पूर्वमहालेखापरीक्षक खत्रीलाई प्रश्न : जोखिम हेरेर मात्रै पूर्ण कर परीक्षण गर्ने नीति कति उचित ? | Khabarhub Khabarhub

पूर्वमहालेखापरीक्षक खत्रीलाई प्रश्न : जोखिम हेरेर मात्रै पूर्ण कर परीक्षण गर्ने नीति कति उचित ?



काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले अर्थतन्त्रमा दीर्घकाल र अल्पकालमा प्रभाव पार्ने केही नीतिगत तथा कार्यक्रम अगाडि सार्दै गएको छ । केही दिनअघि मात्रै आन्तरिक राजस्व विभागले करदाता कार्यालयहरूमा परिपत्र जारी गर्दै ठूला करदाताबीच अब जोखिमको आधारमा मात्रै पूर्ण कर परीक्षण गर्ने निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंक अन्तर्गत केन्द्रीय अनुसन्धान इकाइले वर्षेनि शङ्कास्पद कारोबारको सङ्ख्या बढिरहेको तथ्याङ्क देखाइरहेको छ । यसका साथै, पछिल्लो समय नेपालबाट विदेशमा पुँजी पलायन भइरहेको चर्चा भइरहेको छ । अर्कातिर ४५ प्रतिशतभन्दा बढी व्यावसायिक क्षेत्र अझै पनि करको दायरामा नसमेटिएको अवस्था छ ।

त्यस्तै, पछिल्ला धेरै वर्षयता सरकारले अनुमानित राजस्व सङ्कलन गर्न सकेको पनि देखिँदैन । यी सन्दर्भहरूबीचमा सरकारले अभ्यास गर्दै आएको पूर्ण कर परीक्षणसम्बन्धी नीतिमा लचकता देखाउने नीति लिनु कति सही हो भनेर खबरहबले पूर्वमहालेखापरीक्षक सुकदेव भट्टराई खत्रीलाई जिज्ञासा राखेको छ ।

सरकारले पछिल्लो समयमा जोखिमका आधारमा मात्रै ठूला करदाताको पूर्ण कर परीक्षण गर्ने नीति लिएको छ, यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

आर्थिक क्षेत्रमा विश्वास घटेर गइरहेको स्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको तर्फबाट जे पहल भएको छ, यसलाई स्वागतयोग्य मान्नुपर्छ । तर, जे काम कारबाही भएको छ, भएको विद्यमान ऐन कानुनअनुसार विगतमा लागू गरिएका प्रणालीलाई सर्वसाधारणका जानकारीमा ल्याएको हो भन्छु मैले ।

जस्तै- हाम्रो नेपालमा वर्षमा ५० करोडसम्म कर तिर्नेलाई साना करदाता भनिन्छ, ५० करोडदेखि १ अर्बसम्म कर तिर्नेलाई मझौला करदाता र एक अर्बभन्दा माथिकालाई ठूला करदाता भनेको छ । यसमध्ये समयमै कर तिर्ने, करको फाइल समयमै बुझाउने, आम्दानी र खर्च एकैनासको भएको, आम्दानी नलुकाउने र खर्च जथाभावी नभएका करदाता धेरै छन् । तिनीहरूको हकमा पूर्ण लेखापरीक्षणले फरक पार्दैन ।

समयमै कर तिर्ने, समयमा नै फाइल बुझाउने र आम्दानी खर्च नियमित भइआएकाको हकमा कर कार्यालयले विश्वासको आधारमा पूर्ण लेखापरीक्षणको दायरामा नपार्न सक्छ । तर, बैंक तथा वित्तीय संस्था र बहुराष्ट्रिय कम्पनी र मिल्दाजुल्दा कम्पनीको हकमा भने त्यो लागू हुँदैन । तिनीहरूको प्रत्येक वर्ष पूर्ण लेखापरीक्षण गर्नुपर्ने हुन्छ ।

करको विषयमा के छ भने- ४ वर्षभित्र कर परीक्षण भइसक्नुपर्ने हुन्छ । ४ वर्षभित्र नभएमा करका फाइलहरू पल्टिँदैनन् । दोहोर्‍याएर हेर्न मिल्दैन । आयकर कानुनले गरेको व्यवस्था यो हो । तर, त्यहाँ उनीहरूले छली गरेको स्थिति भए त पाइन्छ ।

