काठमाडौं- नेकपा (एमाले) भित्र अस्तित्वको लडाइँ लड्दाको समयदेखि साथ दिएकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीविरुद्ध व्यक्तिगत रुपमै उत्रिन थालेका छन् अध्यक्ष केपी शर्मा ओली ।
दुई कार्यकाल राष्ट्रपति बनेर बिदा भएपछि गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममार्फत् एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई छेक्न ओलीले अहिले सबै शक्ति लगाएका छन् ।
गत साउन ५-६ गतेको केन्द्रीय कमिटी बैठकबाट पूर्वउपाध्यक्ष भण्डारीले २०८१ वैशाखमा नवीकरण गरेको पार्टी सदस्यतासमेत अमान्य भएको निर्णय गराएका ओलीले अझै रोकिने छाँट देखाएका छन् । उक्त बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनमार्फत् उनले भण्डारीका लागि पार्टीका कुनै फोरम उपलब्ध नगराउनसमेत मातहतका कमिटीलाई भनेका छन् ।
उक्त केन्द्रीय कमिटी बैठकपछि ओलीले सातै प्रदेश इन्चार्ज, अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूला बालुवाटारमा बोलाएर भण्डारीले पार्टीमा आँधी ल्याउन खोजेको आरोपसहित कहीँ कतै सार्वजनिक मञ्च र पार्टीका कार्यक्रममा स्थान नदिने ग्यारेन्टी खोजे । त्यहाँ उनले भण्डारीका कारण पार्टीमा देखिन सक्ने दुई लाइन संघर्षलाई पूरै बन्देज लगाउने निर्देशन सुनाउँदै नेताहरूलाई त्यहीअनुसार अघि बढ्नसमेत भने ।
ओली त्यतिमै रोकिने अवस्थामा छैनन् । हाल भंगालस्थित निवासबाट आफ्ना गतिविधि अघि बढाइरहेकी उनले गत ९ साउनमा बबरमहलमा पत्र कार सम्मेलन गरेर आफूलाई एमालेमा सक्रिय हुन कसैले रोक्न नसक्ने घोषणा नै गरिन् ।
भण्डारीको उक्त घोषणाका क्रममा एमालेले कडा निर्देशन दिँदा दिँदै करिब आधा दर्जन केन्द्रीय सदस्य सहभागी भए । भण्डारीले कुनै हालतमा आफू अघि बढ्ने घोषणा गरेपछि चिढिएका ओलीले त्यसयता गालीगलौजकै भाषामा उनीप्रति प्रहार गर्न छाडेका छैनन् ।
यसबीचमा केही दिनयता भण्डारीले आफूलाई सक्रिय बनाउन काठमाडौंको थापा गाउँमा सम्पर्क कार्यालय खोलेकी छन् । छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेशनले प्रयोगमा ल्याइरहेको थापागाउँको उक्त घरमा अहिले कार्यलय खोल्ने तयारी अघि बढेको छ ।
एमालेका तत्कालीन महासचिव एवम् विद्याका पति मदनकुमार भण्डारीले २०४८ सालको चुनाव प्रचार प्रसार गरेको घरमै उनले सम्पर्क कार्यालय खोलेपछि ओलीको आक्रोश चुलिँदो छ ।
सबै शक्ति लगाएर रोक्दा पनि भण्डारीले सक्रिय हुन सम्पर्क कार्यालय खोल्न लागेको बुझेका ओलीले अब मदन भण्डारी फाउन्डेशनलाई निशाना बनाइरहेका छन् ।
खासमा उक्त फाउन्डेशनले मदनको ७५ औँ जन्मजयन्ती मनाउने प्रयोजनका लागि भाडामा लिएको काठमाडौंका पूर्वउपमेयर बिदुर मैनालीको उक्त घरबाटै अब विद्या सक्रिय हुनेछिन् । २०५१ को चुनावमा विद्याले त्यही घरलाई चुनाव प्रचार सचिवालयका रुपमा उपयोग गरेकी थिइन् ।
फाउन्डेशनका नाममा प्रयोग भइरहेको घरलाई सम्पर्क कार्यालय बनाउने तयारी गरेसँगै ओलीले सोमबार च्यासलबाट पोखेको आक्रोश अस्वभाविक थियो ।
यसका पछाडि उक्त फाउन्डेशनकी अध्यक्ष उषाकिरणले आमाको एमालेको सदस्यता नवीकरण नगर्ने निर्णयपछि पार्टीको विभागबाट दिएको राजीनामा पनि जोडिएको छ । उषाकिरण एमालेको परराष्ट्र मामिला विभागकी सदस्य थिइन् ।
भण्डारीले पाँच दिनअघि एमालेको विभागबाट राजीनामा दिएको कुराले ओलीलाई झन् चिढ्याएको स्रोत बताउँछ । यद्यपि राजीनामाबारे उनी स्वयम् र एमालेको परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले अहिलेसम्म औपचारिक रुपमा बोलेका छैनन् । रघुवीरले उषाकिरणको राजीनामाबारे आफू जानकार नरहेको मात्रै जवाफ दिइरहेका छन् ।
विद्याले सम्पर्क कार्यालय खोल्ने निर्णय र पुत्री उषाले पार्टी विभागबाट राजीनामा दिएर असन्तुष्टि पोखेको कुरा ओलीलाई मन परेको छैन । यद्यपि उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादै आफूहरूको मूल सिद्धान्त रहेको कुरा बताउन भुलेका छैनन् ।

आक्रोश
पूर्वराष्ट्रपति भण्डारीले ११ औँ महाधिवेशनमा आफूलाई चुनौती दिन आउने बुझेपछि केन्द्रीय कमिटीबाट निर्णय गराएर छेकिसकेका ओली आफैं पनि मदन भण्डारी फाउन्डेशनका संरक्षक हुन् । तर आफैं संरक्षक रहिसकेको संस्थालाई उनले मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट ठगी खाने संस्थाको संज्ञा दिए ।
मदन भण्डारी फाउन्डेशनकी वर्तमान संरक्षक पूर्वराष्ट्रपति भण्डारी हुन् । माधव नेपाल र झलनाथ खनालको पेलानमा परेका समयमा जिल्ला जिल्ला पुग्ने गरी आफ्नो राजनीतिक विरासत उकास्न प्रयोग गरेको त्यही संस्थालाई ओलीले च्यासलमा त्यस्तै अर्को संस्थाको कार्यक्रमलाई गाली गर्न उपयोग गरे।
पूर्वराष्ट्रपति भण्डारीसँग तनाव बढिरहँदा ओलीले ३१ वर्ष पुरानो मदन-आश्रित स्मृति प्रतिष्ठानलाई सक्रिय पार्दै फाउन्डेशनमाथि धावा बोलेका हुन् ।
तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित २०५० जेठ ३ गते दासढुंगामा जीप दुर्घटना हुँदा मृत्यु भएको थियो । त्यसलगत्तै २०५० जेठ ९ गते मदन–आश्रित स्मृति प्रतिष्ठान खोलिएको थियो। यो प्रतिष्ठान कयौँ वर्ष निष्क्रिय रह्यो । तर जब फाउन्डेशन विद्याको पकडमा गयो तब ओलीले प्रतिष्ठान ब्युँत्याएर त्यसको अध्यक्ष पनि उपमहासचिव प्रदीप ज्ञवालीलाई बनाएका छन् । यही साउन २३ गते अधिवेशन गरेर नयाँ कमिटी बनाएका ओलीले सोमबार फाउन्डेशनविरुद्ध विष वमन नै गरे।
ओलीले मदन भण्डारी फाउण्डेशन पाखण्डीहरूले कब्जा गरेको आरोप लगाएका छन् । तर ओलीले पाखण्डी को हुन् भन्ने खुलाएनन् । उनले फाउन्डेशनलाई गाली गर्न प्रयोग गरेको मञ्च ‘मदन–आश्रित स्मृति प्रतिष्ठान’ प्रतिष्ठान हो । जसको नयाँ अध्यक्षमा एमालेभित्र बौद्धिक नेताका रुपमा चिनिने उपमहासचिव प्रदीप ज्ञवाली चयन भएका छन् । ज्ञवालीसहितलाई मदनकै नामको प्रतिष्ठानको सपथ खुवाउँदा ओलीले उषाकिरण नेतृत्वको फाउन्डेसनलाई ‘ठगी खाने भाँडो’ भनेर दुर्वाच्य बोल्न भ्याए ।
ओलीले फाउन्डेशन मदन भण्डारीकै विचारविपरीत अघि बढिरहेको आरोप पनि लगाए । फाउन्डेशनका पदाधिकारीहरूको व्यवहार र अभिव्यक्तिले त्यसलाई पुष्टि गरेको जिकिर उनको थियो । खासमा उषाकिरण ओलीले भने जस्तो जथाभावी सार्वजनिक रुपमा बोलेकी छैनन् ।
उनले आमालाई एमालेमा रोक्ने ओलीको निर्णयपछि साउन ७ मा सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिएकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीकी छोरी तथा मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरणले सामाजिक सञ्जालमार्फत साउन ७ मा भनेकी थिइन्, ‘तपाईंहरूमध्ये कतिजना यो निर्णयबाट छक्क पर्नुभएको छ, यो निर्णय देखेर म छक्क परेँ। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ?’
उषाकिरणले आफू भने निर्णय र त्यसमा पुग्न प्रयोग गरिएको ‘तिगडम’बाट अचम्मित बताएकी थिइन् । ‘म खुसी छु कि यो खुला रूपमा बाहिर आयो। अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग !’, उनले भनेकी थिइन् । तर उनले उक्त निर्णयलाई लिएर ओलीप्रति व्यक्तिगत रुपमा कुनै प्रश्न गरेकी थिइनन् ।
भण्डारी त्यसयता सार्वजनिक मञ्चहरूमा पनि बोलिएको सुनिएको छैन । तर ओलीले उषाकिरणसहित फाउन्डेशनका पदाधिकारीलाई पाखण्डीको संज्ञा दिएर ठगी खाएको समेत भन्न भ्याए ।
‘पार्टीका सम्मानित नेताको नामा स्थापना गरिएका संस्थाहरू सही बाटोमा हिडनुपर्छ । साँच्चिकै काम गर्छ कि ठगी खाने भाँडो बन्छ भन्ने हेर्न जरुरी छ’, उनले सोमबार भने, ‘नेताहरूका नाममा बनाइएका प्रतिष्ठानहरू ठगी खाने भाँडो बनाउने परिपार्टी हुनुहुन्न । नेताको आदर्श पच्छ्याउन सक्नुपर्छ ।’

उनले आफ्नो राजनीतिक जीवन संकटमा पर्दा सक्रिय हुन उपयोग गरेको मदन भण्डारी फाउन्डेशन पार्टीले नबनाएको भनेर पन्छिनसमेत खोजे । ‘मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन । हामी मिलेर बनाएको हो’, उनले भने, ‘मदन भण्डारी र जीवराज आश्रितको जन्मदिन मनाउन नपाइने भएपछि मदन-आश्रित स्मृति प्रतिष्ठान बनाउनु परेको हो ।’
