डुप्लेसी नचल्दा चुकेको विराटनगर « Khabarhub

एनपीएल

डुप्लेसी नचल्दा चुकेको विराटनगर

लुम्बिनीको शानदार कमब्याक


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायरका दुई खेलमा खराब ब्याटिङ गरेपछि सन्दीप लामिछाने कप्तानीको विराटनगर किङ्सको यात्रा सकिएको छ ।

लिग चरणका खेलमा बलियो देखिएको विराटनगरले पहिलो क्वालिफायरमा स्थान बनाउन सक्यो ।

लिग चरणमा सबैभन्दा बलियो बन्दै तालिकाको शीर्ष स्थानमा रहेको दीपेन्द्रसिंह ऐरी कप्तानीको सुदूरपश्चिम रोयल्सलाई विराटनगरले ४९ बल बाँकी रहँदै ६ विकेटको फराकिलो अन्तरले हरायो ।

यही फराकिलो जितले तालिकाको शीर्ष ३ मा रहेको विराटनगर २ मा उक्लदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो । लिग चरणमा सुदूरपश्चिमले विराटनगरसँग मात्रै हारेको हो ।

उक्त फराकिलो जितले लिग चरणकै खेलबाट ‘फाइनलमा जाने लक्षण देखाएको ‘सुदूरपश्चिमको बलियो प्रतिद्वन्द्वीका रुपमा विराटनगर उभियो ।’

एनपीएललाई निहालिरहेका दर्शकले अनुमान गर्न थाले, ‘फाइनलमा सुदूरपश्चिम र विराटनगर भिड्ने भए । रोचक प्रतिस्पर्धा हुने भयो ।’

प्लेअफमा विराटनगरको खराब प्रदर्शनले दर्शकहरुको उक्त अनुमान फेल गरायो । पहिलो क्वालिफायरमा पुगेको विराटनगरले क्वालिफायरका दुवै खेल हार्दा प्रतियोगिता टुङ्ग्याएको हो । यी दुवै खेल हार्नुको कारण विराटनगरको कमजोर ब्याटिङ हो ।

विराटनगरको ब्याटिङ राम्रो भएको खेल पोखरा एभेन्जर्सविरुद्ध हो । यस खेलमा ओपनर लोकश बमले ७२ रन जोडे । उनको ब्याटिङ चलेको एक मात्रै खेल यही हो ।

उनले लुम्बिनी लान्यसविरुद्ध दोस्रो सर्वाधिक ३५ रन जोडे । अन्य खेलमा उनको ब्याटिङ फ्लप बन्यो ।

अर्का ओपनर जर्ज मुन्सेले काठमाडौं गोर्खाजविरुद्ध सर्वाधिक ३६ रन बनाए । अन्य खेलमा उनको ब्याटिङ फ्लप भयो । लिग चरणको खेलमा कर्णाली याक्स र लुम्बिनीविरुद्ध उनी शून्यमै आउट भए ।

पोखराविरुद्ध चलेका ब्याटर मार्टिन गुप्टिलले ६१ रन जोडे । उनले काठमाडौंविरुद्ध सर्वाधिक २५ रन जोडे ।

विराटनगरका सुरुवाती क्रमका ब्याटरहरू एकपछि दोस्रो खेलमा चल्न सकेनन् । सोहीकारण यो टिम फाइनलमा पुगेन ।

मौका बनाउने पनि डुप्लेसी, गुमाउने पनि उनै

विराटनगरले ब्याटिङमा सबैभन्दा भर गरेको खेलाडी फाप डुप्पलेसी नै हुन् ।

दक्षिण अफ्रिकाको राष्ट्रिय क्रिकेट टोली र इन्डियन प्रिमियर लिग (आईपीएल)को टिम रोयल च्यालेन्जर्स बैङ्गलुरुको कप्तानी गरेको अनुभव उनीसँग छ ।

४१ वर्षीय उनीमा अनुभव नहुने कुरै भएन । अर्कोतर्फ डुप्लेसी एनपीएलमा भित्रिएको सबैभन्दा ठूलो नाम पनि हो ।

तर, डुप्लेसीको ब्याटिङ यस सिजनमा सम्झना लायक रहेन । उनले विराटनगरलाई फाइनल खेलाउने दुई अवसर सदुपयोग गर्न सकेनन् ।

तथापि, विराटनगरलाई पहिलो क्वालिफायरमा पुर्‍याउने उनकै आक्रामक ब्याटिङ हो । लिग चरणममा सुदूरपश्चिमविरुद्ध फराकिलो जित निकाल्न २० बलमा ५० रन जोडे ।

यस खेलमा साम हिजलेजले २७ बलमा ५१ रन बनाएर सम्झनलायक प्रदर्शन गरे । ओपनरद्वय डुप्लेसी र हिजलेट बलियो साझेदारी जितको प्रमुख कारण हो ।

डुप्लेसीको आक्रामक ब्याटिङ विराटनगरलाई पहिलो क्वालिफायरम लैजान निर्णायक साबित भयो ।

स्मरण होस्– लिग चरणको खेलमा १३ ओभर ५ बल भित्रै सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य विराटनगरले पूरा गरेको अवस्थामा पहिलो क्वालिफायर जाने अवस्था थियो ।

विराटनगरले ११ ओभर ५ बलमै लक्ष्य पूरा गर्‍यो । फाफको आक्रमक ब्याटिङले नै यो सम्भव भयो ।

पहिलो क्वालिफायर यस कारण महत्त्वपूर्ण छ– पहिलो क्वालिफायर विजेताले फाइनलमा सिधै स्थान बनाउनेछ । पहिलो क्वालिफायरमा हारे पनि दोस्रो क्वालिफायर खेल्न पाइन्छ ।

तालिकाको तेस्रो र चौथोले इलिमिनेर राउन्ड खेल्न पाउँछन् । यो खेलमा हार्नेले प्रतियोगिताबाट यात्रा सक्ने अनिवार्य छ । यस खेलको विजेताले पहिलो क्वालिफायर पराजित टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्छ । दोस्रो क्वालिफायर विजेताले पहिलो क्वालिफायर विजेतासँग फाइनल खेल्छ ।

डुप्लेसीको आक्रामक ब्याटिङले विराटनगरले पहिलो क्वालिफायर खेल्यो । तर, विराटनगरको दुर्भाग्य डुप्लेसी पनि अन्य ब्याटर जस्तै एकपछि अर्को खेलमा चलेन ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध विराटनगरका ओपनर डुप्लेसीले ३६ रन जोडे । दोस्रो ओभरको पहिलो बलमै ३ विकेट गुमाएपछि विराटनगरको ब्याटिङ डुप्लेसीको भरमा थियो । तर, डुप्लेसीले इनिङ उकास्न सकेनन् । अन्य खेलाडीहरु पनि सस्तैमा समेटिदा विराटनगरले त्यस खेलमा १५६ रनको लक्ष्य पूरा गर्न सकेन ।

दोस्रो क्वालिफायरमा विराटनगरले लुम्बिनीसँग प्रतिस्पर्धा गर्‍यो । यी दुवै टोलीका लागि दोस्रो क्वालिफायर महत्त्वपूर्ण थियो । किनकि जित्नेले फाइनलमा स्थान बनाउने थियो भने हार्नेले तेस्रो बन्दै प्रतियोगिता सक्ने थियो ।

अझ विराटनगरलाई लिग चरणमा लुम्बिनीले हराएको बदला लिने अवसर पनि थियो । डुप्लेसीको डेब्यू खेलमै लुम्बिनीले विराटनगरलाई हराएको थियो ।

दोस्रो क्वालिफायरमा लुम्बिनीविरुद्ध पहिलो ओभरमै विराटनगरले ओपनर मार्टिन गुप्टिल र लोकेश बमलाई गुमायो ।

त्यसपछि विराटनगरको ब्याटिङ स्वतः डुप्लेसीको भरमा थियो । यो खेलमा उनी ४ बल सामना गरेर ३ रनको अवस्थामा बोल्ट भए । उनी दोस्रो ओभरको तेस्रो बलमै आउट भए ।

आफ्नो काँधमा थुपारिएको ब्याटिङ उकास्ने जिम्मेवारी कुशल ढंगले डुप्लेसीले पूरा गरेनन् । असफल भए । प्लेअफका दुवै महत्त्वपूर्ण खेलमा उनी यसबाट चुके ।

उनको ब्याटिङ नचल्नुको क्षति स्वरुप विराटनगरले फाइनल खेल्न पाएनन् । दुई अवसर सदुपयोग गर्न विराटनगर चुक्यो । हारको कारक कमजोर ब्याटिङको जस डुप्लेसीलाई नै थुपरिन्छ ।

लुम्बिनीको कमब्याक

राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले सुरुवाती ४ खेलमा १ मात्रै जित निकाल्दै खराब प्रदर्शन गरिरहेको थियो ।

त्यहीकारण रोहितको कप्तानीमा दर्शकले प्रश्न उठाएका थिए । एनपीएलको खराब प्रदर्शनले रोहितले लुम्बिनीको मात्रै होइन, राष्ट्रिय टिमको कप्तानी पनि छोड्नुपर्ने दबाबसहित आलोचना भयो ।

तर, विराटनगरले लिग चरणका पछिल्ला ३ र प्लेअफका २ खेलमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो ।

तालिकाको चौथो स्थानमा रहँदै लुम्बिनी प्लेअफमा पुगेको हो । तालिकाको तेस्रो काठमाडौंलाई लुम्बिनीले इलिमिनेटरमा जित्यो ।

लुम्बिनीले दोस्रो क्वालिफायरमा तालिको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको विराटनगरलाई हरायो ।

लुम्बिनीले विराटनगरलाई यस सिजनमा लिग चरण र दोस्रो क्वालिफायरमा गरी दुई पटक नै हार चखायो । यी दुवै खेलमा विराटनगरबाट डुप्लेसीले ब्याटिङ गरेका थिए ।

अर्थात्, लुम्बिनीको कमब्याकमा एनपीएलकै हेभीवेट ब्याटरका रुपमा हेरिएका डुप्लेसीको समेत केही चलेन ।

यसलाई लुम्बिनीको शानदार कमब्याकका रुपमा हेरिएको छ । यस सिजनमा सुरुमा लय बिगारेका कुनै पनि टिमले पछिल्ला खेलमा सुधार गर्दै लगातार जित हात परेका छैनन् ।

काठमाडौंले लगातार लिग चरणमा लगातर चार जित निकालेर प्लेअफमा स्थान बनायो । तर, पाँचौ खेलमा इलिमिनेटरमा हारेर प्रतियोगिताको चौथो बन्दै यात्रा सक्यो ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ७ : ०९ बजे

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार

एमालेको विधान संशोधन प्रस्ताव रोकियो, १०८ जना प्रतिनिधि भने मनोनयन

काठमाडौँ– नेकपा एमालेले विधान संशोधनको प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको

जसले छोरी बनाएर पाल्छु भने, उनैले ११ वर्षीया नाबालिगको यौन शोषण गरे

काठमाडौं- पूर्वी पहाडी जिल्ला भोजपुरकी सम्झना राई (नाम परिवर्तन) लाई