किनभने यसको विषयमा विगतमा सार्वजनिक लेखा समितिमा ठूलो बहस पनि भयो, महालेखाको तर्फबाट हामीले यी विषयमा वकालत पनि गर्‍यौँ । यसलाई अन्तर्राष्ट्रिय अभ्यास हो भन्ने कुरा पनि भयो । त्यो ४ वर्षलाई ३ वर्षमा झार्ने भन्ने कुरा आएको छ, यो कुनै दबाब समूहबाट आएको होला, यो कदापि मुलुकका लागि राम्रो हुँदैन । हिजो हामीले यो ४ वर्षलाई पनि ५/६ वर्ष गर्दा अन्तर्राष्ट्रिय अभ्यास भनियो, अब यसलाई फेरि झार्ने काम नहोस् ।

सरकारले अभ्यास गरिरहेको पूर्ण कर परीक्षण कति उपलब्धिमूलक छ ?

उपलब्धिमूलक छ, यो गर्नैपर्छ । यसलाई छोड्न मिल्दैन । सधैँ व्यवसायीलाई विश्वासमा लिइरहेको छ भने पछिल्लो वर्षमा आउँदा व्यवस्थापनमा परिवर्तन हुनसक्छ । कर प्रशासनमा पनि परिवर्तन हुन्छ, त्यसैले कर प्रशासक र व्यवसायीको दृष्टिकोणबाट पनि यो कायम रहनुपर्छ । सकेसम्म कर नतिर्दा नै हुने हो कि, सकेसम्म लुकाउन पाए हुने हो कि भन्ने माहोल बनिरहेको छ ।

यसको कारण के बनेको छ भने जुन कर प्रशासन कानुनमा नै काम गर्ने पूर्व पदाधिकारीहरू छन् खोज्यो भने उहाँहरूलाई ठूला व्यवासायिक घरानामा कन्सल्ट्यान्टको रूपमा राखिएको छ । मैले पाएको जानकारी अनुसार उहाँहरूले नै सिकाएर यो चुहावट गर्ने कतिपय ठाउँमा यो कर किन तिर्ने माहोल बनेको स्थिति छ । त्यसकारण यो आवश्यक छ, गर्नुपर्छ ।

जोखिममा आधारित भएर कर कार्यालयले फाइलहरू हेर्छ । जो विश्सनीय छ, उसले पनि २/३ वर्षलाई दिलाएको होला, तर हेर्नुपर्ने स्थिति पनि आउन सक्छ, त्यसोहुँदा यो व्यवसायीमा भर पर्ने विषय हो ।

दफा ७६ मा कर लेखापरीक्षणबाट असुली भन्ने छ, आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार आयकर ऐन, २०५८, भ्याट ऐन, २०५२ अनुसार जुन कर परीक्षण गरियो आर्थिक वर्ष ०७८/७९ मा २० अर्ब १५ करोड रुपैयाँ थप राजस्व आम्दानी भएको थियो । त्यसैगरी ०७९/८० मा १९ अर्ब ८९ करोड रुपैयाँ र ०८०/८१ मा १४ अर्ब ४८ करोड रुपैयाँ थप कर प्राप्त भएको थियो । कानुनअनुसार ४ वर्षभित्र कर परीक्षण गर्न पाउने व्यवस्थाले यो भएको हो ।

०८०/८१ मा कर कार्यालयले कर परीक्षण गर्ने अघिल्ला वर्षका जिम्मेवारी मध्ये ४ हजार ३८० ल्याएको मध्ये आर्थिक वर्ष ०८०/८१ मा ४ हजार २ सयवटा छनौटमा परेका थिए । सो वर्ष ४ हजार ५ सय सम्पन्न गरेर १४ अर्ब ४८ करोड राज्यलाई थप राजस्व आम्दानी भएको थियो ।

तपाईंले महालेखामा काम गरेको अनुभवको आधारमा पनि हेर्दा अहिले जे जति सङ्ख्या र जसरी पूर्ण करपरीक्षण भइरहेको छ, यो पर्याप्त छ वा छैन ?

यो करको सन्दर्भमा विश्वव्यापी मान्यता हो । आयकर ऐन २०५८ विश्व बैंक लगायत राजस्व क्षेत्रमा बुझेका पूर्वपदाधिकारी, विश्वविद्यालयका पदाधिकारी लगायतको सक्रियतामा बनेको हो । त्यसो हुँदा जति पनि कर उठाइन्छ आयकर ऐनको कानुनअन्तर्गत छ ।

अहिले राज्यमा २० प्रतिशत ठूला करदाताले ८० प्रतिशत कुल आयकर तिरिरहेको अरु ८० प्रतिशतले २० प्रतिशत तिरिरहेको पनि अनुमान हुन्छ । कर छलीको पनि अनुमान हुन्छ । करको सम्बन्धमा गरिने काम कहिल्यै पनि पूर्ण नहुँदो रहेछ ।

२०७२ सालतिर हामीले लामो अनुभवको आधारमा जुन ५४औँ प्रतिवेदन तयार पारियो, पुँजीगत लाभकरको सम्बन्धमा २/३ वटा संस्थाले खर्बौं कर म्यानुपुलेट गरेको हामीले भेट्यौँ । त्यसपछि कर फर्छ्यौट आयोग १२ पटकसम्म गठन गरेर त्यसमै मात्र ३५ अर्ब म्यान्डेड गरिएको थियो । भ्याट फिर्ता भनेर दिइएको थियो, त्यस्तै राजस्व छुट भनेर दिइएको थियो ।

त्यतिबेला साढे ३ खर्ब जति त हामीले प्रतिवेदनमा ल्यायौँ, करिब एक खर्ब त राज्यलाई त्यसले राजस्वमा मद्दत गर्‍यो । आयकर ऐन, २०५८ निसर्ग संशोधन गर्‍यो, १२ पटकसम्म गठन गरेको कर फर्छ्यौट आयोग खारेज गर्यो । यसभन्दा अगाडिका ११ पटकका आयोगको प्रतिवेदनमाथि छानबिन गर भन्ने मेरो जोडदार माग थियो । तर, सरकार र संसदले त्यो हिम्मत गर्न सकेन ।

भारतबाट आउने घ्यू तेल लगायतको ५४ अर्ब रुपैयाँ जति थियो, तत्कालीन अर्थमन्त्रीले यो कुरा बुझेर संसदबाटै यसलाई हटाइदिनुभयो । यो विषयमा कसैले आवाज नै निकालेनन् । ०७४ सालमा राज्यको राजस्व ५ खर्ब हाराहारीमा मात्रै थियो, मेरो प्रतिवेदनले साढे ३ खर्ब ल्यायो ।

त्यसपछि ती विषयमा अहिलेसम्म कसैले कुरा उठाएको पाइँदैन । त्यसोहुँदा यो कहिल्यै पनि पूर्ण नहुँदो रहेछ, वादे वादे तत्वबोध जायते गर्दै जाने, वाचडगको रूपमा भन्दै जाने र कर प्रशासन सक्रिय हुँदै जाने हो । अहिले पनि कर प्रशासनमा ४ खर्ब ७२ अर्ब बक्यौता छ । जुन विषय राजस्व न्यायाधीकरण हुँदै सर्वोच्च अदालतसम्म छ । अर्थ मन्त्रालय, राजस्व प्रशासनले मात्रै चाहेर मात्रै हुँदैन, न्यायालयले यो कुरालाई बुझदिनुपर्छ, राजस्व न्यायाधीकरणले यो कुरा बुझदिनुपर्छ ।

पछिल्लो ५ वर्ष यता अर्थ मन्त्रालयले विभिन्न निकायलाई पत्र लेखेर ३ खर्ब ८० अर्ब रुपैयाँ राजस्व छुट दिएको छ । त्यो किन दियो, के प्रयोजनको लागि दियो, त्यसको अनुगमन सम्बन्धित मन्त्रालय, निकायले गर्न सकेको छैन । यो पनि दुःखदायी कुरा छ ।

मैले एउटा कुरा पनि भन्नुपर्छ, राजस्व अनुसन्धान विभाग खारेज गर्ने भनेर एउटा उच्चस्तरीय प्रतिवेदनले हाल्यो, अहिले मुलुकमा विभिन्न किसिमका सुन तस्करका कुरा छ, विभिन्न अन्य तस्करीका कुरा छ । अघिल्लो साल सो विभागले साढे ६ अर्ब रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ । विभागले अहिले १८ अर्ब राजस्व छली भयो भनेर अनुसन्धान गरिरहेको छ । अब त्यो विभाग नै खारेज गरेपछि अर्थ मन्त्रालयमा जाने भो, त्यहाँको एउटा शाखाले गर्ने अवस्था हुने भयो ।

अहिले गरेको काम ऐनसम्मत भएन भनिन्छ भने कसको पहुँच र जोडबलमा यो खारेज गर्ने कुरा ल्याएको हो ? कुरा उठाएको हो प्रतिवेदनले ? यो मुलुकलाई घात गर्ने काम भयो, राजस्व चुहावट बढाउने काम भयो भन्छु मैले ।

तपाईंले भनेजस्तै नियमित कर बुझाउने करदाको हकमा त कर परीक्षणको विषय समस्याको कुरा नै भएन । तर, सरकारको पछिल्लो निर्णयबाट व्यवसायी चाहिँ किन धेरै खुसी भइरहेका छन् ?

यसमा व्यवसायीको पनि केही माग रह्यो, अहिले अर्थतन्त्र संकटग्रस्त हो कि भन्ने अवस्था छ । किनभने बैङ्कमा अहिले ११ खर्ब तरलता भएर बसेको छ, अघिल्लो साल ७/८ खर्ब भएको ठाउँमा । ब्याज घटिरहेको अवस्था छ, लगानी हुन सकेको छैन । यो स्थितिमा राज्यलाई सकस परेको र व्यवसायीले पनि केही छुट माग्नु र अलिकति सहज बनाइदेऊ भनेर सरकारलाई भन्नु राम्रै कुरा हो ।

व्यवसायीहरूको हकमा व्यवसायीहरूको कुरा सुनुवाई गर्ने क्रममा अर्थ मन्त्रालयले पूर्ण कर परीक्षण विश्वासको आधारमा मैले सुरुमा भनेजस्तै समयमा कर तिर्ने, करको फाइल समयमा नै बुझाउने, आम्दानी र खर्च एकैनासको भएको र खर्च जथाभावी दाबी नगरेका जस्ता संस्थालाई विश्वास दिलाउनु पनि थियो । हिजो पनि सरकारले यो काम गर्दै आएको थियो ।

त्यसैलाई आधार मानेर ठूला करदातालाई विश्वासमा लिनसक्नु सरकारको पनि बुद्धिमत्ता हो । यो गर्नैपर्छ । तर, त्यसो हुँदाहुँदै पनि बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्थामा भने त्यो लागू हुँदैन । र फ्रड गर्ने र जथाभावी गर्नेको हकमा पनि यो लागू हुँदैन ।

सरकार र निजी क्षेत्रले नै अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक छ भनेर स्वीकार गरिरहेको अवस्था छ । जुन क्षेत्र करको दायरामा आउन सकेको छैन । सबै क्षेत्रलाई करको दायरामा ल्याउनको लागि नयाँ सुरुवात नगर्दै चालिएको यो कदमले मुलुकलाई फाइदा पुर्‍याउला ? थप समस्या पर्ने हो कि ?

सरकारले गरेको निर्णयलाई त मैले गलत भन्दिन । तैपनि सरकारले जति पनि राजस्व उठाउँछु भन्छ, उठाउँछु भनेको राजस्व त उठाउन सकेको छैन । विगतदेखि चालु आर्थिक वर्षको तीन महिनाको अवस्थालाई हेर्दा सरकारले भनेजति राजस्व उठाउन सकेको देखिँदैन । उहाँहरूले सुधार भयो भने पनि जति राजस्व आउनुपर्ने हो त्यो त आउन सकेको छैन । त्यसैले सबै क्षेत्रलाई करको दायरामा ल्याउनुपर्छ ।

मैले एउटा अर्को कुरा पनि भन्छु- ८८४ जना सभासदको कर चुक्ता राज्यले लिन सक्ने कि नसक्ने ? मलाई त लिएजस्तो लाग्दैन । नीति बनाउने कानुन पास गर्ने, पहिला आफैँबाट सुरू गर्नुपर्यो । यसबाट पनि राज्यलाई राजस्व त जान्छ नि ।

मैले अघि नै भने नि जम्मा ५४ अर्बको राज्यमा हिसाब आएको छ । विश्वका १६५ मुलुकमा नभएको तत्कालीन अर्थमन्त्री संसदबाट पास गराएर आर्थिक विधेयकमा भ्याट फिर्ता गर्ने नीति राखेर काम गर्नुभयो । उहाँहरूले त राज्यलाई ढाँट्नुभयो नि । संसारमा कहिँ नभएको कानुन उठाएको भ्याट फिर्ता गर्न मिल्छ ? यो मिल्दैन ।

कतिपय अवस्थामा सानाले हामीले भ्याट तिर्न सक्दैनौ भन्ने पनि गरेको पाइन्छ । उनीहरूले १३ प्रतिशत भ्याट धेरै भयो भन्ने कुरालाई राज्यले पनि सम्बोधन गर्दै जानुपर्छ ।

विगतमा ३ जना एउटै पार्टीका अर्थमन्त्री बन्नुभयो । उहाँहरूको पालमा कहिले भन्सार दरबन्दी तलमाथि गर्ने, कहिले राजस्व छुट दिने निहुँमा अर्थ विधेयमार्फत् जरिवाना र दण्ड शुल्क मिनाहा गर्ने परिपाटी विकास भएको छ । माथिका पदाधिकारी नै जिम्मेवारी हुनुहुन्न, अनि जनतामा हात फैलाउने ठाउँ त छँदैछ भन्ने मेरो मान्यता छ ।

अहिले राज्यको अधिकांश ठाउँमा डिजिटल पहुँच पुगिसकेको अवस्था छ, तर पनि राज्यले अझै पनि करको दायरामा सबै क्षेत्रलाई समेट्न नसक्नुमा कर प्रणालीमा कहाँनेर समस्या छ ?

मैले अलिकति उदाहरण दिएर पुष्टि गर्ने प्रयास गर्छु है । म स्वयम् महालेखापरीक्षकको कार्यालयमा सहसचिव थिएँ । भन्सार विभागबाट महानिर्देशक आउनुभयो, उहाँले यो बेरुजु फर्छ्यौट गर्नुपर्‍यो भन्नुभयो । मैले यो मिल्दैन भनेँ । त्यसपछि उहाँले भन्सार कार्यालयको प्रमुख बोलाउनुभयो, उहाँले मलाई ११ बजे भेट्नुभएको थियो १ बजे १ करोड रुपैयाँ दाखिला गराउनुभयो । ल हेर्नुस् यहाँनेर क्रियाशीलताको कति आवश्यकता छ ।

अहिलेका अर्थमन्त्रीलाई मैले धन्यावाद दिन्छु, अहिलेसम्म प्रज्ञान-पत्रमा मूल्य भरेर काम गर्ने चलन भएकोमा अहिले उहाँले विराटनगरबाट भन्सारको अनलाइन सिस्टम सुरू गर्नुभयो । जसले गर्दा पनि भन्सारमा धेरै बेरुजु हुने गर्दथ्यो । यसरी नै हो भन्सारको सुधार गर्ने । यसरी नै धेरै क्षेत्रमा सुधार गर्न सकिन्छ ।

त्यसो भए, राजस्व क्षेत्रमा आवश्यक सुधार गर्ने विषयमा नेतृत्व तहको नै मुख्य भूमिका नै कमजोरी हो ?

संसद्ले बजेट पेस गर्छ राजस्व यति उठाउने भनेर, तर, अर्थमन्त्रीले प्रत्येक वर्ष आफ्नो कार्यकक्षमा केही साथीहरू बोलाएर त्यसलाई फेरबदल गर्ने गर्नुहुन्छ । राजस्व घटाउने र खर्च घटाउने काम गर्नुहुन्छ ।

हाम्रो संविधान र कानुन अनुसार त्यो अधिकार उहाँलाई छैन । किनभने त्यो त संसदले पास गरेको हो नि । तर, यो कुरा कसैले उठाउँदैन । त्यो विषयलाई संसदमा नै लैजान पर्यो नि । मैले अहिलेको अर्थमन्त्रीबाट के आशा गर्छु भने अनिवार्य छ भने गरौँ, होइन भने जति हो त्यति नै गरौँ, तलमाथि नगरौँ भन्छु ।

मुलुकमा पछिल्लो ३५/३६ वर्षमा अर्थराजनीति बुझेको कतिजना व्यक्ति राजनीतिक दलले विकास गरे ? ८ कक्षा पास भएको मान्छेले अर्थमन्त्री चलाउँछ यो मुलुकमा । मुलुकमा लामो समय प्रशासनमा काम गरेको मान्छेले अर्थ मन्त्रालय चलाउनु परेको छ । यत्रो राजनीतिक दलले क्याडर तयार पार्न पर्दैन ? यो विषयलाई राजनीतिक क्षेत्रले मनन् गर्नुपर्छ ।

अर्थतन्त्र सुधार गर्न कर्मचारीले मात्रै कसरी सकिन्छ ? त्यो त बिँड हो, ताप्के तात्नुपर्छ नि । ताप्के तातिदिएको भए तपाइँले भनेका यो समस्या समस्या नै रहनेथिएन । त्यहिँबाट जनतालाई बुझाउने काम हुन्थ्यो । अहिलेसम्म कतिपय पालिकामा बजेट पारित हुन सकेको छैन । मुलुकमा अर्थ क्षेत्रको जानिफकार विकास हुन सकेन मुख्य खड्केको विषय यहि नै हो ।

केही ठूला व्यावसायिक घरानाले नेपाल र विदेश दुवै ठाउँमा लगानी गरेका छन्, पछिल्लो समयमा पुँजी पलायन भएको विषय पनि उठिरहेको छ, तपाईंले महालेखापरीक्षकको कार्यालयमा बसेर पनि काम गर्नुभएको छ, त्यस्ता ठूला लगानीकर्ताको आम्दानी र खर्चको राज्यले ट्रयाकिङ गरेको अवस्था छ ?

मैले २०७३ सालमा तयार भएको प्रतिवेदनलाई आधार मान्छु, राजस्वसम्बन्धी जुन ल्याप्सेस हुन्छ, कमजोरी हुन्छ, त्यो ४ वर्षभित्र संसदले छलफल गरेर, सार्वजनिक लेखा समितिले छलफल गरेर सम्बन्धित करदाता र ठूला फर्मबीचमा यो कुरा पुगिसक्नुपर्छ । अब यहाँ के कमजोरी देखियो भने मैले त्यतिबेला नै भनेको छु, प्रतिवेदनको संक्षिप्त व्यहोरा, सार्वजनिक लेखा समितिको निर्णय ४ वर्ष नाघेपछि उहाँहरूले गर्नुभएको निर्णय पनि कार्यान्वयन हुँदैन ।

कतिपय कुरामा ऐन, कानुन संशोधन आवश्यक छ । यससम्बन्धी अर्थ मन्त्रालयले सक्रियता लिन सकेको देखिँदैन । मैले मेरो समयमा धेरै यो विषयमा धेरै काम गरेको थिएँ ।

के व्यावसायिक घरानाको दोहोरो देशमा लगानी हुने र पुँजी पलायनको समस्या छ भनेर अनुमान गर्न सकिन्छ ?

त्यो त सकिन्छ । किन सकिन्छ भने कतिपय व्यावसायिक घरानाका व्यक्तिहरू सांसद हुनुहुन्छ, आज यो पार्टीमा हुनुहुन्छ, भोलि अर्को पार्टीमा जानुहुन्छ । त्यो पार्टी फेर्नाको कारण के ? त्यो भनेको राजस्व सम्बन्धी नीतिलाई मैले परिवर्तन गराउँछु, मैले लबिइङ गर्छु र मैले यो फाइदा लिन्छु भनेर त उहाँहरू लाग्नुभएको हो नि ।

त्यस्ता व्यावसायिक घराना त ठूलो मात्रामा छ यहाँ, उहाँहरूकै बैंक छ, उहाँहरूकै व्यक्तिगत सेवा क्षेत्र छ, उत्पादनसम्बन्धी संस्था छ । कुनै पनि देशमा एउटै व्यक्तिले बैंक र अन्य क्षेत्र चलाउँदैन । तर, हामीकहाँ कसरी चिप्लियो यो कुरा ? यो त सरासर गलत छ । सुधार हुन आवश्यक छ । यो विषय कहिले बुझ्ने र सुधार हुने ? व्यवसाय भनेको बिजनेस इथिक्समा हुनुपर्छ । यो कुरा उहाँहरूले बुझ्नुपर्छ ।

एउटा यो समस्या छ भने अर्को उहाँहरूले विदेशमा प्रसस्त पैसा लगेको पनि अवस्था छ । स्वीस बैंकमा भएको पैसा हेर्दा पनि हिजोको भन्दा बढेको अवस्था छ । त्यसले पनि यो देखाउँछ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ८ : ०२ बजे

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै

पाल्पामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु

पाल्पा – निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक