कुरौनीबाट आत्मनिर्भर बन्दै नवलपुरका रेश्मराज « Khabarhub

कुरौनीबाट आत्मनिर्भर बन्दै नवलपुरका रेश्मराज


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत् व्यापारिक महोत्सवमा यतिबेला नवलपुरको कावासोतीका रेश्मराज पोखरेललाई तात्तातो कुरौनी बेच्न भ्याइनभ्याइ छ । उनी मात्र होइन, उनकी श्रीमती र केही कामदार पनि उत्तिकै व्यस्त छन् । 

पोखरेलले महोत्सवको एक स्टलमार्फत कुरौनी, खिर, आइसक्रिम, मोही, पनिर र च्याउको पकौडाको स्वाद महोत्सव अवलोकन गर्न आएका हजारौँ दर्शक तथा ग्राहकलाई चखाइसकेका छन् ।
 
नवलपुरको कावासोती निवासी पोखरेलले मेला–महोत्सवमा कुरौनीलगायतका परिकार बिक्री गर्न थालेको १८ वर्ष भएको बताए । 

उनका अनुसार सुरुमा आइसक्रिम मात्र बिक्री गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको थियो । तर, जाडोयाममा आइसक्रिमको माग घट्ने र कुरौनीको माग बढ्ने देखिएपछि उनले कुरौनीलाई नै मुख्य व्यवसायका रूपमा अघि बढाएका हुन् । 

उनले भने, ‘मेला र महोत्सवमा कुरौनीको बिक्री बढी हुन्छ, घरको पसलमा त्यति हुँदैन ।’ सुरुवाती समयमा उनले हातले घोटेर कुरौनी बनाउथे भने हाल मेसिन प्रयोग गर्न थालेका छन् ।

उनले भने, ‘मेसिन आएपछि धेरै सजिलो भएको छ, आफैँ घुम्ने मेसिनले दूध घोट्छ, तर त्यसको प्रयोगमा सीप र सावधानी आवश्यक हुन्छ ।’

कुरौनीमा चिनी अत्यन्तै थोरै मात्र प्रयोग गरिने उनको भनाइ छ । उनका अनुसार दूध मात्र हुँदा स्वाद अलि नुनिलो हुने भएकाले थोरै चिनी हालिन्छ । ‘हामीले बिस्कुट, पाउरोटी वा अन्य कुनै वस्तु मिसाउने गरेका छैनौँ’, उनले स्पष्ट पारे ।
 
पोखरेलका अनुसार कुरौनीका मुख्य ग्राहक उमेर पुगेका व्यक्ति हुन् । ‘केटाकेटीहरूले खासै चिन्दैनन्’, उनले भने । दूधको आपूर्ति उनले भरतपुरस्थित अन्नपूर्ण डेरीसँग सम्झौतामा गरेर गर्दै आएका छन् ।

उनले भने, ‘एकै स्थानबाट दूध ल्याउँदा गुणस्तरमा एकरूपता रहन्छ, हाल म महोत्सवका लागि मात्र दैनिक करिब १०० लिटर दूध ल्याउँछु, आवश्यकताअनुसार थप पनि गर्छु ।’
 
पोखरेलका अनुसार कुरौनी पुरानो परिकार हो, जुन परम्परागत रूपमा विवाहपछिको कोसेली वा पहिलो दसैँमा टीका थाप्न लैजाने मिष्ठान्नका रूपमा प्रचलित रहँदै आएको छ । 

उनले विवाह, चाडपर्व तथा कोसेलीका लागि अहिले पनि कुरौनीको अर्डर आउने बताए । उनले स्मरण गरे, ‘जाडो यामको महोत्सवमा आइसक्रिम बिक्री गर्दा चितवन टाँडीका एक व्यापारी (गौतम दाई)ले कुरौनी बेचिरहेको देखेँ, त्यसपछि मैले पनि सिकेर सुरु गरेँ, जाडोमा आइसक्रिमभन्दा कुरौनीको माग धेरै थियो ।’
 
हाल उनले दैनिक करिब ५० किलो कुरौनी बिक्री गर्दै आएका छन् । एक किलो कुरौनीको खुद्रा मूल्य एक हजार रहेको उनले बताए । उनका अनुसार आठ लिटर दूधबाट एकदेखि डेढ किलोसम्म कुरौनी तयार हुने र भैँसीको बाक्लो दूध प्रयोग गर्दा दुई किलोसम्म पनि बस्ने बताए । 

पोखरेलले भने, ‘हालका पुस्ताले कुरौनी नचिनेका हुन्, कतिपयलाई त दूध कहाँबाट आउँछ भन्ने पनि थाहा छैन । कुरौनी पौष्टिक र शुद्ध परिकार भएकाले यसको प्रवर्द्धन गर्न आवश्यक छ ।’ उनका अनुसार यो परिकारलाई आधुनिक प्याकेजिङ र ब्रान्डिङ गरेर बजारमा ल्याउन सके युवापुस्तामाझ पनि लोकप्रिय बनाउन सकिनेछ ।
 
कुरौनी बिक्रीमै आत्मनिर्भर बनेका पोखरेलले यही व्यवसायबाट परिवारको जीविका सञ्चालन गर्दै केही सम्पत्तिसमेत जोडेका छन् ।

उनका अनुसार यस पेशाबाट वार्षिक करिब आठदेखि दश लाख रुपैयाँसम्म बचत गर्न सकिन्छ । उनले भने, ‘यो धेरै आम्दानी हुने पेशा होइन, तर मन लगाएर परिश्रम गरे सजिलो हुन्छ, जाँगर र सीप चाहिन्छ ।’
 
उनका अनुसार नेपालमै केही गर्न चाहने युवाले पनि उपयुक्त स्थान छनोट गरी प्रविधिक सीपको प्रयोगबाट यो पेशा अँगाल्न सक्छन् ।

उनले भने, ‘मेला–महोत्सव र बजार क्षेत्र यो व्यवसायका लागि उपयुक्त स्थान हुन्, तर ग्राहकलाई सन्तुष्ट पार्ने खालको स्वाद दिन सक्नुपर्छ ।’ रासस

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : १३ बजे

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की

अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह

दोहा– जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण