जेन-जी सुशासन योद्धाकी आमा भन्छिन् : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ « Khabarhub

जेन-जी सुशासन योद्धाकी आमा भन्छिन् : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ भीममाया सुनुवारलाई । काना ठाडा हुन्छन्, घरको दैलोमा आइपुग्यो की भनेर आँखाले खोज्न पुग्छन् । तर ती फगत स्वप्न हुन् । उनका छोरा दिपेश अब यो संसारमा कहिल्यै नफर्किने गरी विलीन भइसकेका छन्  । तै आमाको मन ! मुटुको कुनै कुनामा उनी धड्किरहेका हुन्छन् । आशाले ठाउँ ओगट्ने रहेछ । 

दशैँ आयो, गयो । तिहार पनि गयो । चाडपर्वमा त हो छोराछोरीको यादले बढी सताउने । अबका चाडपर्वमा दिपेशको उपस्थिति हुने छैन । दिपेशलाई मासु औधी मनपथ्र्यो । आमा भीममायालाई मासु पकाएको दिन दिपेशको बढी सम्झना आउँछ, मन भक्कानिन्छ । दसैँका लागि घरमा बङ्गुर पालिएको थियो । उनी भावुक हुँदै भन्छिन्, ‘दुई धार्नी जति भुटेर पठाइ दिनु है मम्मी भनेको अझै ताजै छ ।’ तर, भदौ २३ को जेन-जी आन्दोलनमा उनी सहिद भए । मम्मी भन्ने उनको आवाज भने सदाका लागि विलीन भयो ।

अपरिचितको ‘त्यो’ फोन

गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा जेन-जी आन्दोलनमा प्रहरीको गोली लागी दर्जनौँ  प्रदर्शनकारीको मृत्यु भएको खबर दिउँसैदेखि नेपालभर फैलिएको थियो । छोराको अवस्था बुझ्न घरबाट तारन्तार फोन गर्दा सम्पर्क हुन सकेन । 

अपराह्न १ बजे फोन गर्दा दिपेशले आफू बानेश्वरको आन्दोलनमा सहभागी भएको र साँझ ६ बजे कोठामा पुगेर फोन गर्ने आफ्नो मम्मीलाई जानकारी गराएका थिए । भीममायाले आन्दोलनमा नजाऊ भनेको उनले मानेनन् । प्रदर्शन उग्र बनेको समाचार सुन्दा उनी आत्तिइरहेकी थिइन् । 

सोही दिन साँझ ६ बजेपछि भिममायाको फोनमा अपरिचित व्यक्तिको आवाज सुनियो । ती व्यक्तिले उक्त फोन आफूले बानेश्वर क्षेत्रमा फेला परेको र लिन आउनु भनेपछि उनको मनमा चिसो पस्यो । उनले गाउँका अन्य व्यक्तिलाई फोन लिन जान अह्राइन् । 

छोराको फोन फिर्ता लिएपछि काठमाडौं बस्ने उनकै साथीले दिपेशको हातमा गोली लागेको सुनाए । भीममायाको मनमा भक्कानियो । छोराको अवस्था बुझ्न र खोजी गर्न आफन्त र गाउँले साथीभाई अस्पताल र प्रहरीसम्म पुगे । तर उनको अवस्था अत्तोपत्तो भएन । तीन दिनसम्म छोराको अवस्था पत्ता नलागेपछि भीममाया आफैँ काठमाडौँ आइन् । घाइते भनिएको र हराइरहेका छोराको खोजतलासलाई तीव्र पारियो ।

छोरालाई खोजी गर्न प्याराग्लाइडिङ पाइलट रामेछापका सानोबाबु सुनुवार, अभियन्ता आशिका तामाङको सहयोगमा उपत्यकाका विभिन्न अस्पतालमा भीममाया पुगिन् । 

उनीहरूले दिपेशको फोटो देखाउँदै अवस्था खोजी गर्दै जाने क्रममा एक सातापछि मात्रै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकको सहयोगमा शव गृहमा राखिएको लाशको अनुहार हेर्दै जाँदा दिपेश फेला परे । घाइते अवस्थामा दिपेशलाई कुन–कुन अस्पतालमा पुर्‍याइयो भन्ने यकिन भएन । 

घरको खाँबो, साथीहरूको मियो थिए दिपेश 

सिन्धुलीको तीनपाटन–६ भलायोडाँडामा २०६३ फागुन १७ गतेका दिन पानी परिरहेको थियो, पूरानो घर भत्काएर नयाँ बनाइँदै थियो । परिवारमा गरिबी, खानको पनि दुःख थियो । त्यतिबेला पहिलो सन्तान जन्मिँदा, दुःखको बेला पनि ठूलो हर्क लागेको सम्झिन्छन् दिपेशका बुवा ढलकबहादुर । 

‘गाउँका कसैलाई मोटरसाइकलमा पुर्‍याउनु पर्‍यो भने उही अघि सर्थ्यो, सबैको कुरा मान्ने थियो ऊ’, ढलकबहादुर छोरालाई सम्झिँदै भन्छन्, ‘संसारलाई पुर्‍याउन टाढा टाढा लैजान्थ्यो । सबैको विश्वास उसैमा थियो ।  भलिबल खेल्ने केटाहरू आउँदा छोराको बढी सम्झना आउँछ । केटाहरूको ‘मियो’ जस्तै थियो ।’ 

दिपेशले विद्यालय शिक्षा परीक्षा (एसइई) सम्म मात्र अध्ययन गरेका थिए । १९ वर्षीय उनीएक वर्ष अघि काठमाडौँ आएर घर निर्माणको काम गरे । तर ठेकेदारले पैसा नदिएपछि उनी घर फर्किए। दिपेशले ठेकेदारसँग अझै २० हजार लिन बाँकी रहेको आमा भीममाया सुनाउछिन् । पछिल्लो पटक उनी गत जेठमा काठमाडौँ आए  । लगत्तै सफाइ कम्पनीमा काम गर्न थाले ।

काठमाडौँमा मजदुरी गरेर उनले घरमा पैसा पठाउने गर्थे । थप पढ्ने इच्छा नभएकाले उनी विदेश जाने सोचमा थिए । दशैँमा घर नआउने र तिहारमा आएको बेला पासपोर्ट बनाएर विदेश जाने उनको योजना थियो । ‘अरु देशमा जान पैसा धेरै आफूसँग छैन । अलिअलि ऋण पनि छ भन्थ्यो’, भीममाया भन्छिन्, ‘घरमा तेल भुटुन खर्चका लागि पैसा पठाउँथ्यो । अब घर चलाउने खर्च जुटाउन अप्ठ्यारो भएको छ ।’

दिपेशका भाइ दिनेशलाई बारम्बार दाइको झझल्को आइरहन्छ । मोबाइलमा गेम खेल्दा होस् वा मेलपातमा जाँदा । दाइ बितेपछि दिनेशलाई संसारै अध्यारो भएको छ, मोबाइलको मनपर्ने गेम पनि खेल्न छाडेका छन् । बुबा ढलकबहादुर घरपरिवारको गुजारा चलाउन वर्षमा तीन महिना काठमाडौँ आएर खेतमा मजदुरी गर्दै आएका थिए । 

घरमा रहँदा उनले अधिकांश समय नाङ्लो बुन्ने र त्यसको बिक्रीबाट खर्च धान्दै आएका थिए । छोराको साहदतपछि उनलाई आजभोलि काठमाडौँ जाने कुरामा मोह भङ्ग भएको छ । नाङ्लो बुन्न पनि छाडेका छन् । 

दिपेशको परिवारले काजकिरिया खर्चबापत गाउँपालिकाबाट २५ हजार रुपैयाँ प्राप्त गरेको छ । सरकारले जेन-जी आन्दोलनमा मृत्यु भएकालाई ‘जेनजी सुशासन योद्धा–२०८२’ घोषणा गरेपछि सरकारकार तर्फबाट १५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । छोरा निधनपछि गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिले परिवारजनासँग भेट गरी सान्त्वना दिँदै आएका छन् । 

आमा भीममायाको एउटै मात्र कामना छ – सहीदका परिवारलाई सहज जीवनपायन गर्न सरकारले हिम्मत दिनुपर्छ । बालबच्चाले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषय पूरा गर्ने काम सरकारले गरोस्, त्यसका लागि अब आन्दोलन गर्न नपरोस्, आन्दोलनका नाममा कसैको काख रित्तो नहोस् ।  सहीद परिवारलाई राज्यका तर्फबाट आर्थिक सहयोग र सम्मानमा शालिक बनाइ दिए हुन्थ्यो । रासस

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : १२ बजे

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा वार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेटवार्ता

‘जेरी अन टप’ले मनायो ५१औँ दिन

काठमाडौं– चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा

बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री

काठमाडौं- बुवा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर

श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

कोलम्बो– श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ ।

खजुरीको पफमा भेटियो अखाद्य वस्तु, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट सबै खजुरीको