‘गभर्नरले आफ्नै कर्मचारीमाथि कर्जा परीक्षण गरे हुन्छ’ | Khabarhub Khabarhub

अर्थ-संवाद

‘गभर्नरले आफ्नै कर्मचारीमाथि कर्जा परीक्षण गरे हुन्छ’

पुँजीलाई मृत बनाउँदा उद्यमशीलता बढ्दैन



काठमाडौँ – केन्द्रीय बैङ्कका १८औँ गभर्नर डा. विश्वनाथ पौडेल यतिखेर आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति (आर्थिक वर्ष २०८२/८३) तर्जुमा क्रममा छन् । केन्द्रीय बैङ्कले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै आगामी मौद्रिक नीति बनाउन सुझाव मागिसकेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ‘उच्चस्तरीय आर्थिक सुधार आयोग’का सुझाव समेट्दै निजी क्षेत्रमैत्री कार्यक्रम समावेश गरी ६ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य राखेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर विश्वनाथ पौडेल दुबैले वित्त नीति र मौद्रिक नीतिबीच तालमेल हुनुपर्ने बताउने गरेका छन् ।

सरकारले बजेटमार्फत् लिएको लक्ष्यसँग तादाम्यता मिल्नेगरी खोजिरहेको आगामी मौद्रिक नीतिबारे अर्थविद् तथा पूर्वबैङ्कर अनलराज भट्टराईसँग गरिएको कुराकानी :

आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको वित्त नीति अर्थात्‌ बजेटले कस्तो मौद्रिक नीति माग गर्छ ?

बजेटले अलिक लचक मौद्रिक नीति माग गरेको छ । राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार गत महिना हाम्रो मुद्रास्फीति २.७७ प्रतिशत छ । यो मुद्रास्फीति भारतको भन्दा पनि कम हो । मुद्रास्फिति कम हुनुले हामीकहाँ माग अति नै कम भएको पुष्टि हुन्छ ।

मागमा सङ्कुचनका साथै हाम्रो औद्योगिक उत्पादन र निर्माण क्रियाकलाप पनि घटेको छ । अर्कातर्फ सरकारले प्राप्त गर्ने राजस्व पनि घटेको छ । सरकारको राजस्व आम्दानीमा जसरी वृद्धि हुनपर्ने हो – त्यो हुन सकेको देखिँदैन ।

त्यसकारण आगामी आर्थिक वर्षका लागि लचक मौद्रिक नीति आवश्यक छ । अर्थतन्त्रमा निम्तिएको कमजोर मागलाई हटाउन सरकारले पनि वित्त नीति (बजेट) का केही बुँदामा बोलेको छ ।

कर्जाको वर्गीकरण, पुनःतालिकीकरण, ब्याज र विभिन्न किसिमको शुल्क कटौती गर्ने, खराब कर्जा घटाउन सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने लगायतका विषय बजेटमा उल्लेख गरिएको छ । बजेटमा गरिएका यी घोषणा विश्लेषण गर्दा मौद्रिक नीतिको कार्यदिशा थप लचक हुनुपर्ने माग गरेको छ ।

बजेटमार्फत सरकारले विदेशमा लगानी प्रवर्धन गर्ने नीति अख्तियार गरेको छ, के मौद्रिक नीतिले अब विदेशी मुद्रा सटहीमा सरल अभ्यासको व्यवस्था गर्ला ?

उक्त काम गर्न नेपाल लगानी बोर्डलाई सम्पूर्ण अधिकार दिइएको छ । त्यसमा केही कानुनी सुधार गर्ने काम भएको छ ।

केही अघि सरकारले अध्यादेशमार्फत् विदेशी मुद्रासम्बन्धी कानुनी व्यवस्थामा संशोधन गरिसकेको अवस्था छ । त्यसको लागि नियमावली बनाउने काम पनि भइरहेको छ ।

यही बेला सरकारले नीतिगत व्यवस्था गरेको छ । लगानी बोर्डले गर्ने काम गरिसकेपछि अन्तिम भूमिका निर्वाह गर्ने निकाय केन्द्रीय बैङ्क हो । ‘विदेशी मुद्रा कारोबारको लेखाङ्कन गर्ने सम्बन्धित निकायबाट स्वीकृत प्राप्त भइसकेपछि सरकारको निर्देशन र लगानी बोर्डको प्रक्रियालाई सहज गरिनेछ’ भनी मौद्रिक नीतिमा उल्लेख गर्नुपर्छ ।

विदेशमा नेपाली लगानीबारे केन्द्रीय बैङ्कले अपनाउने जुन प्रावधानहरू छन् – यसमा सुधार गर्छौँ भनेर बोल्ने हो । तर, प्रक्रियागत कुरामा भने मौद्रिक नीतिमा सबै कुरा आउँदैन ।

सरकारी घोषणाबमोजिम मौद्रिक नीतिमार्फत ‘युवालाई बिनाधितो २० लाख रुपैयाँसम्म ऋण दिने’ प्रबन्ध मिलाउन सम्भव छ ?

बैङ्क तथा वित्तीय संस्थाले अहिलेको बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अन्तर्गत कुनै न कुनै सुरक्षण नभइ कर्जा प्रवाह गर्न सक्दैनन् । सरकार घोषणा गर्दैमा त्यो कानुन हुँदैन । बजेटमा भएका केही चिजलाई केन्द्रीय बैङ्कले मौद्रिक नीतिमा केही हदसम्म समावेश गर्न सक्छ ।

तर, धितो नै नलिइ बचतकर्ताको रकम बाँड्न मिल्दैन । ऋण लिनका लागि भायबल प्रोजेक्ट (सम्भाव्य परियोजना) हुनुपर्छ । उक्त परियोजनालाई कर्जा दिँदा आवश्यक कोल्याट्रल (धितो) हुनुपर्छ । धितो नै नराखी प्रवाह गरिएको कर्जा डुबेमा बैङ्कले असुली गर्ने कुनै न कुनै प्रावधान हुनुपर्छ । यस्तो नभइ बैङ्कले जनताको पैसा दिन सक्दैन ।

यस्तोमा सरकारले ‘ग्यारेन्टी फण्ड’ राखिदिए हुन्छ । मौद्रिक र अरू उपकरण या नियामकीय उपकरण प्रयोग गर्न सकिन्छ । कर्जा खराब हुन गएको अवस्थामा उक्त रकम भुक्तानी हुने सुनिश्चित भए बिनाधितो कर्जा प्रवाह गर्न सकिन्छ ।

राज्यले नै ग्यारेन्टी लिएर बिनोधितो कर्जा प्रवाह गरे सीप र क्षमता भएका जनशक्तिले अवसर पाउँछन् । तर, कर्जा प्रवाहसँगै त्यसबाट उत्पादित बस्तु र सेवा बिक्रीका लागि बजारीकरण पनि गरिदिनुपर्छ । किनकि सानो लगानीकर्ताले बजारमा मूल्य कायम गर्न सक्दैन ।

वस्तुलाई कसरी बिक्री वितरणमा लैजाने अथवा त्यसको फरवार्ड र ब्याकवार्ड गर्ने नीति पनि सरकारको तर्फबाट आउनुपर्छ । त्यसको लागि पनि सरकारले छुट्टै नीतिगत व्यवस्था गर्नुपर्छ । तर, सर्वसाधारणको बचतलाई आजको दिनमा केन्द्रीय बैङ्कले सोझै ‘बिनाधितो देऊ’ भन्न सक्दैन ।

सरकारले स्टार्टअप उद्यम विकास गर्न बजेटसमेत व्यवस्था गरेको छ, यस्तो उद्यमलाई मौद्रिक नीतिले थप कसरी प्रोत्साहन गर्न सक्छ ?

यो सन्दर्भमा पहिला कानुनले स्टार्टअपको परिभाषा गर्नुपर्‍यो । राष्ट्र बैङ्कले भनेको स्टार्टअप कुन हो ? बैङ्क तथा वित्तीय संस्थाले बुझेको स्टार्टअप कुन हो ? नेपाल सरकारले बुझेको कुन हो ? उद्योग मन्त्रालयले र उद्योग विभागले बुझेको स्टार्टअप कुन हो ? यो सन्दर्भमा पहिला एउटा परिभाषा तयार हुनुपर्‍यो ।

व्यवसाय सुरु गर्ने सबै स्टार्टअप हुन्, प्रविधिको क्षेत्रमा काम गर्नेलाई भन्ने कि, उत्पादन गर्नेलाई भन्ने कि, पर्यटन क्षेत्रलाई भन्ने कि, कुन क्षेत्रलाई भन्ने ?

तर, मौद्रिक नीतिको आफ्नै सीमितता छ । हामीले मौद्रिक नीति र कर्जा नीति छुट्याउन आवश्यक छ । मौद्रिक नीतिले त्यसको लागि चाहिने उपकरणहरू प्रयोग गर्ने हो ।

जस्तो कि बैङ्कदर, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) लगायतलाई केन्द्रीय बैङ्कले चलाउँछ । तर, हामी जे मा पनि मौद्रिक नीतिलाई जोड्ने गर्छौँ । मौद्रिक नीतिले केही पनि गर्न सक्दैन, खाली ब्याजदर घटाउन वा बढाउनमात्रै सक्छ ।

केन्द्रीय बैङ्कले नियामकीय व्यवस्था गर्ने हो । मौद्रिक नीतिमा नियामकीय व्यवस्था पनि वाचन गर्ने जुन परम्परा छ – अब त्यो परम्परालाई विस्तारै कटौती गर्दै जानुपर्छ । स्टार्टअपलाई कर्जा दिने हकमा नियामकीय व्यवस्था गर्न सकिन्छ ।

अरू कर्जा दिँदा चुक्तापुँजी राख्नुपर्ने हुन्छ, यो विषयमा चाहिँ दुई रुपैयाँ मात्रै पुँजी राखे हुन्छ भनिदियो भने सहज हुन्छ । यस्तोमा इन्स्योरेन्स, कर्जा सुरक्षण फण्ड लगायतका नियामकीय व्यवस्था गरियो भने असम्भव हुँदैन । किनभने कानुन हामीले नै बनाएको हो । तर, केन्द्रीय बैङ्क पुरानो मान्यतामा बसेको छ, बदलिनै खोज्दैन ।

‘मेक इन नेपाल, मेड इन नेपाल’ प्रवर्धनमा मौद्रिक नीतिबाट थप के अपेक्षा गर्न सकिन्छ ?

यसका लागि मौद्रिक उपकरणमा ब्याजदर कम नै छ, अझै पनि केही कटौती गर्ला । तर, नियामकीय व्यवस्था गर्नुपर्छ । नेपाल सरकारले पनि करका दरबाट सम्बोधन गर्नुपर्छ ।

यहाँ उत्पादन र आयात लागत निकै छ, सरकारले लागतमा केही हेर्न सक्छ । यो घोषणा कार्यान्वयन गर्न सरकारकै पोल्टामा धेरै कुरा छन् ।

नेपाल राष्ट्र बैङ्कले करिब ४० प्रतिशत कर्जालाई निर्देशित कर्जा भनेको छ । जलविद्युत्, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रलाई त्यसमा समावेश गरिएको छ ।

ती क्षेत्रमा प्रवाह भएको कर्जा मूल्याङ्कन गर्नुपर्‍यो । जसले उत्पादन पनि वृद्धि गरेको छ र रोजगारी पनि सिर्जना गरेको छ, श्रमिक बढी आवश्यक हुने र नेपालकै कच्चापदार्थ प्रयोग गर्नेलाई कर्जा दिँदा आवश्यक पर्ने पुँजी व्यवस्थामा सहजीकरण गर्नपर्छ ।

ठूला कर्जामा जाँदा पनि निर्माण अवधिको ब्याजलाई पुँजीकरण गर्न दिइएको छैन । त्यससम्बन्धमा पनि आवश्यक व्यवस्था गर्नुपर्छ । किनकि निर्माणको क्रममा आम्दानी हुँदैन । तर, त्यो पुँजीकरणलाई बैङ्कले नाफामा गणना गर्न नपाउने अवस्था छ, त्यसलाई नियमित रिजर्भमा लगेर राख्नुपर्ने हुन्छ । त्यस्ता विषयलाई पनि आम्दानीमा राख्न दियो भने बैङ्कलाई पनि प्रोत्साहन हुन्छ । नत्र बैङ्कले दीर्घकालीन लगानी गर्दैनन् ।

उत्पादनमूलक, पर्यटन, निर्माण उद्योग र आवास विकास कम्पनीका लागि सरल कर्जा उपलब्ध गराउन सम्भव छ ?

हालको कर्जा जोखिम बहन (प्रोभिजनिङ – सम्भावित कर्जा नोक्सानी बापतको व्यवस्था) मा एउटा कर्जाको व्यवस्थापन गर्ने र खराब कर्जालाई वर्गीकरण गरी छुटाउनुपर्छ ।

अहिले खराब कर्जा वर्गीकरण गर्दा एक महिनामा तिरेन भने वाच लिस्टमा, तीन महिनामा ब्याज तिरेन भने शङ्कास्पद, एक वर्षमा तिरेन भने शतप्रतिशत असुली नहुने कर्जामा राख्नुपर्ने हुन्छ । भारतमा यो प्रावधान तीन वर्षको छ । प्रोभिजनिङ यहाँको तुलनामा एकदमै कम छ ।

कर्जा प्रवाह, व्यवस्थापन र असुली गर्दा यी तीनवटै प्रक्रियाका प्रावधानमा केन्द्रीय बैङ्कले आमूल परिवर्तन गर्नुपर्नेछ । भारतमा सात प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भइरहेको छ, हामी तीन/चार प्रतिशतमा छौँ ।

एउटै परिवेशमा हुँदा पनि हामी किन पछि परिरहेका छौँ त ? कतै न कतै हामीकहाँ नीतिगत त्रुटी छ भन्ने कुरा स्वीकार गर्नुपर्‍यो नि ! अहिलेको गभर्नरले स्वीकार गरेर नीतिगत व्यवस्था गर्नुहोला जस्तो लाग्छ ।

बजेटमा सरकारले डिजिटल मोबाइल तथा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने जनाएको छ, यसतर्फ केन्द्रीय बैङ्कले के गर्नुपर्छ ?

नियो बैङ्क (डिजिटल प्लेटफर्ममा आधारित बैङ्क) लाई लाइसेन्स दिने भनेको छ । यस्तो नियो बैङ्कको अभ्यास संसारभर नै छ । अहिले पनि कयौँ मानिसहरूले बैङ्क भिजिट नै नगरी काम गरेको अवस्था छ । पहिला चेक बोकेरै बैङ्क जानुपथ्र्यो, टोकन लिएर हिँड्नुपथ्र्यो । अहिले त्यस्तो अवस्था कम छ ।

अब मुख्यतः भारत र नेपालबीच क्यूआर कोडलाई कसरी सहज गराउने हो भन्ने हो । त्यस्तै, भारतबाट आउँदा अमेरिकी डलर ३०० भन्दा बढी नगद ल्याउन नपाइने व्यवस्था छ ।

जुन सीमा छ – त्यसलाई पुनःमूल्याङ्कन गर्ने, एनएचसीएल र युपीआईलाई कनेक्ट गराएर काम गर्न सकिन्छ । विशेषगरी सबैभन्दा धेरै भारतबाट आउने पर्यटकलाई केन्द्रमा राखेर २५ हजार भारुको सीमालाई पुनःमूल्याङ्कन गनुपर्छ । केही खराबी छ भने तीनलाई कारबाही गर्नुपर्‍यो ।

लोकल करेन्सी लिङ्क्ड बण्ड जारी गरेर अन्तर्राष्ट्रिय बजारबाट पुँजी भित्र्याउने घोषणा पनि सरकारले बजेटमार्फत गरेको छ, यसतर्फ बैंकिङ क्षेत्रको भूमिका कस्तो हुन्छ ?

यसमा पनि केन्द्रीय बैङ्कको भूमिका अन्तिम स्वीकृति दिनेमात्रै हो । पहिले पनि धितोपत्र नियमावलीको दफा ४१ (क) मा यो व्यवस्था गरिएको थियो । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) लाई ‘नेपाली मुद्रामा बण्ड निकाल्न दिने’ भनिएको थियो । यसमा नीति बनिसकेको हो, तर कार्यान्वयन भएको छैन ।

नेपाली मुद्रालाई संसारभर कति विश्वास गर्छन् ? उच्चस्तरीय आयोगले हाम्रो मुद्राको पेग भारतसँग भएको अवस्थामा त्यसलाई पुनःमूल्याङ्कन गर्नुपर्ने कुरा गरेको हुनाले यी विषयमा पनि हामी स्पष्ट हुनुपर्छ ।

यो अझै कति वर्ष हामीले लैजान्छौँ भन्ने कुरा जबसम्म आउँदैन – त्यो बेलासम्म मुद्राको जोखिम कसैले लिँदैन । त्यो आयोगले के आधारमा पुनःमूल्याङ्कनको कुरा उठाएको भन्नेबारे कुनै आधार पेश गरेको छैन ।

लघुवित्तका ऋणीको पुनरूत्थानका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने भनिएको छ, केन्द्रीय बैङ्कले यसो गर्न सक्छ ?

यसमा वर्कआउट एरेन्जमेन्ट गर्नुपर्छ । सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्दा त सरकारले पैसा दिनुपर्‍यो । किनकि बैङ्कले सहुलियपूर्ण कर्जा दिन सक्दैन ।

कोरोना महामारीका बेला सरकारले ‘बैङ्कको लागतमा १० प्रतिशत छुट दिनू’ भनेपछि छुट दिएका थिए । त्यतिखेर बैङ्कको १५ अर्ब रुपैयाँ खर्च भयो । तर, फेरि सरकारले भूतप्रभावी कर लगाएर बैङ्कलाई नौ अर्ब रुपैयाँ कर तिरायो ।

यस्ता घोषणा कार्यान्वयन गर्न केही न केही फण्ड नआइकन सम्भव छैन । राष्ट्र बैङ्कले गर्न सक्दैन, किनकि सहुलियत दिने उसको काम होइन । कि बजेटरी टूल्स आउनुपर्‍योे, बजेटरी टूल्समा छुट्याएको छ भने त्यसबाट दिन सकिन्छ ।

हेजिङ सेवा सञ्चालन ल्याउने विषयलाई मौद्रिक नीतिले कसरी सम्बोधन गर्न सक्छ ?

पहिले हेजिङको नियमावली आउनुपर्‍योे, त्यो संशोधन हुँदैछ । यहाँ निजी क्षेत्रलाई हेजिङ स्थापना गर्न दिने भनिएको छ ।

भारतले तीन/तीन महिनाकै हेज गरिरहेको अवस्था छ । त्यसैले हामीकहाँ पनि ठूलो गर्न सकिने अवस्था छैन । हामीकहाँ पनि तीन–तीन महिनाकै ब्लक गर्दै जानुपर्ने हुन्छ । हामीकहाँ अलिकति लागत पर्न आउँछ

यहाँ हेजिङ फण्डले मात्रै त्यसलाई कभर गर्न सक्दैन । रि–इन्स्योरेन्स गर्न बाहिर जानुपर्छ । पेग चेन्ज गर्नुपर्ने लगायत विषयमा विभिन्न बहसहरू भइरहेकाले नेपाली मुद्रामै जाँदा अन्तर्राष्ट्रिय बजारको विश्वास पाउन गाह्रो छ ।

त्यसो हुनाले हामीले विदेशी मुद्रा आर्जन गर्न सक्नेलाई विदेशी मुद्रामै ऋण दिने अभ्यास भएको छ । त्यसो गर्दा एक किसिमले हेजिङ त आफैँ हुन्छ । यसमा मौद्रिक नीतिले केही पनि बोल्नुपर्दैन । नियामकीय व्यवस्थामार्फत् नै सम्बोधन गर्ने कुरा हो ।

गभर्नर नियुक्ति हुने बित्तिकै गभर्नर पौडेलले धेरै ऋण थोरै ऋणीमा प्रवाह भएको भन्ने अभिव्यक्ति दिनुभएको थियो, के यो विषय नेपालको बैंकिङ क्षेत्रको समस्या हो ?

संसारभरका मान्छे उत्पादनशील हुने भए उत्पादनको लागि कहीँ जानुपर्ने अवस्थै हुँदैनथ्यो । आवश्यक सबै सामान सबैका घरमा उत्पादन हुन्थ्यो होला । जोखिम लिन सक्ने मान्छे निकै कम हुन्छन् ।

नेपाल सरकारका कर्मचारीदेखि सेनासम्मका मान्छेले व्यापार पनि गर्छन् । उदाहरणको लागि – केन्द्रीय बैङ्कको कर्मचारीले व्यापारिक प्रयोजनमा ऋण लिन्छ ? गभर्नरज्यूले केन्द्रीय बैङ्ककै कर्मचारीलाई एकपटक ऋण दिएर हुन्छ कि हुँदैन भनी हेरे हुन्छ नि !

व्यापार व्यवसाय सबैले गर्दैनन् । अहिले हामीकहाँ १९ लाखले व्यापारिक कर्जा लिएका छन् । यो सम्भव नै नभएको कुरा हो । यो उहाँको गलत स्टेटमेन्ट हो, त्यसलाई ‘करेक्सन’ गर्नुपर्छ भन्छु मैले । सबैलाई ऋण दिन सम्भव नै छैन ।

अहिले बैंकिङ क्षेत्रमा निक्षेप पनि निरन्तर बढ्दो क्रममा छ, कर्जा प्रवाह बढाउन मौद्रिक नीतिले कसरी सम्बोधन गर्नुपर्ला ?

राष्ट्र बैङ्कले दैनिक रूपमा ‘यति पैसा बजारबाट उठाइरहेका छौँ’ भन्ने नोटिस विश्वविद्यालयमा अध्ययन गर्नका लागि राम्रो विषय हो ।

विदेशी मुद्रा करिब २५ खर्ब र स्थानीय मुद्रा १४ खर्बभन्दा बढी गर्दा ३९ खर्ब रुपैयाँ तरलता लिएर बस्नु देशको लागि धेरै ठूलो मर्काको विषय हो । पैसा खाली बस्नु भनेको पैसालाई मृत बनाउनु हो । पुँजीलाई मृत बनाएर बस्दा उद्यमशीलता बढ्दैन । उद्यम नबढेपछि राजस्व पनि बढ्दैन ।

त्यसैले बैङ्कले कर्जा प्रवाह बढाउन सीएसआर वापतको रकम उद्यमशीलता तालिममा खर्च गर्ने, इनोभेसन सेन्टर बनाउने काम गर्‍यो भने प्रभावकारी हुन्छ । जबकि बैङ्कलाई कार्यक्षेत्र भन्दा बाहिरका विषयमा त्यो पैसा खर्च गर्न निर्देशन दिने गरिएको छ ।

राज्यले तरलता चलाउन सक्ने उद्यमी तयार गर्नुपर्‍यो । त्यसको लागि सहजीकरण गर्नुपर्‍यो । बैङ्कको पनि पुँजी कसिलो भएको छ, त्यसको लागि पनि विभिन्न नियामकीय व्यवस्थामा परिवर्तन गर्नुपर्ने आवश्यकता छ । त्यसो गरियो भने तरलता प्रवाह हुने अवस्था आउँछ ।

नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे–लिस्ट’ बाट बाहिर निकाल्न राष्ट्र बैङ्कले थप नीति अख्तियार गर्नुपर्ला, यसबारे मौद्रिक नीतिमा के कस्ता विषय समेटिनुपर्ला ?

केन्द्रीय बैङ्कले रकम ओसारपसार अनुगमन गर्न सबै ग्राहकलाई केवाइसी (ग्राहक पहिचान) नम्बर दिने व्यवस्था गर्न सक्छ । यो भनेको एकजना व्यक्ति जुनसुकै बैङ्कमा जाँदा पनि एउटै यूनिफाइड नम्बर होस् । त्यसो हुँदा केन्द्रीय केवाइसी प्रणालीबाट कारोबार गर्न सक्छ ।

केन्द्रीय बैङ्क अन्तर्गत रहेको वित्तीय जानकारी इकाइलाई केन्द्रीय बैङ्कभन्दा बाहिर राखेर काम गर्न सकिन्छ । किनकि उक्त निकायले केन्द्रीय बैङ्कलाई पनि अनुगमन गर्नुपर्छ । तर, यो पनि नियामकीय व्यवस्था अन्तर्गत गर्ने काम हो ।

ग्रे–लिस्टबाट बाहिर निस्कन नेपाल सरकार, मातहतका सबै मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति, विद्युत नियमन आयोग, नेपाल दूरसञ्चार प्राधिकरण लगायत सबैले एक ठाउँमा आएर काम गर्नुपर्छ । राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा ल्याएर काम गर्नुपर्ने हुन्छ । त्यसमा पनि त्यसको तथ्याङ्क कति सुरक्षित राखेर काम भएको छ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ ।

यसतर्फ केन्द्रीय बैङ्कले आगामी मौद्रिक नीतिमा सरकारसँग मिलेर ग्रे–लिस्टबाट हटाउन आवश्यक रणनीति तयार गरिनेछ भनेर सम्बोधन गर्न सक्छ ।

अन्त्यमा; केन्द्रीय बैङ्कले जारी गर्ने आगामी मौद्रिक नीति समग्रमा कस्तो हुनुपर्छ ?

केन्द्रीय बैङ्कले बजार सुहाउँदो मौद्रिक नीति बनाउनुपर्‍यो । हामीले अन्तर्राष्ट्रिय निकायबाट पनि ऋण लिएका छौँ, ती निकायसँगसमन्वय गर्नुपर्‍यो । कतिपय व्यवस्थामा अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतले निर्देशन दिएर गरिएको भन्ने पनि आउँछ, तर सम्बन्धित निकायमा सोध्दा त्यस्तो निर्देशन नदिएको जवाफ आउने गरेको छ ।

मुख्य कुरा – राष्ट्र बैङ्कले बजारसँग प्रभावकारी सञ्चार गर्न सकेको छैन, यसको ट्रान्समिसन पनि राम्रो छैन । मौद्रिक नीतिको ट्रान्समिसन र कम्युनिकेसन ठीक ढङ्गले हुनुपर्छ ।

यो पक्षमा राष्ट्र बैङ्कको तर्फबाट अहिलेसम्म ठूलो कमजोरी भइरहेको छ । आगामी मौद्रिक नीतिमार्फत् यसतर्फ सुधार होला भन्ने अपेक्षा छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ३ : ३७ बजे

यस्तो देखियो नेपाल–चीन सांस्कृतिक सम्मेलन (तस्बिरहरू)

काठमाडौं- नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा

एकीकृत समाजवादीमा विलय हुँदै वामदेवले भने- चार वर्षपछि सपना पूरा भयो, धेरै खुसी छु

काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शुक्रबार काठमाडौंमा

भौतिक पूर्वाधारमन्त्रीको एक वर्ष : १०५ वटा पक्की पुल र १० वटा बेलीबृज जडान

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारको

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ 

नयाँदिल्ली– बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन

सौर्य एयरलाइन्सको दुर्घटनाबारे अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन