फेरिएको पात्रो, नफेरिएको भित्तो | Khabarhub Khabarhub

फेरिएको पात्रो, नफेरिएको भित्तो



प्राणप्यारी न्यान्सी,
अविरल माया !
एकपटक भित्तातिर हेर त फेरि पात्रो फेरिने बेला भएको छ । पात्रोको पातो फेरेर हामी भन्छौँ– समय फेरियो । अहँ ! समय सृष्टि कालदेखि नै चौबीस घण्टाको त्यही घनचक्करमा छ । बदलिएका त हामी हौँ । पोहोर बीस सय आयुको आशीर्वाद पाएका कति पात्र अहिले भगवानका प्यारा भइसकेका छन् । अहिलेका अर्को साल हुने छैनन् । प्रत्येक तीन सेकेण्डमा धर्ती टेक्न नयाँ अनुहारको प्रतिस्पर्धा चलेकै छ । तीनजुरे, ट्याम्के, मैयुङका जङ्गलमा फुलेका लालीगुराँस नयाँ होइनन् । उखान र बखान नयाँ होलान् । वनस्पतिका मुजुरा झैँ समयले रूप बदल्दैन । समय पानी रङ्गमा अविरल बगिरहन्छ । यसलाई कुन रङ्गमा घोल्ने त्यो मानिसको रोजाइ हो ।

काठमाडौँका नदी किनारमा चेरी र आरुबखडाका बोटमा रहर लाग्दा फूल फुलेका छन् । अरूबेला नाक थुनेर नदी किनारको बाटो हिँड्ने पैदलयात्री यतिबेला टिकटक बनाउन हौसिएका छन् । समयले मात्र हैन, बाटोले पनि मानिसलाई बुढ्याउँछ । ‘ओई फुच्चे’ भनेर सम्बोधन गरिने त्यही पात्र बाटो हिँड्दाहिँड्दै भाइ, दाजु, काका, हजुरबा हुँदै महायात्रामा निस्कन्छ । यसरी हेर्दा मान्छेलाई जीवनको विभिन्न रङ्गमा ढाल्ने समयसँगै बाटो पनि हो । त्यही बाटोको मापनले त उसलाई बाल, युवा र वृद्धकाे परिचयमा आगोले फलाम गाले झैँ गाल्छ ।

इच्छा नलागेको खान्न भन्न पाइन्छ, नराम्रो लागेको लाउँदिन भन्न स्वतन्त्रता रहन्छ तर बूढो हुन्न भन्न पाइन्न । जसरी भाले नबासेर बिहान हुन रोकिँदैन ।

इच्छा नलागेको खान्न भन्न पाइन्छ, नराम्रो लागेको लाउँदिन भन्न स्वतन्त्रता रहन्छ तर बूढो हुन्न भन्न पाइन्न । जसरी भाले नबासेर बिहान हुन रोकिँदैन, त्यसरी नै मानिसले मान्नु नमान्नुमा प्रकृतिका नियम फेरिँदैन । कसैले नाडीको घडी बाँध्नु, नबाँध्नुमा समयको मूल्य मापन हुन सक्दैन ।

वसन्तको यो नूतन माहोलबीच झीर रोप्ने ननिका खबर छन् । राजा ल्याउने आन्दोलनका नाममा भएको हिंसामा होनहार दुईजनाले ज्यान गुमाए । दर्जनौँ घाइते अस्पतालको शय्यामा बाँच्ने उपक्रममा सङ्घर्षरत छन् । शहरमा पसिना बगाएर सामलतुमलको जोहो गरेपछि उब्रिएको खर्च दमले थलिएका र बुढ्यौलीले मुजा परेका बाआमाको उपचार गरौँला भन्ने सोच पाल्ने थुप्रै कर्मवीरहरूको घरमा बज्र परेको छ । अस्ताउँदो सूर्य बनेका ती जन्मदाताले पुत्रशोक कसरी पचाउँदा हुन् ? सम्झदा शरीरमा काँडा उम्रन्छ । यो अत्यासलाग्दो घडीमा शान्तिको घडा उभ्याएर धैर्यधारणको अभिषेक गर्नुबाहेक अरू उपाय बाँकी रहेन ।

कस्तो उदेकलाग्दो छ प्रकृतिको नियम । अरूको मृत्युको जोडघटाउमा तन्मय दिएर लाग्ने त्यही मान्छे आफ्नो मृत्युप्रति सधैँ निरपेक्ष रहेको अभिनय गरेर थाकेको छैन । सत्य बुझ्छ, तर स्वीकार्न हिच्किचाउँछ । स्वर्ग जाने नाममा आफ्नो जीउ ज्यान अर्पण गर्छ । देवी खुसी पार्न रातो भाले चढाउँछ । चारधाम गर्छ । गंगा नुहाउँछ । निराहार बस्छ । पितृ खुसी पार्छ । तर स्वर्ग जाने अवसर आउने हो भने कोही स्वर्ग जान तयार हुँदैनन् ।

माया नामको लहरोले बेर्दा उसका तमाम इच्छा, आकाङ्क्षा र सपनाहरू ह्याङ्गरमा झुण्ड्याएको  लुगा जस्तो हुन्छ । त्यसपछि उसको बचाइ आफ्ना लागि कम, अरूका लागि बढी हुन थाल्छ ।

कसैलाई मंसिरे खलो बित्छ । कसैलाई नातिको मुख हेरेर मात्र परत्र तर्ने इच्छा हुन्छ । कसैलाई बढेकी छोरी नअन्माई स्वर्ग जाँदा कर्तव्यच्युत होइने र अगति परिने त्रासको सनासोले च्याप्छ । अन्ततः एउटा जेरीको बनोट जस्तो एकापसमा जेलिएको घुम्तीले मानिसलाई यसरी गाँज्छ, त्यसबाट त्राण पाउने जुक्ति खोज्दाखोज्दै उसका सपनाहरू छेपाराका कथा बन्छन् ।

माया नामको लहरोले बेर्दा उसका तमाम इच्छा, आकाङ्क्षा र सपनाहरू ह्याङ्गरमा झुण्ड्याएको  लुगा जस्तो हुन्छ । त्यसपछि उसको बचाइ आफ्ना लागि कम, अरूका लागि बढी हुन थाल्छ । हामी यतिबेला गर्मी चढेर पसिनाले नुहाइरहँदा तिमी त्यहाँ लगलग काम्ने जाडोको चपेटामा परेकी हौली । बेलैमा न्यानो ओभरकोटको जोहो गरेर आफूलाई ठण्डीबाट बचाउने उपायको खोजी तिमीले पक्कै गरेको हुनुपर्छ ।

गरिबदासहरू अरबपति छन् । कुम्भ राशिका लाखौँ करोडौँलाई यो वर्ष कुम्भमेलाको नै साइत जुरेन । धनबहादुरहरूलाई दुईछाक जोहोको सकस छ ।

अनौठो लाग्छ, एउटै धराका सन्तान हामीले भोग्ने प्रकृति कति विचित्र छ । सम्पत्ति चाहिनेलाई सन्तानको लस्कर लाग्छ । जो सन्तानको चाहमा दर्जनौँ धाम भाक्छ, उसलाई सम्पत्तिको रास थुप्रिँदो छ । जो प्रेमको भोको छ, उसले जिन्दगीभर बिछोडको अभिशप्‍त आँसुमा डुब्नु परेको छ ।

सिंह राशि भएकाहरूलाई कुकुरले लखेटेको छ । कन्या राशिका हकदारको बिहे नभएर बिजोग छ । गरिबदासहरू अरबपति छन् । कुम्भ राशिका लाखौँ करोडौँलाई यो वर्ष कुम्भमेलाको नै साइत जुरेन । धनबहादुरहरूलाई दुईछाक जोहोको सकस छ । यति हुँदाहुँदै पनि जबसम्म भविष्य रहन्छ, तबसम्म मान्छेभित्र जीजिविषाको तार नटुट्ने रहेछ । तिमी र मभित्र पनि यो अंश प्रबल छ भन्ने मलाई लाग्छ ।

न्यान्सी,
अब अलिकति म तिमीलाई हाम्रो नयाँ वर्षको बखान सुनाउँछु ल ! अघिल्लो साल देख्यौ होला– पिउन छोडेको बहानामा अन्तिम पटक पिउनेहरूको भीड कति थियो ? एउटीले धोका दिएको पीडा प्रेमलाई गाली गरेर कलेजो शीतल पार्ने प्रेमपूजारी कति थिए ? डीभी नपरेको झोँकमा नक्साबाट अमेरिका निकाल्ने पटमूर्ख यही समाजमा कति छन् कति !  ब्रिटनी स्पेयर्सले तेस्रो बिहे गरेको खबर सुनेपछि चमेलीको तेल घसेर लर्के कपाल हल्लाएर तोरीलाउरे हुनेको सङ्ख्या सडकमा कति बढ्यो ? सन्नी लियोनको वस्त्रहीन स्वरूप र राखी सावन्तको नखराका अगाडि रेखा थापाहरूको नाटकको पारो घटेर कता पुग्यो ?

परारजस्तो पोहोर थिएन, पोहोरजस्तो अहिले छैन । यसरी नै समय बगिरहेको छ । कुखुरा बासेर, मानिसले घण्टाघर जस्तो घडी बनाएर समय कैदको दुष्प्रयास त गर्‍याे, तर सफल भएको छैन ।

फिलिम खेल्न बाउ समानलाई ख्वामित बनाउन तत्पर हुने बलिउड र कलिउडका हिरोइनहरूका भद्दा दृश्य कलाको कुन सुर, तालभित्र पर्छ कुन्नि ? यी सबै लीला देखेर कलाकी देवी नटराज आफ्नै भक्तप्रति दिक्क हुँदी हुन् । हो, हिलोबाट निस्कन हिलोमै नटेकी सम्भव छैन । थाहा छैन– गोरुभन्दा अघि बग्गी गुडेको यो दृश्य कहिलेसम्म देख्नुपर्ने हो ? जतिसुकै माथि उडे पनि हेर्ने त तल नै हो ।

परारजस्तो पोहोर थिएन, पोहोरजस्तो अहिले छैन । यसरी नै समय बगिरहेको छ । कुखुरा बासेर, मानिसले घण्टाघर जस्तो घडी बनाएर समय कैदको दुष्प्रयास त गर्‍याे, तर सफल भएको छैन । मानिसले चरा देखेर जहाज बनायो, माछाको जीवन नक्कल गरेर पानी जहाज बनेर तैरिन जान्यो । संसारको सबैभन्दा विवेकशील जुनी पाएको मानिस खै, सार्थक मानिस भएर बाँच्न किमार्थ जानेन । आज शहरमा घरभन्दा अग्ला पर्खाल छन् । जनताको भात खाने पैसा काटेर बम, गोली र बारुदमा पैसा स्वाहा बनाइएको छ । आखिर के का लागि ?

नीतिहरूमध्ये अब्बल नीति मानिने राजनीतिको एउटै मन्त्र हो– मानव धर्म । तर युद्धका लाभाहरू बीचमा बसेर शान्तिको मन्त्र जप्नुपर्ने यो बाध्यताको जड के हो ? आगोमा हात राख्यो भने पोल्छ  । पोल्नु आगोको धर्म हो । हिउँले हात ठिहि¥याउँछ । सिस्नुमा हात राख्दा पोलेन भने, जाँड खाँदा लागेन भने त्यो के जाँड, त्यो सिस्नो के सिस्नो ? एउटा रेसम किराले त मानिसको आङलाई वर्षौंसम्म जोगाएर आपूmलाई कीर्तिमानी बनाउँछ भने हामीले हाम्रो जीवन सार्थक बनाउन कति गर्नुपर्छ ?

प्रकृतिले दिएको स्वतन्त्र आयामलाई हामीले पर्खाल लगाएर धर्म, संस्कृति र देशको सीमामा किन खुम्च्यायौँ ? एउटा भूगोलभित्र विभिन्न देशका नक्सा किन बनायौँ ?

मलाइ सम्झना छ– अघिल्लो साल हामीले सगरमाथाको फेदी कालापत्थरमा उभिएर नयाँवर्ष  मनाएका थियौँ । हावाले मेरो सातो टिप्दा तिमी पेट मिचीमिची हाँसेकी थियौ । त्यही कालापत्थरको धरा ग्लोब मानेर हामीले विश्व नियालेका थियौँ । प्रकृतिले दिएको स्वतन्त्र आयामलाई हामीले पर्खाल लगाएर धर्म, संस्कृति र देशको सीमामा किन खुम्च्यायौँ ? एउटा भूगोलभित्र विभिन्न देशका नक्सा किन बनायौँ ? अर्को जन्ममा के बन्छस् भनेर सोध्दा चरा भनेर जवाफ फर्काउन किञ्चित ढिला नगर्ने मानिस चरा झैँ स्वतन्त्र भएर बाँच्न किन सकेन ? मैले चाइनिज फूड, जापानी वाईफ र अमेरिकी लाईफको बखान गर्दा तिमीले मुना मदनका हरफ सम्झाएर ढाडस दिँदै भनेकी थियौ– ‘साग र सिस्नु खाएको बेस, आनन्दी मनले ।’ तिम्रो भनाइले मेरो मनमा थेरापीको काम गरेको थियो ।

एकदिन विश्वविख्यात कलाकार पिकासोलाई कसैले सोध्यो– ‘तपाईंको तस्वीर म त केही बुझ्दिन ।’ उनले प्रत्युत्तरमा स्वाभाविक उत्तर दिए– ‘चिनियाँ भाषा सायद तपाईं बुझ्नुहुन्न तर ५० करोडभन्दा बढी यही भाषा बोल्छन् ।’ हो राजनीतिको भाषा थोरैलाई मात्र आउँछ तर विश्वका सात अरब मानिसले बुझ्ने एउटै भाषा छ । त्यो हो– हाँसो । सम्भवतः यो सत्यलाई सबैले आत्मसात गरिदिए विश्वको नक्सा यस्तो हुने थिएन होला !

नवपालुवाहरूले छोपेपछि बूढा पात झर्छन् । सृष्टिको सत्य यही हो । सेकेण्ड मिनेटमा अन्त्य हुन्छ । मिनेट घण्टा, घण्टा दिनरात, दिनरात महिना, महिना वर्ष, वर्ष शताब्दी र शताब्दी युगयुगमा । समयको चक्रभित्र जीवन र जगत छ । जीवन जगतको यस विराट सिर्जनाभित्र राम–रावण दुवै छन्  । कृष्ण र कंस छन् । गान्धी र हिटलरको अस्तित्व छ । समयका अनेक मोड छन्– युद्ध छ , भुइँचालो छ, आँधी तुफान छ, ज्वालामुखी छ, खडेरी छ । जानी नसक्नु बुझिनसक्नु छ समयको चरित्र ।

मानिसभित्र स्वार्थ, महत्वाकाङ्क्षा र अस्थिरताले मान्छे बन्ने मान्छेको प्रयास अहिलेसम्म प्रयासमै सीमित देखिन्छ । स्थिरता र आस्थाले बरु ढुङ्गो देवता भयो । एउटा मान्छे अर्को मान्छेभित्र फोहोर खोजेर बसेको छ ।

भनिन्छ– राम, कृष्ण, बुद्ध, क्राइष्ट सबै सबै प्रथम त मानिस नै थिए । उनीहरूको असामान्य व्यक्तित्वलाई सामान्य व्यक्तिहरूले भगवानको कोटीमा पुर्‍याए । युगौँदेखि मानिस नभइसकेका मानिसले आफू मानिस भइरहने चाल चाले । भन्न त हामी भन्छौँ– अहिले हामी आधुनिक सभ्य, शिष्ट र विकासको संसारमा छौँ । तर के हामी निर्ढुक्क छौँ  ? के हामी सुरक्षित छौँ ? के हामीभित्र एकापसमा विभाजित नहुने विश्वास छ ? 

मानव सभ्यताको प्रारम्भदेखि नै थुप्रै प्रश्नहरू उत्तर शून्य भएर टोलाएका छन् । मानिसभित्र स्वार्थ, महत्वाकाङ्क्षा र अस्थिरताले मान्छे बन्ने मान्छेको प्रयास अहिलेसम्म प्रयासमै सीमित देखिन्छ । स्थिरता र आस्थाले बरु ढुङ्गो देवता भयो । एउटा मान्छे अर्को मान्छेभित्र फोहोर खोजेर बसेको छ । आफ्नो आदर्श, परम्परा र संस्कृति भत्काउन जति सजिलो छ, तिनबाट हुने भीषण विकृतिबाट आफ्नो मुलुक बचाउन फलामको चिउरा चपाउनभन्दा कठिन छ ।

मान्छे मान्छेभन्दा अगाडि आफ्नो राष्ट्रियता, धर्म, भाषा र जाति अनेकौँ वृत्तमा विभाजित हुँदै सबभन्दा पछि मात्र मानिस भएको छ । यिनै वृत्तबाट घेरिएको मानिस सधैँ आफ्नो परिचय हराएर परिचयकै खोजीमा बाँचेको छ । ईश्वर एउटै भएपनि अनेक धर्म छन् । भावना एउटै हो तर भाषा कति छन् कति ! त्यसैगरी मानिस त्यही हो– जातको विभाजन हेर्नुस् त । हुँदा हुँदा मानिसले साँचो बोल्न नै छोडिसक्यो । कि त राजनीतिमा पसेर बोल्छ, कि धर्म च्यापेर बोल्छ, कि जातिको भएर बोल्छ । के मान्छे यी सबै वृत्तबाट उम्किएर साँचो मान्छे भएर बोल्न सक्दैन ? लाग्छ, यो प्रश्न युगौँदेखि अनुत्तरित छ ।

हो, संसार सुन्दर छ । त्यो हेर्न सुन्दर हेराइ चाहिन्छ । सौन्दर्य र रहस्यको इन्द्रेणीमा निरन्तर कविता सिर्जना भइरहेको छ । सङ्गीत बजिरहेको छ । यसैभित्र धड्कन धड्किरहेको छ ।

धर्म मानिसले नै चलाएको हो । यता चर्च, गुम्बा र मन्दिर पनि त मानिसले नै बनाएको त हो नि । अनेक जाति, अनेक भाषा, अनेक राष्ट्र सबै मानव चेतनाकै उपज हुन् । हो, संसार सुन्दर छ । त्यो हेर्न सुन्दर हेराइ चाहिन्छ । सौन्दर्य र रहस्यको इन्द्रेणीमा निरन्तर कविता सिर्जना भइरहेको छ । सङ्गीत बजिरहेको छ । यसैभित्र धड्कन धड्किरहेको छ । यही कोलाजभित्र तिम्रो मेरो मायाको आकृति कोरिएको छ । यो आकृति मोनालिसाको तस्वीरभन्दा कम अमर हुने छैन । सायद टेलिप्याथीको सुक्ष्म सामर्थ्यले पनि हाम्रो प्रेमको गहिराइ नाप्न सक्दैन । नयाँ वर्षको शुभसाइतले सामीप्यको त्यो गाँठो अझ मजबुत बनाओस् । ईश्वरसँग यही बन्दना गरौँ । 
तिमीलाई निरन्तर माया गर्ने

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : २३ बजे

नव वर्ष २०८२ प्रारम्भ

काठमाडौं – विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते

आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबारको राशिफल

काठमाडौं – आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते

बिस्का जात्राः रथले किचेर एक जनाको मृत्यु

भादगाउँ – भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर