गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव « Khabarhub

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा– पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् ।

विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन नपाएको नगरपालिकाको केन्द्र ठाँटीपोखरी बजारमा अवस्थित वडा नम्बर ५ को स्वास्थ्यचौकीले जनाएको छ । ‘केही महिनादेखि नै आइरन चक्की र क्याल्सियमको अभाव भइरहेको छ । दुई महिनायता ठप्पै छ’, ठाँटीपोखरी स्वास्थ्यचौकी स्वास्थ्यकर्मी रमा थापामगरले भनिन्– ‘क्याल्सियम र आइरन चक्की लिन आउनेलाई बजारका औषधि पसलमा किनेर खान सुझाव दिने गरेका छौँ ।’

दशवटा वडा रहेको पालुङटार नगरपालिकाको सबै स्वास्थ्य संस्थामा क्याल्सियम र आइरन चक्की छैन । ‘विगत डेढ महिनादेखि आइरन चक्की र क्याल्सियम छैन’, वडा नम्बर १० को स्वास्थ्यचौकी प्रमुख अनिशा जोशी भन्छिन्, ‘हामीले पनि आफैँ किनेर खानुस् भनेर फर्काउने गरेका छौँ । अब औषधि कहिले आउँछ थाहा छैन । सित्तैमा पाइने औषधि पैसा हालेर किन्नुपर्ने भन्दै गर्भवतीहरू गुनासो गर्नुहुन्छ ।’

कतिपय महिलाले भने स्वास्थ्यचौकीले नै किनेर उपलब्ध गराउन दबाब दिने गरेको उनको भनाइ छ । ‘कतिपय औषधि पसलमा पनि धेरै आइरन चक्की किन्न नदिने रहेछन् । अनि महिला रिसाएर हामीलाई नै किनेर व्यवस्था गरिदिन भन्नुहुन्छ’, उनले भनिन् । मिरकोट स्वास्थ्यचौकीबाट करिब २५ गर्भवतीले नियमित रूपमा आइरन चक्की र क्याल्सियम खाँदै आएका जोशीले बताइन् । 

पालिकाको वडा नम्बर ९ स्थित सेरा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी गङ्गादत्त सेढाईँले पनि आफ्नो स्वास्थ्यचौकीमा आइरन चक्की र क्याल्सियम अभाव रहेको गुनासो गरे । ‘दुई महिनादेखि आइरन चक्की र क्याल्सियम अभाव छ’, उनले भने।
 
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले आइरन चक्की र क्याल्सियम जस्ता औषधि खरिद गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको बताए । ‘सरकारले नागरिकलाई निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधिमध्ये कतिपय सङ्घबाट, कतिपय प्रदेश र कतिपय स्थानीय तह आफैँले किन्नुपर्ने प्रावधान छ । जसमध्ये आइरन चक्की र क्याल्सियम सङ्घीय बजेटबाट स्थानीय तह आफैँले किन्नुपर्ने हुन्छ ।’

उनले भने, ‘तर विगतमा आइरन चक्की र क्याल्सियम सङ्घबाटै आइरहेको अवस्था थियो । तीन–चार महिनाअघिमात्र सङ्घले यी औषधि पठाउन नसक्ने र स्थानीय तह आफैँले व्यवस्थापन गर्नुपर्ने भनेर सूचना जारी गरेको छ ।’ त्यसपछि पालिकाहरू आफैँले ती औषधि व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रदेश जनस्वास्थ्य कार्यालयले प्रदेश आपूर्ति केन्द्रबाट आएको औषधि पालिकापालिकामा पठाउने काममात्र हेर्ने शर्माले बताए । (रासस)

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १० : ३२ बजे

अर्थमन्त्रीले भनेः तोकिएकै समयमा नै निर्वाचन हुन्छ

नेपालगन्ज – अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम

गोरखाको रिपुम गुम्बामा आगलागी

गोरखा- गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आइतबार दिउँसो आगलागी

जनार्दन शर्माको नेतृत्वमा प्रलोपाले बनायो निर्वाचन परिचालन र संवाद समिति

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जर्नादन शर्माको संयोजकत्वमा निर्वाचन

‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन

काठमाडौं – गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र

संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन

काठमाडौँ– नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च