गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव « Khabarhub

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा– पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् ।

विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन नपाएको नगरपालिकाको केन्द्र ठाँटीपोखरी बजारमा अवस्थित वडा नम्बर ५ को स्वास्थ्यचौकीले जनाएको छ । ‘केही महिनादेखि नै आइरन चक्की र क्याल्सियमको अभाव भइरहेको छ । दुई महिनायता ठप्पै छ’, ठाँटीपोखरी स्वास्थ्यचौकी स्वास्थ्यकर्मी रमा थापामगरले भनिन्– ‘क्याल्सियम र आइरन चक्की लिन आउनेलाई बजारका औषधि पसलमा किनेर खान सुझाव दिने गरेका छौँ ।’

दशवटा वडा रहेको पालुङटार नगरपालिकाको सबै स्वास्थ्य संस्थामा क्याल्सियम र आइरन चक्की छैन । ‘विगत डेढ महिनादेखि आइरन चक्की र क्याल्सियम छैन’, वडा नम्बर १० को स्वास्थ्यचौकी प्रमुख अनिशा जोशी भन्छिन्, ‘हामीले पनि आफैँ किनेर खानुस् भनेर फर्काउने गरेका छौँ । अब औषधि कहिले आउँछ थाहा छैन । सित्तैमा पाइने औषधि पैसा हालेर किन्नुपर्ने भन्दै गर्भवतीहरू गुनासो गर्नुहुन्छ ।’

कतिपय महिलाले भने स्वास्थ्यचौकीले नै किनेर उपलब्ध गराउन दबाब दिने गरेको उनको भनाइ छ । ‘कतिपय औषधि पसलमा पनि धेरै आइरन चक्की किन्न नदिने रहेछन् । अनि महिला रिसाएर हामीलाई नै किनेर व्यवस्था गरिदिन भन्नुहुन्छ’, उनले भनिन् । मिरकोट स्वास्थ्यचौकीबाट करिब २५ गर्भवतीले नियमित रूपमा आइरन चक्की र क्याल्सियम खाँदै आएका जोशीले बताइन् । 

पालिकाको वडा नम्बर ९ स्थित सेरा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी गङ्गादत्त सेढाईँले पनि आफ्नो स्वास्थ्यचौकीमा आइरन चक्की र क्याल्सियम अभाव रहेको गुनासो गरे । ‘दुई महिनादेखि आइरन चक्की र क्याल्सियम अभाव छ’, उनले भने।
 
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले आइरन चक्की र क्याल्सियम जस्ता औषधि खरिद गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको बताए । ‘सरकारले नागरिकलाई निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधिमध्ये कतिपय सङ्घबाट, कतिपय प्रदेश र कतिपय स्थानीय तह आफैँले किन्नुपर्ने प्रावधान छ । जसमध्ये आइरन चक्की र क्याल्सियम सङ्घीय बजेटबाट स्थानीय तह आफैँले किन्नुपर्ने हुन्छ ।’

उनले भने, ‘तर विगतमा आइरन चक्की र क्याल्सियम सङ्घबाटै आइरहेको अवस्था थियो । तीन–चार महिनाअघिमात्र सङ्घले यी औषधि पठाउन नसक्ने र स्थानीय तह आफैँले व्यवस्थापन गर्नुपर्ने भनेर सूचना जारी गरेको छ ।’ त्यसपछि पालिकाहरू आफैँले ती औषधि व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रदेश जनस्वास्थ्य कार्यालयले प्रदेश आपूर्ति केन्द्रबाट आएको औषधि पालिकापालिकामा पठाउने काममात्र हेर्ने शर्माले बताए । (रासस)

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १० : ३२ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका