काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति तय गर्ने विषयमा निरन्तर बहस जारी छ।
असोज २८ गतेदेखि सुरु भएको बैठक विशेष महाधिवेशन, नियमित महाधिवेशन, र आगामी प्रतिनिधिसभा निर्वाचनअघि वा त्यसपछि गर्ने भन्ने विषयमा केन्द्रित बनेको छ। पछिल्लो चरणमा विशेष महाधिवेशन गर्न नहुने मत बढ्दै गइरहेको छ। चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने भन्ने प्रश्नले कांग्रेसभित्र गहिरो मतभेद उत्पन्न गरेको छ।
बैठकमा महामन्त्री गगन थापाले चुनावअघि नै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले त्यसको ‘काउन्टर’ प्रस्ताव पेश गरेका छन्। यादवको प्रस्तावअनुसार, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि वैशाख महिनामा महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव छ।
संस्थापन पक्षका सहमहामन्त्री यादवको प्रस्तावपछि कांग्रेसभित्र विवाद झनै चर्किएको छ। यी दुई प्रस्तावलाई लिएर नेताहरूबीच ध्रुवीकरण बढेको छ, जसका कारण संस्थापन र इतर समूहहरू भित्रै पनि फरक–फरक धार देखिन थालेका छन्।
बुधबारको बैठकमा संस्थापन पक्षका नेता विजय गच्छदारले भने चुनावअघि नै नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखे। उनले विशेष महाधिवेशन नगई पुस मसान्तसम्म नियमित महाधिवेशन सम्पन्न गर्न सकिने बताएका छन्। गच्छदारले सहमतिमै कार्यतालिका तय गर्नुपर्ने सुझाव पनि दिएका छन्।
तर संस्थापन पक्षका अन्य नेताहरू भने सहमहामन्त्री यादवको प्रस्तावतर्फ झुकेका छन्। उनीहरूको भनाइमा चुनावको मिति तय भइसकेकाले अहिले पार्टी एकतामा ध्यान दिनु प्राथमिकता हुनुपर्छ। मंसिरमा महाधिवेशन गर्ने गगन थापाको प्रस्तावअनुसार अघि बढ्दा चुनावमा अन्तर्घात हुन सक्ने उनीहरूको चिन्ता छ।
त्यसैबेला, इतरपक्ष भने जेन–जी आन्दोलनको भावना र नयाँ नेतृत्वको मागलाई सम्बोधन गर्न मंसिरमै महाधिवेशन गर्नुपर्ने अडानमा छ। उनका आलोचकहरूले भने यसलाई आगामी चुनावमा टिकट वितरणलाई प्रभाव पार्ने रणनीति भनेर व्याख्या गरेका छन्।
महाधिवेशनको मिति तोक्ने विषयमा विवाद चुलिँदै गए पनि सहमतिको प्रयास अहिलेसम्म देखिएको छैन। एक केन्द्रीय सदस्यका अनुसार, ‘नेता–कार्यकर्ता आ–आफ्नै धारमा बाँडिएका छन्, सहमतिमै मिति टुंग्याउने प्रयास अहिलेसम्म देखिएको छैन।’
तर केही नेताहरूले मध्यमार्गी उपाय खोज्दै सहमतिमा निष्कर्षमा पुग्नुपर्ने बताएका छन्। उनीहरूको भनाइमा, महाधिवेशन कार्यतालिकाको विवादमै अल्झिँदा कांग्रेसले राष्ट्रिय राजनीति र आगामी चुनावको तयारीमा ढिलाइ गरिरहेको छ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले कांग्रेसले चुनावी वातावरण बनाउन अन्य दलहरूसँग संवादमा ढिलाइ गरेको स्वीकार गरे। ‘लोकतान्त्रिक दलको हैसियतले हामीले संवादमा ढिलाइ गरेका छौँ, तर केन्द्रीय समिति बैठक टुंगिएपछि कांग्रेस त्यसमा केन्द्रित हुनेछ,’ उनले भने।
बुधबारको बैठक पनि महाधिवेशन कार्यतालिकामै केन्द्रित रह्यो। केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका अनुसार, बैठकमा जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति, निर्वाचन, र विशेष वा नियमित महाधिवेशनको विकल्पबारे विस्तृत छलफल भयो।
उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले सबै सदस्यहरूले स्वतन्त्र रूपमा विचार राखेको र अन्ततः देशको प्राथमिकता र राजनीतिक आवश्यकता अनुसार एकमत निर्णयमा पुग्ने विश्वास व्यक्त गरे।













प्रतिक्रिया