काठमाडौँ – मङ्गलबारसम्म १० वटा वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
बैङ्कहरूले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार सबै बैङ्कको वित्तीय अवस्थामा सुधार देखिएको छ । कर्जा सङ्कलनमा आक्रामक बन्दा बैङ्कहरूको खराब कर्जा पनि घटेको छ ।
त्यसको असर बैङ्कहरूको नाफामा परेको हो । अधिकांश बैङ्कहरूले गत आर्थिक वर्षमा नाफा कमाएका छन् ।
बढी नाफामा नबिल, वृद्धिमा कुमारी
बैङ्कहरूले सार्वजनिक वित्तीय विवरण अुनसार अहिलेसम्म सबैभन्दा बढी खुद नाफा नबिल बैङ्कले कमाएको देखिएको छ ।
गत आर्थिक वर्ष ०८१/८२ मा नबिल बैङ्कको नाफा सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैङ्कले अघिल्लो आव ०८०/८१ मा ६ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ नाफा गरेको थियो ।
गत वर्षको तुलनामा नाफा वृद्धि हेर्दा कुमारी बैङ्क अघि देखिएको छ । गत आवमा कुमारी बैङ्कले ४५ हजार ८२९ प्रतिशत नाफा वृद्धि गरेको थियो ।
बैङ्कले गत आवमा दुई अर्ब ११ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षमा भने ४६ लाख रुपैयाँ मात्र खुद नाफा बैङ्कले कमाएको थियो ।
एभरेष्ट बैङ्कको चार अर्ब ९२ करोड रुपैयाँ, हिमालयन बैङ्कको एक अर्ब ५१ करोड रुपैयाँ, कृषि विकास बैङ्कको ३ अर्ब ८२ करोड रुपैयाँ, सानिमा बैङ्कको दुई अर्ब ५७ करोड रुपैयाँ नाफा रहेको छ ।
त्यस्तै, सिद्धार्थको तीन अर्ब ४० करोड, एनआइएमबीको तीन अर्ब २८ करोड, माछापुच्छ्रेको दुई अर्ब एक करोड, सिटिजन बैङ्कको एक अर्ब २९ करोड, हिमालयन बैङ्कको एक अर्ब ५१ करोड रुपैयाँ नाफा रहेको छ ।

एभरेष्ट बैङ्कको खराब कर्जा कम, हिमालयनको बढी
वित्तीय विवरण अनुसार १० बाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैङ्कको ०.३८ प्रतिशत देखिएको छ । सबैभन्दा बढी हिमालयन बैङ्कको ७.२८ प्रतिशत छ ।
त्यस्तै, कृषि विकास बैङ्कको ३.२६ प्रतिशत, सानिमाको १.२१ प्रतिशत, नबिल बैङ्कको ४.२७ प्रतिशत, सिद्धार्थको २.६२ प्रतिशत, एनएमबी बैङ्कको ३.७२ प्रतिशत खराब कर्जा देखिएको छ ।
त्यस्तै, माछापुच्छ्रेको बैङ्कको ३.८३ प्रतिशत, सिटिजनको ४.९४ प्रतिशत र कुमारी बैङ्कको ६.४२ प्रतिशत खराब कर्जा देखिएको छ ।
प्रतिशेयर आम्दानीमा एभरेष्ट अगाडि
१० वाणिज्य बैङ्कमध्ये प्रतिशेयर आम्दानीमा एभरेष्ट बैङ्क अगाडि छ । एभरेष्टको यस्तो आम्दानी ३७.९९ रुपैयाँ छ । सबैभन्दा कम प्रतिशेयर आम्दानी हिमालयन बैङ्कको (६ रुपैयाँ ९८ पैसा) छ ।
त्यस्तै, एनएमबी बैङ्कको १७.८७ रुपैयाँ, माछापुच्छ्रे बैङ्कको १७.३१ रुपैयाँ, कुमारी बैङ्कका ८.०७ रुपैयाँ, सिद्धार्थ बैङ्क २४.१० रुपैयाँ र कृषि विकास बैङ्कको २७.६३ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ ।
सिटिजन्स बैङ्कको प्रतिशेयर आम्दानी घटेर ८ रुपैयाँ ७६ पैसामा आएको छ भने सानिमा बैङ्कको प्रतिशेयर आम्दानी १८.९३ रुपैयाँ र नबिल बैङ्कको २६.३४ रुपैयाँ रहेको छ ।
प्रतिशेयर नेटवर्थमा एभरेष्ट बैङ्क अगाडि
गत आर्थिक वर्षमा वित्तीय विवरण सार्वजनिक गरेका १० वाणिज्य बैङ्कहरूमध्ये एभरेष्ट बैङ्कको प्रतिशेयर नेटवर्थ सबैभन्दा बढी देखिएको छ । एभरेष्टको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै, नबिल बैङ्कको २३५.५८ रुपैयाँ, सानिमा बैङ्कको १६८.८३ रुपैयाँ, सिटिजन्स बैङ्कको १५५४२ रुपैयाँ, कृषि विकास बैङ्कको २४१.०४ रुपैयाँ र सिद्धार्थ बैङ्कको प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ रहेको छ ।
एनएमबी बैङ्क १८०.६८ रुपैयाँ, हिमालयन बैङ्कको १७५.०७ रुपैयाँ, कुमारी बैङ्कको १४२.१९ रुपैयाँ र माछापुच्छ्रे बैङ्कको १६३.८ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको छ ।
प्रतिक्रिया