पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता | Khabarhub Khabarhub

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गण्डकी– मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार जस्ता ठूला चाड मुखैमा छन् । यही बेला मुलुक जेन-जी पुस्ताको आन्दोलनले प्रभावित छ । पर्यटकीय याम सुरु हुनै लाग्दा भएको आन्दोलनले पर्यटन क्षेत्र मारमा पर्ने देखिएको छ ।

 कोभिड–१९ महामारीपछि जेनतेन उठेको पर्यटन क्षेत्र पुनःशिथिल हुने भयले पर्यटन व्यवसायी चिन्तित छन् । ट्रेकिङ ऐजिन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले यस्तै अवस्था लामो समय रहे विश्व पर्यटन बजारमा नेपालको नराम्रो सन्देश जाने बताए। 

‘असोज र कात्तिक सबैभन्दा बढी विदेशी पर्यटक आउने याम हो, ठ्याक्कै यही बेला आन्दोलन सुरु भयो, अन्यौलको अवस्था कायमै छ, बुकिङ गरिसकेका पर्यटक आउन डराइरहेका छन्’, उनले भने, ‘जतिसक्दो चाँडो नेपाल सुरक्षित छ भन्ने सन्देश दिन नसके हाम्रो पर्यटन क्षेत्रले ठूलो असर बेहोर्नुपर्छ, यसको घाटा देशलाई पर्छ ।’

उनले अहिले नेपाल आइसकेका विदेशी पर्यटकलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म पुर्‍याउने काममा ‘टान’लगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाले सहजीकरण गरिरहेको बताए। यो याममा विशेष गरी पदयात्राका लागि विदेशी पर्यटक आउने गर्छन् । 

अध्यक्ष आचार्यले छिटो राजनीतिक वातावरण सुधारेर मुलुकलाई सामान्य अवस्थामा नफर्काएसम्म पर्यटन क्षेत्र चलायमान हुन नसक्ने बताए। चाडपर्वका अवसरमा घुमफिरको योजना बनाएका आन्तरिक पर्यटकलाई अहिलेको अवस्थाले अन्यौलता थपेको उनको भनाइ छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरियाले यो याममा पर्यटक आगमनमा असर पर्ने देखिएको बताए। ‘तथ्याङ्कगत रुपमा हेर्न अझै केही दिन कुर्नुपर्छ, तर अहिलेको आन्दोलनले पर्यटन क्षेत्रमा असर भने पक्कै गर्छ’, उनले भने।

अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमाझ परिचित गन्तव्य हो । गत आवमा उक्त क्षेत्रमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक भित्रिएका थिए । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार ७८६ र अन्य देशका एक लाख २० हजार ३२७ पर्यटक रहेका थिए । वर्षात र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य समयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ ।  

सडकमार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेकाका अहिले मुलुकमा देखिएको असहज परिस्थितिले पर्यटक आगमनमा असर पर्ने देखिएको आयोजना कार्यालयले जनाएको छ । 

मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । 

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १ : २२ बजे

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको

संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

काठमाडौं– आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर

पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

महोत्तरीको वन क्षेत्रमा ढालिए सयौँ सालका रूख

महोत्तरी – जेनजी प्रदर्शनको मौका छोपेर महोत्तरीको वन क्षेत्रमा सयौँको