पनि उनीहरू ज्यालादारीमा रहिरहेका छन्, यो एकदमै दुःखलाग्दो कुरा हो ।

स्वास्थ्य प्रणालीको मुख्य मेरुदण्डका रूपमा रहेको नर्सिङ प्रणालीमा रहेका नर्सहरूका धेरै समस्या छन् । सरकारी अस्पतालमा उनीहरूको वृत्तिविकास ठप्प छ । कतिपय नर्सहरू जुन तहमा नियुक्त भएका थिए, त्यही तहमा ‘रिटायर्ड’ हुन बाध्य छन् ।

दुर्गम क्षेत्रमा सेवा नदिएसम्म नर्सहरूको वृत्तिविकास अथवा बढुवा नगर्ने र दुर्गममा जानलाई दरबन्दी पनि नखोल्ने लगायतका धेरै बाध्यता छन्, जसले नर्सिङ पेसामा समस्या सिर्जना भइरहेको छ ।

दुर्गममा कति सेवा दिने, सुगममा कति सेवा दिने जस्ता केही विकल्प निकालेर उनीहरूको वृत्तिविकासलाई अगाडि बढाउनुपर्छ भन्ने बारेमा हामीले कुरा गरिरहेका छौं र स्वास्थ्य मन्त्रालयमा मागपत्र पनि बुझाइसकेका छौं ।

नर्सिङ क्षेत्रमा कति तह छन् ?

नर्सहरूको तह त पाँचौँदेखि एघारौँसम्म छ । भर्खर प्रमाणपत्र तह पास गरेर आएकालाई पाँचौँ तह मानिन्छ भने त्योभन्दा माथि योग्यता अनुसार एघारौँ तहसम्मका नर्सहरू छन् । धेरै वर्ष अगाडिदेखि जुन दरबन्दी छ, त्यही दरबन्दीमै रहिरहनुपर्ने विडम्बना छ । नयाँ दरबन्दी सिर्जना नगर्ने, लोकसेवाले पनि नर्सहरू नमाग्ने अवस्थाले सरकारी सेवामा जान खोज्ने नर्सहरूले अवसर पाइरहेका छैनन् ।

नेपालका नर्सहरुको तलब सुविधा के कस्तो छ ?

सरकारी अस्पतालमा सरकारले तोकेअनुसारको तलब सुविधा पाइरहेका छन् । तर जोखिम भत्ता, रात्रिकालीन भत्ता, लगायतका सुविधा पाइरहेको अवस्था छैन ।

२०६६ सालमा नर्सहरू सेवा सुविधाको माग गर्दै आन्दोलमा उत्रिएपछि जोखिम भत्ता, रात्रिकालीन भत्ताको व्यवस्था गर्ने सरकारले सम्झौता गरेको थियो । केही समय सुविधा पनि दियो । अहिले आएर सरकारले नै रोकेको छ ।

अहिलेकै अवस्थामा नर्सहरू विदेश पलायन हुँदै गए भने भोलि देशमा नर्सहरूको अभाव खड्किने अवस्था देखिएको छ । नेपाल सरकारले भोलिका दिनमा के विदेशबाट नर्सहरू ल्याएर सेवा दिलाउन सक्छ ?

चौबिसै घण्टा बिरामीको सेवामा खट्ने नर्सहरू सबैभन्दा बढी जोखिममा छन् । यो कुरा विभिन्न अनुसन्धानले पनि प्रमाणित गरिसकेका छन् । डाक्टर आएर २ मिनेट – ५ मिनेट एउटा बिरामीलाई हेर्लान् । तर चौबिसै घण्टा खट्ने त नर्स हो नि । त्यस कारणले नर्सहरूलाई जोखिम भत्ताको व्यवस्था गर्नुपर्छ भन्ने हामीले माग राखेका छौं ।

केही समय बीचमा न्यून मात्रामा भए पनि जोखिम भत्ता दिइएको थियो । अहिले कतै कतै दिने गरिए पनि धेरै स्वास्थ्य संस्थामा दिएको पाइँदैन । त्यस्तै रात्रिकालीन भत्ता, अनुभवका आधारमा गरिने वृत्तिविकासलगायत धेरै कुरामा समस्या छ ।

डाक्टरहरुले चिकित्सा सेवाका विषयमा बेलाबेलामा आन्दोलन गरेका छन् । तर, नर्सहरू सडकमा देखिँदैनन् नि किन?

आन्दोलन नै गर्नुपर्ने अवस्थामा नर्सहरू पनि सडकमा उत्रिएका छन् । जस्तै २०६६ सालमा देशभरिका नर्सहरू काम छाडेरै आन्दोलनमा होमिएका थिए । त्यसबेला पोशाक भत्ता भनेर मासिक १ सय ५० रुपैयाँ दिने गरिएको थियो । आन्दोलनपछि वार्षिक ७ हजार पुग्यो । जुन हामीले आन्दोलन गरेरै पाएको हो । त्यहीबेला नै सरकारले जोखिम भत्ता र रात्रिकालीन भत्ताको व्यवस्था पनि गरेको हो ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत नर्सहरू पनि आन्दोलनमा उत्रिए । सेवा सुविधामा चित्त नबुझेपछि श्रम मन्त्रालय, श्रम अदालत, ट्रेड युनियनमा उजुरी गरेर जितेको अवस्था पनि छ । त्यसैले परेको खण्डमा हामी पछि हट्दैनौं सडकमै उत्रिन पनि तयार हुन्छौं ।

लामो समयदेखि नर्सको दरबन्दी खोलिएको छैन भन्नुभयो । अहिले नेपालमा नर्सहरू कति छन् ? आवश्यक सङ्ख्या कति हो ?

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका नर्सको सङ्ख्या १ लाख चानचुन छ । त्यसमध्ये १० देखि २० प्रतिशत विदेशतिर गइसकेको अवस्था छ । एकिन ‘डेटा’ नभए पनि झण्डै ४० हजार बढीले ‘भेरिफिकेशन लेटर’ लिसकेको काउन्सिलको तथ्याङ्क छ । त्यस्तै १८ हजार नर्स जनशक्ति सरकारी स्वास्थ्य संस्थामा छन् भने ३०–३५ हजार जति निजी तथा करारमा काम गरिरहेका छन् । अहिलेको मुख्य समस्या नर्स र बिरामीको अनुपात मिलिरहेको छैन ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार साधारण जनरल वार्डमा एकजना नर्सले ५ देखि ६ जना बिरामी हेनुपर्ने हो । तर विडम्बना नै भन्नुपर्छ, हाम्रोमा ३५ देखि ४० जना बिरामी हेर्नुपर्छ । जसका कारण एकातिर नर्सलाई कामको बोझ थपिरहेको छ भने अर्कोतिर बिरामीले पनि पाउने जति सेवा सुविधा पाइरहेका हुँदैनन् । यसैले बिरामी र नर्सबीचको अनुपात मिलाउनकै लागि पनि दरबन्दी खोल्ने, दरबन्दी सिर्जना गर्नुपर्ने अवस्था देखिरहेको छ ।

नेपालमा नर्सहरूको सङ्ख्या अपुग भइरहेका बेला यति ठूलो जनशक्ति विदेश पलायन हुनाको मुख्य कारण के हो ?

यसको मुख्य कारण भनेको सेवा सुविधा नै हो । किनकि भोको पेटले काम गर्न सकिँदैन । निजी अस्पतालले १० हजार – १५ हजार तलब दिन्छन् । जबकि नर्सिङ पढ्नका लागि ७ देखि ८ लाख रुपैयाँ खर्च हुन्छ ।

त्यस्तै अन्य सेवा सुविधाको अभावमा ‘मोटिभेसन’ भएन । अहिले युवा पुस्ताको कुरा गर्दा नर्सलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । उपचारमा नर्सको ठूलो भूमिका हुन्छ । नर्सबिना कुनै पनि अस्पताल चल्दैनन् । यतिसम्म कि समुदायमा पनि नर्स आवश्यक छ भन्ने विषयमा चेतना नपुगेको हो कि ।

त्यस्तै पढाइका क्रममा लाखौं खर्च गर्नुपर्छ । त्यो अनुपातमा सुविधा न्यून हुन्छ । बाहिर राम्रो अवसर पाएपछि किन बस्ने त ? भन्ने भावना सिर्जना हुन्छ र विदेश पलायन हुन बाध्य हुन्छन् । अहिलेकै अवस्थामा नर्सहरू विदेश पलायन हुँदै गए भने भोलि हाम्रो देशमा नर्सहरूको अभाव खड्किने अवस्था देखिएको छ ।

नेपाल सरकारले भोलिका दिनमा के विदेशबाट नर्सहरू ल्याएर सेवा दिलाउन सक्छ त ? त्यसैले भोलि त्यस्तो अवस्था नआओस् भन्नका लागि सरकारले पनि ध्यान दिन जरुरी छ ।

यो सन्दर्भमा म यौटा कुरा के राख्न चाहान्छु भने २०८१ साल मङ्सिर २७ गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलबाट एउटा परिपत्र भएको छ, गैरसरकारी र निजी अस्पतालले सरकारी अस्पताल सरह नर्सहरूलाई सेवा सुविधा दिनुपर्छ । त्यो परिपत्रको कार्यान्वयनका लागि पनि सरकारले जोड गर्नुपर्छ ।

कुन अस्पतालले सेवा दिए ? कुन अस्पतालले दिएनन् ? भनेर अनुगमन गर्ने र कार्यान्वयन नगर्ने अस्पताललाई सम्बन्धनमा कारबाही गर्न सक्ने अधिकार नेपाल सरकारको पनि छ । हामीले पनि त्यो परिपत्रलाई प्रत्येक निजी अस्पतालमा पठाइरहेका छौं । त्यसैले यसको दायित्व सरकारको पनि हो भने हामीले पनि यो विषय कार्यान्वयन गराउन पहल गरिरहेका छौं ।

नर्सिङ क्षेत्रमा विगतको तुलनामा केही सुधार आएको छ कि छैन ?

– त्यति धेरै सुधार त केही आएको छैन । तर केही ठूला अस्पतालमा थोरै मात्रामा भएपनि दरबन्दी खुलेको छ । विकास समितिमार्फत् नर्सहरू लिएको कुरा चाहिँ आएको छ । तर सरकारी तहबाटै दरबन्दी खुलेको चाहिँ मैले थाहा पाएको छैन ।

दरबन्दी तयारी गर्नका लागि ‘ओएनएम सर्वे’ गरेर कति नर्सहरू चाहिएको हो भन्ने कुरा सबै तहका स्वास्थ्य संस्था तथा सेवा केन्द्रमा जनतालाई गुणस्तरीय सेवा दिनका लागि कम्तिमा न्युनतम सेवा मापदण्डअनुसार नर्स र बिरामीको अनुपातलाई कायम गर्नुपर्छ भन्ने हाम्रो ठूलो आवाज रहेको छ । योअनुसार हामी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ ।

सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रम कतिपय विद्यालयमा लागू भएको छैन । यस विषयमा केही पहल गर्नुभएको छ कि छैन ?

एक विद्यालय एक नर्स कार्यक्रम क्रमबद्ध रूपमा अगाडि बढिरहेको छ भन्ने जानकारीमा आएको छ । कतिपय प्रदेश सरकारले पनि विद्यालयमा नर्स राखेको अवस्था छ । अर्को कुरा विद्यालय नर्सलाई नर्सिङ महाशाखा र सामाजिक महाशाखाले त्यही किसिमका तालिमहरू दिएर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विद्यालय नर्स कार्यक्रम अघिल्लो कार्यसमितिले लिएर आएको कुरा हो । अहिले नर्सहरूको काम गर्ने दायरा पनि धेरै ठूलो भएको छ । त्यसैले ठूला–ठूला कलकारखानाहरू जहाँ ५० जनाभन्दा बढी कामदार काम गर्छन् भने त्यस्ता कलकारखाना तथा उद्योगमा एक जना नर्स अनिवार्य हुनुपर्छ जसले गर्दा ती कामदारहरूको स्वास्थ्यमा टेवा पुगोस् । त्यसैले हामीले स्वास्थ्य मन्त्रालयमा बुझाएको मागपत्रमा यो कुरा पनि समेटिएको छ ।

नर्सिङ पेसामा धेरै समस्या हुँदाहुँदै पनि बर्सेनि धेरै नर्सहरू उत्पादन हुने गर्छन् । उनीहरूको भविष्य के हुन्छ त ?

– उनिहरूकै भविष्यका लागि भनेर विभिन्न प्रयासहरू नेपाल नर्सिङ सङ्घको तर्फबाट भइरहेको छ । मेरो नेतृत्वमा रहेको कार्यकालको अहिले ५ महिना भयो । नर्सिङ क्षेत्रको सुधारका लागि विभिन्न माग राखेर स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवसमक्ष माग–पत्र पेस पनि गरेका छौं ।

अहिले सबैभन्दा ठूलो समस्या देखिएको भनेको निजी अस्पतालमा नर्सहरू साह्रै श्रमशोषणमा परेका छन् । त्यो समस्याको समाधान कसरी गर्ने भन्ने कुरामा हामी निरन्तर लागिरहेका छौं ।

त्यसैले हामीले केही गरेर उनीहरूको भविष्य सुनिश्चित हुन्छ कि भन्ने कुरामा आशावादी छौं । विदेश जान त कसैलाई रोक्न सकिएन तर सकेसम्म रोक्नका लागि काम गर्ने वातावरण बनाउन आवश्यक नीति तथा योजनाहरू बनाउन आवश्यक छ ।

बिरामीका लागि नभइनहुने नर्सिङ पेसाले सम्मानजनक स्थान पाउन नसकेको, बिरामी, कुरुवा र स्वास्थ्यकर्मीहरू तथा राज्यले नै महत्व नदिने गरेको कुरा पनि सुन्नमा आउँछ ? वास्तविकता के हो ?

– नर्स स्वास्थ्य क्षेत्रको एउटा महत्वपूर्ण अङ्ग भएकाले उनीहरूलाई हेयका दृष्किोणले हेर्नु हुँदैन । चौबिसै घण्टा बिरामीको सेवामा खट्ने नर्सलाई सम्मानजनक रूपमा हेनुपर्छ । यो चेतना आम जनमानसमा पुर्याउन जरुरी छ ।

यो कुरा बिरामी तथा कुरुवाले पनि बुझ्न आवश्यक छ । जस्तै नर्सहरू आफ्नो काम अनुसारको सेवासुविधा नपाएर खिन्न हुन्छन् । त्यसैमाथि बिरामी तथा कुरुवाहरूले पनि त्यही अनुसारको व्यवहार गर्दा यस्तो समस्या सिर्जना हुन आउँछ । त्यसले हामीले यसको समाधानका लागि विभिन्न किसिमका क्रियाकलाप पनि गरिरहेका छौं ।

नर्सहरूको विदेश पलायन रोक्नका लागि यहाँले के कस्ता कामहरू गर्नुहुँदैछ ? सरकारले के गर्न आवश्यक छ ?

हामीले आफ्नो कार्यकालको ५ महिनाको अवधिमा जोखिम भत्ता, स्तर वृद्धि तथा बढुवाका कुरालगायत विभिन्न माग राखेर स्वास्थ्य मन्त्रालयलाई माग–पत्र बुझाएका छौँ ।

हामीले तयार पारेर अनुभवी बनाएका सीपमुलक जनशक्ति बाहिर जाँदा देशलाई ठूलो घाटा हुन्छ । उहाँहरूसँग भएको सीपलाई हाम्रै देशमा प्रयोग गर्न छाडेर बाहिर जाने अवस्था किन आयो त ? बेलैमा ‘प्रमोशन’ भएन, भनेअनुसारको सेवासुविधा भएन यावत् कारणहरू छन् ।

विद्यालयमा बिचल्लीमा छन् नर्सहरू । उनीहरू न स्वास्थ्य मन्त्रालयअन्तर्गत छन् न शिक्षा मन्त्रालयअन्तर्गत । उनीहरूलाई विकास समितिबाट लिएर राखिएको छ

त्यस्तै योग्यता अनुसारको स्तरबृद्धि, डाक्टर र नर्सहरूमा समानता, नीति निर्माणमा नर्सहरूको पहुँचलगायत विविध कुराहरूमा हाम्रो जोड रहेको छ र यी कुराहरूलाई अगाडि बढाउनका लागि सरकारले आवश्यक कदमहरू चाल्नुपर्छ ।

त्यतिमात्रै होइन अहिले लागू भएको विद्यालय नर्स कार्यक्रममा पनि दरबन्दी सिर्जना गरेर स्थायीको व्यवस्था गर्नु पर्‍यो ।

विद्यालयमा बिचल्लीमा छन् नर्सहरू । उनीहरू न स्वास्थ्य मन्त्रालयअन्तर्गत छन् न शिक्षा मन्त्रालयअन्तर्गत । उनीहरूलाई विकास समितिबाट लिएर राखिएको छ । त्यसैले उनीहरूको पनि उचित व्यवस्थापन गर्नुपर्छ ।

लामो समयसम्म बर्थिङ सेन्टरमा नर्सहरूको आवश्यकता पर्ने हुँदा ‘सिफ्टवाइज’ व्यवस्थापन गर्नुपर्छ । यस्ता थुप्रै समस्याहरू छन्, जसको अनुगमन गरी समाधान गर्ने दायित्व सरकारको हो ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : २० बजे

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले

सालासुङ्गी हाइड्रोपावरका एक मजदुर मृत फेला

रसुवा– उत्तरी रसुवास्थित आमाछोदिङ्मो गापा–५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने

स्थानीयस्तरमा आँखाको उपचार हुन थालेपछि नगरप्रमुखद्वारा प्रशंसा

चितवन– भरतपुर आँखा अस्पतालले स्थानीयस्तरमा सेवा केन्द्रमार्फत आँखा उपचार गर्न थालेपछि

सिमकोटमा ट्याक्टर दुर्घटना : १५ जना घाइते, एकको अवस्था गम्भीर

सिमकोट–  यहाँको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना

एमाले पोलिटब्युरो बैठक शनिबार फेरि बस्‍ने

काठमाडौं- नेकपा (एमाले) को शुक्रबारबाट सुरू भएको पोलिटब्युरो बैठक शनिबार