काठमाडौं – आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ५ वर्षमुनिका बालबालिकाको अकाल मृत्युको मुख्य कारक बनेको निमोनियाबारे जनसमुदायमा जागरुकता फैलाउने उद्देश्यले सन् २००९ देखि हरेक वर्षको नोभेम्बर १२ मा संसारभर विश्व निमोनिया दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार निमोनियाले हरेक वर्ष विश्वभर पाँच वर्षभन्दा कम उमेरका १० करोड ५५ लाख बालबालिका बिरामी बनाउँछ । त्यसमध्ये १६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ। नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै रहेको चिकित्सक बताउँछन्।
नेपालमा शिशुको मृत्युदर, बाल मृत्युदर घट्दै गइरहेकाले निमोनियाको दर पनि घट्दो छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डा.नवराज केसी भन्छन्– ‘नेपालमा शिशुको मृत्युदर, बाल मृत्युदर घट्दै गइरहेकाले निमोनियाको दर पनि घट्दो छ । तर नेपाललगायत विश्वव्यापी रुपमै बालबालिकालाई संक्रमण गर्ने प्रमुख कारणमध्ये निमोनिया पनि एक हो । झाडापखाला र निमोनिया बालबालिका बिरामी हुने र मृत्यु हुनुको मुख्यकारण मानिएको उनले बताए ।
पछिल्लो समय खोपको उपलब्धता, बढ्दो जनचेतना, बढ्दो स्वास्थ्यकर्मीको संख्या, बाटोघाटो लगायतका कारणले रुघाखोकी, ज्वरो आएका बालबालिकालाई तुरुन्तै अस्पताल लैजाने प्रवृत्तिले सिरियस खालका निमोनियाका बिरामीको संख्या घटिरहेको डा. केसी बताउँछन् ।
उनकाअनुसार १० वर्ष अगाडि जुनखालका बिरामी आउँथे, अहिले त्यस्तो अवस्था छैन । यद्यपि सोचेजस्तो न्यूनिकरण गर्न सकिएको छैन ।
बालबालिकामा निमोनिया हुनुको कारण के हो ?
डा. केसीले भने निमोनिया श्वासप्रश्वासका माध्यमबाट फैलिने एक किसिमको सरुवा रोग हो । यो सामान्य भाइरसदेखि लिएर जीवाणु, किटाणु तथा फङ्गसका कारण लाग्ने गर्दछ । जसमा निमोकोल, हेमोफिलस इन्फ्लुएन्जा प्रमुख हुन् ।
त्यो बाहेक ठूलो मान्छेलाई रुघाखोकी लागेको छ भने बच्चाको नजिक जाँदा त्यसबाट पनि सर्छ भने सानै उमेरमा धेरै मानिसले साबुनपानीले हात नधोएरै बच्चालाई छुने गर्दा पनि निमोनियाका संक्रमण हुने उनले बताए ।
नेपालमा नवजात शिशुलाई आगोमा धेरै सेक्ने, आगो नजिकै सुताउने लगायतका प्रवृत्तिले धेरै बालबालिकामा निमोनियाको जोखिम रहने डा. केसीको भनाइ छ ।
न्यूनिकरणका उपाय
निमोनिया न्यूनिकरणका लागि खोप नै प्रभावकारी उपाय भएको डा. केसी बताउँछन् । उनकाअनुसार नेपालमा स्वास्थ्यका विभिन्न कार्यक्रममध्ये खोप कार्यक्रम उत्कृष्ट रहेको छ ।
नेपालमा नवजात शिशुलाई आगोमा धेरै सेक्ने, आगो नजिकै सुताउने लगायतका प्रवृत्तिले धेरै बालबालिकामा निमोनियाको जोखिम रहने डा. केसीको भनाइ छ ।
निमोनियाको जोखिममा रहेका बालबालिका जस्तै दमको समस्या भएका, मुटुमा समस्या भएका बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई खोप आवश्यक रहेको तर यो निःशुल्क गर्न नसकेको उनले बताए ।
बीमाले यसलाई समेटेको छ तर स्थानीय सरकारले आफ्नो क्षेत्रमा त्यस्ता बालबालिका पत्ता लगाएर निःशुल्क गर्नसके अझै धेरै बालबालिकालाई निमोनियाबाट जोगाउन सकिने डा. केसी बताउँछन् ।
उपचार
रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिने बित्तिकै जति सक्दो चाँडो अस्पताल लगेर चेकजाँच गराउन उनको सुझाव छ । नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा जाँदा चिकित्सकको सल्लाह बमोजिम उपचार गरियो भने जस्तोसुकै निमोनियाको बिरामीलाई बचाउन सकिने डा. केसी बताउँछन् ।
डा. केसीका अनुसार पछिल्लो समय देशभरी नै निमोनियाका बिरामीका लागि राम्रो उपचार हुने गरेको छ । अक्सिजनको उपलब्धता, एन्टिबायोटिक औषधी, बाफ लगाउने व्यवस्थालगायतको राम्रो सुविधा भएकाले समयमै उपचारमा जाँदा निमोनियाकै कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छैन ।













प्रतिक्रिया