दोलखा– चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु हुँदै गर्दा जिल्लाको वैतेश्वर गाउँपालिका विनियोजित वार्षिक कार्यक्रम तथा योजना सम्झौतालाई तीव्रता दिन थालेको छ ।
गाउँपालिकाले चालु आवमा वितरण गरेका वार्षिक कार्यक्रमलाई अहिले धमाधम कार्यान्वयन गरिरहेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।
गाउँपालिकाले ५०/५० प्रतिशत समापुरक अनुदान मार्फत निर्माण हुने ४ ठुला सडकको टेन्डर मार्फत ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरेको अध्यक्ष लामाले बताए ।
त्यसैगरी गाउँपालिकाले वितरण गरेका पूर्वाधार तथा भौतिक निर्माण देखि अन्य अन्य स्वास्थ्य ,शिक्षा ,खानेपानी ,रोजगार कृषि र पर्यटन लगायतका क्षेत्रमा विनियोजित बजेट कार्यक्रम कार्यान्वयन गरेर क्षेत्रगतरुपमा विकास भइरहेको जानकारी दिए ।
बजेट कार्यान्वयनको मुख भएको जेन-जी आन्दोलनले प्रभावले योजना सम्झौतामा केही ढिलो भए पनि धेरैजसो योजनाहरूको सम्झौता सकिएको गाउँपालिकाका इन्जिनियर लक्ष्मण तामाङले बताए ।

एकैपटक ४ सडकको ठेक्का आव्हान
इन्जिनियर तामाङका अनुसार गाउँपालिकाले शुरुगरेका मुख्य ४ ग्रामीण सडकहरूको स्तरोन्नति तथा ढलान गर्न एक टेन्डर आह्वान गरेर ठेक्का सम्झौता भएर काम सुरु भएको उनले बताए ।
गाउँपालिका तथा बागमती प्रदेश सरकारको समापुरक अनुदानमा ढलान हुने गोपि-जोरमाने खण्डमा यस वर्ष १.५ अर्थात साढे किलोमीटर सडक ४ मिटर चौडाइसहित ढलान गरिने छ ।
त्यसैगरी, बुस्ति-पुतलिकाठ- मिर्गे सडकको थुम्किभीरमा पनि यस वर्ष ढलान गरिने भएको छ । ५.२५ मिटर सडक आर.सी.सी ढलानको लागि काम सुरु भैसकेको छ ।
बुस्ति-पुतलिकाठ सडकको निर्माण कम्पनी आकृष्ट एन्ड आकृतले एक करोड ९० लाखमा ठेक्का सम्झौता गरेर काम शुरु गरेको हो ।
त्यसैगरी डाँडागाँउ मेघेचौर-सुलिडाडा बगर मजुवा सडकमा ११ सय ८५ मिटर सडक ढलान गरिने भएको छ ।
त्यसैगरी गाउँपालिकाको मैनापोखरी- क्षेत्रपा सडक खण्डमा यस वर्ष थप ४ सय ६० मिटर लम्बाई तथा ५ मिटर चौडाइमा सडक ढलान गर्न ठेक्का सम्झौता भएको पाइएको छ ।
पालिकाले यी ४ सडक स्तरोन्नति गर्न ७ करोड बजेट विनियोजन गरेको छ ।
त्यसैगरी गाउँपालिकाले १५ शय्याको वैतेश्वर अस्पताल निर्माण देखि भूकम्पले क्षति पुर्याएको विष्णु माध्यमिक विद्यालय भवन निर्माण पनि अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
स्थानीय सडक तथा गोरेटो बाटो स्तरोन्नतिलाई प्राथमिकता दिँदै आएको पालिकाले हालसम्म संघ र प्रदेशसँग समन्वय गर्दै ३० किलोमीटर पक्की सडक निर्माण गरिसकेको छ भने,५० किलोमीटर पक्की गोरेटो बाटो निर्माण सम्पन्न गरिसकेको गाउँपालिकाले जनाएको छ । सुवाश बस्नेत /दोलखा













प्रतिक्रिया