आमाका चित्कारदेखि आमाको शासनसम्म | Khabarhub Khabarhub

जेन-जी आन्दोलन र सपना :

आमाका चित्कारदेखि आमाको शासनसम्म



विषयप्रवेश

केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी) आन्दोलन छ भनेर । तर खासै वास्ता गरेको रहेनछु। वि.सं. २०८२ भाद्र २३ गते सोमबार कार्यालयको काममा व्यस्त नै भइयो । कामका साथै जेन-जीले गरेको आन्दोलनका समाचारहरू पनि सुन्दै थिएँ । एकाएक आन्दोलन चर्कँदै विशाल रूप लिएको, आन्दोलनमा धरपकड भएको र गोली चल्न थालेका समाचारहरू सामाजिक सञ्जालमार्फत् आउन थाले ।

त्यसपछिको एकमात्र उद्येश्य घर पुग्ने भयो । घर पुग्नासाथ नानीहरूले बलिन्द्रधारा आँशुसँगै गम्लङ्ग अँगालो हाले । आन्दोलनमा कति चिनेका अनुहार र साथीहरूमाथि भएको गोली प्रहार र ज्यान गुमाउनुको पीडा मातृत्वको अँगालोमा बिसाउन चाहन्थे । ती बलिन्द्रधारा आँशुमा उनीहरूको मातृभूमिमै भविष्यको सपना सजाउने धोको पूरा हुँदैन कि भन्ने त्रास प्रष्ट देख्न सकिन्थ्यो ।

मेरो अगाडि पनि नानीहरूको अनुहारमा ती तमाम ज्यान गुमाएका नानीबाबुहरूको अनुहार प्रतीत हुन थाल्यो र उनीहरूकै आमाको स्थानमा आफूलाई पाइरहेँ । अनि नानीहरूलाई ‘आफ्नै देशमा केही गर्न सकिन्छ भनी देशमै अल्झाएर गल्ति त हुँदै छैन’ भन्ने भावनाले पनि सताउन थाल्यो । रातैभरि निदाउन सकिनँ ।

त्यसरी नै २४, २५ हुँदै २७ गतेका रातहरू पनि अनिँदै बिते । ज्यान गुमाउनेको सङ्ख्या पनि थपिँदै गयो । यसै जेन-जी आन्दोलनको परिणामस्वरूप २८ गते एक न्यायिक आमालाई कार्यकारी आमाका रूपमा क्षतविक्षत भएकी नेपाल आमाको सम्भार र सञ्चालन गर्ने जिम्मेवारी प्राप्त भयो । यसपछि तमाम आमालाई समेटेर यो लेख लेख्नका लागि दिमाग र औँलाहरू जुर्मुराउन थाले । यो लेख कुनै पनि राजनीतिक परिस्थिति र परिवेशलाई सम्बोधन गर्ने प्रयास नभएर एक जेन-जीकी आमा भएका कारण छचल्किएको मातृत्वको उपज मात्र हो ।

आम आन्दोलन र जेन-जी आन्दोलन

विश्व इतिहासमा धेरैजसो आन्दोलन वा क्रान्तिहरू राजनैतिक शक्ति हस्तान्तरणका लागि हुने भएपनि केही आन्दोलनहरू यस्ता हुन्छन् – जसले सामाजिक सुधारका अभ्यास तथा प्रयासहरूका लागि हुने गर्दछन् । नेपालको जेन-जी आन्दोलन पनि राजनीतिक साथसाथै सामाजिक आन्दोलन थियो । जसको मुख्य एजेण्डा युवा पुस्ताको शासकीय शैलीप्रतिको घोर असन्तुष्टि, भ्रष्टाचार र सरकारको जवाफदेहितामाथिको प्रश्न तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा आदि मागसहित सुरु भएको थियो । आन्दोलन स्वस्फुर्त रूपमा सामाजिक सञ्जाल, मिडिया हुँदै सडकसम्म पुगेको थियो ।

प्रत्येक आन्दोलनभित्र मानवीय पीडा, सपना तथा त्यागका कथाहरू समावेश भएका हुन्छन् । त्यस्तै एउटा आन्दोलन भयो जेन-जी आन्दोलन, जहाँ दुई दिनमा ५० जनाभन्दा बढी कलिला होनाहार युवाहरूले ज्यान गुमाए, जुन सङ्ख्यात्मक तथ्याङ्क वा समाचारका शीर्षक मात्र नभइ आमाका कोखबाट जन्मिएका सपनाहरू पनि थिए । गाउँ घरका पाखा पखेरा, धुलाम्मे गोरेटोदेखि राजधानी सहरको आकाश छुने आकाङ्क्षा, भ्रष्टाचारमुक्त देश नेपाल निर्माण गर्ने जोश जाँगर र अभिलाषा थियो । तर शासकको अपरिपक्व निर्णय र केही घुसपैठका कारण ती सपना सडकमा ढले र सँगै हरेक घरका  खम्बाहरू पनि ढले । घरको केन्द्रविन्दुका रूपमा भएकी आमाको मुटुका टुक्रा ढले । आमाको रक्तसञ्चार बन्द भयो ।

तिनै आमा मातृत्व उमाल्दै रग्ताम्मे भएर संसार छोडेका छोराछोरीहरूलाई प्रश्न गर्न थालिन ‘तिमीले किन गोली चुम्यौ ? तिमी बिनाको संसार कसरी बाँच्ने ? सरकार न्यायको लागि आवाज उठाउने युवालाई सुरक्षाको सट्टामा गोली किन दियौ ?’ यी प्रश्नहरू आमाका व्यक्तिगत पीडाका अभिव्यक्ति मात्र हैनन्, समाजलाई चिर्ने ऐतिहासिक प्रश्नहरू पनि थिए र हुन् । आमा र राज्यबीचको संवाद पनि हो ।

हरेक आन्दोलनका पछाडि कहिल्यै भुल्न नसकिने अदम्य शक्ति लुकेको हुन्छ । त्यो हो – मातृत्व शक्ति अथवा आमाहरू । आफ्ना सन्तानले बलिदान दिइरहँदा आमाहरूले केवल छोराछोरी मात्र गुमाएका हुँदैनन् । आफ्नो भविष्य, आशाका साथै मातृत्वको तिलाञ्जली पनि दिइरहेका हुन्छन् । म्याक्सिन गोर्कीले आफ्नो उपन्यास आमा (१९०६) मा एक आमालाई व्यक्तिगत पीडा र सामाजिक चेतनाको प्रतीकका रूपमा उतारेका छन् । अहिले नेपालको जेन-जी आन्दोलनमा ज्यान गुमाएका तमाम युवाका आमाहरू त्यही चेतनाको नयाँ अवतारहरू हुन् ।

आज भदौ २८ गते कतिपय आमाहरू आफ्ना मुटुहरूको अन्तिम संस्कार गर्ने क्रममा आफ्ना पीडा यसरी पोखिरहेका छन्, ‘सुशासनको माग र भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा कसरी ड्याङ ड्याङ टाउकोमा ताकिताकी गोली ठोक्यो ? थुक्क कस्तो देशमा जन्म लिएछौँ हामीले ?’

यसरी केही व्यक्तिको गल्ती र कम्जोरीको कारण सिङ्गो नेपाल आमाले गाली खानुपरेको छ र तिनै आमाहरू सन्तान गुमाउनुको पीडामा पनि आँशु पुछेर भन्दै हुनुहुन्छ, ‘हाम्रा छोराछोरीहरूको सपना अधुरो नहोस् हामी बाँच्छौं उनीहरूको आवाज बनेर । हामीले सन्तान गुमायौ तर उनीहरूका सपना गुमाएका छैनौं ।’ यसरी बगेका आमाका आँशुलाई नारीवादी धारहरूले यसरी हेर्ने रहेछ ।

नारीवादी धारहरूमा आमाका आँशु

नारीवादी दृष्टिकोणमा आमा/नारीका आँशुलाई मानव अधिकारको उल्लघंन र राज्य वा समाजले सुरक्षित गर्न नसकेको अवस्थाको प्रतिकको रूपमा लिने गर्दछ जहाँ उदार नारीवादले आँशुलाई व्यक्तिगत पीडा नभई नागरिक हक, अधिकार, स्वतन्त्रता र समानताको मागको प्रतिनिधित्व गरेको हुन्छ ।

कट्टर (रेडिकल) नारीवादीहरूले आँशुलाई पितृसत्तात्मक सत्ता संरचनाको घृणित अनुहार मान्दछन् । जहाँ महिला मातृत्वको पीडा पनि पितृसत्ताले उत्पादन गरेको हिंसा र आमाको आँशुलाई पितृसत्ता विरुद्धको क्रोध र प्रतिरोधको उर्जा ठान्दछ । मार्क्सवादी नारीवादले आमाका आँशुलाई भावनात्मक घटना नमानी वर्गसंघर्ष र सामाजिक असमानताको प्रतिफल तथा वर्गीय अन्याय र राज्य सत्ताले श्रमिक परिवारलाई बनाएको बलिको बोकाको संज्ञा दिन्छ । जहाँ धनी/सत्तासिन वर्गका छोराछोरीले नभई गरिब र श्रमिक वर्गका छोराछोरीहरूले आन्दोलनमा ज्यान गुमाउँछन् । अहिलेको जेन-जी आन्दोलनमा भएका घटनाहरूले पनि यसकै प्रतिबिम्व बोकेको आभास हुन्छ ।

उत्तर औपनिवेशिक नारीवादले आमाका आँशुलाई सांस्कृतिक शोषण, भाषिक तथा जातीय विभेद तथा राज्यभित्र हुने असमान शक्ति संघर्षको प्रतिबिम्व झल्काउने गर्दछ । जहाँ औपनिवेशिक मानसिकता र शासकीय शक्तिले आम आमाहरूका आवाजलाई दबाएको हुन्छ । उत्तर आधुनिक नारीवादले आमाका आँशुको कथालाई फरक फरक हुन्छन् जुन विविधतामा आधारित व्यक्तिगत घटनाको संग्रह हो भन्दछ । इको नारीवादीहरू आँशुलाई प्रकृति, मातृत्व र जीवनसँगको गहिरो सम्बन्धको रूपमा हेर्छन् । जब आमाको आँशु बग्न थाल्छ त्यो आँशुले प्रकृति र मानवबीच रहेको सन्तुलन भंग भएको अवस्थाको संकेत गर्दछ । यसरी नारी वादि सिद्धान्तका विभिन्न धारबाट आमाले दिएको त्याग वा आमाका आँशुलाई विविध ढंगमा व्याख्या गर्ने प्रयास गरेको भएपनि यसको मूल मर्म भनेको व्यक्तिगत पीडा नभई सामाजिक असमानता, राजनीतिक प्रश्न र परिवर्तनको आह्वान नै हो ।

जेन-जीका सपना

अहिलेको सामाजिक, राजनीतिक परिवेशमा जेन-जी डिजिटल-नेटिभ पुस्ता हो जसले संसारलाई हत्केलामा नै अटाउने प्रयास गर्दछन् । उनीहरूले आफ्नो विचार खुला रूपमा राख्न पाउने स्वतन्त्रताको अपेक्षा गरेका हुन्छन् ।

असमानता तथा भ्रष्टाचारका विरुद्ध बोल्दा दमन भोग्नु नपर्ने अवस्थाको परिकल्पना गर्दछन् । विश्वस्तरीय गुणस्तरीय तथा प्रतिष्पर्धी शिक्षा पाउने अधिकार सुनिश्चित हुनु पर्ने माग राख्दछन् । विदेश पलायन नभई देशमा रोजगारी र उद्यमशीलतामार्फत् भविष्य निर्माण गर्ने सपना बोकेका हुन्छन् । वर्गीय, जातीय, लैंगिक समावेशिता तथा अवसरमा समान पहुँचको सुनिश्चिततालाई आत्मसात गर्ने साथै बेरोजगारीको अन्त्य अनि रोजगारीको समान अवसरको अपेक्षा गरेका हुन्छन् । न्यायमा सबैको सहज पहुँच, पारदर्शी, भ्रष्टाचारमुक्त, जवाफदेही र चुस्त प्रशासनलाई मुख्य एजेण्डाका रूपमा अघि सारेका हुन्छन् ।

कला, संस्कृति, प्रविधि, नवप्रवर्तन आदिमार्फत् आफ्नो प्रतिभा उजागर गर्ने अवसरको खोजी गर्दै आफ्नो पहिचान गर्वका साथ प्रस्तुत गर्ने स्वभाव बोकेका हुन्छन् । परम्परागत भन्दा स्वच्छ र जवाफदेही राजनीति, नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण अनि संवाद र संरचनागत परिवर्तनमार्फत् नयाँ समाज निर्माणको उद्येश्य बोकेका हुन्छन् । समग्रमा भन्दा स्वतन्त्रता, समानता, अवसरको समान वितरण, सिर्जनशीलता, रचनात्मकताका साथै न्यायमा आधारित समाज निर्माण उनीहरूको सपना हो ।

अन्त्यमाः आमाको काँध

एक न्यायिक आमा सम्माननीय पुर्व प्रधानन्यायाधिस श्रीमान् शुशिला कार्की नेपाल आमाको कार्यकारी आमा नेपालकै पहिलो महिला प्रधानमन्त्रि हुनु भएको छ । वहाँको काँधमा माथि उल्लेख गरिएका जेन-जीहरूका सपना साकार पार्नुका साथै उक्त आन्दोलनमा बलिदान दिएका युवाहरूका आमाहरूको चित्कारमा मलम लगाउने जिम्मेवारी आँखै अगाडि रहेको छ । मातृत्व केवल घरभित्रको पीडा मात्र नभइ सडकदेखि सरकारसम्म उभिने न्यायिक आवाज पनि हो भनी प्रमाणित गर्नु छ । भ्रष्टाचार तथा भ्रष्टाचारीको छानविन गरि भ्रष्टाचारले चुर्लुम्म डुबेको राज्यलाई भ्रष्टाचारबाट उन्मुक्ति दिलाउनु छ ।

आन्दोलनका क्रममा क्षतविक्षत भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण तथा पुनःनिर्माण पहिलो आवश्यकता रहेको छ । ध्वस्त भएको व्यवसायले निम्त्याएको आर्थिक संकट एकातिर छ भने देशको सीमा सुरक्षा, अन्तर्राष्ट्रिय हस्तक्षेपको प्रतिवाद अर्को टड्कारो विषय रहेको छ । यसका बावजुद संविधानको संरक्षण तथा कानुनी शासनको प्रत्याभुति दिलाउँदै आमनिर्वाचनमार्फत् नयाँ पुस्तामा सत्ता हस्तान्तरण गर्नु मुख्य कार्य रहेको छ । एक न्यायिक आमाले कार्यकारी आमाको भूमिका निर्वाह गर्दै गर्दा वहाँको दर्बिलो काँध र न्यानो छहारीले पक्कै पनि नेपाल आमाको चर्किएको छातीमा मलम लगाउने नै छ ।

अवश्य पनि यस अघिको भन्दा सुरक्षित छहारी देशले प्राप्त गरेको छ भन्ने आभास भएको छ । आम आमाका तर्फबाट बलिदानीहरूको सपना साकार हुने कुरामा मेरो पनि छाती गर्वले फुलेको छ । अन्तयमा जेन-जी आन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण बलिदानीहरूको आत्माको चिर शान्तिको कामना अनि घाइतेहरूको शीघ्र स्वास्थयलाभको कामना गर्दछु ।

(भट्टराई त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा कार्यरत पुस्तकालय अधिकृत हुन्)

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ७ : ०८ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने