किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र ! | Khabarhub Khabarhub

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !



मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो घरबाट आएका किताबलाई सुमसुम्याएँ, नयाँ किताब तरुणी हुन् , तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरूलाई सुम्सुम्याउनुपर्छ, यताउति ओल्टाई पल्टाई हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तलसम्म हाल्नुपर्छ, यसो सुँघ्नुपर्छ । तरपनि ममा सरसता आएन, नयाँ किताबहरूले पनि मेरो उत्कण्ठालाई कुत्कुत्याएन । किताबलाई बन्द गरेँ, मानाै कौतुहल जगाउन नसक्ने रहस्यमाथि बिर्को लगाइदिएँ ।’

अर्काथरि साहित्यिक पण्डितहरूको दृष्टिकोणमा नयाँ पुस्तक ध्यान हो । त्यसले मानिसभित्र एकाग्रता ल्याउन सक्नुपर्छ । चैतन्य, प्रज्ञा र सिर्जनारहित पुस्तक रंगाइएको कागज मात्र हो । यस्ता पुस्तकको अध्ययन समयको चोरी मात्र हो । ग्रीक दार्शनिक हेराक्लिट्सको विचारमा पुस्तक पढ्नु नदीमा नुहाउनुजस्तै हो । नदीमा हरेक दिन नुहाउँदा नयाँ स्फूर्ति मिलेजस्तै पुस्तक अध्ययनले पनि नयाँ स्फूर्ति र ज्ञान दिन्छ । 

कवि भूपी शेरचन भन्थे- ‘मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ?’ यही मनोविज्ञानको दबाबमा परेर होला उनको ठट्टा मिश्रित आफैंलाई गरिएको व्यंग्य चर्चित छ– ‘अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !’

जुन विधामा कलम चलाए पनि दार्शनिक चेत र जीवन दर्शन भएन भने त्यो रचना लामो समय बाँच्दैन । संसारमा ठूल्ठूला लेखकहरुमध्ये त्यस्ता लेखक छन्, जसका कृतिले शरीरमा स्लाइनपानीको काम गर्छन् । त्यसैले त राम्रो पुस्तकलाई एउटा महान् आत्माको अमूल्य जीवन मानिन्छ । 

खरायोले महिना महिनामा, कुकुरले तीन महिनामा छाउरा छाउरी जन्माउँछ । तर, राजकुमार कृति निकाल्नुअघि महिनौँ साधनामा बिताउँछन् । उनको लेखकीय प्रश्रव यति जटिल हुन्छ कि हात्तीले बच्चा जन्माएपछि आउने कम्पन जस्तै प्रभाव छोड्छन् । ढिलो जन्मिएर के भो त ! हात्तीको छावा सबैका लागि चर्चायोग्य बन्छ । वन्दनीय हुन्छ । समग्रमा शक्तिशाली बन्छ ।

बीपी अर्को सन्दर्भमा भन्छन्– ‘पढ्नभन्दा लेख्न गा¥हो किनभने पढ्दा उति बौद्धिक संङ्गठन सावधानीको आवश्यकता पर्दैन, लेख्दा भने बुद्धिलाई चङ्ख राखेर त्यसको राम्रो सङ्गठन गर्न सक्नुपर्छ । पढ्दा बुद्धिमा चेतना सतहलाई मात्र जागृत राखे पुग्छ– गहिरो अध्ययन गर्न भने यसले पुग्दैन– तर लेख्दा सतहको असुप्तावस्थाले मात्र पुग्दैन । केही न केही गहिरोपन यसका लागि आवश्यक हुन आउँछ । मुख्य कुरा, विचारको सङ्गठन जरुरत पर्छ लेख्दा । किताब पढ्दा अरुको सङ्गठित विचार पाइन्छ, चम्चाले खाएजस्तो सजिलो हुन्छ । आफैंले लेख्नुपर्दा आदिदेखि अन्तसम्म आफैंले मेहनत गर्नुपर्छ । ’

कृतिको अवधारणासंगै लेखक कार्ययोजनाजस्तै मिसन, भिजन, गोलमा प्रष्ट हुनु जरुरी छ । कसका लागि लेख्दैछु ? किन लेख्दैछु ? कम्तिमा तीनपुस्तालाई छुने कृति त माइलस्टोन नै हो । यो कसीबाट हेर्दा राजकुमार जीवन जगतको नाडी छाम्छन् । मान्छेभित्रका कुण्ठा, खुशी र पीडा आफूभित्र मनन गर्छन् । अन्ततः मानवीय रसायनले मानिसभित्रको सत्व बचाउँछन् । यसरी अक्षरका माध्यमबाट मानिसको ढुकढुकी छाम्न सफल शिल्पी हुन्– राजकुमार । सम्भवत : राजनीतिक चेतले पनि उनको कलमलाई बलियो बनाएको छ । 

 आगोले पोल्छ भन्ने सबैलाई थाहा छ । तर, पीडाले पोलेको छटपटी आगोको रापभन्दा सकसपूर्ण हुन्छ । फलामको आयु खियाले छोट्याएजस्तै मान्छेको मनभित्र चल्ने आँधीले उसलाई भित्रैबाट टुटाउँछ । तर, नेपाली माटोबाट निःसृत विषयवस्तुमा उनिएको ‘किवाहाङ’ राजकुमारलाई लेखकको सफल कोटीमा उभ्याउने भरलाग्दो टेको हुने निश्चित छ ।  

भनिन्छ – भात दुःख हो, अचार सुख हो । त्यही थोरै अचारमा मानिसले धेरै भात लपेटेर खान्छ । राजकुमारको लेखकीय क्षमतामा त्यही अचारको सुस्वाद पाइन्छ । लेखकले चलाएको छिनोको आधार उसको पृष्ठभूमिले पनि रसायनको काम गरेको हुन्छ । 

श्रेष्ठतम प्राकृतिक छटाहरूले सिँगारिएको पूर्वी नेपालको एक सुन्दर पहाडी जिल्ला संखुवासभा थातथलो भएका राजकुमार राई सन् १९९८ मा हङकङ आएका हुन् ।

नेपाल छँदा राजनीतिको घोडा चढेर राजनीतिक नेतृत्वको प्रतिस्पर्धी सवार गरेका उनलाई थाहा पाउनेहरू प्रश्न गर्छन्-किन हङकङ आएको होला ? नेपाल बसेको भए उहिले मन्त्री हुने मान्छे १ यसको उत्तर शब्दले भन्दा मौनता र मुस्कानले धेरै पटक दिए । २७ वर्षपछि चार अक्षरको एउटा जवाफ आयो– किवाहाङ ।

 यो कुनै पागल प्रेमी-प्रेमिकाको वियोगान्त कथा होइन । जसलाई आँसुको मसीले लेखेको होस् । र, पढ्दा मन भावनाले कुँडियोस् । आँसु बगोस् । यसकै आधारमा लेखकलाई राम्रो छस् , एकदम राम्रो भन्नु परोस् ।

 ‘किवाहाङ’ त पुरानो भएर पनि कहिल्यै पुरानो नहुने गोर्खाली पुर्खाहरूको दस्तावेज हो । लाहुरे संस्कृतिको अध्ययन, अनुसन्धान, उत्खनन र लेखन हो । विश्व युद्धको अदम्य साहस, बहादुरी र आत्मसम्मान हो । लेखक राईको यो पहिलो साहित्यिक कृति भएपनि जन्मथलो संखुवासभाका स्कुल-क्याम्पस पढ्दादेखि नै उनले विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित आफ्नो रुचिको बीउ रोपेका थिए । 

हङकङमा सन् २०११ बाट ‘साब्लाबुङ’ साहित्यिक पत्रिका प्रकाशन सुरु गरेका राजकुमार राई सन् २०१२ मा स्थापित हङकङ साहित्यिक साझा श्रृङ्खलाका एक संस्थापक संरक्षक हुन् । यसका साथै नेपालका दुर्गम ठाउँहरूको पुस्तकमा पहुँच पुगोस् भन्ने उद्देश्यले कार्यरत संस्था ‘साब्लाबुङ पुस्तकालय अभियान’का अभियन्ता पनि हुन् ।

किवाहाङको सर्वोपरि आत्मासँग लेखकको पृष्ठभूमि जोडिएको हुनाले यो चिनारी आवश्यक छ । यसको अर्थ हङकङमा लेख्नको लागि दुनियाँ विषय हुँदाहुँदै पनि उनले किन ब्रिटिस गोर्खा सैनिकको आख्यान ‘किवाहाङ’ नै लेखे भन्ने हो ।

 उपन्यासको पृष्ठभूमि 
पूर्वी पहाडी जिल्ला संखुवासभा , अङला गाउँ, मालिङ्टार गोरखा सैनिक हवल्दार बाजे जो गाउँका भर्खरै पखेटा पलाएका बचरा जस्ता लाग्ने निर्दोष केटाहरूको सपनाका एक प्रतीकात्मक पात्र हुन् । उसले लगाएर गराप गराप बुट जुत्ता, हरियो कमब्याट, उस्तै रङको गोलाकार टोपी, देब्रे हातमा टल्किरहेको  सिको फाइभ घडी, औँलामा टलक्क टल्किने बेरुवा सुनको औंठी, गाउँमा कसैको घरमा नभएको मिस्टिन, मग, लालटिन, किर्पेटबोरा जस्ता वस्तुहरूको आकर्षणले गोर्खा भर्तीको रहर जगाएको एक १६ वर्षे ठिटो किवाहाङ नै यसका प्रमुख पात्र हुन् ।

गाउँघरमा खोजीखोजी जबरजस्ती जस्तो गोर्खा भर्ती लाने जमानामा भर्ती भएका हवल्दार बाजेले गाउँका ठिटाहरूलाई गोर्खा भर्तीका निम्ति इन्डिया पु¥याउँछन्। त्यहाँबाट सुरु हुन्छ– लाहुरेको जीवन यात्रा । गोर्खा भर्तीको इतिहास हेर्ने हो भने सन् १८१४-१५ मा भएको नेपाल भारत युद्धमा देशको सार्वभौमिकता र स्वाधीनताका लागि दिलो ज्यान दिएर लडेका नेपाली गोर्खा सैनिकहरूको वीरता देखेर भारतलाई कब्जा गरी बसेका ब्रिटिसहरूको आँखा गोर्खा माथि पर्नु हो । सशस्त्र ब्रिटिस सेनाले जित्न नसकेको त्यो युद्धबाट प्रभावित भएर नेपालीलाई गोर्खा सैनिकको निम्ति आह्वान भएको थियो ।

 तर स्वाभिमानी र वीर नेपालीले त्यो कुरा स्वीकार गरेनन् । र, युद्धमा भागेका साढे चार हजार बढी सैनिकहरूलाई ब्रिटिस गोर्खा सैनिकमा भर्ना गरे । तिनीहरूलाई भारतमा भएको अङ्ग्रेज– सिख युद्धमा प्रयोग गरे । ती युद्धहरूमा पनि गोरखा बटालियनले देखाएको बहादुरीबाट ब्रिटिस अत्यन्त प्रभावित भयो । 

 तत्कालीन नेपालका राणा शासनलाई सोझासाझा जनता बेचेर रोयल्टी लिने यो एउटा ठूलो अवसर थियो । यसैबेला तत्कालीन शासक चन्द्रशमशेरले ब्रिटिसलाई गोर्खा भर्तीका लागि अनुमति दिए । त्यसबापत वार्षिक १० लाख भारु। रोयल्टी खाँदै आए । सन् १९१४ देखि १९१८ सम्म भएको पहिलो विश्वयुद्ध र १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धको एकमुष्ट क्षतिपूर्ति ३ करोड ५० लाख भारु लिएर चन्द्रशमशेरले दरबार बनाए ।

विश्वयुद्ध रोकिएपछि बर्मा, मलाया, सिङ्गापुर, इटालीबाट अङ्गभङ्ग भएर बिनापेन्सन देश फर्काइएकाहरूको जीवन धेरथोर  बुझेका किवाहाङ र उसका साथीहरू आखिर भर्ती नै जान्छन् ।
भर्ती जानको लागि तयार हुँदा गाउँमा आप्पा, आमाले गरिदिएको पूजाआजा, भाकल, आफन्त र गाउँलेले बिदाइमा चुहाएको आँसु र हल्लाएको हातहरूको मायालाई मुटुमा गाँठो पारेर भर्ती  हिँडेको किवाहाङलाई अनेक युद्ध लडिसकेका हवलदार बाजेको कुरा सुनेर बाटैबाट फर्कौँ फर्कौँ नलागेको होइन । तर उसका रहर र सपनाका धेरै हुटहुटीहरूले फर्कन दिँदैन । किवाहाङ एक सांस्कृतिक मान्छे हो ।

उसले आफ्नो पौराणिक रीतिरिवाज र संस्कार- संस्कृतिको महत्वलाई सदैव सिरोपर गरेको छ । ऊ भौगोलिक मान्छे पनि हो । उसलाई आफ्नो भूगोल आफ्नो ज्यानभन्दा प्यारो लाग्छ। ऊ प्रेमील मान्छे पनि हो । उसले मनमाया सोल्टिनीसँग भाका बसेको कुरा पनि भुल्न सक्दैन ।

भर्खरै कुखुरे बैँस चढेको किवाहाङलाई भर्ती जाँदै गर्दा हवल्दार बाजे र गल्लावालले सुनाएका बर्मा मणिपुर सिमानामा जापानिजहरूलाई गजे घले र लक्षुमन गुरुङले खुकुरीले छप्काएको घटनापछि भारतीयहरू खुकुरी देख्नासाथ डराउने गरेको कुराले अन्तरहृदयमा छुन्छ । 

 नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ भाषामा रनभुल्ल पर्दै भए पनि भर्ती लागिसकेपछि गल्लावालले राम्रो गर्नु, नाम राख्नु, नाम काटेर नआउनु, हवल्दार भएर फिर्नु भन्दाखेरिका क्षण ढुंगाको अक्षर बनेर रहन्छ । यो कारणले लेप्टन, क्याप्टेन, गोरखा मेजरभन्दा उसलाई हवल्दार प्यारो लाग्ने गरेको प्रसङ्ग गज्जब लाग्छ । युद्ध लडेर पनि प्रमोसन नपाएकाहरूलाई बूढो सिपाही भन्ने गरेको कुरा सँगै थाइल्याण्डको उसान नदी किनारामा गोर्खाहरूको बंकरमाथि जापानी ट्यांकहरूले आक्रमण गर्दा हजारौं गोरखाहरू हताहत भएको इतिहासले मुटु काम्छ ।


विश्वयुद्ध सकिएपछि मलायाका विद्रोहीहरूलाई ‘जसलाई ब्रिटिसले ब्याण्डिट’ भन्थे ० दमन गर्न गोर्खाहरू प्रयोग गरे। उनीहरू ब्रिटिस र राजाको दासत्वबाट आफ्नो देशलाई मुक्त गराउन विद्रोह गरिरहेका थिए। उनीहरूले ‘वीर गोर्खा साथीहरू ! तपाईँहरूले जापानीजहरुबाट हाम्रो माटो बचाइदिनु भएकोमा आभारी छौँ । हाम्रो राष्ट्रियता बचाउन तपाईँहरूको खुन बगेको छ । तपाईँहरूले बचाइदिएको राष्ट्र आज ब्रिटिससँग मिली राजाले बेचेर खाँदैछन् । हाम्रो राष्ट्रियता खतरामा परेको छ । गरिब मजदुर किसानहरूको खुन पसिनामा ब्रिटिस र राजा विलासी जीवन बिताउँदै छन् । यस विरुद्ध हामी मलाई राष्ट्रवादीहरू उठेका छौं । हाम्रो तपाईंहरूसँग दुश्मनी छैन । कृपया रक्त पिपासु ब्रिटिशलाई छोडेर तपाईंहरूलाई आफ्नो देश फर्किदिनहुन हार्दिक अनुरोध गर्दछौँ ।’ 

 यस्ता पर्चाहरू ब्रिटिस गोर्खा सैनिकले भेटे पनि ब्रिटिसको आदेशलाई पालना गर्न छाडेन। त्यहाँ विद्रोही र गोर्खाको धेरै सङ्ख्यामा हताहत भयो । यो प्रसङ्गको जर्जरतासँगै बर्मादेखि मलेसिया, सिंगापुर, ब्रुनाई , इराक, वासारा , उत्तर अमेरिका ,सिरिया र इटालीमा हजारौं हजार ब्रिटिस गोर्खा साथीहरू गुमाएको कुरा किवाहाङका एक पात्र बुढो ब्रिटिस सिपाहीले सम्झाएको क्षणले कारुणिक बनाउँछ । यस्ता थुप्रै युद्धका गाथाहरू बोकेको छ । 

यो उपन्यास सामाजिक हिसाबले पनि अत्यन्तै उदाहरणीय छ । ब्रिटिस गोर्खा सैनिकहरूले समाज विकासमा कसरी योगदान गरिरहेका छन् भन्ने थुप्रै उदाहरण यसभित्र समाविष्ट गरिएका छन् । लाहुरे संस्कृति र विशेष गरेर राई-लिम्बुहरूको मौलिक संस्कार संस्कृति तह कुनै डकुमेन्ट्री हेरेजत्तिकै छर्लङ्ग छ। चाहे जुनसुकै भूगोल परिस्थिति र आधुनिक बन्दै गएको समयको प्रभावले पनि ब्रिटिस गोर्खाहरुले नगुमाएको आफ्नो मौलिकपन साँच्चै गर्व गर्न लायकको छ । 

लाहुरे भन्नासाथ निर्दयी मान्छेको प्रतीकको रुपमा बुझ्ने मानसिकतालाई उनीहरूले दुश्मनप्रतिको उदारता उदाहरणद्वारा किवाहाङले प्रतिवाद गरेको छ ।

लाहुरेहरू सुरासुन्दरी र यौनप्रति लिप्त् हुन्छन् भन्ने कुरालाई किवाहाङले ब्रुनाईमा भेटेको सान्ड्रा  नामकी इटालियन सुन्दरीले नजिक आउन अति नै चाहना गर्दा पनि भागेको प्रसङ्गले जवाफ दिएको छ । किवाहाङले आफ्नी श्रीमती मनमाया र छोरी हाङमायालाई गरेको प्रेम अर्को उदाहरणको रुपमा प्रस्तुत गरिएको छ।

 ब्रिटिस गोर्खा आर्मीलाई विभिन्न ठाउँमा ब्रिटिसले राख्ने क्रममा हङकङ आएर यहाँका समुद्र किनारहरूमा गस्ती गरेको प्रसङ्ग र ढुंगे डाँडा पाखाहरुमा गोर्खाहरूले रोपेको बिरुवा हुर्केर देखिएको सुन्दर दृश्य ले गोर्खाहरूको इतिहास बोलेको प्रसङ्ग उल्लेख छ । चिनियाँहरू हङकङ पस्ने क्रमलाई रोक्न ब्रिटिसले गोर्खा सैनिक प्रयोग गरेको र यहाँका स्थानीय साम, सुई पो र मङ्काः जस्ता ठाउँहरूमा ब्रिटिस विरुद्ध जुलुसहरू निस्कने गरेको किवाहाङले समेटेको छ । 

यस्ता सयौँ विषय सन्दर्भ बाहेक बीचबीचमा अकबर, बीरबल, मुगल राज्यलगायत चर्चित प्रसङ्गहरू पनि प्रस्तुत गरिएको छ। यसका पात्रहरू साक्षात प्रकृतिका छन् । वियोगान्त इतिहासका आख्यानहरूले भरिएको यो उपन्यास मुख्य पात्र किवाहाङ, उनको जीवन संगिनी मनमाया र छोरी हाङमायाको जीवनलाई सुयोगान्त भेटमा नै टुङ्ग्याइएको छ । यो पुस्तक पढ्न ठूलो धैर्य चाहिन्छ । 

एकैपटकमा कतिपय विशेष सन्दर्भहरू बुझ्न कठिन हुन्छ। एकदमै धेरै तथ्याङ्कहरु पनि उल्लेख गरिएकोले उपन्यासको सरलता बाक्लो भएको छ । तर यस पुस्तकलाई दोस्रो पुस्ताका लागि उनीहरूले बुझ्ने भाषामा अनुवाद गरेर दिने हो भने आफ्नो पुर्खाको इतिहास आफ्नो हैसियत र विशेष संस्कार संस्कृति बुझ्नको निमित्त अति नै साथ दिन्छ । 

यस पुस्तकले किरात राईका भाषा विशेष गरेर विशेष गरेर लेखक लोहोरुङ राईकै कतिपय सम्बोधन र नाता सम्बन्ध बुझाउने शब्दहरू प्रयोग भएको छ । जसलाई परिशिष्ट गरिएको छैन । लेखकको लेखकीय व्यक्तित्व भएजस्तै हरेक रचनाको पनि आफ्नो व्यक्तित्व हुन्छ। यो उपन्यासको भारी व्यक्तित्व छ । 

तर पढ्दै जाँदा केही उपन्यासको जस्तो भाषा आम मानिसले आम पाठकले पढ्ने गरेका छन्, त्यस्तो पाउन अलिक नसकेको हो कि भन्ने लाग्दछ । र गैर आख्यानको गतितर्फ अघि बढेजस्तो पनि लाग्दछ । यहाँ भाषा भन्नाले इकार, उकार, तर्कुले, वरदाने, ह्रस्व, दीर्घ वा कुनै व्याकरणीय वाक्य निर्माणको सन्दर्भ उठाइएको होइन । न कि आञ्चलिक समाजका विभिन्न जातिले बोल्ने बुझ्ने भाषाको बारेमा नै उल्लेख गरिएको हो ।  

उपन्यास पढ्दा जोडिने कौतुहलपूर्ण प्रासङ्गिक ङ्किक भाषाको ध्यानाकर्षण भएको हो ।  जस्तो कि समाचारमा लेखिने भाषालाई कुनै अरु साहित्यिक विधाको भाषा मान्न सकिन्न । त्यसले त्यो विधाको गुण पनि बोकेको हुँदैन । त्यसबाहेक यो पुस्तकको विषयमा बोल्नको निमित्त धेरै ठूलो अध्ययन, धैर्य, लगनशीलता इच्छा जागरण हुनु पर्ने रहेछ भन्ने लागेको छ । 

पात्रहरू थोरै छन् तर ती पात्रहरूले बोलेका कुराहरू भन्दा लेखकको अभिव्यक्ति चाहिँ अलिक बढी आयो कि जस्तो पनि लाग्दो रहेछ । यो पुस्तक पढिसकेपछि यही विषयको अर्को पुस्तक कसैले लेख्न चाह्यो भने उसले कति अध्ययन गर्नुपर्छ होला !  भन्ने सोचाइमा अवश्य पुगिन्छ । गोर्खा सैनिकका सम्पूर्णता यही छ जस्तो लाग्ने यो पुस्तक गोरखा सैनिकशास्त्र जस्तो लाग्दछ । 

 लोहोरुङ राई भाषामा  किवाहाङको शाब्दिक अर्थ बाघको राजा भन्ने हुँदोरहेछ। यो राजाले उठान गरेका र सुक्ष्म रूपले बाँड्न खोजेको चेतना नेपालका सबै वर्गलाई मन पर्दैन । लेखकले यो उपन्यास लेख्दा सबैले मन पराउन र चर्चाको शिखरमा पुर्‍याइदिउन् भनेर लेखेका पनि होइनन् होला । विषय, बहस र मुद्दामा केन्द्रीकृत हुने मानसिकताका विद्वानहरूले यो किताब खोजी खोजी पढ्नेछन् । 

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १ : १३ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच