काठमाडौं- गुजरातको अहमदावादबाट बेलायतको लण्डन जाने क्रममा दुर्घटनामा परेको विमानको सुरक्षालाई लिएर पहिलेबाटै प्रश्न उठेको खुलेको छ।
एआई १७१ एयर इन्डियाको विमानले २४२ जना यात्रु बोकेको थियो । यो बोइङ ७८७-८ ड्रिमलाइनर विमान हो, जुन अहमदाबादबाट लन्डनका लागि उडेको थियो।
एयर इन्डियाको उडान नम्बर एआई-१७१ को विमानले बिहीबार दिउँसो स्थानीय समयअनुसार १: ३८ बजे उडान भरेको थियो । यो विमान उडेको दुई मिनेटपछि अर्थात् दिउँसो १:४० बजे दुर्घटना भएको हो।
यो पीडादायक घटना अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक मेघानी क्षेत्रमा भएको हो। एयर इन्डियाले जानकारी दिएको अनुसार अहमदावादबाट लण्डनको ग्याटविकका लागि उडान भरिरहेको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेपछि यसको सुरक्षामा फेरि प्रश्न उठेको छ ।
स्थानीय बासिन्दाले आकाशमा कालो धुवाँ देखेपछि घटना कति गम्भीर भन्ने खुलेको थियो । अहिले आएका केही भिडियोमा विमानले उचाइ लिन नसक्दै बजारिएको देख्न सकिन्छ। उडेपछि यो विमान उचाइ लिन नसक्दै एयरपोर्टको पर्खालमा बजारिएर आगलागी भएको हो।
एएनआईका अनुसार विमानस्थल क्षेत्रबाट घाइतेहरूलाई अस्पताल लगिएको देखिएको छ । ठूलो संख्यामा एम्बुलेन्सहरू घटनास्थलमा पुगेका छन् । प्रहरीले उक्त क्षेत्रमा ट्राफिक डाइभर्ट गरेको छ।
एयर इन्डियाका प्रवक्ताले बताएअनुसार दुर्घटनाको विवरण संकलन भइरहेको छ। यसबारे जानकारी कम्पनीको एक्स ह्यान्डलमार्फत सार्वजनिक गरिने उनले बताएका छन् ।
दुर्घटनामा परेको यस जहाजमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ जना यात्रु सवार थिए। दुर्घटनापछि आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको छ। समाचार अनुसार विमान उडेलगत्तै विमानस्थको कार्गो क्षेत्रमा खसेको हो । घटनास्थलमा दमकलका टोली पुगिसकेका छन्, अहिले उद्धार कार्य जारी छ।
विवादमा थियो बोइङ ७८७-८ ड्रिमलाइनर
यो विमान सुरक्षालाई लिएर पहिलेदेखि नै विवादमा थियो । यो बोइङ ७८७ ड्रिमलाइनर उत्पादनको क्रममा धेरै समस्या आएको थियो । विशेषगरी अमेरिका बाहिरबाट पार्टपूर्जा लगेर जडान गरिँदा अर्डर अनुसार आपूर्तिमा पनि समस्या भएको थियो । त्यसो हुनुमा प्राविधिक कारण भनिएको थियो ।
यस विमानका विभिन्न भागमा गुणस्तरको कमी देखिएको थियो । जसका कारण यसअघि नै बोइङको यस विमानलाई लिएर सुरक्षा चिन्ताहरू उत्पन्न भएका थिए।
नियामक निकायहरूले पहिले नै सुरक्षा समस्या देखाएका थिए । नियामक निकायहरूले यस विमानमाथि अनुसन्धानसमेत गरेका थिए । उनीहरूले बोइङका उत्पादनप्रति प्रश्न पनि उठाएका थिए।
यही विवादका कारण बोइङलाई ठूलो आर्थिक घाटा पनि भएको थियो, त्यसका कारण कम्पनीको छविमा पनि नराम्रो असर परेको थियो ।
उत्पादन प्रक्रियामा समस्या आउनुमा यसका सामानहरू बाहिरबाट मगाइन्थ्यो । बोइङले ७८७ ड्रिमलाइनरको उत्पादनमा ‘ग्लोबल सप्लाई चेन’ अपनाएको थियो, जसमा विमानका विभिन्न भागहरू अमेरिका बाहिर बनाइन्थे ।
यसले गुणस्तरमा एकरुपता अभाव, आपूर्तिमा ढिलाइ र समन्वय अभावका समस्याहरू निम्त्याएको थियो । उत्पादनका क्रममा विमानका केही पार्ट्स उचित परीक्षण नगरी जडान गरिएको भन्ने आरोप पनि लागेको थियो ।
यस विमानको फ्युसेलेजमा स–साना चिराहरू पनि देखिएका थिए । त्यसैगरी ब्याकअप इलेक्ट्रिक पावर युनिटमा खराबी पनि भेटिएको थियो। उता कार्बन फाइबर संरचनामा पनि समस्या देखिएको थियो ।
विमानको ब्याट्री सिस्टम (लिथियम आयन) मा आगलागीको घटना पनि भएको थियो । जसले सन् २०१३ मा पूरे विश्वभरका ड्रिमलाइनरहरू अस्थायी रूपमा ग्राउन्डेड (उडान निषेध) गरिएका थिए।
एफएए (फेडेरल एभियशन एडमिनिस्ट्रेशन), ईएसए (युरोपिय युनियन एभियशन सेफ्टी एजेन्सी) लगायतका निकायहरूले बोइङको यो संस्करणका विमानमा कडा जाँच गरेका थिए।
सन् २०१९ पछि विशेष रूपमा अमेरिकाको साउथ क्यारोलिना प्लान्टमा बनेका ड्रिमलाइनरहरूमा ठूलो मात्रामा समस्या देखिएपछि बोइङमाथि थप कडाइ गरिएको थियो ।
यी समस्याका कारण बोइङलाई अर्बौं डलरको घाटा भयो। ग्राहक (एयरलाइन्स) हरूले उडान रोक्ने, सम्झौता रद्द गर्ने र विमान फिर्ता पठाउने निर्णय पनि गरे ।
यसले बोइङको ब्रान्डमा ठूलो क्षति भयो । जुन अझै पूर्णरूपमा पुनःस्थापित भइसकेको छैन। भारतमा फेरि अर्को विमान दुर्घटना भएपछि बोइङलाई अर्को धक्का लागेको छ ।
बोइङ ७८७-८ ड्रिमलाइनर प्रविधि र डिजाइनको दृष्टिले उन्नत विमान भनिएको थियो तर यसको निर्माण प्रक्रियामा भएको हतार र कम्पनीको अतिव्यावसायिक प्राथमिकताकाले धेरै विवाद निम्त्यायो । अहिले बोइङले सुधारका प्रयास जारी राखेको छ ।
तर सुरक्षा र गुणस्तर नियन्त्रणसम्बन्धी प्रश्नहरू अझै चर्चामा छन्। भारतमा अर्को जहाज खसेसँगै बोइङमाथि झन् प्रश्न उठाएको छ ।
प्रतिक्रिया