काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि यो आन्दोलनमाथि प्रश्न उठ्न थालेको छ। बुधवार र बिहीबार जेन-जी पुस्ता एजेन्डा र नेतृत्वकै विवादको अलमलिँदा मौन बसेका पुराना दलका नेता तथा संगठनहरू सडक निस्किन थालेका छन् ।
जेन-जी पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ लगायतको नाम नेतृत्वकर्ताका रूपमा सारेका थिए। तर जेन-जीको व्यक्तिपिच्छे संगठन भएपछि अहिलेसम्म एकीकृत धारणा आउन सकेको छैन ।
अन्तरिम सरकारको नेतृत्व गर्ने व्यक्ति जेन-जीले टुङ्ग्याउन नसक्दा अहिले पुन काठमाडौँसहित देशभरको सडक अशान्त भएको देखिन्छ। अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा बहुमत जेन-जी पुस्ता नेतृत्व मान्न तयार रहँदा हर्क सम्पाङका समर्थक र पुराना दलका नेताहरू संविधानअनुसार अगाडि बढ्नुपर्ने तर्क गरिरहेका छन् ।
अनि पुराना दल सक्रिय
देशभर मंगलबार जेन-जी पुस्ताले आन्दोलन गरे । उनीहरूले संसद् भवन सिंहदरबार र ठुला नेताहरूका घरसमेत जलाउन भ्याए । सरकारी सम्पत्ति आगजनी र तोडफोडमा समेत उत्रेका उनीहरूले देशभरका सार्वजनिक सम्पदा पनि बाँकी राखेनन् । ठूला दलका नेता पूर्वप्रधानमन्त्रीहरू, शीर्ष नेताहरू अहिले सेनाको संरक्षणमा छन् ।
मंगलबार कुनै राजनीतिक दलका नेता तथा भातृ संगठनहरू पनि जेन-जीविरुद्ध उत्रिएनन् । किनकि उनीहरूले छानीछानी नेता र नेतृत्वलाई कुटपिट गरिरहेका थिए । घर जलाइरहेका थिए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री डा. आरजु देउवालाई समेत कुटपिट गर्न भ्याएका जेन-जीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आक्रमणको प्रयास गरेका थिए । तर, ओली मङ्गलबार राजीनामा दिएर सेनाको संरक्षणमा बसेका छन् ।

पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, तथा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसमेत यो विषयमा मङ्गलबार र बुधवार बोलेको थिएन । तर, बिहीबार यी तीन दलका भातृ संगठनहरू सडकमा ओर्लिएका छन्।
पक्ष र विपक्षमा रहेका यी दल जेन-जीको विवाद भएपछि एकै ठाउँमा उभिएका छन् । यस्तै बिहीबारै नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको युवा संगठनले विज्ञप्ति जारी गरेर आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य र मान्यताको अधीनमा रहेर गर्नुपर्ने बताइरहेका छन् । उनीहरूले अन्तरिम सरकारको नेतृत्वका लागि संविधान बाहिर गएर गर्नै नसकिने बताइरहेका छन् ।
संगठनले संयुक्त विज्ञप्ति जारी गरेर उनीहरू भनेका छन्, ‘यसअगाडिका विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनको संरक्षण गरेर मात्र नेतृत्वमय गर्नुपर्छ भन्नेमा स्पष्ट छौँ। जेन-जी युवासमेत वर्तमान सरकारको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य मान्यताको अधीनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौँ।’
बिहीबार कांग्रेस महामन्त्री गगन थापा, एमाले सचिव योगेश भट्टराई,नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बैठक गरेर लोकतान्त्रिक प्रक्रियाबाटै अन्तरिम सरकारको नेतृत्व छान्नुपर्ने आवाज उठाए ।
काङ्ग्रेस महामन्त्री थापा जेन-जी सरकार बने आफू पछाडि बस्न तयार रहेको बताउँछन् । संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने उनले बताउँदै आएका छन्। उनी पनि लोकतन्त्रलाई रक्षा गरेर अगाडि बढे मात्रै देशले निकास पाउने बताउँछन्।
यता एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि लोकतान्त्रिक मूल्य मान्यताअनुसार जनताको उपलब्धिलाई रक्षा गरेर अन्तरिम सरकारको नेतृत्वकर्ता जेन-जी पुस्ताले चुनिनुपर्ने बताउँछन्। उनी जे पुस्ताका नाममा अन्य अराजक तत्त्वसमेत मिसिएकाले जेन-जीहरूले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्ने कुरामा ढुक्क छन्।
एमाले महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि यही भनाइ राखेको देखिन्छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि संविधानको दायरामै रहेर समाधान खोज्दै नयाँ सरकार बनाउन आग्रह गरेकी छन्।
देशको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि शान्तिपूर्ण निकासका लागि जेन-जीलाई १० बुँदे अपिल गरेका छन्। प्रचण्डले भनेका छन्,‘प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई सम्यमाता हो । उच्च सुझबुझ व्यापक संवाद र शान्तिपूर्ण निकासको पक्षमाका लागि आग्रह गर्दछु ।’
नयाँ दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि संविधानको रक्षा गर्दै लोकतान्त्रिक मूल्य मान्यताअनुसार नै अन्तरिम सरकारको नेतृत्वकर्ता चुनिनुपर्ने बताएका छन्।
तर जेन-जीहरू पुराना दलका कुरा सुन्ने पक्षमा छैनन् । उनीहरू आफ्नो बिहीबार पनि आफ्नो आफ्नो अडानमा अडिग रहँदा बिस्तारै पुराना दल ताकिएका छन् । यता पुराना दलका युवा लोकतन्त्र र संविधानलाई मास्ने नेतृत्व ल्याउन खोजे आफूहरू पनि सडक आन्दोलनमा उत्रने बताउँछन् ।
राष्ट्रपतिको खोजी
अहिले पुराना दलहरूले राष्ट्रपतिको खोजी गरिरहेका छन्। उनीहरूले राष्ट्रपति सामाजिक सञ्जाल लगायतका प्लेटफर्म हराएको भन्दै सार्वजनिक भएर चाँडोभन्दा चाँडो प्रधान सेनापतिसँग वार्ता गराएर देशलाई निकासा दिनुपर्ने आवाज उठाएका छन् ।
यता प्रधानसेनापति अशोकराज सिग्देललाई राष्ट्रपति पौडेललाई सार्वजनिक गर्नेसमेत माग भइरहेको छ । कांग्रेसनिकट तरुण दल संविधानको रक्षाका लागि संविधान मार्न पाइँदैन भन्दै राष्ट्रपतिलाई सार्वजनिक गर्न आग्रह गर्दै सडकमा ओर्लिएका छन्। उनीहरूले विभिन्न आन्दोलन गरेर ल्याएको लोकतन्त्रलाई कमजोर बनाउनु नहुने भन्दै सडक तताएका हुन् ।

ओलीसँगै काङ्ग्रेस पनि उत्तिकै जिम्मेवार
काङ्ग्रेस-एमाले मिलेर गत असार ३० गते गठन भएको दुईतिहाइ सरकारको औचित्य समाप्त भएको छ। सोमबार नै जेन-जीजे पुस्ताले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जीका मागलाई उचित सम्बोधन नगरीकन पदमा बसिरहेकाले मंगलबार देशको परिस्थिति विकराल बनेको बताइन्छ ।
यो सबै परिस्थितिका लागि दुई ठूला दल उत्तिकै जिम्मेवार रहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको विश्लेषण छ ।
उनीहरूले प्रधानमन्त्रीले यो अवस्थाको मूल्यांकन गरेर सोमबार नै पदबाट राजीनामा दिएको भए यो सबै परिस्थिति नआउने बताइरहेका छन्।
यति मात्रै होइन, प्रधानमन्त्रीले राजीनामा नदिएपछि कांग्रेसले नयाँ सरकार गठनका लागि अगाडि बढे पनि यो अवस्था नआउने भन्दै यो सबै घटनाको दोष दुई ठूला दल भएको बताइरहेका छन्। यता राजनीति विश्लेषकहरूले पनि कांग्रेस र एमालेको मनपरीतन्त्रका कारण जेन-जी पुस्ताहरू आजित भएरै देशमाथि खनिएको बताउँदै आएका छन्।
जेन-जी एक ठाउँमा आउनु जरूरी
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ जेन-जीहरू एक ठाउँमा आउनु आवश्यक भएको बताउँछन्। मङ्गलबार र बुधवार बिहीबार पनि उनीहरू एक ठाउँमा नआएपछि ठूला र पुराना दलले फेरि फाइदा उठाउन लागेको भन्दै चाँडोभन्दा चाँडो उनीहरूलाई एक ठाउँमा आएर प्रष्ट विचार राख्न उनी आग्रह गर्छन्।

श्रेष्ठ पूर्वन्यायाधीश जस्तो हकी स्वभाव र कानुन बुझेको सर्वमान्य नेतृत्व अन्तरिम सरकारको लागि प्रस्ताव हुनु अत्यन्त खुसी रहेको बताउँदै उनैले नेतृत्व गरेर अगाडि बढ्दा जेन-जीका आवाज स्पष्ट समायोजन हुने बताउँछन् ।
‘अहिले पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्ने र जेन-जी उहाँको पछि रहने कुरा आएको छ । यो जायज छ । उहाँ कानुन र संविधानको जानकार व्यक्ति हो’, उनले अगाडि भने, ‘जेन-जीहरू अहिले भाँडिएको देखिन्छ । उहाँहरू एक भएर उहाँको नेतृत्वमा रहनु हुनेछ भन्नेमा विश्वस्त छु ।’
श्रेष्ठले यति ठूलो आन्दोलन गरेर हातमा सत्ता आउन लागेको बेला जेन-जी आपसी कलमा अल्झिँदा पुराना दलेले फाइदा लिने भन्दै त्यसो नगर्न आग्रह गर्छन् ।
प्रतिक्रिया