काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायरका दुई खेलमा खराब ब्याटिङ गरेपछि सन्दीप लामिछाने कप्तानीको विराटनगर किङ्सको यात्रा सकिएको छ ।
लिग चरणका खेलमा बलियो देखिएको विराटनगरले पहिलो क्वालिफायरमा स्थान बनाउन सक्यो ।
लिग चरणमा सबैभन्दा बलियो बन्दै तालिकाको शीर्ष स्थानमा रहेको दीपेन्द्रसिंह ऐरी कप्तानीको सुदूरपश्चिम रोयल्सलाई विराटनगरले ४९ बल बाँकी रहँदै ६ विकेटको फराकिलो अन्तरले हरायो ।
यही फराकिलो जितले तालिकाको शीर्ष ३ मा रहेको विराटनगर २ मा उक्लदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो । लिग चरणमा सुदूरपश्चिमले विराटनगरसँग मात्रै हारेको हो ।
उक्त फराकिलो जितले लिग चरणकै खेलबाट ‘फाइनलमा जाने लक्षण देखाएको ‘सुदूरपश्चिमको बलियो प्रतिद्वन्द्वीका रुपमा विराटनगर उभियो ।’
एनपीएललाई निहालिरहेका दर्शकले अनुमान गर्न थाले, ‘फाइनलमा सुदूरपश्चिम र विराटनगर भिड्ने भए । रोचक प्रतिस्पर्धा हुने भयो ।’
प्लेअफमा विराटनगरको खराब प्रदर्शनले दर्शकहरुको उक्त अनुमान फेल गरायो । पहिलो क्वालिफायरमा पुगेको विराटनगरले क्वालिफायरका दुवै खेल हार्दा प्रतियोगिता टुङ्ग्याएको हो । यी दुवै खेल हार्नुको कारण विराटनगरको कमजोर ब्याटिङ हो ।
विराटनगरको ब्याटिङ राम्रो भएको खेल पोखरा एभेन्जर्सविरुद्ध हो । यस खेलमा ओपनर लोकश बमले ७२ रन जोडे । उनको ब्याटिङ चलेको एक मात्रै खेल यही हो ।
उनले लुम्बिनी लान्यसविरुद्ध दोस्रो सर्वाधिक ३५ रन जोडे । अन्य खेलमा उनको ब्याटिङ फ्लप बन्यो ।
अर्का ओपनर जर्ज मुन्सेले काठमाडौं गोर्खाजविरुद्ध सर्वाधिक ३६ रन बनाए । अन्य खेलमा उनको ब्याटिङ फ्लप भयो । लिग चरणको खेलमा कर्णाली याक्स र लुम्बिनीविरुद्ध उनी शून्यमै आउट भए ।
पोखराविरुद्ध चलेका ब्याटर मार्टिन गुप्टिलले ६१ रन जोडे । उनले काठमाडौंविरुद्ध सर्वाधिक २५ रन जोडे ।
विराटनगरका सुरुवाती क्रमका ब्याटरहरू एकपछि दोस्रो खेलमा चल्न सकेनन् । सोहीकारण यो टिम फाइनलमा पुगेन ।

मौका बनाउने पनि डुप्लेसी, गुमाउने पनि उनै
विराटनगरले ब्याटिङमा सबैभन्दा भर गरेको खेलाडी फाप डुप्पलेसी नै हुन् ।
दक्षिण अफ्रिकाको राष्ट्रिय क्रिकेट टोली र इन्डियन प्रिमियर लिग (आईपीएल)को टिम रोयल च्यालेन्जर्स बैङ्गलुरुको कप्तानी गरेको अनुभव उनीसँग छ ।
४१ वर्षीय उनीमा अनुभव नहुने कुरै भएन । अर्कोतर्फ डुप्लेसी एनपीएलमा भित्रिएको सबैभन्दा ठूलो नाम पनि हो ।
तर, डुप्लेसीको ब्याटिङ यस सिजनमा सम्झना लायक रहेन । उनले विराटनगरलाई फाइनल खेलाउने दुई अवसर सदुपयोग गर्न सकेनन् ।
तथापि, विराटनगरलाई पहिलो क्वालिफायरमा पुर्याउने उनकै आक्रामक ब्याटिङ हो । लिग चरणममा सुदूरपश्चिमविरुद्ध फराकिलो जित निकाल्न २० बलमा ५० रन जोडे ।
यस खेलमा साम हिजलेजले २७ बलमा ५१ रन बनाएर सम्झनलायक प्रदर्शन गरे । ओपनरद्वय डुप्लेसी र हिजलेट बलियो साझेदारी जितको प्रमुख कारण हो ।
डुप्लेसीको आक्रामक ब्याटिङ विराटनगरलाई पहिलो क्वालिफायरम लैजान निर्णायक साबित भयो ।
स्मरण होस्– लिग चरणको खेलमा १३ ओभर ५ बल भित्रै सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य विराटनगरले पूरा गरेको अवस्थामा पहिलो क्वालिफायर जाने अवस्था थियो ।
विराटनगरले ११ ओभर ५ बलमै लक्ष्य पूरा गर्यो । फाफको आक्रमक ब्याटिङले नै यो सम्भव भयो ।
पहिलो क्वालिफायर यस कारण महत्त्वपूर्ण छ– पहिलो क्वालिफायर विजेताले फाइनलमा सिधै स्थान बनाउनेछ । पहिलो क्वालिफायरमा हारे पनि दोस्रो क्वालिफायर खेल्न पाइन्छ ।
तालिकाको तेस्रो र चौथोले इलिमिनेर राउन्ड खेल्न पाउँछन् । यो खेलमा हार्नेले प्रतियोगिताबाट यात्रा सक्ने अनिवार्य छ । यस खेलको विजेताले पहिलो क्वालिफायर पराजित टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्छ । दोस्रो क्वालिफायर विजेताले पहिलो क्वालिफायर विजेतासँग फाइनल खेल्छ ।
डुप्लेसीको आक्रामक ब्याटिङले विराटनगरले पहिलो क्वालिफायर खेल्यो । तर, विराटनगरको दुर्भाग्य डुप्लेसी पनि अन्य ब्याटर जस्तै एकपछि अर्को खेलमा चलेन ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध विराटनगरका ओपनर डुप्लेसीले ३६ रन जोडे । दोस्रो ओभरको पहिलो बलमै ३ विकेट गुमाएपछि विराटनगरको ब्याटिङ डुप्लेसीको भरमा थियो । तर, डुप्लेसीले इनिङ उकास्न सकेनन् । अन्य खेलाडीहरु पनि सस्तैमा समेटिदा विराटनगरले त्यस खेलमा १५६ रनको लक्ष्य पूरा गर्न सकेन ।
दोस्रो क्वालिफायरमा विराटनगरले लुम्बिनीसँग प्रतिस्पर्धा गर्यो । यी दुवै टोलीका लागि दोस्रो क्वालिफायर महत्त्वपूर्ण थियो । किनकि जित्नेले फाइनलमा स्थान बनाउने थियो भने हार्नेले तेस्रो बन्दै प्रतियोगिता सक्ने थियो ।
अझ विराटनगरलाई लिग चरणमा लुम्बिनीले हराएको बदला लिने अवसर पनि थियो । डुप्लेसीको डेब्यू खेलमै लुम्बिनीले विराटनगरलाई हराएको थियो ।
दोस्रो क्वालिफायरमा लुम्बिनीविरुद्ध पहिलो ओभरमै विराटनगरले ओपनर मार्टिन गुप्टिल र लोकेश बमलाई गुमायो ।
त्यसपछि विराटनगरको ब्याटिङ स्वतः डुप्लेसीको भरमा थियो । यो खेलमा उनी ४ बल सामना गरेर ३ रनको अवस्थामा बोल्ट भए । उनी दोस्रो ओभरको तेस्रो बलमै आउट भए ।
आफ्नो काँधमा थुपारिएको ब्याटिङ उकास्ने जिम्मेवारी कुशल ढंगले डुप्लेसीले पूरा गरेनन् । असफल भए । प्लेअफका दुवै महत्त्वपूर्ण खेलमा उनी यसबाट चुके ।
उनको ब्याटिङ नचल्नुको क्षति स्वरुप विराटनगरले फाइनल खेल्न पाएनन् । दुई अवसर सदुपयोग गर्न विराटनगर चुक्यो । हारको कारक कमजोर ब्याटिङको जस डुप्लेसीलाई नै थुपरिन्छ ।

लुम्बिनीको कमब्याक
राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले सुरुवाती ४ खेलमा १ मात्रै जित निकाल्दै खराब प्रदर्शन गरिरहेको थियो ।
त्यहीकारण रोहितको कप्तानीमा दर्शकले प्रश्न उठाएका थिए । एनपीएलको खराब प्रदर्शनले रोहितले लुम्बिनीको मात्रै होइन, राष्ट्रिय टिमको कप्तानी पनि छोड्नुपर्ने दबाबसहित आलोचना भयो ।
तर, विराटनगरले लिग चरणका पछिल्ला ३ र प्लेअफका २ खेलमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।
तालिकाको चौथो स्थानमा रहँदै लुम्बिनी प्लेअफमा पुगेको हो । तालिकाको तेस्रो काठमाडौंलाई लुम्बिनीले इलिमिनेटरमा जित्यो ।
लुम्बिनीले दोस्रो क्वालिफायरमा तालिको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको विराटनगरलाई हरायो ।
लुम्बिनीले विराटनगरलाई यस सिजनमा लिग चरण र दोस्रो क्वालिफायरमा गरी दुई पटक नै हार चखायो । यी दुवै खेलमा विराटनगरबाट डुप्लेसीले ब्याटिङ गरेका थिए ।
अर्थात्, लुम्बिनीको कमब्याकमा एनपीएलकै हेभीवेट ब्याटरका रुपमा हेरिएका डुप्लेसीको समेत केही चलेन ।
यसलाई लुम्बिनीको शानदार कमब्याकका रुपमा हेरिएको छ । यस सिजनमा सुरुमा लय बिगारेका कुनै पनि टिमले पछिल्ला खेलमा सुधार गर्दै लगातार जित हात परेका छैनन् ।
काठमाडौंले लगातार लिग चरणमा लगातर चार जित निकालेर प्लेअफमा स्थान बनायो । तर, पाँचौ खेलमा इलिमिनेटरमा हारेर प्रतियोगिताको चौथो बन्दै यात्रा सक्यो ।












प्रतिक्रिया