धनगढी– राजनीतिक लडाइँ र झगडाकै कारण चर्चामा रहने बाजुरालाई फरक रुपमा स्थापित गर्ने गरि नेताहरूले प्रतिबद्धता जनाएका छन् ।
बाजुराको परिचय बदल्ने गरी राजनीतिक एकता र सहकार्य गर्ने लिखित प्रतिबद्धता गर्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू सहमत भएका हुन् ।
बाजुरामा कांग्रेस र एमालेले नै राजनीतिक प्रभाव राख्ने दल हुन् । बुढीगंगा नगरपालिकाले समृद्धिका लागि आयोजना गरेको ‘बुढीगंगा कचहरी’मा सहभागी दलका नेताहरूले १५ बुँदे लिखित प्रतिबद्धतासमेत गरेका हुन् ।
विगतका बसाइ, छलफल र सार्वजनिक मञ्चमा पनि नेताहरूले सहकार्यको भाषण गर्दै आएका थिए । तर कार्यान्वयन हुन सकेको थिएन ।
बुढीगंगा नगरपालिकाले आयोजना गरेको विकास कचहरीमा नेताहरूले पालिकाको तर्फबाट १५ बुँदे प्रतिबद्धता पत्र जारी गर्न लगाएर लिखित सहमति गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पूर्व प्रदेश प्रमुख नेपाली कांग्रेसका नेता देवराज जोशीले २०४८ सालपछि कांग्रेस र एमालेका नेताहरूले औपचारिक कार्यक्रमबाहेक विकासबारे कुनै चरणको छलफल नगरेको स्वीकारेका थिए ।
२०४८ र २०६४ मा कांग्रेसको तर्फबाट चुनाव जितेका जोशी सुदूरपश्चिम प्रदेश प्रमुख भएर काम गरिसकेका नेता हुन् । उनले नामै तोकेर प्रकाश शाहबाहेक कर्णबहादुर थापा, लालबहादुर थापासँग अनौपचारिक विकासबारे छलफल गर्ने कुरा धेरै टाढाको भन्दै चियासमेत नखाएको स्वीकारे । उनले आगामी दिनमा सच्चिने प्रतिबद्धता जनाएका छन् ।
नेकपा एमालेका अध्यक्ष लालबहादुर ओलीले दलहरू एक ठाउँमा उभिएर बाजुराको विकासमा जिम्मेवार नभएकोमा चिन्ता व्यक्त गरे ।
ओलीले बेलिब्रिज सार्नसमेत प्रधानमन्त्रीलाई माग गर्नुपर्ने र त्योसमेत पत्याउने अवस्था नहुने कुरा दु:खद विषय बनेको बताएका छन् ।
नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले राजनीतिक रुपमा आस्था-विचार जो-जसले जता राखे पनि बाजुरासहित सुदूरपश्चिमको विकासमा सबैबीचको सहकार्य र एकता जरुरी रहेको बताए ।
विकास कचहरीमा पूर्व प्रदेश प्रमुख देवराज जोशी, ,पूर्व मन्त्री कर्णबहादुर थापा, संविधान सभा सदस्य बसुन्धरा रोकाया, पेम्बा गुरुग भोटे, पूर्व प्रदेश मन्त्री प्रकाश शाह, नरेश शाही, प्रदेश सभा सदस्य पदम बहादुर शाही, माओवादीका नेतृ पूर्व प्रदेश सभा सदस्य देवकी मल्ल, पूर्व प्रदेश मन्त्री पठानसिंह बोहरा, अछाम जिल्ला विकास समितिका पूर्व सभापतिकृष्णप्रसाद जैसी, एमालेका जिल्ला अध्यक्ष लालबहादुर ओली, कांग्रेसका पूर्वसभापति मानबहादुर रावल, बुढीगङ्गा नगरपालिकाका पूर्व मेयर दीपकविक्रम शाहलगायत सहभागि थिए ।
बुढीगङ्गाको १५ बुँदे प्रतिबद्धतापत्र
बाजुराको बुढीगङ्गा नगरपालिकाले आफ्नो पालिकाको विकासका लागि १५ बुँदे साझा प्रतिबद्धता पत्र जारी गरेको छ । समृद्ध बुढीगङ्गा निर्माणका लागि तीन दिनसम्म आयोजना गरिएको ‘समृद्धिको आधारका लागि बुढीगङ्गा विकास कचहरी’ बाट आएका निष्कर्षका आधारमा प्रतिबद्धता पत्र जारी गरिएको हो ।
बुढीगङ्गा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले प्रतिबद्धता सार्वजनिक गर्दै राजनीतिक दलहरूले बुढीगङ्गा नगरपालिकाको विकासमा एकमत रहेर स्रोत व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने, गुणस्तरीय र प्राविधिक शिक्षाको विस्तार गरी दक्ष जनशक्ति उत्पादनमा जोड, आधुनिक कृषि प्रणाली, पशुपालन र बजार प्रणाली विकास, पाँच वर्षभित्र सबै घरधुरीमा बिजुली र दुई वर्षभित्र धुँवारहित चुलो पुर्याउने योजना समेटिएको छ ।
यस्तै, नदीजन्य र खानीजन्य स्रोतको सदुपयोग र वैज्ञानिक वन व्यवस्थापन, १५ श्य्याको अस्पताल निर्माण सम्पन्न गरेर स्वास्थ्य बिमा र मानसिक स्वास्थ्य कार्यक्रम धार्मिक–ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धन, भवन संहिता कार्यान्वयन, नवनिर्माण संरचना बालमैत्री र भूकम्प प्रतिरोधी, सभाहल, पार्किङ, खेलमैदान, सडक स्तरोन्नती लगायत सार्वजनिक संरचना विस्तार, इन्टरनेट विस्तार, सेवा प्रवाहमा अनलाइन प्रणालीको उपयोग, एक वर्षमा डिजिटल गुनासो सुनुवाइ र पाँच वर्षभित्र एसएमएसमा आधारित सूचना सेवा सुरु गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
प्रतिबद्धता पत्रमा सामाजिक समावेशीकरण र सशक्तीकरणका लागि कोष स्थापना, सहकारी संस्थाहरूको व्यवस्थापन र नियमन, साना मझौला उद्योग प्रवर्धन, सीप विकास केन्द्र विस्तार, स्वच्छता र फोहोरमैला व्यवस्थापनलाई सशक्त बनाउँदै पूर्ण सरसफाइयुक्त नगर बनाउने कुरा पनि समेटिएको छ ।
त्यस अवसरमा बोल्दै नगर प्रमुख बानियाँले बुढीगङ्गाको समृद्धि अब भाषणको विषय मात्र होइन, साझा सङ्कल्पको दिशामा अगाडि बढ्न सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।
१५ बुँदे प्रतिबद्धतापत्रले बुढीगङ्गा नगरपालिकालाई समृद्धि र सुशासनतर्फ लैजाने स्पष्ट मार्गचित्र तयार भएको अधिकांश राजनीतिज्ञ र विषय विज्ञले बताएका छन् ।
बुढीगंगा नगरपालिकाले आयोजना गरेको कार्यक्रमले सबै दलका नेताहरुलाई एकै ठाउँमा उभिएर जान सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया नागरिक स्तरबाट छ । जिल्लामा यो प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो ।
प्रतिक्रिया