जेन-जी सुशासन योद्धाकी आमा भन्छिन् : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ | Khabarhub Khabarhub

जेन-जी सुशासन योद्धाकी आमा भन्छिन् : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ भीममाया सुनुवारलाई । काना ठाडा हुन्छन्, घरको दैलोमा आइपुग्यो की भनेर आँखाले खोज्न पुग्छन् । तर ती फगत स्वप्न हुन् । उनका छोरा दिपेश अब यो संसारमा कहिल्यै नफर्किने गरी विलीन भइसकेका छन्  । तै आमाको मन ! मुटुको कुनै कुनामा उनी धड्किरहेका हुन्छन् । आशाले ठाउँ ओगट्ने रहेछ । 

दशैँ आयो, गयो । तिहार पनि गयो । चाडपर्वमा त हो छोराछोरीको यादले बढी सताउने । अबका चाडपर्वमा दिपेशको उपस्थिति हुने छैन । दिपेशलाई मासु औधी मनपथ्र्यो । आमा भीममायालाई मासु पकाएको दिन दिपेशको बढी सम्झना आउँछ, मन भक्कानिन्छ । दसैँका लागि घरमा बङ्गुर पालिएको थियो । उनी भावुक हुँदै भन्छिन्, ‘दुई धार्नी जति भुटेर पठाइ दिनु है मम्मी भनेको अझै ताजै छ ।’ तर, भदौ २३ को जेन-जी आन्दोलनमा उनी सहिद भए । मम्मी भन्ने उनको आवाज भने सदाका लागि विलीन भयो ।

अपरिचितको ‘त्यो’ फोन

गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा जेन-जी आन्दोलनमा प्रहरीको गोली लागी दर्जनौँ  प्रदर्शनकारीको मृत्यु भएको खबर दिउँसैदेखि नेपालभर फैलिएको थियो । छोराको अवस्था बुझ्न घरबाट तारन्तार फोन गर्दा सम्पर्क हुन सकेन । 

अपराह्न १ बजे फोन गर्दा दिपेशले आफू बानेश्वरको आन्दोलनमा सहभागी भएको र साँझ ६ बजे कोठामा पुगेर फोन गर्ने आफ्नो मम्मीलाई जानकारी गराएका थिए । भीममायाले आन्दोलनमा नजाऊ भनेको उनले मानेनन् । प्रदर्शन उग्र बनेको समाचार सुन्दा उनी आत्तिइरहेकी थिइन् । 

सोही दिन साँझ ६ बजेपछि भिममायाको फोनमा अपरिचित व्यक्तिको आवाज सुनियो । ती व्यक्तिले उक्त फोन आफूले बानेश्वर क्षेत्रमा फेला परेको र लिन आउनु भनेपछि उनको मनमा चिसो पस्यो । उनले गाउँका अन्य व्यक्तिलाई फोन लिन जान अह्राइन् । 

छोराको फोन फिर्ता लिएपछि काठमाडौं बस्ने उनकै साथीले दिपेशको हातमा गोली लागेको सुनाए । भीममायाको मनमा भक्कानियो । छोराको अवस्था बुझ्न र खोजी गर्न आफन्त र गाउँले साथीभाई अस्पताल र प्रहरीसम्म पुगे । तर उनको अवस्था अत्तोपत्तो भएन । तीन दिनसम्म छोराको अवस्था पत्ता नलागेपछि भीममाया आफैँ काठमाडौँ आइन् । घाइते भनिएको र हराइरहेका छोराको खोजतलासलाई तीव्र पारियो ।

छोरालाई खोजी गर्न प्याराग्लाइडिङ पाइलट रामेछापका सानोबाबु सुनुवार, अभियन्ता आशिका तामाङको सहयोगमा उपत्यकाका विभिन्न अस्पतालमा भीममाया पुगिन् । 

उनीहरूले दिपेशको फोटो देखाउँदै अवस्था खोजी गर्दै जाने क्रममा एक सातापछि मात्रै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकको सहयोगमा शव गृहमा राखिएको लाशको अनुहार हेर्दै जाँदा दिपेश फेला परे । घाइते अवस्थामा दिपेशलाई कुन–कुन अस्पतालमा पुर्‍याइयो भन्ने यकिन भएन । 

घरको खाँबो, साथीहरूको मियो थिए दिपेश 

सिन्धुलीको तीनपाटन–६ भलायोडाँडामा २०६३ फागुन १७ गतेका दिन पानी परिरहेको थियो, पूरानो घर भत्काएर नयाँ बनाइँदै थियो । परिवारमा गरिबी, खानको पनि दुःख थियो । त्यतिबेला पहिलो सन्तान जन्मिँदा, दुःखको बेला पनि ठूलो हर्क लागेको सम्झिन्छन् दिपेशका बुवा ढलकबहादुर । 

‘गाउँका कसैलाई मोटरसाइकलमा पुर्‍याउनु पर्‍यो भने उही अघि सर्थ्यो, सबैको कुरा मान्ने थियो ऊ’, ढलकबहादुर छोरालाई सम्झिँदै भन्छन्, ‘संसारलाई पुर्‍याउन टाढा टाढा लैजान्थ्यो । सबैको विश्वास उसैमा थियो ।  भलिबल खेल्ने केटाहरू आउँदा छोराको बढी सम्झना आउँछ । केटाहरूको ‘मियो’ जस्तै थियो ।’ 

दिपेशले विद्यालय शिक्षा परीक्षा (एसइई) सम्म मात्र अध्ययन गरेका थिए । १९ वर्षीय उनीएक वर्ष अघि काठमाडौँ आएर घर निर्माणको काम गरे । तर ठेकेदारले पैसा नदिएपछि उनी घर फर्किए। दिपेशले ठेकेदारसँग अझै २० हजार लिन बाँकी रहेको आमा भीममाया सुनाउछिन् । पछिल्लो पटक उनी गत जेठमा काठमाडौँ आए  । लगत्तै सफाइ कम्पनीमा काम गर्न थाले ।

काठमाडौँमा मजदुरी गरेर उनले घरमा पैसा पठाउने गर्थे । थप पढ्ने इच्छा नभएकाले उनी विदेश जाने सोचमा थिए । दशैँमा घर नआउने र तिहारमा आएको बेला पासपोर्ट बनाएर विदेश जाने उनको योजना थियो । ‘अरु देशमा जान पैसा धेरै आफूसँग छैन । अलिअलि ऋण पनि छ भन्थ्यो’, भीममाया भन्छिन्, ‘घरमा तेल भुटुन खर्चका लागि पैसा पठाउँथ्यो । अब घर चलाउने खर्च जुटाउन अप्ठ्यारो भएको छ ।’

दिपेशका भाइ दिनेशलाई बारम्बार दाइको झझल्को आइरहन्छ । मोबाइलमा गेम खेल्दा होस् वा मेलपातमा जाँदा । दाइ बितेपछि दिनेशलाई संसारै अध्यारो भएको छ, मोबाइलको मनपर्ने गेम पनि खेल्न छाडेका छन् । बुबा ढलकबहादुर घरपरिवारको गुजारा चलाउन वर्षमा तीन महिना काठमाडौँ आएर खेतमा मजदुरी गर्दै आएका थिए । 

घरमा रहँदा उनले अधिकांश समय नाङ्लो बुन्ने र त्यसको बिक्रीबाट खर्च धान्दै आएका थिए । छोराको साहदतपछि उनलाई आजभोलि काठमाडौँ जाने कुरामा मोह भङ्ग भएको छ । नाङ्लो बुन्न पनि छाडेका छन् । 

दिपेशको परिवारले काजकिरिया खर्चबापत गाउँपालिकाबाट २५ हजार रुपैयाँ प्राप्त गरेको छ । सरकारले जेन-जी आन्दोलनमा मृत्यु भएकालाई ‘जेनजी सुशासन योद्धा–२०८२’ घोषणा गरेपछि सरकारकार तर्फबाट १५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । छोरा निधनपछि गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिले परिवारजनासँग भेट गरी सान्त्वना दिँदै आएका छन् । 

आमा भीममायाको एउटै मात्र कामना छ – सहीदका परिवारलाई सहज जीवनपायन गर्न सरकारले हिम्मत दिनुपर्छ । बालबच्चाले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषय पूरा गर्ने काम सरकारले गरोस्, त्यसका लागि अब आन्दोलन गर्न नपरोस्, आन्दोलनका नाममा कसैको काख रित्तो नहोस् ।  सहीद परिवारलाई राज्यका तर्फबाट आर्थिक सहयोग र सम्मानमा शालिक बनाइ दिए हुन्थ्यो । रासस

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : १२ बजे

कोशी प्रदेशसभा सचिवमा खड्का नियुक्त

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी

प्रचण्डको जिकिर : ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा

भीम रावललाई नेकपामा फूलमाला र अंकमालको स्वागत (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै

भ्रष्टाचारको आरोपमा श्रीलंकाका एक पूर्वमन्त्री पक्राउ

कोलम्बो– श्रीलंकाका पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी

अमेरिकामा देवी प्रतिभाको कथा वाचन 

काठमाडौं– अमेरिकामा १४ राज्यमा देवी प्रतिभाको कथा गुञ्जने भएको छ