महोत्तरीको वन क्षेत्रमा ढालिए सयौँ सालका रूख | Khabarhub Khabarhub

महोत्तरीको वन क्षेत्रमा ढालिए सयौँ सालका रूख


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – जेनजी प्रदर्शनको मौका छोपेर महोत्तरीको वन क्षेत्रमा सयौँको सङ्ख्यामा साल (सखुवा) का रूख ढालिएका छन् ।

पूर्वपश्चिम राजमार्गबाट बर्दिवास–५ टुटेश्वरधाम र गणन्ता बस्ती जाने सडक छेउका दुई सय २५ वटा सालका रूख ढालिएका डिभिजन वन कार्यालय महोत्तरीले पुष्टि गरेको छ । बर्दिवास–५ मा पर्ने टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्छ । 

‘गत मंगलबारदेखि बिहीबार रातिसम्म यी रूख काटिएको हुनुपर्छ । जेन-जी आन्दोलनले सर्वसाधारण र वन कर्मचारीको आउजाउ निकै पातलिएको बेला पारेर रूख ढालिएका हुन्’, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले भने, ‘यो जघन्य अपराधमा संलग्नको खोजी भइरहेको छ ।’ गढन्ता सडक छेउका नौ र अरु रूख टुटेश्वर सडक छेउका काटेर ढालिएका छन् ।

गत मंगलबार केही मान्छे पूर्वपश्चिम राजमार्ग छेउकै वन क्षेत्रभित्रको टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको कार्यालय आगजनी र तोडफोड गर्ने प्रयासमा पुगेको बुझिएको उनको भनाइ छ । उनीहरूले सो दिन कार्यालयमा समितिका पदाधिकारी र कर्मचारी देखेपछि तोडफोड नगरे पनि त्यसयता दुई सडक किनार (टुटेश्वर र गणन्ता सडक) छेउका रूख ढालेका हुन सक्ने अहिले उनको भनाइ छ । 

शुक्रबार सर्वसाधारण र कर्मचारीको  आउजाउ बढेपछि ढालिएका रूख देखिएका हुन् । डिभिजन वन कार्यालयले तत्काल यस घटनामा संलग्नको खोजतलास थालेको छ । 

दुवै सडक छेउका रूख काटिएका हुँदा यो सडक विस्तार प्रयोजनले काटिएका हुन् कि भन्ने वन अधिकारीहरूको अनुमान छ ।

टुटेश्वर साझेदारी वन उपभोक्ता समिति विसं २०६८ मा बनेको हो । यो वनक्षेत्र ९९८.९८ हेक्टर क्षेत्रफलमा छ । यहाँका ढलापडा (ढलेका, धोद्रिएका र बाढीले बगाएर ल्याएका) रूख डिभिजन वन कार्यालयको प्रत्यक्ष रेखदेखमा साझेदारी वन उपभोक्ता समितिले उपभोक्तालाई सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको छ । यस वनबाट ३० हजार बढी जनसङ्ख्या लाभान्वित छन् । यस साझेदारी वनबाट लाभ लिने गौशाला नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ८ एवं बर्दिवास नगरपालिका–५ का उपभोक्ता छन् । यस वन क्षेत्रमा बहुमूल्य मानिने सालका रुख ४२ प्रतिशतमाथि रहेका डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा विभिन्न साझेदारी, सामुदायिक, सागरनाथ वन विकास परियोजना, सरकारबाट व्यवस्थित राष्ट्रिय वन, कवुलियती र धार्मिक वनसहित जम्मा २२ हजार दुई सय ४६ हेक्टर वनक्षेत्र रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । सडक विस्तार, बिजुलीको लाइन विस्तार, पूर्वपश्चिम रेल  र अतिक्रमणको चपेटामा वन पर्दै आएको छ । 

विसं २०३६ को जनमतसङ्ग्रहको रापतापको बेलामा निकै वन फडानी भएको वनक्षेत्र नजिकका बस्तीका बुढापाका सम्झन्छन् । प्रत्येकजसो राजनीतिक आन्दोलनको रापतापमा वनक्षेत्र मासिने, फाँडिने र अतिक्रमणको चपेटामा पर्ने गरेको बर्दिवास–५ गणन्ताका बासिन्दा करिब ९० वर्षीय सामाजिक अगुवा धनबहादुर स्याङ्वा सम्झन्छन् ।

विसं २०३६ यता विभिन्न आन्दोलनको समयको सेरोफेरोमा वन फाँडेर बस्ती बसाउने क्रमले राजनीतिक संरक्षण प्राप्त गर्दा यहाँ पाँच हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको वन अधिकारी नै स्वीकार गर्छन् ।

जिल्लामा ७६ सामुदायिक, तीन साझेदारी, एक धार्मिक, राष्ट्रिय वन, कवुलियत वन र सागरनाथ वन विकास परियोजनाका वन प्लट छन् । जसमा सबैभन्दा बढी सामुदायिक वन सात हजार नौ सय ४५, सागरनाथ वन विकास परियोजना छ हजार दुई सय ४५, साझेदारी वन चार हजार सात सय ९१, राष्ट्रिय वन तीन हजार दुई सय ४५, धार्मिक वन २१।०५ र कवुलियती वन १९।३४ हेक्टरमा रहेको डिभिजन वन कार्यालय महोत्तरीको अभिलेखमा उल्लेख छ ।
 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ४ : २० बजे

संसद् विघटनप्रति एमाले असहमत

काठमाडौं– नेकपा (एमाले) ले पनि आन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीद्वारा

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने – हाम्रो योगदान खेर नजाओस्

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन-जी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती

पोखराका विद्यालय असोज १ गतेदेखि खुल्ने

गण्डकी– ‘जेन-जी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी

तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

दाङ– यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट