काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपतिमा निर्वाचित भए आफूले मध्यपूर्वको द्वन्द्व सामाधान गर्ने वाचा गरेका थिए । उनले राष्ट्रपतिका रुपमा दोस्रो कार्यकाल सम्हालेको पाँच महिना पुग्नै लागेको छ ।
यस्तो अवस्थामा इजरायलले इरानी भूमिमा लक्षित गरी सैन्य कारवाही गरेको छ भने गाजामा इजरायली आक्रमण पनि निरन्तर चलिरहेको छ । युक्रेन र रुसबीच जारी युद्ध पनि तत्कालै रोकिने सम्भावना देखिएको छैन ।
यस्तोमा चुनावी अभियानका क्रममा ट्रम्पले गरेको वाचा औचित्यहीन देखिएको छ । अमेरिकाको सबैभन्दा नजिकको साझेदार इजरायलले इरानमाथि शुक्रबार सबेरै नाटकीय रुपमा विशाल आक्रमण गरेपछि मध्यपूर्वमा क्षेत्रीय युद्धको जोखिम बढेर गएको जानकारहरु बताउँछन् ।
यसलाई अमेरिकी राष्ट्रपतिको सेखी झार्नका लागि इजरायलले इरानमाथि आक्रमण गरेको हिसाबमा विश्लेषण गरिएको छ । राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई इरानमाथि आक्रमण नगर्न दबाब दिँदै आएको बताइन्छ ।
अहिले अमेरिकाले इरानसँग आणविक वार्ता गरिरहेको छ । यद्यपि ट्रम्प आफैँले आणविक वार्ता असफल भए इरानमाथि आक्रमण गर्ने चेतावनी भने दिएका थिए ।
‘यी आक्रमणको पहिलो हताहती ट्रम्पेली कूटनीति बनेको छ ।’ पूर्वराष्ट्रपति बाराक ओबामाका विदेश सल्लाहकार ब्रेट ब्रुएनले समाचार संस्था रोयटर्सलाई भनेका छन् ।
‘कुनै ठूलो द्वन्द्वमा शान्ति त परै जाओस्, (गाजामा) युद्धविरामको नजिक पुग्नसमेत उनी संघर्ष गरिरहेका छन्’, उनले भने, ‘इरानको विषयमा धेरै आश थियो – र नेतान्याहूले यसलाई बर्बाद बनाइदिए ।’
यो आक्रमण मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत एवम् निकट साझेदार स्टिभ विट्कफका लागि पनि धक्का हो । उनी इरानको आणविक कार्यक्रमका विषयमा कूटनीतिक समाधान खोज्ने प्रयासमा इरानी वार्ताकारसँग मिलेर काम गरिरहेका छन् ।
अमेरिका र इरानबीच वार्ता चलिरहँदासम्म नेतान्याहूले धैर्यता कायम राखून् भन्ने विट्कफको चाहना थियो । यद्यपि यो वार्तामा अझै पनि गतिरोध कायम छ ।
इजरायली आक्रमणअघि नै अनौपचारिक कुराकानीका क्रममा ट्रम्पका कतिपय साझेदारहरुले उनको कूटनीतिक प्रयास असफल बन्न थालेको बताउने गरेका थिए ।
ट्रम्पको दोस्रो कार्यकालको शुरुमा विदेश नीति केही सफलताको अपेक्षा गरिएको थियो । राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नुअघि बाइडेन प्रशासनको अन्तिम दिनहरुमा इजरायल र हमासबीच भएको युद्धविराममा विट्कफले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर, त्यस युद्धविराम धेरै लामो समय टिक्न सकेन ।
अमेरिकाले युक्रेन र रुसबीच जारी युद्ध समाधान गर्न पनि खासै प्रगति गर्न सकेको छैन । ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा आफू निर्वाचित भएलगत्तै, राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुअघि नै रुस र युक्रेनबीच शान्ति स्थापना हुने दाबी गरेका थिए ।
त्यस्तै, उनको प्रशासनले अरब मुलुकहरु र इजरायलबीच भएको अब्राहम सम्झौता विस्तार गर्न पनि देखिनेगरी कुनै कदम चालेको छैन । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कतिपय अरब मुलुकहरु र इजरायलबीच सम्बन्ध स्थापनाका लागि अब्राहम सम्झौता गराएका थिए ।
विदेश नीतिका कतिपय विषयमा ट्रम्प प्रशासनभित्रै पनि गम्भीर मतभेद रहेको प्रतित हुन्छ । राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र विदेश मन्त्रालयका दर्जनौँ अधिकारीहरु आपसी विवादमा फसेका छन् ।
इजरायली आक्रमणअघि नै अनौपचारिक कुराकानीका क्रममा प्रशासनका केही अधिकारीहरु विट्कफको विकल्प खोज्नुपर्ने पक्षमा थिए । कूटनीतिक अनुभव नभएपनि ट्रम्पको विशेष दूत बनेका विट्कफले पद त्याग्नुपर्ने धेरैको मत थियो ।
इजरायलले इरानमाथि आक्रमण गरेसँगै विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरुले ओबामा प्रशासनका बेला युरोपेली मुलुकहरु, इरान र अमेरिकाबीच भएको आणविक सम्झौताबाट पछि हट्ने ट्रम्पको निर्णयप्रति पनि असन्तोष व्यक्त गरेको छ । आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले उक्त सम्झौताबाट पछि हट्ने घोषणा गरेका थिए ।
ट्रम्प र उनको रिपब्लिकन पार्टीले उक्त सम्झौताको निन्दा गर्दै आएका थिए । उक्त सम्झौताले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न नसक्ने उनीहरुको तर्क थियो । यद्यपि ट्रम्पले विश्वसनीय विकल्पबिनै उक्त सम्झौताबाट पछि हटेको डेमोक्र्याटहरुको आरोप छ ।
‘यो विध्वंश ट्रम्प र नेतान्याहू आफैँले बनाएका हुन्, र अहिले त्यस क्षेत्र नयाँ र घातक द्वन्द्वतर्फ उन्मुख भइरहेको छ ।’ डेमोक्र्याटिक सिनेटर क्रिस मर्फीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
शुक्रबार इजरायलले गरेको कारवाहीपछि मध्यपूर्वमा नयाँ क्षेत्रीय द्वन्द्व शुरु हुनेबारे अझै स्पष्ट भइसकेको छैन । कतिपय विश्लेषकहरु इरानले मध्यपूर्वमा रहेका अमेरिकी पूर्वाधारलाई ‘जायज निशाना’ ठानेर आक्रमण गर्नसक्ने सम्भावना रहेको बताउँछन् ।
उदाहरणका लागि यमनमा इरानका साझेदार हुथी विद्रोहीले लाल सागर भएर ओहोरदोहोर गर्ने जहाजलाई लक्षित गरी आक्रमण गर्नसक्छन् ।
त्यसबाहेक इरानको आणविक कार्यक्रमलाई दीर्घकालका लागि पूर्ण रुपमा निमिट्यान्न पार्नसक्ने इजरायलको क्षमता पनि अस्पष्ट छ ।
खासगरी इरानको फेरदो आणविक प्रशोधन केन्द्र ध्वस्त पार्ने इजरायली क्षमतामा आशंका व्यक्त गर्छन् । यो केन्द्र इरानले जमिनको सतहभन्दा धेरै तल भूमिगत रुपमा निर्माण गरेको छ । इजरायलले चाहेमा यस केन्द्रमा आक्रमण गरी क्षति पु¥याउनसक्ने तर त्यसलाई पूर्ण रुपमा ध्वस्त पार्न अमेरिकी सैन्य सहयोग आवश्यक पर्ने विश्लेषकहरु बताउँछन् । अमेरिकाले यस्तो आक्रमणमा इजरायलको साथ दिएको देखिँदैन ।
यसमा अर्को प्रश्न चाहिँ इरानी प्रतिकार कति प्रभावकारी हुन्छ भन्ने पनि हो । इजरायलले आक्रमणका क्रममा धेरै इरानी नेताहरुलाई लक्षित गरेको जनाएको छ । यो आक्रमण आउँदा दिनहरुमा पनि जारी रहने अपेक्षा गरिएको छ ।
यी सबै विषयले शान्ति स्थापक बन्ने ट्रम्पको चाहनामा घातक प्रहार भएको हो वा सामान्य धक्का मात्रै लागेको हो भन्ने निर्धारण गर्नेछ ।
‘यदी इजरायलले भनेजस्तै गएरातिको आक्रमण इरानी आणविक र क्षेप्यास्त्र कार्यक्रमविरुद्ध पूर्णस्तरको इजरायली अभियानको पहिलो चरण हो भने अस्तित्वको, जीवन र मृत्युको क्षणमा इरानी सरकार घुँडासम्म डुबेको छ ।’ मिडिल इस्ट इन्स्टिच्युटमा सिरिया पहलका प्रमुख चाल्र्स लिस्टले भनेका छन् ।
‘त्यसले गएरातिको आक्रमणलाई अर्कै, अभूतपूर्व चित्रण गर्छ र यसअघि देखिएभन्दा धेरै यथार्थ रुपमा तनाव बढ्ने जोखिम उत्पन्न गर्छ ।’ उनले भने ।
प्रतिक्रिया