ओलीले फाउन्डेशन र त्यसका पदाधिकारीलाई गालीको शैलीमा बचन लगाउँदै अब ‘मदन-आश्रित स्मृति प्रतिष्ठान’लाई उपयोग गरिने बताए । ओलीले त्यस सम्बोधनअघि नै साउन दोस्रो साता बालुवाटारमा पुगेका सातै प्रदेशका नेताहरूलाई फाउन्डेशन र पूर्वराष्ट्रपतिलाई कुनै स्थान नदिन कडा निर्देशन दिइसकेका थिए । उनको सोमबारको सम्बोधन पनि त्यही निर्देशनको मुखरित रुपका रुपमा बुझिएको छ ।
ओलीले फाउन्डेशनप्रति तीतो पोखेको भोलिपल्ट मंगलबार एमाले महासचिव शंकर पोखरेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्तलाई उच्चतम् प्रयोग गर्ने काम एमालेको भएको धनकुटाको हिलेमा सुनाए । तर उनैले पूर्वराष्ट्रपतिको सम्मानका लागि राजनीतिमा आउन नदिएको भन्दै ओलीकै व्याख्यालाई दोहोर्याए ।
‘पूर्वराष्ट्रपति राजनीतिमा फर्किने अपेक्षा हामीलई थिएन । उहाँ राष्ट्रपतिबाट बिदा भइसकेकपछि पार्टी स्थापना दिवसका दिन गणतन्त्र गौरव सम्मान दिइएको हो’, उनले भने, ‘उहाँ पार्टी राजनीतिभन्दा माथिको व्यक्ति हो भन्नेमा कुनै अलमल छैन । पार्टीमा पार्टी अध्यक्षभन्दा माथि कोही कार्यकर्ता हुँदैनन् । तर उहाँलाई महिला अधिकार दिवसका दिन उहाँलाई प्रमुख अतिथि बनाएर पार्टीभन्दा माथि रहेको सन्देश दिन सम्मान गरेको हो । निर्णय गरेर भन्ने कुरा होइन, उहाँलाई तपाईं पार्टीभन्दा माथि हो भनेर सन्देश पटक पटक दिएका थियौँ ।’
यति हुँदा हुँदै पनि पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरेको उनले बताए । ‘संगठन विभागका साथीले यो संवेदनशील विषय भएकाले चर्चामा नल्याऊँ भन्नु भएको हो । तर पूर्वराष्ट्रपतिले असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा सदस्यता नवीकरणको कुरा बाहिर नल्याएको भए यो विवाद नै हुने थिएन’, उनले भने, ‘विवाद भइसकेपछि पार्टीले निर्णय गरेको हो । केन्द्रीय कमिटीले निर्णय गरिसकेकाले भदौमा हुने दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपतिको विषयमा छ्लफल हुँदैन ।’
पूर्वराष्ट्रपतिले जनीतिमा आएँ भएर बोल्नु गरिमाबाहिर रहेको समेत उनले बताए । ‘पार्टी निर्णयछि पनि उहाँले पूर्वराष्ट्रपति होइन, एमालेकी पूर्वउपाध्यक्ष हुँ भनेर बोल्नु भएको छ’, उनले अगाडि भने, ‘पूर्वराष्ट्रपतिले उहाँको गरिमाबाहिर गएर त्यो कुरा बोल्नु भएको छ ।’
ओलीलाई संकटको साथी
कुनै समय एमालेमा ओलीको अवस्था नाजुक थियो । माधवकुमार नेपाल महासचिव हुँदा ओलीले पार्टीमा कुनै स्थान पाउँदैन थिए । उनले फरक मत व्यक्त गर्न पनि पार्टीका फोरम मिल्दैन थियो ।
२०५० सालमै स्थापित ‘मदन भण्डारी फाउन्डेशनलाई ओलीले संकटको सहारा बनाए । एमाले तत्कालीन महासचिव माधवकुमार नेपालले पेल्न थालेपछि बोल्ने मञ्चका रुपमा ओलीले यसलाई उपयोग गरे। २०५६ सालमा फाउन्डेशनको अध्यक्ष एमालेकी त्यबसेलाकी केन्द्रीय सदस्य भण्डारी नै बनेकी थिइन्। अहिले विद्याले जस्तै ओलीले पनि माधव नेपालले पेलेको समयमा यही फाउन्डेशनलाई उपयोग गरेर तलैसम्म आफ्नो गुट निर्माण गरेका थिए ।
यसरी फाउन्डेशन सक्रिय गराउनुको पछाडि ओलीलाई २०५४ सालमा लागेको राजनीतिक धक्का थियो । विद्या अध्यक्ष हुँदा फाउन्डेशनको संरक्षक रहेका ओली २०५४ सालको एमाले महाधिवेशनमा धक्का भोग्न बाध्य भएका थिए । त्यसपछि उनले मदन भण्डारी फाउन्डेशनलाई उपयोग गरेर एमालेमा शक्ति आर्जन गरे। त्यसबेलादेखि राष्ट्रपतिबाट बिदा नहुँदासम्म भण्डारी ओलीकै साथमा थिइन् ।
ओलीले फाउन्डेशनलाई काठमाडौंमा भएको नवौँ महाधिवेशनसम्म उपयोग गरिरहे । एमालेको नवौँ महाधिवेशनसम्म फाउन्डेशनमा जोडिएको व्यक्तिले कुनै पनि निर्वाचनको टिकट लिनका लागि धेरै मिहिनेत गर्नै पर्दैनथ्यो । माधव नेपाल शक्तिमा हुँदा ओलीलाई मञ्च मिलाइदिएको त्यही फाउन्डेशनलाई उनैले अहिले ठगीको अखडा भनेर बदनाम गर्न थालेका छन् ।
ओलीको यो भनाइलाई लिएर हाल एकीकृत समाजवादीको प्रचार विभाग उपप्रमुख रहेका फाउन्डेशनका पूर्वकेन्द्रीय सदस्य दामोदर अर्याल चाहिँ धन्यवाद दिन्छन् ।
‘मदन भण्डारी फाउण्डेशनन ठगेर खाने संस्था हो भनेर केपी ओलीले भन्नुभयो भनेर सामाजिक सञ्जाल तातेको छ । साँच्चिकै यो भन्नुभएको भए उहाँलाई धन्यवाद दिनुपर्छ । किनकि यो संस्थाको संरक्षक स्वयम् ओली नै हुनुहुन्छ’, उनले भनेका छन्, ‘ठगी र भ्रष्टाचारको आरोपमा जेल बसेका कयौँ मान्छेहरूले समेत आफूप्रति प्रतिशोध राखिएको र आफू निर्दोष भएको बताइरहेको यो बेला आफ्नै संरक्षकत्वमा आफ्नै संस्थाले ठगी गरेको बयान दिनु चानचुने कुरा होइन । अब उहाँले आमजनतासमक्ष आत्मआलोचना गर्दा राम्रो हुन्छ ।’
ओलीको यो भनाइलाई लिएर एमालेका युवा नेता प्रकाश पौडेलले चित्त दुखाएका छन्। उनले ओलीलाई माधव नेपालहरूले खेदेको विगतको समय स्मरण पनि गराएका छन् ।
‘माधव नेपालहरूले टेक्ने धर्ती, हिँडने बाटो नदिएको बेला तपाईंलाई उजागर गर्ने माध्याम थियो मदन भण्डारी फाउन्डेशन । आज तपाईंले दिएको अभिव्यक्तिले लाखौँ एमालेका कार्यकर्ताको मन पोलेको छ’, उनले भनेका छन्, ‘क्रान्तिमा सबै ठिक र उपलब्धिपछि ती विषय गलत भन्ने साँचो बोल्ने मान्छेले स्वीकार गर्न सक्दैन । मदन भण्डारी फाउन्डेशन मदनको जीवन र विचारलाई जीवित राख्ने महत्वपूर्ण माध्यम हो ।’
के हो फाउन्डेशन ?
यो फाउन्डेशन २०५० सालदेखि नै सक्रिय भए पनि आधिकारिक रुपमा २०५६ सालमा अध्ययन अनुसन्धान केन्द्रका रुपमा खुलेको हो । त्यसयता मदन भण्डारी फाउन्डेशनले कलेजको आधारशिला रूपमा काम गर्दै आएको उसको वेबसाइटमा उल्लेख छ । ‘परिवर्तनका लागि नेतृत्वमा उत्कृष्टता. भन्ने मार्गदर्शक मूलमन्त्रलाई आत्मसात् गर्ने मिशनलाई अगाडि बढाइरहेको भनिएको छ । यसलाई गैर–नाफामूलक संस्थाको रूपमा चिनाइएको छ । फाउन्डेशन समग्र विद्यार्थीको विकासमा गहिरो प्रतिबद्ध रहेको भनिएको छ।
अहिले यस संस्थाले मदन भण्डारी मेमोरियल कलेज (स्नातक र स्नातकोत्तरका कार्यक्रममा), मदन भण्डारी मेमोरियल स्कूल (माध्यमिक तह) र अन्य शैक्षिक र सामाजिक पहलहरू सञ्चालन गरिरहेको छ ।
यो संस्था २०६१ साल भदौमा मदन भण्डारी फाउन्डेसनमा परिणत भयो । भण्डारी २०५६ देखि २०७२ सम्म फाउन्डेसनको अध्यक्ष थिइन् । राष्ट्रपति निर्वाचित भएपछि उनले फाउन्डेशन र पार्टी दुवै छोडिन् । अहिले उनी संरक्षकको भूमिकामा छिन् ।
यस फाउन्डेशनले शैक्षिक कोषमार्फत् स्नातकोत्तर, एमफील, विद्वतावारिधि र अन्य अनुसन्धान कार्यका लागि छात्रवृत्ति, अनुदान र सहयोग दिने गरेको छ । सम्बन्धित विश्वविद्यालयले छानेका विद्यार्थीलाई फाउण्डेशनले आर्थिक सहयोग र मार्गदर्शन गर्ने गरेको वेबसाइटमा लेखिएको छ ।
त्यसैगरि राष्ट्रिय महत्वका विषयमा नियमित रूपमा विचार गोष्ठी र पुरस्कार कार्यक्रमहरू आयोजना हुने गरेका छन्। मदन भण्डारी राष्ट्रिय पुरस्कार (२०६८ देखि) र रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार (२०७८ देखि) दुई प्रमुख पुरस्कार पनि यसले दिन्छ । यी कार्यक्रमहरूमा स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रका योगदानकर्ता सम्मानित गरिने चलन छ।
फाउन्डेशनले प्रदेश, करिब ५० वटा जिल्ला र नगर तहमा सक्रिय शाखा र समितिहरू बनाएको छ। मकवानपुर, लम्कीचुहा, अर्घाखाँची लगायतका क्षेत्रमा यसका शाखासमेत छन् ।
।
यस फाउन्डेशनका संरक्षकका रुपमा ओलीको भूमिका छ । उनले यस संस्थालाई पार्टीलाई मात्रै नभएर नागरिक पहलबाट स्थापित भएको बताउने गरेका छन् । फाउण्डेशनको उद्देश्य शिक्षा, अनुसन्धान, विचार विमर्श र सामाजिक विकासमार्फत् मदन भण्डारीको आदर्शलाई निरन्तरता दिनु भनिएको छ ।
यो कुनै पार्टीको अंग त होइन, तर ओलीले आफ्नो राजनीतिक उचाइका लागि यसलाई भरपूर उपयोग गरे । अहिले उनी भन्छन्, ‘पार्टीले नै पुष्पलाल र मनमोहन लगायत अन्य प्रतिष्ठान स्थापना गर्यो । मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन, त्यो आफ्नै बनाएको हो।’
ओलीले भनेजस्तै कुनै बेला एमालेका तत्कालीन महासचिव माधव नेपालले यही बोली बोल्थे । उनले मदन भण्डारी फाउन्डेसनलाई प्रयोग गरेर ओलीले पार्टीमा गुट चलाएको आरोप लगाउँथे । ‘मदन भण्डारी फाउन्डेसनको नामबाट गुटको सुरुवात उहाँले गर्नुभएको हो’, अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपाल कुनै बेला भन्थे ।
नेपालले यसलाई ओलीको गुटगत राजनीति सुरु गर्ने औजार भएको आरोप लगाउँथे । अहिले आएर ओलीले यसलाई भ्रष्टाचारमा प्रयोग गरिएको बताएका छन्।
प्रतिक्रिया