जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर | Khabarhub Khabarhub

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विवादका कारण तोकिएको भन्दा ठीक एक बर्ष ढिला गरेर आयोजनाको प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

१०६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भए लगत्तै मार्ग प्रशस्त भएको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । उनले जगदुल्ला हाइड्रोपावर र जेसीई/एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको बताए ।

प्रवर्द्धक कम्पनी र जेसीई/एएनके जेभीबीच १२ अर्ब १८ करोड बराबरको निर्माण सम्झौता भएको उनको भनाइ छ । प्रवर्द्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सो सूचनामा विभिन्न सात कम्पनीले प्रारम्भिक प्रस्ताव दर्ता गरेको भएपनि कुनै कम्पनी छनोट हुन सकेको थिएन ।

दोस्रो पटकको सूचनामा दुई कम्पनी ग्राह्य भएका थिए । त्यसमध्ये सबैभन्दा कम बोलपत्र प्रस्ताव गर्ने जेसीई/एएनके जेभी योग्य भएको हो ।

यो आयोजना निर्माणका लागि २०८१ जेठमा नै वित्तीय व्यवस्थापन भएको थियो । सो आयोजनाका नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरणसम्बन्धी सम्झौता भएको थियो । सम्भौताअनुसार, नबिल बैंकले चार अर्ब ४० करोड लगानी गर्ने भएको छ । यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्ने छन् । आयोजनामा एचआईडीसीएल र कर्मचारी सञ्चय कोषले समान चार/चार अर्ब लगानी गर्ने छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेष्ट बैंकले एक अर्ब ५० करोड बराबर लगानी गर्नेछ ।

आयोजना निर्माणका लागि २३ अर्ब बराबर लाग्ने अनुमान छ । त्यसमध्ये १६ अर्ब ऋण र सात अर्ब भने स्वपुँजीबाट जुटाइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए ।

निर्माण सुरु भएको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कर्णाली प्रदेश सरकारको समेत लगानी छ । सोही कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ ।

नेपाल सरकारको अधिकांश स्वामित्वमा रहेको जगदुल्ला नेपालको पानी जनताको लगानी भन्ने मूल नाराका साथ स्थापना भएको हो । आयोजना स्थल  नेपालगञ्जबाट २३८ किलोमिटर टाढा रहेको छ । आयोजनाको बाँधस्थल जगदुल्ला गाउँपालिकाको हुरीकोटमा पर्दछ । जहाँ २३ मिटर अग्लो र ३८ मिटर लामो ब्यारेजको प्रस्ताव गरिएको छ । आयोजनाको क्याचमेन्ट एरिया ६ सय ३३ दशमलव ८३ वर्ग किलोमिटर रहेको छ ।

यस आयोजनाको विद्युत् गृह मुड्केचुला गाउँपालिकाको इल ४ मा भूमिगत रहनेगरी डिजाइन गरिएको छ । जसको लम्बाइ ७७ दशमलव ८० मिटर, चौडाइ १४ मिटर, मोटाइ ३३ दशमलव ४५ मिटर रहनेछ । त्यहाँ ३५ दशमलव पाँच मेगावाट क्षमताको तीन वटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन रहने छ ।

विद्युत् उत्पादन गरिसकेपछि पानीलाई तीन सय ३० मिटर लामो पाँच मिटर चौडाइ र पाँच मिटर अग्लो टेलरेसमार्फत पुनः जगदुल्ला नदीमा नै पठाइनेछ ।  उत्पादित विद्युतलाई एक सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रस्तावित बाफीकोट सवस्टेशनमा जोड्ने गरी डिजाइन गरिएको छ ।

कम्पनीले आयोजना सर्वेक्षण, निर्माण, उत्पादन, सञ्चालन र व्यवस्थापन गर्नेछ । कम्पनीको अधिकृत पुँजी आठ अर्ब रहेको छ भने कम्पनीको तत्काल जारी पुँजी सात अर्ब १० करोड छ ।

कम्पनीको संस्थापक शेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत, स्थानीय तह जगदुल्ला र मुड्केचुला गाउँपाकिाको एक प्रतिशत रहेको छ ।

हालसम्म कर्णाली प्रदेशमा कुनै पनि ठूला आयोजना निर्माणको चरणमा प्रवेश नगरेको अवस्थामा जगदुल्ला निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो ।  आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा २०८० वैशाख २७ गते हस्ताक्षर भएको हो ।

आयोजनाले ६२३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । यसकारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको हो । (रासस)

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ८ : २२ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र