पोखरा– नेपालमा अवसर नभएरै प्रतिभाशाली व्यक्ति बिदेसिने चर्चा भइरहँदा गण्डकी प्रदेशका नागरिकको धारणा पनि त्यसैसँगै मिलेको छ । पूरक एसियाले गण्डकीका ९ जिल्लामा गरेको सर्वेक्षणले प्रदेशमा रोजगारी, लगानी र उद्यमशीलताको सम्भावना निकै खुम्चिएको देखाएको छ ।
गत पुस १२ देखि माघ ११ सम्म कास्की, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, म्याग्दी, पर्वत, बागलुङ र नवलपुरमा १ हजार ६७ जनाबीच गरिएको सर्वेक्षण अनुसार, पेशाप्रति सन्तुष्ट हुने ७०.३ प्रतिशत भए पनि देशमा लगानीको अवसर देख्ने ३०.७ प्रतिशत मात्र छन् । लगानीको वातावरण नरहेकामा असहमत हुनेको संख्या ६१ प्रतिशत पुगेको छ, जुन निकै निराशाजनक संकेत हो ।
देशभित्रका कामका प्रकृतिमा परिवर्तन, जनसंख्या बनावट र आर्थिक संरचनाको फेरबदलसँगै अबको अवसर कस्तो हुने भन्ने प्रश्न उठ्न थालेको छ । जबकि पछिल्लो दशकमा नेपालले संविधान जारी गर्दै संघीयता लागु गरेको, पूर्वाधार विस्तार गरेको र प्रविधिमा भने फड्को मारेको छ । २ पटकका ठूला भूकम्प, भारतको नाकाबन्दी र कोरोना महामारीका कारण अर्थतन्त्रमा असर पारेकै कारण युवाहरू अवसरको खोजीमा विदेशिनु परेको छ ।
सर्वेक्षणले व्यवसाय सुरु गर्न वा अगाडि बढाउन धेरै अवरोध रहेको, नीति अस्पष्ट रहेको, सरकारी प्रक्रिया झन्झटिला हुनका साथै कर्मचारी संयन्त्रबाटै सिर्जित अवरोध निकै रहेको देखाएको छ । त्यसकै कारण नयाँ लगानीकर्ता हिच्किचाउने, स–सानो पुँजी भएका उद्यमी पछाडि पर्ने र स्थापित व्यवसायीहरूको प्रभावले नयाँलाई दबाउने अवस्था देखिएको छ । व्यवसाय फस्टाउने अवसर नदेख्ने ७०.२ प्रतिशत जनमतले यही सन्देश दिन्छ ।
शिक्षित नागरिकले पनि योग्यताअनुसारको काम नपाएको गुनासो गरेका छन् । सीप, ज्ञान र अध्ययन अनुसार देशमै रोजगारीको अवसर देख्ने १८.४ प्रतिशत मात्र छन् भने त्यसमा असहमत हुने ७७.७ प्रतिशत छन् । प्रवीणता तहसम्मका भन्दा स्नातक र स्नातकोत्तर अध्ययन गरेका बढी निराश छन्, जसले शिक्षा र रोजगारीबीच तालमेलको अभाव देखाउँछ । बजारको माग र शैक्षिक प्रणालीबीचको खाडलले पनि समस्यालाई बढाएको छ ।
युवाको विदेश पलायनबारे पनि नागरिक असन्तुष्ट देखिएका छन् । ८७.९ प्रतिशत उत्तरदाताले युवाको पलायनप्रति असन्तुष्टि जनाएका छन् भने ८६.८ प्रतिशतले देशमै अवसर नपाएकै कारण विदेश जानु परेको बताएका छन् । आफ्नै परिवारको सदस्य विदेश गएमा पनि खुसी नहुनेको संख्या झन्डै दोब्बर छ ।
यसैबीच १८–२५ वर्ष उमेर समूह भने केही हदसम्म आशावादी देखिएको छ । उनीहरूले व्यवसाय र रोजगारीको सम्भावना अरू उमेर समूहभन्दा बढी देखेका छन्, यद्यपि लगानी अवसरको मामिलामा उनीहरूमा पुँजीको अभाव भने समस्याका रूपमा उभिएको छ ।
सर्वेक्षणको निष्कर्ष भन्छ, ‘नेपालमा लगानी गर्ने इच्छा र बचत गर्ने क्षमता बढेको भए पनि सरकारी संरचना, नीति र वातावरण अनुकूल छैन ।’ जसको कारण आर्थिक स्थिरताको विरोधाभास सिर्जना भएको छ । जनशक्ति, आशा र ऊर्जा हुँदाहुँदै पनि अवसरको खडेरीले आर्थिक वृद्धि अवरुद्ध भएको महसुस नागरिकले गरिरहेका छन् । नीति निर्माण र त्यसको व्यावहारिक कार्यान्वयनमा सुधार ल्याइएन भने यो अवस्था अझै जटिल हुन सक्ने संकेत सर्वेक्षणले देखाएको छ ।
प्रतिक्रिया