क्याफेमा ‘कृषि हाटबजार’ | Khabarhub Khabarhub

क्याफेमा ‘कृषि हाटबजार’


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास । मःम, बर्गर, पिज्जा, आधुनिक खाद्य परिकार । काठमाडौँको दरबारमार्गस्थित क्याफे सुनेपछि त मनसपटलमा अरू चित्र पनि आउँछन् । महँगा परिकार र पेयपदार्थको चुस्कीसँगै गफिइरहेका देशीविदेशी ग्राहक, आधुनिक गीतसङ्गीतको गुनगुनाहट । 

दरबारमार्गको ओरियन्ट क्याफेमा पनि अरूबेला यस्तै माहोल हुन्छ, तर शनिबार भने नितान्त फरक । यस दिन बिहान यहाँको माहोल किसानका उत्पादनको सुगन्ध र ग्राहकको उपस्थितिले गुञ्जायमान हुन्छ । यहाँ तरकारी, फलफूल, गेडागुडी, पीठो एवं सातु, अचार, मस्यौरा, दुग्ध र मासुजन्य उत्पादन, हस्तकला र रैथाने परिकार गरी नौ समूहका सामग्री सुगन्ध फैलिन्छ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कृषिउपज मात्र होइन, सोलुको बकुमा आलु, रातो च्याउ र नेचा, सल्यानको दूधे मार्सी र बिरमफुले तथा नुवाकोटमा मात्र उत्पादन हुने समुन्द्रफिनीको चामल । यसबाहेक देशका विभिन्न भूभागबाट आएका कोदो, मकै, फापर, गहुँ, चिनो र कागुनोको पिठो, घरेलु अचार, घ्यू, नौनी, चिज, पनिर, सिताके च्याउ, हस्तकला सामग्री आदिआदि । 

परिकारतर्फ फापर र कोदोको मःम, चिनो, कागुनोको सेलरोटी, भुटेको स्थानीय मकै, सिरौँला, खट्टे, पिनट बटर, लप्सी केण्डी, जडबुटी एवं औषधीय गुण भएका यार्सागुम्बा, सिलाजित, ओखरको तेल, भिरमह, जङ्गली बेललगायतको उपलब्धताले यहाँको माहोललाई थप आकर्षक बनाउँछ । यहाँ पेयपदार्थ पनि पाइन्छ, तर मही, मर्चा प्रविधिबाट बनाइएको कोदोको रक्सी । 

विसं २०८० साउन १ गतेदेखि हरेक शनिबार यहाँ लाग्ने ‘रैथाने कृषि हाटबजार’मा यस्तै स्थानीय उत्पादनको सुगन्ध लिँदै ग्राहकहरू रोजीरोजी सामान किन्न पाउँछन् । यहाँको विशेषता छ– न चर्को मूल्य, न त ग्राहक र बिक्रेताले मोलमोलाइ गर्नुपर्ने झन्झट । ग्राहकले स्वच्छ र पौष्टिक सामान पाउने, विक्रेताले मेहनतअनुसारको मूल्य । ग्राहकहरूले मही पिउँदै, सिस्नुको सुपको चुस्की लिँदै उपलब्ध सामग्रीको प्रयोग र फाइदाबारे किसानसँग सिधा कुराकानी गर्दै सामान किन्ने । 

यसले उपभोक्ता र साना किसानको दूरीमात्र घटाएको छैन, साना उद्यमीका उत्पादनको बजारीकरण, त्यसको महत्वबारे प्रचार र आधुनिक खानपानमा रमाएर बिर्सिँदै गएका रैथाने कृषिउपजको पुनर्जागरणमा योगदान पुगेको यहाँ पुग्नेहरूले बताउने गरेका छन् । 

यस अभियानलाई प्रवर्द्धन गरिरहेको छ रैथाने एग्री प्रडक्ट प्रालिले ।  उत्पादक किसानसँग सम्पर्क, समन्वय, बजार व्यवस्थापन, प्रचारप्रसार, परामर्श सेवा र अभिमुखीकरणलगायतमा यस संस्थाले सहजीकरण गरिरहेको छभने ओरियन्ट क्याफेले निःशुल्क रूपमा स्थान, बैठक हललगायत सुविधा दिएको छ । 

यसैगरी डेरी एसोसिएसन नेपालले आगन्तुकलाई महीका निम्ति निःशुल्क दहीको व्यवस्थापन गरिरहेको छ । अभियन्ता एवं एग्री प्रडक्ट प्रालिका अध्यक्ष तिलक ढकाल रैथाने बाली, परम्परागत सीप र ज्ञानको संरक्षण, प्रवर्द्धन तथा बजारीकरण गरी रोजगारी सृजना, मौलिक सांस्कृतिक खानाको प्रचार तथा उत्पादित कृषिउपजको उचित बजारीकरणका लागि अभियान सुरु गरिएको बताउँछन्। 

यहाँ विषादीरहित रैथाने कृषि उत्पादनहरूको मात्र बजारीकरण गरिने भएकाले जैविक उत्पादन प्रवर्द्धन भई स्वच्छ वातावरण र स्वास्थ्य जीवन जिउने अभियानमा मद्दत पुगेको उनको भनाइ छ । 

‘सहरबजारमा पैसा भयो भने जे पनि, जति पनि सामान पाइन्छ, तर ताजा, स्वस्थ, पौष्टिक र विषादीरहित सामान पाउन निकै कठिन छ । पछिल्लो समय उपभोक्ताले ताजा र विषादीरहित उत्पादन र किसानले बिचौलियाविहीन बजार खोजिरहेका छन् । यी दुवै समस्या समाधान गर्न हामीले यो अभियान सुरु गरेका हौँ’, ढकालले भने, ‘यस्तो मोडलले किसान र उपभोक्ताबीचको दूरी र अविश्वास दुवै घटाएको छ । बिचौलियाबिना बिक्री गर्दा किसानलाई उचित मूल्य मिलेको छ, उपभोक्ताले पनि ताजा, स्वस्थ उत्पादन सस्तोमा पाएका छन् ।’

 नुवाकोट दुप्चेश्वर–१ का कृष्ण स्याङ्तान तीन वर्ष बेलायत बसेर स्वदेश फर्किएपछि मौलिक नेपाली कृषिउपज प्रवर्द्धनमा लागे । उनी मकै, कोदो, सेरेना प्रजातिको मह, मौसमअनुसार जङ्गलमा पाइने खानेकुरा, नेपालका पाँच जिल्लामा मात्र पाउने घ्यू, आलु प्रवर्द्धन गरी आयआर्जनमा लागेका छन्। पछिल्लो दुई वर्षयता उनको मुख्य व्यापार हो, सिस्नु । यसको प्रवर्द्धनका लागि रैथाने कृषि हाटबजार उपयोगी भएको उनले सुनाए। 

‘हाटबजार लाग्न थालेपछी हरेक शनिबार क्याफमै गएर सिस्नुलगायत सामग्री बेचिरहेको छु । यहाँबाट मेरो व्यवसायको प्रचारमा उल्लेख्य टेवा पुगेको छ । प्रचार भएपछि अनलाइनमार्फत पनि कारोबारमा वृद्धि भएको छ’, स्याङ्तानले भने, ‘आम्दानी त भइरहेको छ नै, हिजो गरिबले खाने परिकार भनेर हेला गरिने सिस्नुबारे अचेल सम्भ्रान्त मान्छे बस्ने दरबारमार्गमै प्रचार गर्न पाएको छु । हजारौँलाई यसको फाइदाबारे जानकारी दिन पाएको छु ।’

 सबैभन्दा गज्जब त लाखौँको गाडी चढेर एकडेढ सयको सिस्नुको प्याकेट लिन आउनेको सङ्ख्या बढ्दै गएकामा उहाँलाई अझ बढी आनन्द लाग्न थालेको छ ।  

भक्तपुर गोठाटारकी लक्ष्मी पोखरेलले अन्य दिदीबहिनीसँग मिलेर कोदो, कागुनो, फापर, जौँ, आलसलगायत नेपाली परम्परागत खाद्य सामग्रीको आधुनिक प्रयोगमार्फत व्यवसाय गरिरहेका छन् । उनले हर्लिक्स र बर्नबिटाजस्ता प्रशोधित सामग्रीको विकल्पमा कोदोजन्य बालीबाट सामग्री, कागुनो, आलस र जौँबाट प्यानकेक, जौँ र फापर टुसाएपछि त्यसलाई पिसेर ‘चोखो पीठो’, मुङ र तिलको प्रयोगबाट विभिन्न उपभोग्य वस्तु बनाएर कारोबार गरिरहेका छन्।

 ‘पहिले हामी स्थानीय पसलमै  सीमित थियो, बजारीकरण गर्न सकिएको थिएन । पछिल्लो समय हाटबजारमा जान थालेपछी बजार प्रवर्द्धनमा एकदमै सघाउ पुगेको छ । त्यहीबाट आफ्नो उत्पादनलाई चिनाउन थालेका छौँ । यसले घरमा बसेर केही गर्ने चाहना भएका साना उद्यमी महिला तथा युवालाई सघाउ पुगेको छ ।’

 काठमाडौँ महाराजगञ्जकी वसुन्धरा श्रेष्ठ पेसाले ‘इन्टेरियर डिजाइनर’ (घर तथा कार्यालयको भित्री सजावट) भए पनि विगत १२–१३ वर्षदेखि बदामको बटर, आलस, कोदोको पीठोबाट चार किसिमका बिस्कुट, टिमुर र मेथीको अचार तथा चिया मसलालगायत सामग्री बनाउँदै आएकी छन् । हाटबजारबाट वर्षौंदेखिको व्यापारको छुट्टै पहिचान स्थापित गर्न सहज भएको उनले बताइन्। ‘हाटबजारमा आफ्ना समान बेच्नेमात्र होइन, त्यहीबाट कच्चा पदार्थ किन्न नि पाइन्छ । पहिले यसैका लागि धेरै ठाउँ धाउनुपथ्र्यो, अहिले त्यसको चिन्ता छैन । त्यसैमार्फत प्रचार हुँदा स्वदेशमा कारोबार बढेको छ । विदेशमा समेत सामान पठाउने आधार बनिरहेको छ’, श्रेष्ठले भनिन्।

यहाँ हरेक हप्ता ३५ वटा फरकफरक सामग्रीका स्टल लाग्छन् । यसबाट हरेक हप्ता तीन सयदेखि चार सय उपभोक्ता लाभान्वित भइरहेका संस्थाले जनाएको छ ।  गत शनिबार यस अभियानले १००औँ हप्ता पूरा गरेको छ ।

 यसरी जन्मियो अभियान

यो अभियान २०७६ साल साउन २२ गतेदेखि सुरु भएको हो । चितवनको तोरीको तेल र चिउरीको रसबाट बनेको सेरेना प्रजातिको मह गरी दुईवटा उपजबाट अभियान सुरु भएको थियो । हाल ५५ जिल्लाका तीन सयभन्दा बढी कृषिउपज र वस्तुको बजारीकरण गर्ने अवस्थामा पुगेको अभियन्ता ढकालले जानकारी दिए।

‘यो अभियान रैथाने कृषिलाई माया गर्ने चारपाँच जनाको सल्लाहबाट सुरु भएको हो । हाल देशभर विस्तार भइरहेको छ, संस्थामा ४९ जना जोडिएका छौँ । तीन सयभन्दा बढी कृषिउपज आफैँ किन्ने र बेच्ने तथा किसानलाई सिधै उपभोक्ता वा बजारसँग जोड्न सहजीकरण गरिरहेका छौँ’, उनले भने, ‘यसक्रममा ९८ वटा समूह, सहकारी, व्यक्तिसँग सम्झौता गरेर उत्पादनमा प्रोत्साहन र लागत मूल्यअनुसार किन्ने सुनिश्चिता गरेका छौँ । छवटा स्थानीय तहसँग रैथाने उत्पादन गर्ने र त्यसको बजार खोज्नेगरी सम्झौता भएर काम अगाडि बढेको छ ।’

अभियानको मुख्य ध्येय साना किसानलाई रैथाने बाली, सीप तथा प्रविधिसँग जोडिरहने र त्यसलाई अर्थोपार्जनको बलियो आधार बनाउनु हो । 

‘भूगोल, हावापानीलगायत कारणले हामीकहाँ प्रचुर कृषि विविधता छ, तर विविध कारणले परम्परागत कृषिकर्म छोड्दै गयौँ, सीप हराउँदै गयो । यसले समग्र कृषि प्रणाली नै बिग्रिएको छ । यसर्थ रैथाने कृषि, प्रविधि र सीप जोगाउँदै उद्यमशीलता विकास र उपभोक्तालाई उचित मूल्यमा स्वस्थ, विषादीरहित कृषिउपज उपलब्ध गराउनु हाम्रो ध्येय हो’, ढकालले भने। 

यो कार्यक्रम हाल काठमाडौँको दरबारमार्ग, नागार्जुन नगरपालिकाको स्युचाटार, बूढानीलकण्ठको धापासी र टोखा नगरपालिकाको धापासीहाइटमा साप्ताहिक रूपमा सञ्चालन भइरहेको छ । आयोजकले रैथाने कृषिउपज तथा त्यसको प्रयोगका लागि उपभोक्तालाई सचेत गराउन अभियानलाई थप विस्तार गर्ने जनाएको छ । 

 अभियानका सदस्य एवं ओरियन्ट क्याफेका सञ्चालक उद्धव ढकाल  हाटबजार तरकारी किनबेचको ठाउँमात्र नभई सहरिया मानिसको सोच, सामाजिक र आर्थिक पक्ष बुझ्ने आधार पनि हो भन्छन्। यसले सहरिया उपभोक्तालाई देशका विभिन्न भूभागमा उत्पादन हुने परम्परागत स्वस्थ, पौष्टिक, विषादीरहित गुणस्तरीय कृषिउपज उपलब्ध गराउने प्रभावकारी ‘प्लेटफर्म’को काम गरेको उनको भनाइ छ । 

‘हाटबजार हाम्रो पहिचान पनि हो । यो आर्थिक कारोबारमात्र होइन, सांस्कृतिक र सामाजिक अन्तरघुलनको आधार पनि हो’, उनले भने, ‘यसका माध्यमबाट साना किसानको उद्यमशीलता प्रवर्द्धन, रैथाने कृषिउपज प्रयोगको संस्कृति विकास र उपभोक्ताको स्वास्थ्यलाई उपयोगी वस्तु उपलब्ध गराउने अभियानमा हाम्रो क्याफेले सहकार्य गरेको हो ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ४५ बजे

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

पहिरो हटाएपछि जुम्ला–नाग्म सडक खुल्यो

जुम्ला – अवरुद्ध जुम्ला–नाग्म सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत – भेरी करिडोर हुँदै जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीबाट सरिया

प्रधानमन्त्रीसँग विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध

करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते

खोटाङ – करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित