बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक | Khabarhub Khabarhub

बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा कथा छ । कतै अभाव, कतै सम्बन्ध, कतै मिहिनेत-संघर्ष र कतै सम्पन्नताको कथा भेटिन्छ ।

नायिका वर्षा सिवाकोटीको पनि आफ्नै कथा छ । आखिर उनी पनि त यो सहरको एक पात्र न हुन् !

राम्रा कपडामा सजिएको चम्किलो अनुहार भएकी नायिका । सुन्दरी विशेषतासहितको ‘चर्चित नायिका’ को ट्याग पाउनुअघि वर्षाको जीवन यात्राले पनि एउटा उतारचढाव पार गरेको छ ।

उनी ‘इन्ट्रोभट’ छिन् । घर र स्कुल वा यो सहरकै वातावरणले उनलाई ‘इन्ट्रोभट’ बनायो । घर-विद्यालयको कडा अनुशासनले आफूलाई ‘इन्ट्रोभट’ बनाएको वर्षाको बुझाइ छ ।

‘बुवा अलि स्ट्रिक हुनुहुन्थ्यो । उहाँसँग डर लाग्थ्यो । राम्रो पढाइ होस् भनेर कडा अनुशासनमा भएको स्कुलमा पढाइ भयो । हरेक कमिकमजोरी र गल्तीमा सजाय दिने स्कुलमा पढियो । यी दुई कुराले नै मलाई इन्ट्रोभट बनाए जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘मतलब घरको र स्कुलको अनुशासनले मलाई खुलेर बोल्ने बनाएन ।’

स्कुल पढ्दासम्म वर्षाले सहज बाल्यकाल पाइन् । बुवाको बैंकमा नोकरी भएकाले आर्थिक पाटो सहज थियो । सहरका नाम चलेका बोर्डिङमा पढ्न पाइन् । अभाव र असहजता उनले अनुभव गर्नुपरेन ।

वर्षा कक्षा ११ मा पढ्दाताका सुतेको ओछ्यानबाटै हृदयाघातका कारण बुवाले प्राण त्याग गरे । परिवारको एक मात्र आम्दानीको स्रोत भएका बुवाको अनुपस्थितिमा आर्थिकलगायतका असहजता देखा पर्न लागे ।

वर्षा भन्छिन्, ‘सबैलाई आफ्नो समस्या ठूलो लाग्छ । अकस्मातको घटनाले बुवा बित्नुभयो । दाइले जागिर सुरु गर्नु भएको थिएन । यो अवस्थामा निकै कठिनाइहरु आइपरे ।’

बुवाको अनुस्थिति वर्षाले गहिरो रुपमा महसुस गर्नुपरेको चाहिँ स्नातक पढ्ने बेला हो । त्यस बेला उनकी आमालाई आफन्हतरुले सल्लाह दिन्थे, ‘तपाईंले छोरीलाई पढाउन सक्नुहुन्न । बिहे गरिदिनू ।’

तर, वर्षाको आमाले दह्रो खुट्टा टेकिन् । कलेज जाने सोच गरेकी छोरीलाई आर्थिक अभावको दबाबमा चुरा, सिन्दुर र पोतेको बन्धनमा पराइ घर पठाउन चाहिनन् ।

भनौं, पति वियोगको बज्रपातमा परेकी वर्षाकी आमाले जीवनको असहज परिस्थितिमा ‘सटकर्ट’ खोजिनन् ।

स्नातक पढ्नबाट वर्षा वञ्चित हुन परेन । उनी आफैँले पनि नाम चलेकै कलेजमा छात्रवृतिमा नाम निकालिन् । त्यही स्नातक दोस्रो वर्ष पढ्दै गर्दा उनलाई फिल्मबाट अफर आयो ।

उनी भन्छिन्, ‘मेरो ममी त्यसबेला स्ट्रङ नभएको भए सायद म आज नायिका बन्दैन थिएँ होला । मेरो कलाकारिता यात्रा कलेजको कार्यक्रमबाट सुरु भएको हो ।’

०००

वर्षाको पुर्ख्यौली घर मोरङ हो । उनको जन्म मात्रै उता भएको हो । पढाए–हुर्काइ र कार्यथलो काठमाडौं नै बन्यो ।

आफू बैंकको जागिर भएकाले छोरीले पनि यही क्षेत्रमा काम गरोस् भन्ने बाबुको इच्छा थियो । वर्षामा करिअरको खासै चिन्ता थिएन ।

अक्सर व्यक्तिले किशोरावस्थामा प्रवेश गरेपछि सपनाको पेसा बनाउँछन् । वर्षामा त्यो पनि थिएन ।

उनी भन्छिन्, ‘मेरो केही सपना थिएन । परिस्थितिले जता लैजान्छ त्यहीँ जान्छु भन्ने सोच भएको व्यक्ति हो म ।’

अनि कलाकार बन्ने इच्छा नि ?

यस प्रसंगमा भने उनीसँग बाल्यकालको एउटा मीठो स्मृति छ । वर्षाको डेरा छेउ एक फिल्मको सुटिङ भएको थियो । सानै भएकाले उनलाई फिल्मको नाम याद छैन ।

उनलाई याद छ- बुवाले बोकेर उनलाई सुटिङ हेर्न लगेको । अर्को उनले नबिर्सिएको कुरा- त्यस फिल्मको हिरोइन करिश्मा मानन्धर थिइन् ।

उनी भन्छिन्, ‘मलाई करिश्मा म्यामले बोक्नु भएको थियो । अनि केही खानेकुरा दिनुभएको थियो ।’

यो घटनाले पाँच वर्षभन्दा कम उमेरकी वर्षालाई अनौठो छाप पारेछ । ठूलो भएपछि उनलाई ‘करिश्मा मानन्धर’ बन्ने इच्छा पैदा भयो ।

उनी भन्छिन्- मैले मन्दिर जाँदा, बाटोमा मूर्ति जस्तो ढुंगा देखेँ भने पनि नमस्कार गरेर ‘करिश्मा मानन्धर बनाइदिनू’ भनेर वर माग्थेँ ।

तर, यो वर माग्ने क्रम उनको हुर्काइसँगै हरायो । उनी भन्छिन्, ‘७–८ वर्षसम्मको हुँदा मैले यसरी वर माग्ने गरेको ममीहरु सुनाउनुहुन्छ । त्यसरी वर मागेको केही स्मृति मेरो दिमागमा अझै छ ।’

यो वर्षाको सुरुवाती बाल्यकालको कुरा हो । एक अबोध बालिकाले मागेको वर मात्रै हो ।

हुर्किएसँगै वर्षालाई नृत्यमा रुचि बढ्यो । स्कुलमा आयोजना हुने नृत्य कार्यक्रममा सहभागी हुने विद्यार्थीमा उनी अग्र स्थानमै आउँथिन् ।

उनी भन्छिन्, ‘म स्कुल बाहिरका नृत्य प्रतियोगितामा पनि सहभागी भएकी थिएँ । टेलिभिजनको बाल नृत्य प्रतियोगितामा पनि सहभागी भएकी थिएँ । भृकुटी मण्डपमा हुने खुला नृत्य प्रतियोगितामा सेकेन्ड भएकी थिएँ ।’

यही कारणले वर्षालाई घर परिवार र आफन्तले नायिका उपनाम दिन्थे । तर, वर्षालाई अभिनयमा आउने कुनै इच्छा थिएन । न उनलाई यस क्षेत्रप्रति चासो नै थियो ।

कन्सल्टेन्सीको जागिर

वर्षाको बुवाको निधनपछि घरको आर्थिक अवस्था कमजोर बन्यो । गृहणीको जिम्मेवारी सम्हाल्दै आएकी आमालाई छोरा–छोरीलाई आर्थिक सहजता दिन स्वभाविकरुपमा सकस भयो ।

वर्षा बुझ्ने भएकी थिइन् । आमालाई परेको असहता उनले महसुस गरिन् । स्नातक पहिलो वर्ष पढ्दै जागिर खाने निर्णय लिइन् ।

वर्षा भन्छिन्, ‘आफ्नो लागि खर्च पुर्‍याएँ भने घरमा केही सहज हुन्छ कि भनेर काम गरेकी थिएँ । तर, इच्छा नहुँदा नहुँदै मैले काम गरेको हो । त्यो मेरो बाध्यता नै थियो ।’

आफन्तको कन्सल्टेन्सीमा वर्षाले जागिर सुरु गरिन् । इच्छा नहुँदै बाध्यताले रोजेको कामले उनलाई सन्तुष्टि मिलेन । ४–५ महिनामै छाडिन् ।

उनी भन्छिन्, ‘आफन्तको काम गर्दा अलि व्यवसायिक व्यवहार पनि नहुने । अफिसमा पनि पारिवारिक वातावरण घुस्ने रहेछ । जस्तो– आफन्तकै अफिस भएकाले तलब पनि यो महिना मिलाएर काम चलाउन भन्ने हुँदो रहेछ । त्यस्तै कुराले म जागिरमा टिक्न सकिनँ ।’

फिल्मको प्रस्ताव

वर्षालाई अचानक फिल्मको प्रस्ताव आएको थियो । स्नातक दोस्रो वर्ष पढ्दै गर्दा यो संयोग जुरेको थियो ।

वर्षा आफ्नै कलेजको ‘मिस्टर एण्ड मिस प्रतियोगिता’ मा सहभागी भएकी थिइन् । त्यस प्रतियोगितामा सहभागीले नृत्य र अभिनयसमेत गर्नुपर्थ्यो ।

त्यस प्रतियोगितामा आफूले ‘मिस ट्यालेन्ट’ को उपाधि जितेको उनी बताउँछिन् ।

यस कार्यक्रममा मिडिया क्षेत्रका हस्तीहरु जज र कोरियोग्राफरको भूमिकामा थिए । यसको फाइदा वर्षाको करिअरमा पुग्यो ।

वर्षाले प्रस्तुतिमार्फत् मन जितेकाले उनीहरुले फिल्म ‘नाइ न भन्नु ल २’ को टिमसँग भेट गराइदिए । जुन वर्षाको डेब्यू फिल्म हो ।

यो फिल्म डेब्यू बन्नुमा ‘अनुहार ‍मिल्नूको संयोग’ ले थप भूमिका खेलेको वर्षा बताउँछिन् ।

वर्षा भन्छिन्, ‘त्यसमा मेरो भूमिका सानो छ । तर बालकलाकार सुज्ञानी भट्टराईसँग मिल्ने अनुहार खोज्नु भएको रहेछ । मेरो र उसको अनुहार ठ्याक्कै मिल्यो । त्यसकारण मलाई नै फिल्ममा अभिनय गराउन उहाँहरुले बढी चासो राख्नुभयो ।’

यसरी जीवनमा अभिनयको अध्याय सुरु भएको जस उनी कलेजको कार्यक्रमलाई दिन्छिन् ।

‘पशुपतिप्रसाद’ ले पारेको प्रभाव

वर्षालाई फिल्ममा आउन संघर्ष गर्नुपरेन । अकस्मातको आएको अवसरलाई उनले सदुपयोग गरिन् । हिट शृङ्खलाबाट ठूलो पर्दामा डेब्यू गर्न पाइन् ।

तर, फिल्म क्षेत्रमा आउन सहज भए पनि स्थापित हुन संघर्ष गर्नुको विकल्प छैन । अभिनयबाट दर्शकको मन नजिते स्थायित्वमा प्रश्न उठ्छ ।

वर्षा यसमा पनि आफूलाई भाग्यमानी मान्छिन् । उनले दोस्रो फिल्म ‘पशुपतिप्रसाद’ गरिन् । यसमा उनी शीर्ष भूमिकामा छिन् । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो ।

वर्षा भन्छिन्, ‘पशुपतिप्रसाद राम्रो टिमले बनाएको फिल्म हो । यसले गर्दा मलाई सिरियस मेकरहरुबाटै प्रस्ताव आयो । जसकारण मेरो करिअरलाई गति लिन सहज भयो ।’

यसरी उनी फिल्म ‘पशुपतिप्रसाद’ लाई अभिनय करिअरको अर्को टर्निङ प्वाइन्ट मान्छिन् ।

‘माग्ने राजा’ सम्म आइपुग्दा

वर्षाको अभिनय रहेको फिल्म ‘माग्ने राजा’ भदौ ६ मा प्रदर्शनमा आउँदै छ ।

यो उनको ०८२ सालमा प्रदर्शनमा आएको दोस्रो फिल्म हो । गत वैशाखमा उनी स्टारर फिल्म ‘झिल्को’ प्रदर्शनमा आाएको थियो ।

अहिले वर्षा मेकरहरुको रोजाइको नायिका बनेकी छन् । एक दर्जनभन्दा बढी फिल्ममा शीर्ष भूमिका निर्वाह गरेकी उनी स्थापित नायिकाको सूचीको अग्रस्थानमा नै पर्छिन् ।

तथापि उनको सबैभन्दा हिट फिल्म ‘छक्का पञ्जा ५’ हो । जुन गत वर्षको दशैँमा प्रदर्शनमा आएको थियो । त्यसयता उनको ब्यस्तता झन् बढ्दो छ ।

अर्थात्, स्थापित ब्यानरका फिल्म र स्टार नायकहरुसँग वर्षाले नायिकाको रुपमा सहकार्य गरिसकेकी छन् ।

उनले साइन गरेका तीन फिल्म छायाङ्कन हुन बाँकी छन् । ‘महाराजधिराज’, ‘गोबर गणेश’ र ‘जहाजै’ मा उनले साइन गरेका फिल्महरु हुन् ।

अन्त्यमा…

वर्षा एक यात्रा पार गरेर आफूलाई फिल्म क्षेत्रमा स्थापित गर्न सफल भएकी छन् ।

अर्थात्, ‘वर्षा सिवाकोटी’ नामलाई फिल्म क्षेत्रले नायिकाका रुपमा चिन्छ ।

तर, उनलाई अभिनयप्रति थप मोह पैदा हुँदै गएको छ । आधा दर्जन हिट फिल्म दिँदा पनि उनी आफ्नो अभिनयप्रति अझै सन्तुष्ट बन्न सकेकी छैनन् ।

उनी भन्छिन्, ‘मैले आफूलाई चित्त बुझ्ने गरी अभिनय गर्न सकेको छैन । जुन फिल्ममा पनि अझ बढी गर्न सक्थेँ जस्तो लाग्छ । म आफ्नो भोक मर्ने गरी अभिनय गर्न पाउने भूमिकाको खोजीमा छु ।’

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : ३० बजे

मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

महेन्द्रनगर– मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा

एमालेका यी नेताले भने- यथास्थितिमा पार्टी चल्न सक्दैन, ओलीले छोड्नु पर्छ

काठमाडौं– नेकपा एमालेको बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा

फूलखेतीबाट पाँच लाख बढी आम्दानी

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

भक्तपुर– पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा

मनाइयो ४५ औँ विश्व खाद्य दिवस (तस्बिरहरू)

काठमाडौं– आज नेपाललगायत विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइएको छ