नेकपा एमालेको एघारौँ महाधिवेशन शनिबारदेखि सुरू हुँदा देशको राजनीति एउटा निर्णायक मोडमा पुगेको छ । आज देशले मागेको नेतृत्व केवल पदको सजावट होइन, संकटसँग जुध्न सक्ने इमानदार, राष्ट्रलाई दिशा दिन सक्ने राजनीतिक दृढता र जनताले विश्वास गर्न सक्ने स्वच्छ छविको हो । एमालेले अहिले केबल पार्टीको अध्यक्ष छान्दै छैन, देशको नेतृत्व कसले गर्ने भन्ने ‘राष्ट्रिय फैसला’ पनि गर्दैछ । यो महाधिवेशन केवल एमालेको मात्रै होइन, राष्ट्रको परीक्षा पनि हो ।
अहिलेको नेपाली राजनीति थकित छ, दिग्भ्रमित छ, बारम्बारको अस्थिरताले गिजोलिएको छ । सरकार फेरिन्छ, अस्थिरता रहन्छ, देश उस्तै गरी समस्यामा अड्किएको छ । यो अवस्थाबाट राष्ट्रलाई उठाउने शक्ति भएको दल यदि कोही छ भने त्यो एमाले हो । भिन्न मत राख्नेहरूले पनि यही कुरा स्वीकार गर्छन् । तर प्रश्न एउटै छ, एमाले आफैँले आफूलाई कसरी उठाउने ? कुन अनुहार अगाडि ल्याउने ? कस्ता हातमा आफ्नो राजनीतिक भविष्य राख्ने ?
नेतृत्व केवल पार्टीभित्र ताली पाउने पात्र होइन, त्यो जनताले देख्दा ढुक्क हुने, देशले हेर्दा आशा जगाउने अनुहार हुनुपर्छ । भोलि प्रधानमन्त्री बन्ने, भोलि मन्त्रिपरिषद् चलाउने, भोलि राष्ट्रिय रणनीति लेख्ने, भोलि विदेशी शक्तिसँग वार्ता गर्ने, भोलि नेपाललाई सम्हाल्न सक्ने हुनुपर्छ । त्यो त केवल ‘आफ्नो समूह’ हेरेर छानिने कुरा होइन । प्रतिनिधिले आफ्ना गुटका सात-आठ जना कार्यकर्ताको खुशी हेरेर होइन, सिङ्गो राष्ट्रको भविष्य हेरेर भोट हाल्नुपर्ने युग आएको छ ।
यति ठूलो पार्टीले अब नेतृत्व छान्दा गल्ती गर्ने छुट छैन । यदि गल्ती भयो भने देशले ५ वर्ष होइन, दशकौँसम्म मूल्य चुकाउनुपर्नेछ । इतिहासले एमालेलाई धेरै पटक अवसर दिएको छ । तर, यसपटक इतिहासले ‘जगाउने चर्को घण्टी’ बजाइरहेको छ । सही पात्र छान, नसके देश बिग्रिन्छ ।
अब एमालेको काँधमा ठूलो जिम्मेवारी छ। यो पार्टीले दूरदृष्टि राखेर निर्णय लिनुपर्छ। नेताहरूले व्यक्तिगत स्वार्थ त्यागेर देशको भविष्यलाई हेर्नुपर्छ। युवाहरूलाई प्रोत्साहन गर्नुपर्छ, नयाँ विचारलाई स्वागत गर्नुपर्छ। एमाले अब परिवर्तनको संवाहक बन्न सक्नुपर्छ। यदि एमाले चुके भने अरू पार्टीहरूले पनि पाठ सिक्ने छैनन्, र देश झन् ठूलो संकटमा फस्नेछ। त्यसैले एमालेले यो अवसरलाई खेर फाल्नु हुँदैन।
आजका दिनसम्म एमालेभित्र धेरै प्रकारका आकांक्षी देखिएका छन् । केहीले ‘नाम चलेको छ’ भन्छन्, केहीले ‘गुट बलियो छ’ भन्छन्, केहीले ‘प्रभुको समर्थन’ रहेको दाबी गर्छन् । तर, यी कुनै पनि कुरा राष्ट्रनिर्माणका मापदण्ड होइनन् । महाधिवेशनको भोट ‘कसले टिकट बाँड्यो’ हेरेर होइन, ‘कसले देश सम्हाल्छ’ हेरेर पर्नुपर्छ । यो महाधिवेशन एमालेभित्र सत्ताको खेल होइन, राष्ट्रको भाग्य छान्ने सुअवसर हो ।
देश आज जनताले कहिल्यै नदेखेको जस्ता कुरूर वास्तविकतासँग जुधिरहेको छ । अर्थतन्त्र डगमगाएको छ, रोजगारी निराशाजनक छ, सुरक्षा कमजोर छ, राष्ट्रिय हितमाथि निरन्तर हस्तक्षेप भइरहेको छ । यस्तो अवस्थामा एमालेले पार्टीभित्रका विवाद, व्यक्तिगत आकाङ्क्षा, गुटीय सौदाबाजीलाई सर्वोपरि राखेर देशलाई दाउमा राख्ने अधिकार छैन । देशलाई दिशा दिनसक्ने पात्र छान्ने दायित्व यसपटक कार्यकर्ताको काँधमा मात्र होइन, प्रतिनिधिको आत्मामा झुन्डिएको छ ।
एमालेका नेता कार्यकर्ता जनतामाझ उभिँदा गर्वले भन्न सकून्,‘हामी नेतृत्वलाई होइन, राष्ट्रलाई भोट गर्छौं ।’ तर, अहिले डर लाग्दो कुरा के छ भने कसैकसैले नेतृत्व होइन, लोभ लालच समातेर हिँडेको देखिन्छ । केही आकाङ्क्षीकै अनुहारमा शक्ति तृष्णा स्पष्ट छ, केहीमा पदलालसा, केहीमा स्वार्थका सौदाबाजी । यस्तो अनुहारलाई महाधिवेशनले अस्वीकार गर्नैपर्छ । किनकि नेतृत्व भ्रष्ट वा विवादित भयो भने त्यो एमालेको मात्रै होइन, देशको क्षति हो ।
एमाले मनमोहन अधिकारी र मदन भण्डारीजस्तो चरित्रमा जन्मिएको पार्टी हो । ती नेताले देशलाई नेतृत्व गर्दै गर्दा आफ्नो लागि कुर्सी मागेनन्, निजी लाभ खोजेनन् । उनीहरूले राष्ट्रलाई सर्वोपरि राखेर पार्टी बनाएका थिए । तर, पछिल्ला वर्षमा केही अनुहारले ‘पार्टीको विरासत’ होइन, ‘पदको रहर’ लिएर हिँडेको स्पष्ट छ । यस्तो संस्कार पार्टीभित्र बलियो भयो भने एमालेले जनतामा उठाएको विश्वास भत्किन्छ ।

पार्टीको नेतृत्वमा जसलाई राखिन्छ, उसले केवल मञ्चबाट भाषण गर्ने होइन, राष्ट्रको भविष्य लेख्ने जिम्मा पाउँछ । महाधिवेशनमा जानुअघि प्रतिनिधिले एउटा कुरा मनन गर्नैपर्छ,हामी कसैको निजी आकाङ्क्षा पूरा गर्न होइन, देशलाई ठूलो राजनैतिक संकटकालबाट जोगाउन जान्छौं ।
नेतृत्व छान्दा आज तीनवटा कुरा अति स्पष्ट हुनुपर्छ ।
पहिलो, नेतृत्व देशव्यापी विश्वास प्राप्त गर्न सक्ने हुनुपर्छ ।
केवल कार्यकर्ता जमघटमा ताली खाने पात्र देश चलाउन सक्दैन । ७७ वटै जिल्लामा गाउँदेखि शहरसम्म सबैले स्वीकार गर्ने नेता आवश्यक छ । जनमत सर्वेक्षणले नदेखाइदिएको लोकप्रियता ‘समूहगत प्रचार’ले बनाइदिँदैन । वास्तविक लोकप्रियता जनताको आँखामा प्रकट हुन्छ, कार्यकर्ता मीटिङको चिच्याहटमा होइन ।
दोस्रो, नेतृत्व स्वच्छ र निर्मल चरित्र भएको हुनुपर्छ ।
अपराधिक पृष्ठभूमि ? अस्वीकार्य
भ्रष्टाचारका छाँयामा परेको ? अस्वीकार्य
राष्ट्रघाती गतिविधिका संकेत ? अस्वीकार्य ।
एमालेजस्तो राष्ट्रिय पार्टीले यस्ता पात्रलाई उभ्याउनु इतिहासविरुद्ध अपराध हुन्छ ।
तेस्रो, नेतृत्व राष्ट्रवादी, दृढ, निर्णय गर्न सक्ने, संकट सामना गर्न सक्ने हुनुपर्छ ।

नेपाल छोटो सीमाबद्ध देश हो । तर, राजनीतिक खेल मैदान विश्वका शक्तिशाली राष्ट्रले चलाइरहेका छन् । यस्तो अवस्थामा कमजोर नेतृत्व देशका लागि घातक हुन्छ । राष्ट्रवाद भाषण होइन,आचरण हो । निर्णय लिने क्षमता नहुने नेतृत्वले देश बेच्न त सक्दैन, तर बचाउन पनि सक्दैन । यति सरल कुरा बुझ्न नसक्ने प्रतिनिधिले महाधिवेशनको मञ्चमा उभिनु स्वयं राष्ट्रसामु अन्याय हुन्छ ।
आज जनताले एमालेलाई किन हेर्छन् ?
किनकि, एमालेलाई देश चलाउने क्षमता छ ।
किनकि, एमालेसँग देश बनाएको इतिहास छ ।
किनकि एमालेलाई राष्ट्रवादको बासना छ ।
तर, एमालेभित्र नेतृत्व चयनमै गल्ती भयो भने यी सबै कुरा सत्ता लोभमा धूलो बनिन्छ । प्रतिनिधिहरूले भोट हाल्दा आफ्नो अनुहार होइन, देशको ऐना हेर्नुपर्छ । देशको ऐनामा आज स्पष्ट देखिन्छ,जनता नेताबाट थकित छन्, तर आशा मरेको छैन । त्यो आशालाई पुनःजगाउने शक्ति एमालेसँग छ । तर, त्यो नेतृत्वले मात्र जो साँचो अर्थमा नेता हो ।
आजको राजनीति यति खतरनाक मोडमा छ कि गलत नेतृत्वले पार्टीलाई मात्रै होइन, राष्ट्रलाई दलदलमा धकेलिदिन्छ । आन्तरिक षड्यन्त्र, बाह्य हस्तक्षेप, समूहगत सौदाबाजी, पैसाको खेल, प्रभावको व्यापार- यी रोगले एमालेलाई पनि संक्रमित पार्न खोजेको छ । तर, महाधिवेशनले यसलाई उपचार गर्न सक्छ सही नेतृत्व छानेर ।
जनताले एमालेलाई विकल्पको रूपमा हेर्न छाडेका छैनन् । तर,नेतृत्व छान्ने तरिकामा शंका गर्न थालेका छन् । यदि पार्टीले ‘सही नेता’ चयन गर्यो भने जनताको भरोसा नफर्कने कुनै कारण छैन । तर, गलत अनुहार उठाइयो भने जनतासँगको सम्बन्ध भत्कन्छ । महाधिवेशन केवल एक ‘प्रक्रिया’ होइन-यो ‘राष्ट्रिय म्यान्डेट ’ हो । यही म्यान्डेटले भोलि देशलाई कसले सम्हाल्ने छ भन्ने निर्णय गर्छ ।
त्यसैले आज प्रतिनिधिको हातको एउटा भोटले पार्टीलाई मात्र होइन, देशलाई भविष्य दिन्छ ।
आज एकै सही निर्णयले एमाले पुनःसबैभन्दा शक्तिशाली दल बन्न सक्छ । आज एकै गल्तीले एमालेलाई दशकौँ पछाडि फाल्न सक्छ ।
एमालेले आगामी नेतृत्वमा यस्तो अनुहार उठाउनु छ-जो पार्टीलाई सम्हालोस्, जनतालाई जोडोस्, राष्ट्रलाई दिशानिर्देश गरोस् । यस्तो नेता उठेमा केवल एमाले होइन, मुलुक नै ब्युँझिन्छ ।
आज देशले खोजेको नेता त्यही हो ।
• जसको हात सफा होस् ।
• जसको चरित्र निर्मल होस् ।
• जो राष्ट्रियतामा अडिग होस् ।
• जसको निर्णय क्षमतामा दुवै आँखाले भरोसा गर्छन् ।
• जसले पार्टीलाई एक बनाउँछ ।
• जसले राष्ट्रलाई उठाउँछ ।
एमालेको महाधिवेशन अब केवल नेतृत्वको लडाइँ होइन, राष्ट्रनिर्माणको प्रतियोगिता हो ।
एउटा कुरा स्पष्ट छ,यदि एमाले बलियो भए नेपाल बलियो हुन्छ । यदि नेतृत्व सही आए एमाले बलियो हुन्छ । र, यदि महाधिवेशनले सही नेतृत्व छान्यो भने नेपालले नयाँ राजनीतिक युगमा प्रवेश गर्छ ।
एमालेको प्रतिनिधिहरूलाई इतिहासले दिएको जिम्मेवारी यही हो । सही नेता छान, पार्टी र देशलाई बलियो बनाऊ ।













प्रतिक्रिया