काठमाडौं- कलेजोको क्यान्सरसँग जुधिरहेका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा ६४ वर्षको उमेरमा यो दुनियाँबाट बिदा भएका छन् ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१, लुक्ला निवासी चुङ्बाको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा गयराति १२:१५ बजे निधन भयो ।
एक दशकदेखि वाइल्डलाइफ फोटोग्राफीमै आफूलाई केन्द्रित गरेका उनले त्यसअघि राजनीतिकदेखि व्यवसायसम्म आफूलाई पोख्त बनाए । यही मंगलबार मात्रै इन्डोनेसियाको जंगलमा फोटोग्राफीका लागि उड्ने तर्खरमा रहेका बेला उनी भौतिक शरीर त्यागेर बिदा भएका छन् ।
पर्यटन व्यवसाय र राजनीतिमा पनि अलग परिचय बनाएका उनको शौखको विषय थियो वाइल्डलाइफ फोटोग्राफी । उनी ५७ वर्षको उमेरमा वाइल्ड लाइफ फोटोग्राफीमा लागेका थिए ।
सोलुखुम्बुमा चुङ्बा नेपाली कांग्रेसका स्थानीय नेतासमेत थिए । स्थापित नेताका रुपमा उनी कांग्रेसको खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापतिसमेत थिए ।
चुङ्बासँग जनप्रतिनिधिका रुपमा काम गरेको अनुभव पनि थियो । उनी तत्कालीन चौँरीखर्क गाउँविकास समितिका अध्यक्षसमेत भइसकेका थिए । तर जीवनको उत्तरार्द्धमा उनले आफूलाई वाइल्डलाइफ फोटोग्राफीमै केन्द्रित गरेर त्यसकै लागि देशदेखि विदेशसम्म पुगेका थिए ।
नेपालका उच्च हिमाली भूभागदेखि तान्जानियासम्मका भूगोलमा पुगेका थिए । उनका फोटोहरूले नेपालका दुर्लभ वन्यजन्तु र प्राकृतिक सौन्दर्यलाई विश्वसम्म चिनाउन मद्द गरेका थिए ।
याकको त्यो चर्चित फोटो
नेपालको उत्तरी क्षेत्र र तिब्बतको भूगोलमा दुर्लभ वन्यजन्तु हिमालयन वाइल्ड याक्स (बोस मुटस) पाउने गरिएको छ । तर त्यो दुर्लभ याकको तस्बिर कमैले मात्रै कैद गर्न सफल भएका छन् ।
नेपाल र तिब्बतको भूगोलमा पाइने उक्त जंगली याकको फोटो सन् २०१४ मा अक्सफोर्ड विश्वविद्यालयमा हिमाली ब्वाँसोबारे विद्यावारिधि गरेकी स्वीस जन्तुविद् जेराल्डिन वेरहान र वन्यजन्तु अनुसन्धानकर्ता नरेश कुसीको टोलीले खिचेको थियो ।
त्यो फोटो नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरको नोटमा पनि राखेको थियो । उक्त नोट अहिले पनि नेपालीका हातमा देख्न सकिन्छ । त्यसयता जंगली याकको तस्बिर अरु कसैले पनि कैद गर्न सकेका थिएनन् ।
उक्त टोलीपछि अति दुर्लभ जंगली याकको तस्बिर कैद गर्न सफल हुने व्यक्ति उनै चुङ्बा शेर्पा थिए ।
२०७९ भदौमा चुङ्बा सहयोगसहित हुम्लाको लिमी भ्याली क्षेत्रमा पुगेका थिए । जहाँ उनले ११ दिन बिताउने क्रममा उक्त दुर्लभ जंगली याकको तस्बिर कैद गरेका थिए । जुन तस्बिर नेपालमा भेटिएको जंगली याकको अहिलेसम्मकै उत्कृष्ट मानिएको थियो ।
उनले २०७९ भदौमा उक्त तस्बिर कैद गर्ने क्रममा जंगली याकले आफूलाई झन्डै आक्रमण गरेको अनुभव शिलापत्र अनलाइनलाई सेयर गरेका थिए ।
‘म आफ्नो टिमबाट १५/२० मिटर अगाडि गएर वाइल्ड याकको तस्बिर खिच्दै थिएँ । करिब १५ मिटरको दूरीमा जङ्गली याक थियो । त्यसले मलाई देख्यो । र, आक्रमण गर्ने गरी मतिर आइलाग्यो । मैले क्यामेरा सम्हालेँ अनि उठेर पछाडि भाग्न थालेँ । म भाग्न थालेपछि वाइल्ड याक सतर्क भयो र रोकियो’, शेर्पाले त्यसबेला शिलापत्र अनलाइनका नवराज कुवँरसँग आफ्नव अनुभव यसरी बाँडेका थिए ।
त्यसबेला उनी याकको फोटो खिच्ने क्रममा हुम्ला सदरमुकाम सिमकोटबाट लिमीसम्म हेलिकप्टर चढेर पुगेका थिए । उक्त दुर्लभ याकको फोटो उनले ४२ सय मिटर उचाइको थाक्ची हुँदै नेपाल-तिब्बत सीमाक्षेत्र लाप्चासम्म पुगेर खिचेको बताएका थिए ।
उक्त याकको फोटो खिच्न लगातार तीन दिनसम्म मिहिनेत गर्नुपरेको अनुभव उनले त्यसबेला सुनाएका थिए । त्यो अतिदुर्लभ याकको तस्बिर ४७ सय २० र ४८ सय मिटर उचाइको भूगोलमा कैद गरेको उनले काठमाडौं फिरेपछि बताएका थिए ।
लिमी क्षेत्रमा हेलिकप्टरबाट पुगेका उनले याकको फोटो खिच्न पाएपछि आफ्नो यात्रा सफल भएको बताएका थिए ।
‘नेपालमा विलुप्त भइसकेको मानिएको तर हिमालयन ब्वाँसाहरूमा अनुसन्धान गरिरहेको टोलीले सन् २०१४ मा पुनःपत्ता लगाएको स्तनधारी प्राणीलाई क्यामरा कैद गर्न पाउँदा खुसी छु’, चुङ्बाले त्यसबेला सामाजिक सञ्जालमा अनुभव बाँड्दै भनेका थिए, ‘यसअघि नरेस कुसीको टोलीले खिचेको तस्बिर नयाँ ५ रुपैयाँको नोट ल्याएको थियो । त्यसपछि कतै देखिन सकेको थिएन। तर तीन दिनको अन्तरालमा १, २ होइन ४ वटा हिमालयन वाइल्ड याक्स (बोस मुटस)लाई क्यामरामा कैद गर्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्दछु ।’
चुङ्बाले याकसँग मिल्दोजुल्दो जंगली चौरी याकभन्दा करिब डेढ गुणा ठूलो र प्रायः कालो रंगको भेटिएको बताएका थिए । जंगली याकको भुत्ला घरपालुवा याकको तुलनामा लामो र कालो हुने गर्दछ । याक र जंगली याक एउटै पूर्वज ‘वश प्रिमिजेनियस्’बाट छुट्टिएका हुन्, जुन लोप भइसकेका छन् ।
जंगली याकलाई विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) ले अतिसंवेदनशील सूचीमा राखेको छ । विभिन्न अध्ययनले नेपालबाट जंगली याक लोप भइसकेको बताएको थियो । तर चुङ्बाले लिमीमा जंगली याक भेट्टाएर त्यो कुराको खण्डन गरेका थिए। तर जंगली याक करिब करिब लोप हुने अवस्थामा छ ।
चुङ्बा आफूले खिचेका तस्बिरले वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान दिऊन् भन्ने चाहन्थे । उनको निधनले नेपाली फोटोग्राफी र वन्यजन्तु संरक्षण क्षेत्रलाई ठूलो क्षति भएको छ।
उनले जीवनको लामो अवधि यती एयरलाइन्समा जागिर गरेर बिताए । पर्यटन र होटल व्यसायमा जमेका पूर्वजनप्रतिनिधि शेर्पाले जीवनको उत्तरार्द्धमा फोटोग्राफीमा लागेर पनि आफूलाई अब्बल सावित गर्न सफल भए ।
उनलाई नेपाल पंक्षी संरक्षण संघ, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल टुरिजम बोर्डसहितले सम्मान गरेका थिए । शेर्पाका दुई छोरा र दुई छोरी थिए । शेर्पाकी श्रीमती आङफुटी र एक छोरी मिङ्मा बितिसकेका छन् । जेठा छोरा छेवाङ शेर्पा चिकित्सक हुन् । छोरी बन्दा फुटी शेर्पा जहाज उडाउँछिन् ।
प्रतिक्रिया