बाजुरा सदरमुकाममै छाउगोठ, हटाउने अभियानमा जुट्यो बडीमालिका | Khabarhub Khabarhub

बाजुरा सदरमुकाममै छाउगोठ, हटाउने अभियानमा जुट्यो बडीमालिका


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी– हरेक जिल्लाका सदरमुकाम सुविधा र सचेतनाले गाउँभन्दा फरक हुन्छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक बाटो, बिजुली बत्ती सहितका विकासका पूर्वाधारमा सदमुकामबासीको सहज पहुँच हुने गर्छ ।  सचेतना र शैक्षिक स्तरले पनि मुकामभित्र र आसपासका गाउँहरूमा बसोबास गर्ने नागरिकहरू गाउँमा बस्ने भन्दा फरक र सामाजिक चेतना स्तरमा केही माथि नै हुने गर्छन् ।

 विडम्बना बाजुरा जिल्ला सदरमुकाम भित्रै छाउगोठ अझै भेटिन्छन्, महिनावारी र सुत्केरी भएका महिनाहरू अझै छाउगोठमै बस्न बाध्य छन् । यो समस्या बाजुरा बाहेक सुदूर पहाडका अछाम, डोटी, बझाङ, बैतडी र दार्चुला जिल्लाको पनि साझा समस्या र वास्तविकता हो । सुदूर पहाडका सदरमुकामसँगै जोडिएका गाउँहरु बत्तिमुनिको अँध्यारो जस्तै छन् । जातीय विभेद, बाल विवाह, छाउ कुप्रथा अझै कायम छ ।

त्यसैको उदाहरण हुन्, बडीमालिका नगरपालिका १, ७ र ८ नम्बर वडा । बडीमालिका बाजुरा जिल्लाको सदरमुकाम अवस्थित पालिका हो । ती वडामा नगरपालिकाले छाउगोठमुक्त अभियान थालेको छ । गोठ भत्काउने र घरमा बस्न सचेतना दिने अभियानमा नगर उपप्रमुख नन्दा कुमारी थापा सहितको टोली सक्रिय छ । साथमा प्रहरी र सामाजिक रूपान्तरणमा जोडिएका गैर सरकारी संस्था पनि छन् ।

नगरपालिकामा २०७२ देखि नै छाउगोठ मुक्त अभियान जारी छ । सरकारले लिएको लक्ष्य अनुरुप नै पालिकाले पनि अभियान जारी राखेको देखिन्छ । २०७४ को स्थानीय तह निर्वाचनबाट जितेका नगर प्रमुख पदम बडुवाल र उपप्रमुख कविता विष्ट नेतृत्वको टिमले पनि अवधिभरि अभियान नै जारी राख्यो । तर सिङ्गै पालिका छाउगोठ मुक्त घोषणा गर्न सकेन । धाम झाँक्रीदेखि ब्रामणलाई  सचेतना दिने र जागरण ल्याउने काम गरियो, अभियान जारी थियो, कार्यकाल सकिएपछि नयाँ नेतृत्वले पनि गरिरहेको छ, निवर्तमान उपप्रमुख कविता विष्टले भनिन् ।

 हालसम्म नगरपालिका भित्रका नौ वटा वडा मध्ये ६ वटा छाउगोठमुक्त भइसकेका छन् । नगरपालिका भित्र पहिलो घोषणा हुने वडामा ३ नम्बर रजाली हो । जुन वडाका स्थानीय अमर खड्का हाल नगर प्रमुख छन् । १, ७ र ८ बाहेक २, ३, ४, ५, ६ र ९ घोषणा भइसकेका छन् । बाँकी मध्ये ८ नम्बर वडा सदरमुकाम मार्तडी नै पर्छ । ७ नम्बर वडाले पनि सदरमुकामसँग सीमा जोडिएको छ ।

घोषणा बाँकी ८ नम्बर उपप्रमुख नन्दा कुमारी थापाको आफ्नै वडा हो । जिल्लाकै सदरमुकाम पनि । थापा अहिले त्यही अभियानमा सक्रिय छन् । २०८२ भित्र जसरी पनि छाउगोठमुक्त पालिका घोषणा गर्ने लक्ष्य बडीमालिकाको छ । त्यसको अगुवाइ थापाले गरिरहेकी छन् । नियमित अनुगमन, प्रहरी सहितको टोली लिएर छाउगोठ भत्काउने र घरमा बस्ने सचेतनाका लागि महिला तथा बालबालिका शाखाको टोली साथमै लिएर हरेक दिन घरघर पुग्ने दैनिक थापाको छ ।

दिगो विकास लक्ष्यले पनि २०३० सम्म सबै प्रकारका विभेदमुक्त गरिसक्नुपर्ने लक्ष्य लिएको छ । नेपाल सरकारले २०२५ भित्र छाउगोठमुक्त देश घोषणाको तयारीमा छ । 

सरकारी लक्ष्य पुरा गर्ने भन्दा समाजलाई सचेत र जिम्मेवार अनि विभेद रहित बनाउने अभियानमा बडीमालिका लागि परेको भन्छन्, नगर प्रमुख अमर खड्का । सामाजिक कुमान्यताले समस्या देखिएपनि विस्तारै सबै ठिक हुने, विश्वास खड्काको छ ।

७ नम्बर वडामा मात्रै ३० बढी छाउगोठ देखिएका छन् । अनुगमनका क्रममा छाउगोठ भेटिएको र तत्काल भत्काउन लगाइएको नगर उपप्रमुख नन्दा थापाले बताएकी छन्  । बडीमालिकाको ७ र १ नम्बरमा बढी छाउगोठ भेटिनुमा, धार्मिक मान्यता, परम्परावादी सोच नै प्रमुख समस्याको रूपमा देखिएको छ । सांसद मन्त्री भएकै गाउँमा पनि यो समस्या देखिएको छ । गाउँका सचेत व्यक्तिहरूले नै गोठमै राख्ने गरेको भेटिदा दुख लागेको भन्छन्, महिला तथा बालबालिका शाखाका बिन्दु बडाल ।

शिक्षक, पत्रकार र जान्नेहरूकै घरमा पनि छाउगोठ देखिनु दुखद् भएको बडालको भनाई छ । फागुन भित्र ती सबै गोठहरू भत्काएर घरमा बग्नेगरि समझदारी गरिएको छ । महिनावारी भएको बेला घरमा बस्दा अनिष्ट हुने, निसन्तान भइदिने, भगवान रिसाउने, कोख रित्तो हुने, बस्तुभाउबाट लाभ नहुने र परिवार नै बिग्रिने जस्ता कुमान्यता अझै व्याप्त छन् ।

घोषणा गरिएको वडामा गोठहरू भेटिँदैनन् । उनीहरू अलग बसेपनि घरमै बस्ने गरेका छन् । अलग बसेपनि घरमै बसून, कुनै प्रकारको जोखिम, असुरक्षा सामना गर्न नपरोस् भन्ने लक्ष्य सहित छाउगोठमुक्त अभियान थालिएको पालिकाले बताएको छ । बाजुरा सहितका सुदूरका पहाडी जिल्लामा घरबाट अलि टाढा एक्लै ठाउँमा होचो घर बनाएर महिनावारी र सुत्केरी भएकी महिलालाई एक्लै अलग्गै राख्ने चलन छ ।

बाजुराका बडीमालिका पछि बुढीनन्दा, स्वामिकार्तिक, हिमालमा बढी समस्या देखिन्छ । यी पालिकामा गैर सरकारी संस्थाकारतर्फबाट दशकदेखि कार्यक्रम जारी छन् । पालिकाको प्रयास पनि भइरहेकै छ । तर अझै सामान्य सुधार बाहेक देखिने प्रगति हुन सकेको छैन । सुरुमा हुन्छ भन्ने, संस्था र पालिकाको अभियानलाई स्थानीय सहयोग गरेजस्तो गर्ने र फेरि उही पुरानै अवस्थामा आउने गरेको आरोप अभियन्ताको छ । छाउ गोठमै बसेका कारण स्वास्थ्य बिग्रिएको, बलात्कृत हुनु परेको र ज्यान समेत गुमाउनु परेका कयोै उदाहरण बाजुरामा छन् ।

यी नै जोखिम विरुद्ध बडीमालिका लागि परेको छ । एक वर्ष भित्र जसरी पनि मुकामको पालिकाको परिचय दिनु पर्ने मान्यतामा बडीमालिका देखिन्छ । सामाजिक कुमान्यताका रूपमा रहेको कुप्रथालाई जरैबाट हटाउने उद्देश्य सहित पालिकालाई छाउगोठ मुक्त नगर घोषणा गर्न लागेको हो ।

 छाउ कुप्रथा बाजुराको प्रमुख समस्या जस्तै बनेको छ । सुरुमा त देखाउनै नमान्ने देखाएपनि बस्दैनौँ, पुरानो भइसक्यो भन्ने र पछि त्यही बस्ने गरेको भेटिएपछि रातको समयमा समेत प्रहरी र पालिकाका कर्मचारीले अनुगमन गर्ने संयन्त्र बनाइएको छ । दुरदराजका गाउँमा हुने समस्या भन्दा सदरमुकामका पालिका भित्रको समस्या प्रमुख हो, चुनौती चिर्न पालिका प्रतिबद्ध देखिन्छ ।

धेरैले बस्न छोडिसकेका थिए । गोठ पुरानै अवस्थामा रहेपनि घरमा बस्ने गरेको अवस्था हो । तरपनि पालिकाले अभियानकै रुपमा अघि बढाएकोले भएका गोठ भत्काएर मुक्त अभियानलाई निष्कर्षमा ल्याउने लागिएको ७ नम्बर वडाका अध्यक्ष धर्मराज पाध्यायले बताए ।

  वृद्धवृद्धाहरुको पुस्ताले नमाने पनि नयाँमा त्यस्तो छैन । धेरै सुधार भइसकेको र बाँकी रहेको अवशेष पनि जरैबाट फाल्न लागिपरेको दाबी अध्यक्ष पाध्याको छ ।

महिलाको स्वास्थ्य, समाजको अवस्था र असुरक्षालाई ध्यानमा राखेर घरमै सुरक्षित कोठामा बसाउने वातावरण बनाउनु अभियानको प्रमुख उद्देश्य राखिएको छ । गाउँमा गोठ नदेखिने र घरमा बसेको हेर्नेगरी अभियानलाई सफल पार्ने योजना नगरपालिकाले अघि सारेको छ । पालिकाले बजेटसहित जनशक्तिकै व्यवस्थापन गरेको छ ।

एक वर्षभित्र बडीमालिका छाउगोठ मुक्त हुने विश्वास बडीमालिकाको छ । छिमेकी अरु पालिकामा पनि अभियान जारी छ । बुढीगंगा नगरपालिका छाउगोठ मुक्त घोषणा भइसकेको छ । बाजुराकै गौमुल गाउँपालिकामा छाउ कुप्रथा नै भेटिदैन । बाजुरासहित सुदूरका पहाडी जिल्लाको समस्यामा सबै जिम्मेवार हुनु पर्ने अवस्था छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ९ : ०७ बजे

महिलामाथि भेदभाव उन्मूलन गर्ने महासन्धि सिफारिस कार्यान्वयनमा जोड

काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी

संरक्षणको अभावमा तामाखानीका सुरुङ पुरिन थाले

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका

निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति

काठमाडौं – प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाका

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई

ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट, ४ जनाको मृत्यु

काठमाडौं– ताइवानको दोस्रो ठूलो सहरको डिपार्टमेन्ट स्टोरमा विस्फोट हुँदा चार