बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि… « Khabarhub

बागमतीमा सरकार फेरबदल

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

आफूले नियुक्त गरेका मन्त्रीलाई सपथ खुवाउने आश्वासन पाएपछि जुटेको थियो सहमति


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती प्रदेश सरकार सञ्चालन गर्ने आश्वासन दिएपछि निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा समूहले नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिएका छन्‌ ।

प्रदेश राजधानी हेटौंडा (मकवानपुर)मा मंगलबार बेलुकी बसेको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँले आफ्नै दल नेपाली कांग्रेसका असन्तुष्ट सांसदहरूसमेतको गरी ६३ मत पाएका छन् ।

यसअघि असन्तुष्ट लामा समूहमा रहेका सांसदहरू आफूहरूको माग पूरा नभएसम्म विश्वासको मत दिन हेटौंडा नजाने अडान राखेर काठमाडौंमा एकत्रित भएर बसेपछि प्रदेशसभा बैठक बस्न ढिलाइ भएको थियो ।

काठमाडौँको बुद्धनगरमा रहेको एक होटलमा बिहानैबाट आन्तरिक छलफलमा रहेका निवर्तमान मुख्यमन्त्री लामा र अन्य सांसदहरूलाई सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले फोन गरेर सम्झाएका थिए ।

लामा समूह राजीनामा दिनअघि बूढानीलकण्ठमा सभापति देउवाको रोहबरमा भएको सहमतिअनुसार आफ्नो समूहका तीन जनालाई मन्त्री नियुक्त नगर्दासम्म विश्वासको मत नदिने अडानमा बसेको थियो ।

लामापक्षीय सांसद गीता गुरुङले आन्तरिक छलफलमै रहेका बेला सभापति देउवाको रोहबरमा भएको सहमति कार्यान्वयन हुनुपर्ने आफूहरूको माग रहेको प्रतिक्रिया खबरहबलाई दिएकी थिइन् । आफूहरू काठमाडौंमा आन्तरिक छलफलमा रहेको र माग पूरा नभएसम्म हेटौंडा नजाने अडान आफूहरूको रहेको उनको भनाइ थियो ।

‘लामा र बानियाँ दुबै हाम्रा सम्मानीत नेता हुनुहुन्छ । अहिले देखिएको हाम्रो आन्तरिक समस्या हो । लामाले मुख्यमन्त्रीबाट राजीनामा दिँदै गर्दा सभापतिज्यूका अगाडि भएको सहमति कार्यान्वयन गर्ने कुरा हो,’ सांसद गुरुङले खबरहबसँग भनेकी थिइन्, ‘सहमति कार्यान्वयन गरे विश्वासको मत दिइहाल्छौँ नि । बानियाँ हाम्रो मुख्यमन्त्री भइहाल्नुहुन्छ । तर, त्यसका लागि सभापतिज्यूका अगाडि गरेको सहमति कार्यान्वयन हुनुपर्छ ।’

तर, शीर्ष तहका नेताहरूले पालैपालो फोन गरेर निवर्तमान मुख्यमन्त्री लामा र उनीसँगै रहेका केही सांसदहरूलाई सम्झाएपछि उनीहरू नवनियुक्त मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन हेटौंडातर्फ लागेका बताइएको छ ।

लामा समूहमा रहेका बागमतीको निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले नेतृत्वले सहकार्य गरेर सरकार सञ्चालन गर्ने भनेपछि आफूहरू विश्वासको मत दिन हेटौंडा गएको प्रतिक्रिया दिए ।

‘नीतिगत कुराका लागि हो हामीले यो सबै गरेको । लिडरसिप सबैले मिलेर, सहकार्य गरेर सरकार सञ्चालन गर्ने कुरो गर्नुभएको छ,’ उनले खबरहबसँग भने, ‘त्यहीअनुसार अगाडि बढ्ने कुरो भएको छ ।’

प्रदेशसभा सदस्य काफ्लेले सभापति देउवा, उपसभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माले फोन गरेको पनि पुष्टि गरे । ‘सभापति, उपसभापति, महामन्त्रीहरू सबैले भन्नुभएको छ,’ उनले, ‘सिनियर नेताहरू धेरैले भन्नुभएको छ ।’

‘सिनियर’ नेता को–कोसँग कुरा भयो भन्ने बारेमा भने काफ्लेले खुलाएनन् । ‘क–कसको नाउँ लिनु, सबैले गर्नुभएको छ,’ उनले भने, ‘मिलेर, सहकार्य गरेर संयुक्त निर्णय गरेर अगाडि बढ्ने कुरो भएको छ ।’

यसअघि मुख्यमन्त्रीमा बहाल रहँदा लामाले साउन १४ गते मन्त्रीमा नियुक्त गरेका प्रदेशसभा सदस्यहरू पुनः मन्त्रीमा नियुक्त नहुँदासम्म मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नसकिने अडान लिएका थिए ।

लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए ।

प्रदेश संसदीय दलको नेतामा पराजित लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि सभापति देउवाको निवास बूढानीलकण्ठमा बानियाँसँग आफूले नियुक्त गरेका मन्त्रीहरूलाई शपथ खुवाउनुपर्ने प्रस्ताव गरेका थिए ।

सभापति देउवाकै अघि राखिएको उक्त प्रस्ताव बानियाँले स्वीकार गरेको लामा पक्षीय नेताहरूको दाबी थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ८ : ५९ बजे

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा