किन आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी ? | Khabarhub Khabarhub

किन आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी ?

देउवाको भनाइले राहत, आवाज उठाइदिन सांसदलाई आग्रह


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले आगामी बजेट २०८२/८३ मार्फत् सुनमा दुई प्रतिशत विलासिता कर र हिरालगायत रत्न तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा आन्दोलन गरेका हुन् ।

व्यवसायीहरूले पसल बन्द गरेर त्यसैको सटरमा आफ्ना माग टाँसेर ब्यानर राखेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट घोषणा गरेको पाँच दिन नबित्दै देशभरका सुनचाँदी व्यवसायीले आन्दोलन थालेका थिए । जेठ २० गतेयता देशका प्रमुख शहरमा व्यवसायीहरूले आफ्ना गहना पसल बन्द गरेका छन् ।

अहिले सुनमा कुनै विलासिता कर लाग्दैन । बजेटमा गरिएको घोषणा लागु भएको खण्डमा ग्राहकले प्रत्येक तोला सुन किन्दा दुई प्रतिशत थप रकम तिर्नुपर्नेछ । त्यसैगरी हिरामा अहिलेसम्म भ्याट नलागेकोमा अब राज्यलाई १३ प्रतिशत रकम करका रूपमा बुझाउनुपर्नेछ ।

आन्दोलनमा किन उत्रिए व्यवसायी ?

सुनचाँदी व्यवसायीहरू सरकारको नयाँ कर नीतिले आफ्नो व्यवसाय नै सङ्कटमा पारेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूका अनुसार; यो कर लागू भएपछि सुनचाँदीको मूल्य बढ्नेछ । उपभोक्ताले खरिद नगर्दा व्यवसायिक वातावरण नै गुम्ने भएकाले आफूहरू आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ ।

पारम्पारिक रूपमा सुनचाँदी नेपालीहरूको विवाह र चाडपर्वमा अत्यावश्यक मानिने वस्तु भएकाले यसमा विलासिता कर लगाउनु गलत भएको व्यवसायीहरूको तर्क छ । सरकारले आफूहरूसँग पूर्व–परामर्श नगरी एकतर्फी निर्णय गरेको व्यवसायीहरूको गुनासो छ ।

दुई प्रतिशत कर बढाएपछि करिब तोलामा चार हजार रुपैयाँ बढ्ने भए पनि उक्त कर धेरै ठाउँमा बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्य बताउँछन् ।

बैङ्कले बेच्दा नै कर लगाउने, थोक व्यापारीले खुद्रा बिक्रेतालाई बेच्दा मूल्य बढाउने र खुद्रा बिक्रेताले उपभोक्तालाई बेच्दा सुनचाँदीको मूल्य थप बढ्ने शाक्य बताउँछन् ।

‘यो ४ प्रतिशत त ६ प्रतिशत हुन हुन्छ । त्यसमाथि १३ प्रतिशत भ्याट छ । त्यही हिसाबले हामीकहाँ सुन तोलामै ४० हजार रुपैयाँ बढ्न सक्ने सम्भावना देख्छु’, शाक्यले भने, ‘तीन तह गरेर ६ प्रतिशत भयो, अनि १३ प्रतिशत भ्याट गरेर १९ प्रतिशत ! १० प्रतिशत भन्सार कर लाग्छ भनेपछि २९ प्रतिशत भयो । केही नभए पनि ६० हजार रुपैयाँ मूल्यवृद्धि हुने देखिन्छ । ६० हजार नभएपनि ४० हजार त पर्छ पर्छ ।’

अहिले सुनको भाउ विश्व बजारमा उसै पनि महँगो भएकाले उपभोक्ताले खरिद गर्न नसकिरहेको अवस्थामा थप कर लगाउँदा व्यवसायिक वातावरण नै नरहने शाक्यको भनाइ छ ।

नेपालमा भन्दा भारतमा सस्तो

नेपालमा सुनको मूल्य भारतको तुलनामा महँगो छ । भन्सार नीतिका कारण नेपालमा सुनको मूल्य भारतभन्दा कम्तिमा ३५ हजार रुपैयाँ बढी पर्ने गरेको व्यवसायीहरू बताउँछन् ।

नेपालमा सुनमा २० प्रतिशत भन्सार शुल्क छ भने भारतमा ६ प्रतिशत मात्र छ । खुला सीमा भएकाले भारतमा सुन सस्तो हुँदा अवैध तरिकाले नेपालमा सुन आउने व्यवसायी शाक्य बताउँछन् ।

‘नेपालमा भन्दा भारतमा धेरै सस्तो छ’, शाक्यले भने, ‘उता गएर सुनको गहना किनेर लगाएर आएको खण्डमा पक्रनसक्ने अवस्था पनि छैन ।’

सीमावर्ती क्षेत्रहरू जस्तै बुटवल, वीरगञ्ज र नेपालगञ्जमा तस्करी बढ्ने सम्भावना रहेको शाक्य बताउँछन् ।

सरकारले सहमति गरे व्यवसायीले आन्दोलन फिर्ता लिने

सरकारले करको दर पुरानै आवस्थामा लिने विषयमा सहमति गरे आन्दोलन फिर्ता लिने व्यवसायीले बताएका छन् ।

शुक्रबार सुनचाँदी व्यवसायीहरूले छलफल गरी सडक आन्दोलनमै जाने निर्णय गरेका छन् । सांसदहरूलाई पनि यो विषयमा आवाज उठाउन व्यवसायीहरूले आग्रह गरेका छन् ।

‘सांसदहरूलाई पनि हामीले सदनमा पनि यो विषय उठाइदिनु भनेर हामीले अनुरोध गरेका छौँ’, पूर्वअध्यक्ष शाक्यले भने, ‘सरकारमा निकायहरू र मन्त्रालयहरूमा पनि जाने भन्ने निर्णय भएको छ ।’

सरकारसँग छलफल भइरहेको शाक्यले जानकारी दिएका छन् । अगाडिका निर्णयहरू कसरी अगाडि बढ्छ, त्यही अनुसार आन्दोलनको प्रकिया अघि बढाउने तयारीमा रहेको शाक्यले जानकारी दिए ।

‘सरकारको पक्षबाट आश्वासन दिनुभएको छ’, शाक्यले भने, ‘नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पनि यो नगर्नुपर्ने थियो भन्ने कुरा गर्नुभएको छ ।’

सुनचाँदी व्यवसायीहरू सरकारले ल्याएको करको दर हट्छ भन्ने आशावादी रहेको शाक्य बताउँछन् । ‘अब हेरौँ न, अगाडी के हुन्छ ?’, शाक्यले भने ।

व्यवसायीले मूख्यतः ३ वटा माग राखेका छन् । बजेटमार्फत लगाइएका कर खारेज गर्ने पहिलो माग हो । ‘त्यसबाहेक हाम्रो क्षेत्रलाई सम्बोधन गर्ने ऐन–कानून बनाउनुपर्नेछ’, शाक्यले भने ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ५७ बजे

जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले

दक्षिण अफ्रिकाले जित्याे टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको

आजबाट बंगलादेशसँग बिजुली बिक्री सुरू

काठमाडौं – नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका