छोरालाई सम्झिरहन कविता महोत्सव र विमल कृति पुरस्कार « Khabarhub

छोरालाई सम्झिरहन कविता महोत्सव र विमल कृति पुरस्कार

पुत्रवियोगपछि पूर्णबहादुरले जन्माएको पुस्तकालय



सुनसरी – पूर्णबहादुर गुरुङ ब्रुनाईका सुल्तानको दरबारमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । ब्रिटिश गोर्खा सैनिक सेवामा १५ वर्षे अवधि सकेर अवकाश पाएपछि उनी ब्रुनाईको गुर्खा रिजर्भ युनिट (जिआरयु) मा भर्ना भए । वि.सं २००० सालमा खोटाङको रावामा जन्मेका गुरुङले २०२० सालामा गल्लाको अघि उभिएर छाती नापे । र, २० वर्षका लक्का जवान उनी सेनामा भर्ती भए ।  

ब्रुनाईका राजा हाजी हस्सनल बोल्कियाह मु इज्जाद्धिन वादल्लाहको दरबारमा सुरक्षा गार्डकाे जिम्मेवारीमा रहिरहेकै बेला पूर्णबहादुरले आफ्नो एक्लो कवि छोराको अचानक मृत्युको खबर सुने । याे दुःखद खबर सुन्नासाथ उनी छाङ्गाबाट खसे । शोकमा डुबे । पत्याउनै गाह्रो भयो । श्रीमती सरस्वती पनि  गम्भीर अवस्थामा रहेको सुन्दा झन व्यथित बने ।

०४८ साल वैशाख २४ गते उनकाे जीवनमा परेकाे वज्रपात कहिलै नबिर्सने त्रासदी बन्यो । उनी छोरा छोरी र परिवारलाई सुख शान्ति र आनन्दको जीवन दिलाउन, आवश्यक सम्पत्ति कमाउन ब्रुनाईको सुल्तानको दरबारमा पुगेका थिए । 

निराशा, हतास भए पनि आफूलाई सम्हाल्दै उनी नेपाल फर्किए । कवि विमल गुरुङ स्मृति पुस्तकालयमा पाठक कुरेर बसिरहेका पूर्णबहादुरले दुःखका कथा सुनाए ।

उनले खबरहबसँग भने, ‘त्यो घटनाले म र मेरो परिवारलाई अत्यन्त पीडा दियो । पीडा निको नभए पनि केही मत्थर हुन लामो समय लाग्यो । सोचेँ, छोराकै लागि कमाउन ब्रिटिश गोर्खा सैनिकमा भर्ती भएँ । ब्रुनाईको सुल्तानको दरबारमा गार्ड भएँ ।’

छोरा विमललाई सम्झिरहने केही काम गर्नुपर्छ भन्ने लागेर पूर्णबहादुरले छोरी (शान्ति) र परिवारसँग सल्लाह गरे । मृत्युको काखमा पुगिसकेको आफ्नो कवि छोरोका अध्ययनशीलता, लगन र प्रतिभालाई चिनेर अमर बनाउने सोच उनले बताए ।

गुरुङ परिवारबीचको सल्लाहअनुसार विमलले हिँडेको, बाँचेको समाजलाई थप उज्यालो बनाउने उद्देश्य राखेर कलम समाएर साहित्यको बाटोमा हिँडेका युवावर्गलाई प्रेरणा दिनका लागि २०४८ सालको असारतिर धरान–१८, बुद्धचोकमा कवि विमल गुरुङ स्मृति पुस्तकालय स्थापना गरे । 

त्यसबेलाका धरानका साहित्यकारहरू, पत्रकारहरू, समाजसेवी र विद्वतवर्गका साथ, सल्लाह र हातेमालो गर्दै विमल जन्मेको दिन पारेर ०४९ साल कात्तिक १९ गतेदेखि राष्ट्रिय युवा कविता महोत्सव सुरु गरियो ।  

राष्ट्रिय कविता महोत्सव बर्सेनि भइरहेकाे छ । जसमा उत्कृष्ट कवितामध्ये प्रथम, दोस्रो र तेस्रोलाई पुरस्कार दिइने गरिएको छ । पछिल्लो समयमा २०७९ देखि एउटा उत्कट साहित्यिक कृतिलाई ताम्रपत्रसहित २ लाख नगद रुपैयाँको ‘विमल गुरुङ कृति पुरस्कार’ पनि प्रदान गरिँदै आएको गुरुङले बताए ।  

उनले भने, ‘विमलले लेखेका दर्जनौं कविताहरू डायरीमा छन् । ती कविताहरूलाई कृतिको रूपमा छाप्दै आएका छौँ । गतवर्ष ‘शब्द–चित्रमा कवि विमल गुरुङ’ नामको संस्मारिका प्रकाशित गरियो । विमलका छुटेका कविताहरूलाई ‘सहरको प्रगाढ मौनता’ नाम दिएर प्रकाशित गरिएको छ । प्रकाशित गर्न बाँकी किताबहरू छाप्ने योजनामा छौँ । यसैपाला पहिले छापिएका दुवै किताबको दोस्रो संस्करण निस्कँदै छ । शायद आगामी कात्तिक १९ गतेको राष्ट्रिय कविता महोत्सव तथा विमल कृति पुरस्कार समारोहमा विमोचन हुनेछ ।’ 

आफू र आफ्ना परिवारलाई प्रशंसा नचाहिएको गुरूङ बताउँछन् ।  समाजका आँखा राम्रा कामतिर पुगून् भनेर मात्रै बुढेसकालमा पनि समाजका हजारौँ विमलहरूलाई मायाले सम्झिएर यही पुस्तकालयमा दिन बिताइरहेको बताए । विमल स्मृति पुस्तकालयको भवन र उनको घर नजिकै छ । त्यसैले बिहानदेखि बेलुकासम्म उनी पुस्तकालयलाई समय दिन्छन् । 

उनले भने, ‘यहाँ (पुस्तकालय) रुङ्दा र विमलले संकलन गरेका पत्रपत्रिका अनि किताबकै वरिपरि टहलिँदा, यो पुस्तकालयका पुस्तकहरू मिलाउदै र्‍याकमा राख्दा विमलको हेरचाह गरेको, उसैसँग बातचित गरेको र सँगै बसिराखेको भान हुन्छ मलाई ।’

अहिले ८२ वर्षमा हिँडिरहेका छन् पूर्णबहादुर गुरुङ । पुस्तकालयमा आउनेलाई चिया, कफी, बिस्कुट दिँदै भन्छन्, ‘आउनुस् है ।’ यो पुस्तकालयलाई अझ राम्रो बनाऊँ, कोही नरिसाउनुस्, यो तपाईँहरूको हो, यो पुस्तकालयलाई ज्ञानको विशाल मन्दिर बनाऊँ, मैले जानेको धर्म यति नै हो ।’ 

को हुन विमल गुरुङ ?

कतिपय धनसम्पत्ति हुनेहरूले दिवङ्गत व्यक्तिका नाममा अनेक संस्था र पुरस्कार स्थापना गरेका छन् । सामान्य व्यक्तिको नाममा पनि समाजमा पुरस्कार स्थापना गरिएका धेरै उदाहरण छन् । तर विमलको हकमा यो धारणा लागू हुँदैन ।

पूर्णबहादुर गुरुङ र श्रीमती सरस्वती गुरुङका एक्ला छोरा थिए विमल । वि.स. २०२८ कार्तिक १९ गते हङकङको किङ्गस पार्क अस्पतालमा जन्मेका विमलका बालापनका केही समय र प्रारम्भिक शिक्षा हङकङमै गोर्खा आर्मी चिल्ड्रेन्स स्कुलमा भयाे । उनी वि.स. २०३६ सालमा आमा बुबाका साथ धरान फर्किए । धरान–४ स्थित सेकेण्डरी बोर्डिङ्ग स्कुलमा भर्ना भई एसएलसीसम्मको अध्ययन पूरा गरे ।

किशोर उमेरमै विमल अध्ययनसँगै कला, साहित्य, दर्शन, चिन्तन र लेखनमा क्रियाशील थिए । तत्कालीन ‘दृष्टी साप्ताहिक’ मा पत्रकारिता गरे । उनी बाँचेको १९ वर्ष ६ महिनासम्ममा विशेष गरी मार्क्सवादी सौन्दर्यशास्त्र र पाश्चात्य साहित्य र दर्शनसँगै भारतीय दर्शन पनि अध्ययन गरेर समाजमा फरक विचार निर्माण गर्दै थिए ।  

यसबीचमा उनले दर्जनौं कविता लेखे । ती कविता उनको उमेरअनुसारका थिएनन् । अल्लारे किशोर उमेरकाले त्यसबेला मायाप्रेमका छोटाछोटा, हल्का रोसमान्सका कविता लेखिरहेका बेला उनी भने गम्भीर र दार्शनिक शैलीका कविता लेखेर फरक परिचय बनाइरहेका थिए । उनका समकालीनहरू युथिर थापा, प्रकाश कोविद, सुवास घिसिङले लेखेका उपन्यास पढेर ‘इन्जोय’ गरिरहेका बेला उनी सिमोन द वुअर, जा पाल सात्रर, काफ्का र कामुको चिन्तन पढिरहेका थिए । त्यसैले उनलाई फरक बनाइरहेको थियो ।

उनले संकलन गरेका पुस्तकका ठेलीहरूले त्यसै भन्छन् । उनलाई कतिपय समालोचकहरूले नेपालका जोन किट्सको संज्ञा समेत दिएका छन् । उनको देहान्त भइसकेपछि ५० दशकमा ‘एक किलो जंगल’ कविता चर्चाको विषय बनेको थियो ।

०४८ को आम निर्वाचनमा आमासँग काठमाडाैंबाट धरान फर्कँदा धादिङको जुकेपानीमा बस दुर्घटना हुँदा वैशाख २४ मा उनको देहान्त भएको थियो । विमलको देहान्तपछि उनले अध्ययन गरेका, अध्ययन गर्न संकलन गरेका पुस्तकहरूलाई समेटेर गुरुङ दम्पतीले धरान १८ बुद्धचोकमा जग्गा खरिद गरी दुईतले पक्की भवन निर्माण गरेर ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ स्थापना गरे ।

कविता महोत्सवका लागि कविता र विमल कृतिका लागि पुस्तक आह्वान    

कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार’ का लागि पुस्तक र राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरेको छ । 

पुस्तकालय सञ्चालक समितिको बिहीबार बसेको पूर्ण बैठकले आगामी कात्तिक १९ गते सम्पन्न हुने ३४ औं राष्ट्रिय कविता महोत्सवमा २०८१ सालमा प्रकाशित जुनसुकै विधामध्ये श्रेष्ठ ठहरिएका एक पुस्तकलाई विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने जनाएको छ । कृति पुरस्कार नगद २ लाख रुपैयाँसहित ताम्रपत्र र दोसल्ला रहेको छ ।

यसैगरी राष्ट्रिय कविता महोत्सवका विजेताहरू प्रथमलाई प्रमाणपत्रसहित नगद २१ हजार रुपैयाँ, द्वितीयलाई १८ हजार रुपैयाँ र तृतीयलाई १७ हजार रुपैयाँ प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । 

पुस्तकालयका सचिव चन्द्र गुरुङले भने, ‘विमल कृति पुरस्कार जुनसुकै विधामा लेखिएको नेपाली भाषाको पुस्तकलाई दिन सकिनेगरी खुला गरिएको छ । नेपाली नागरिक नै हुनुपर्छ भन्ने पनि छैन । विदेशी नागरिकले पनि पाउन सक्छन्, तर नेपाली भाषामै लेखिएको हुनुपर्ने अहिलेको सामान्य शर्त छ । यसअघि भारतीय नागरिक विजय कैलाशी राईको कृतिलाई पुरस्कार प्रदान गरिएकाे थियो ।’

विमल गुरुङ कृति पुरस्कार हालसम्म काङ्माङ नरेशको कविता संग्रह तेप्लायु, चन्द्र गुरुङको कविता सङ्ग्रह जब एउटा मान्छे हराउँछ, भारतका विजय कैलासी राईको उपन्यास मित्याङ्सा र प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमले प्राप्त गरिसकेका छन् ।

यस्तै कविता प्रतियाेगितामा सहभागिताका लागि पनि स्वदेश र विदेश बसेका नेपाली साहित्यकारहरू सबैका लागि खुला गरिएको छ । उनीहरूले इमेलमार्फत् कविता पठाउन सक्ने छन् । ‘कविताको शब्द सङ्ख्या यति नै हुनुपर्ने र निश्चित ‘कन्टेन्ट’ मा लेख्नैपर्ने भन्ने बाध्यता छैन’, सदस्य राज माङ्लाकले भने ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ३४ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली