काठमाडौं – यतिखेर नेपालमा १० देखि १४ वर्ष मुनिका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान चलिरहेको छ ।
देशभरका विद्यालयहरूमा सञ्चालन भइरहेको अभियानमार्फत् १६ लाखभन्दा बढी किशोरीहरूलाई एचपीभी ह्युमन पपिल्लोमा भाइसर (एचपीभी) विरुद्धको खोप लगाउन थालिएको हो ।
माघ २२ गतेदेखि सुरु यो अभियानमा सात दिनभित्रै ११ लाख ५०५ जना किशारीहरूलाई खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोशी प्रदेशमा एक लाख ८१ हजार ५०, मधेशमा एक लाख ४८ हजार ५६ र बागमतीमा एक लाख ९६ हजार ७४ किशोरीले खोप लगाएका छन् ।
त्यस्तै गण्डकी प्रदेशमा ८६ हजार ११२, लुम्बिनी प्रदेशमा एक लाख ८९ हजार ८७७, कर्णाली प्रदेशमा ८२ हजार ७९६, सुदूरपश्चिम प्रदेशमा एक लाख ३२ हजार ८०४ किशोरीले एचपीभी खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/image-120-768x400.png)
कस्तो छ खोप लगाएका किशोरीहरूको प्रतिक्रिया ?
अभियान सञ्चालन गर्नुअघि यो खोपलाई लिएर अभिभावक तथा किशोरीहरूमा विभिन्न किसिमका डरत्रास रहे पनि लगाइसकेपछि त्यस्तो कुनै समस्या नआएको अभियानमा सहभागी किशोरीहरूले बताएका छन् ।
जमलस्थित दरबार हाइस्कूलमा कक्षा नौ मा अध्ययनरत पूर्णिमा सिंह भन्छिन्, ‘सुरुमा त डर लागिरहेको थियो । तर लगाइसकेपछि खासै दुखेन । एकदिन हल्का दुखेको अनुभव भयो ।’
त्यस्तै अर्की छात्रा सुमना थापाले पनि खोप लगाउनुअघि डर भए पनि लगाइसकेपछि कुनै समस्या नभएको प्रतिक्रिया दिइन् ।
किशोरी पेम्बा शेर्पाले कोरोनाको खोपभन्दा अलिकति धेरै दुखाइ महसूस भएको बताइन् । तर, त्यस्तो गाह्रो केही नभएको उनको भनाइ छ ।
विद्यालयमा कार्यरत नर्स भावना ओझा जोशी भन्छिन्, ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको र सरकारले नै खोप लगाउन थालेको र पहिलेदेखि नै किशोरीहरूलाई यसबारे परामर्श गरिएकाले त्यस्तो डर त्रास कसैलाई भएन ।’
खोप लगाउने बेला डराएका किशोरीहरूले लगाइसकेपछि ‘केही नहुने रहेछ’ भनेका र कक्षा ६ देखि १० सम्मका सबै किशोरीहरू खोप लगाउन उत्सुक रहेको जानकारी जोशीले दिइन् ।
त्यस्तै उपत्यकाबाहिर कैलालीको मोहन्याल गाउँपालिकास्थित मोहन्याल माध्यामिक विद्यालयका किशोरीहरूले उत्साहसाथ खोप लगाएका शिक्षक कृष्ण ढकालले बताए । उनका अनुसार छात्राहरूमा सामान्य दुखाइबाहेक अन्य कुनै समस्या देखिएको छैन ।
काठमाडौं उपत्यका तथा देशभरकै विद्यालयहरूका किशोरीहरू खोप कार्यक्रममा सहभागी भएका बाल स्वास्थ्य तथा खोपसेवा शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
उनका अनुसार सुरुमा केही किशोरीहरू डराएका थिए । कसैलाई सामान्य ज्वरो आए पनि आत्तिहाल्नुपर्ने समस्या देखिएको छैन । खोप अभियान सुरक्षित ढङ्गले अघि बढिरहेको छ ।
कतै चाहिँ अभिभावक नै डराएर छोरीहरूलाई खोप लगाउन नदिएको र अहिले यति धेरै किशोरीहरूले लगाएको देख्दा कहाँ लगाउने भनेर सोध्दै आएको उनले बताए ।
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/image-119-768x576.png)
खोप लगाउन छुटेकाले के गर्ने ?
यस वर्ष खोपमा सहभागी नभएका किशोरीहरूले ‘अर्को वर्ष पनि आउँछ, त्यसैबेला लगाउँछु’ भनेर बसेमा अवसर गुमाउने डा. गौतमले बताए । अभियानको अन्तिम दिन स्थानीय तहको स्वास्थ्य संस्था तथा खोप केन्द्रमा यो खोप लगाइने उनको भनाइ छ ।
कुनै कारणवशः विद्यालयमा खोप लगाउन छुटेका किशोरीहरूलाई अभियानको अन्तिम दिनसम्म भए पनि खोप लगाउन उनले आग्रह गरे । नजिकको स्वास्थ्य संस्था वा जिल्लाको कुनै न कुनै ठाउँमा कार्यक्रम रहने भएकाले उमेर पुगेका किशोरीहरूलाई यो अवसर नगुमाउन उनले आग्रह गरे ।
विश्व स्वास्थ्य संगठन डब्लु एचओले मान्यता दिएको यो खोप विश्वका १४६ देशमा नियमित खोपमै समेटिएको र भारतले पनि यो खोप लगाउने तयारी गरिरहेको डा. गौतमले जानकारी दिए ।
आफैँ किनेर लगाउँदा महँगो मूल्य तिर्नुपर्ने एचपीभी खोप निःशुल्क लगाउन पाउनु नेपालको लागि ठूलो अवसर भएको बताउँदै गौतमले भने, ‘पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाहरूले अकालमा ज्यान गुमाउनु परिरहेको अवस्थामा त्यसको रोकथामका लागि एकदमै प्रभावकारी मानिएकाले ढुक्क भएर लगाउँदा हुन्छ ।’
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/image-117-768x450.png)
के हो एचपीभी ?
एचपीभी भनेको ह्युमन पपिल्लोमा भाइरस नामक जीवाणु हो, जसलाई छोटकरीमा एचपीभी भनिन्छ ।
पाठेघरको क्यान्सरका धेरै कारण हुन्छन् । तर, विश्वका विभिन्न देशमा गरिएको अध्ययनअनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी मानिएको चिकित्सकहरू बताउँछन् ।
पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले नै गराउँछ । एचपीभीको २०० भन्दा बढी प्रकारमध्ये कम्तिमा १२ वटाले पाठेघरको मुखको क्यान्सर गराउँछ ।
नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको भेरियन्ट १६ र १८ बाट भएको तथ्याङ्क छ । यसले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मूसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्छ ।
शारीरिक सम्पर्कका माध्यमबाट यो भाइरस सर्ने भएकाले यौनिक क्रियाकलापमा संलग्न हुनुअगावै किशोरीहरूलाई यस विरुद्धको खोप दिँदा प्रभाकारी हुने स्त्रीरोग विशेषज्ञ डा. आश्मा कुँवर बताउँछिन् ।
उनका अनुसार अहिले किशोरीहरूलाई लगाइएको खोपको नाम ‘सिकोलिन’ हो । यसले एचपीभी भाइरसविरुद्ध काम गर्ने र पाठेघरको मुखको क्यान्सरको जोखिमलाई ९० प्रतिशतसम्म कम गर्ने कुँवरले बताइन् ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जना महिलाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ ।
प्रतिक्रिया