काठमाडौं– राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा सक्रिय मेडिकल व्यवसायी दुर्गा प्रसाईले राप्रपाका नेता कमल थापा र राजेन्द्र लिङदेनलाई लल्कारेका छन् । आफूलाई राप्रपाका नेताहरुले ‘गोठालो’ सम्झिएको भन्दै प्रसाईले आफू राप्रपाको गोठालो नभएको बताएका छन् ।
फागुन २५ गते पोखराबाट काठमाडौं फर्केका पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म पुर्याउने कार्यक्रम आफूले आयोजना गरेको तर त्यहाँ राप्रपाका नेताहरु घुसेर गाडीमा झुण्डिएको प्रसाईले गुनासो गरे ।
विगतमा राजसंस्था र हिन्दु राष्ट्र फालेर गणतन्त्र स्थापनामा राप्रपाको समेत हात रहेको प्रसाईले बताए । राजसंस्था ढल्नुमा स्वयं राजाको सचिवालय पनि जिम्मेवार रहेको बताउँदै उनले भने, ‘राजाको सचिवालय पनि ठीक छैन ।’

राप्रपाले संसदमा गएर गणतन्त्रको भोज खाइरहेको प्रसाईको आरोप छ । राप्रपाले साँच्चै राजसंस्था र हिन्दुराष्ट्र फर्काउन चाहेको हो भने सांसद पदबाट राजीनामा दिएर सडकमा आउन उनले राप्रपा नेताहरु राजेन्द्र लिङदेन र धवल समशेर जबरालाई चुनौती दिएका छन् । साथै उनले ज्ञानेन्द्र शाहीलाई पनि ‘पपुलारिटी’का पछाडि नलाग्न भनेका छन् ।
रास्वपा सभापति रवि लामिछानेमाथि पनि कडारुपमा प्रस्तुत हुँदै प्रसाईले रविलाई ‘देउवा र ओलीसँगै भाग खान हिँडेको’ आरोप लगाएका छन् ।
ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं विमानस्थलमा आउँदा भएको राजावादीको प्रदर्शनलाई राप्रपाद्वारा आयोजित कार्यक्रम भनिएकोमा आक्रोशित बनेका प्रसाईले त्यसको दुईदिन पछि भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर के–के भने ? सुनौं, उनकै शब्दमा–

(राप्रपातिर संकेत गर्दै) मौका मिल्दाखेरि सदनमा जाने, सदन पनि खाने । गणतन्त्रको भोज खाएर राजतन्त्रको वकालत गर्दैन दुर्गा प्रसाईले । गणतन्त्रको भोज खाने, राजतन्त्रको वकालत गरेर म अरु सांसदहरुजस्तो नाटक गरेर हिँड्दिनँ । म जे देख्छु त्यही गर्छु, जे बोल्छु, त्यही गर्छु ।
फुगन २५ गते हाम्रो विशेष पहलमा हामीले आयोजना गरेको कार्यक्रम हो । एयरपोर्टमा सवारी हुँदै गर्दा राजालाई हामीले भव्य स्वागत गरेर निर्मल निवास लगेर छिरायौं । पोखराबाट काठमाडौं आउँदाखेरि राजाको त्यत्रो भव्य स्वागत भयो । र, मैले वीचमा के भनको थिएँ भने राजालाई हामी हातमा समातेर राजदरबार छिराउँछौं, त्यतिखेर कसैले रोक्न सक्दैन । आज हेर्नोस्, एउटा दुर्गा प्रसार्इँले…। सदनमा भएका साथीहरु (राप्रपा) को त के कुरा गर्नु ?
हिजो यो स्थिति (गणतन्त्र) ल्याएको कसले भन्दाखेरि सबैभन्दा ठूलो दोष, सबैभन्दा ठूलो ‘फ्रड’ काम गरेको भनेको राप्रपाले हो । ०७२ साल असोज ३ गते राप्रपा भन्ने पार्टी, त्यसका अध्यक्ष कमल थापा र राजेन्द्र लिङदेनले साइन गरेको थिएन भने न राजसंस्था जान्थ्यो, न हिन्दु अधिराज्य जान्थ्यो ।

राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर तिलाञ्जली दिने अनि अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्नलाई ए…. हामीले गरेको ! महानगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरेको ! उता गएर हामीले गरेको ! अनि चैत १ गतेदेखि आन्दोलन सुरु गरिहालौं ! दुर्गा प्रसाई आउनु परो ! हामीसँग मिल्नुपरो ! उहाँहरुले मलाई त गोठालोजस्तो पो सोच्नुभएछ ।
त्यो ‘आउनुपरो’ भन्ने मान्छेलाई म के भन्छु भने तपाईले कति जनालाई रोजगारी दिनुभएको छ ? मैले ५ हजार जनालाई दिएको छु । डाक्टरहरुलाई दिएको छु रोजगारी । प्रोफेसरहरु, चार्टर्ड एकाउन्टेन्टहरुलाई रोजगारी दिएर बसेको मान्छे हुँ म । म संगत गर्दा राजाको गर्छु । आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गर्छु । गोठालाहरुसँग सडकमा गएर नाटक देखाउँदिनँ । यो कुरा सबैजनालाई हेक्का रहोस् । क्लियर होस् । म कसैको गोठालो होइन ।
म राजालाई पनि के भन्छु भने राजाले पनि धैर्य भएर सोच्नुहोला । यो लडाइँमा तपाई सारथी भएर रथ हाँक्नोस्, म अर्जुनको भूमिका गरेर वाण चलाउँछु । दुर्गा प्रसाईजतिको कलीयुगको अर्जुन तपाईले भेट्टाउनुहुँदैन । तपाईले भेट्टाउनुभएछ भने अनि त्यहाँबाट मलाई भन्नुहोला ।

तपाईले देखिसक्नुभयो तपाईका सारथीहरु । अर्जुनहरु । गणतन्त्रमा गएर भोज खाने । खड्गप्रसाद ओलीसँग फोन गर्ने । अनि माहौल बन्यो भनेदेखि यसो परिहाल्छ कि भनेर ढोक्सा थाप्ने ।
तपाईलाई हिजो पनि त्यही दरबारभित्रका मान्छेले सिध्याएको हो । तपाईको सचिवालयले सिध्याएको हो । आज पनि तपाईलाई सचिवालयले सिध्याउँदैछ । भोलि पनि सचिवालयले सिध्याउँदैछ । तपाई होसियार हुनोस् । म राजालाई यही भन्न चाहन्छु । तपाईको सचिवालय ठीक छैन ।
मलाई लोभ छैन, तपाईले के दिनुहुन्छ, के दिनुहँदैन । मलाई त्योसँग सरोकार छैन । यो देशमा प्रधानमन्त्री बन्नुपर्यो भनेदेखि भोलि जनताले बनाउने हो, राजाले बनाउने होइन । यो कुरा पनि हेक्का रहोस् सबैलाई ।
मैले राम्रो काम गर्ने हो । मैले तीन वर्षदेखि सर्वहारावर्ग, भुइँमान्छे, उत्पीडित वर्गका माग उठाएर हिँडेको छु । नारा उठाएर हिँडेको छु । मेरा नेपाली दाजुभाइ दिदीबहिनीहरु लघुवित्त, सहकारी र बैंकबाट लुटिए । ‘ब्ल्याक लिस्ट’मा परे । नेपालभित्र नेपालीले ‘ब्ल्याक लिस्ट’मा पर्नुपर्यो । नेपालभित्र नेपाली आज तेस्रो दर्जाको नागरिक भएर हिँडेको छ, त्यसको अन्त्य गर्नुछ । २० लाखभन्दा मुनिको ऋण मिनाहा गराउनु छ । मेरो पहिलो उद्देश्य भनेको त्यो हो ।
मेरो एक नम्बर उद्देश्य भनेको लघुवित्तपीडित, सहकारीपीडित, बैंकपीडित र बैंकले लिलाम गरेर सुकम्बासी बनाएका मान्छेहरुको घरजग्गा जमिन फिर्ता गराउनु छ । यो भनेर मैले दुर्गामाता, पाथीभरा मातामा कसम खाएको छु । मेरी ८३ वर्षकी आमाको हात शीरमा राखेर म मर्न पनि सक्छु, नफर्कन पनि सक्छु आमा भनेर हिँडेको मान्छे हुँ म ।

यो व्यवस्था परिवर्तन गर्न सकिनँ भने म तपाईको दर्शन गर्न आउँदिनँ भनेर पाथीभरा माता, दुर्गामातालाई भनेर आएको मान्छे हुँ । म यो व्यवस्था परिवर्तन भएन भने ती माताको अनुहार हेर्न जान्नँ, फेरि पनि भन्दिन्छु ।
म सत्य निष्ठावादी मान्छे हुँ । म एउटा योगी हुँ । पहेँलो लुगा नलगाएको योगी हुँ । मलाई केही चाहिएको छैन । तर, सबैजनाले के हेक्का राख्नुपर्यो भन्दाखेरि दुर्गा प्रसाई कसैको गोठालो होइन । दुर्गा प्रसाई युगले खोजेको एउटा आँधीबेहेरी ल्याउने मान्छे हो । र, यो आँधीबेहेरीले बगाउँछ ।
आज रास्वपाका रवि लामिछाने, प्रचण्ड, प्रधानमन्त्री खड्गप्रसाद ओली र शेरबहादुर देउवा मिलेर खानेबेलामा एक ठाउँमा आए । रवि लमछिानेलाई म भन्छु– हिजो तपाईलाई त्यत्रो लात हानेर खेद्दाखे्रि, तपाईलाई लगेर थुन्दाखेरि तपाईका लागि बोल्ने हामी थियौं । तर, आज मिलाएर खानेबेलामा फेरि गएर वार्ता गर्नुभयो । भनेपछि तपाईले जनताका लागि के काम गर्न सक्नुहुन्छ रविजी ?
म रविजीलाई के भन्छु भने तपाईको भविष्य, तपाईको पार्टीको भविष्य जोगाउनुहुन्छ भने तपाई यो अभियानमा जोडिनोस् । पहिला व्यवस्था परिवर्तन गरौं । तपाईले अवस्था परिवर्तन गर्दा अवस्था परिवर्तन हुँदैन । किनभने, देश ‘ब्ल्याक लिस्ट’मा गइसक्यो । तपाईसँग के छ ? देशै ‘ब्ल्याक लिस्ट’मा गइसक्यो ।
‘ग्रे लिस्ट’ भनेको ‘ब्ल्याक लिस्ट’ । अब एक चरण त हो । उक्लेको चिज ओर्लिँदैन । ६० वर्ष भएको मान्छे ६१ मा जान्छ, ५९ मा आउँदैन ।
दरबारबाट राजालाई खेदेर हामी राजाका रैती भन्दा पनि मारवाडीका गोठाला भएछौं । खाडीमा बस्ने साथीहरुले पनि बुझ्नुपर्यो । मारवाडीको छोराले खाडीमा गएर ५० डिग्रीको तातोबाट रेमिट्यान्स पठाउँछ ? खाडीबाट रेमिट्यान्स पठाउने हाम्रा दाजुभाइ, देश हाम्रो, देशका संरचना हाम्रा तर पैसा मारवाडीले चलाउँछ । अनि हामीले मारवाडीका सामान बेचिदिनुपर्छ ।
दोकानमा सटर खोलेर बस्ने जम्मै म मालिक हुँ भन्थे, केको मालिक रहेछन् ? मारवाडीका काम गर्ने रहेछन् । मैले अहिले आएर बुझेँ, सबै कुरा सकिएछ ।
तपाईहरुले भन्नुहोला, दुर्गा प्रसाई राजासँग रिसायो । राजा दुर्गा प्रसाईसँग रिसाए भन्नुहोला, त्यस्तो होइन । हाम्रो राम्रो सम्बन्ध छ । तर, बीचमा चलखेल भइरहेको छ ।

हिजो राजसंस्था बिदा गर्ने आफैं । माल खाएर धर्म निरपेक्ष बनाउने आफैं । युएसआइडी र युरोपियन युनियनको पैसा खाएर आफैं त्यसो गर्ने । अनि आज आएर तीन वर्षमा मेहनत गरेर माहौल बनाएपछि हामीले गरेको ! हन अप्ठ्यारो पनि लाग्दोरहेन छ कि क्या हो मान्छेहरुलाई ? अगाडि–अगाडि गएर भीडमा फोटो खिचेर दुर्गा प्रसाई आउनुपर्यो अरे !
म धवलसमसेर दाइलाई पनि के भन्छु भने धवल दाइ तपाई पनि क्यान्सर सर्भाइबल मान्छे हो, म पनि क्यान्सर सर्भाइबल मान्छे हो । ल, तपाई यो आन्दोलनका लागि १० करोड रुपैयाँ हाल्नोस् म पनि १० करोड रुपैयाँ हाल्छु । दम छ भने हाल्नोस् । ल निस्कियौं ।
अनि अर्को कुरो भन्छु धवल दाइलाई । तपाईको पार्टीले पहिला सदनबाट राजीनामा देओस् अनि आओस् भुइँमा । भुइँमा आउनुपरो नि । ताक परे तिवारी, नत्र गोतामे ? भयो भने भइहाल्यो, भएन भने आफ्नो सदन छँदैछ । आफ्नो फुली छँदैछ । आफ्नो लोगो छँदैछ ।
तपाईहरुले मलाई नपढेको बेवकुफ सम्झेको होला, दुर्गा प्रसाईँ भनेको यो कलीयुगको युनिभर्सिटी हो । यो कुरो धवलसमशेर राणा दाइले पनि बुझ्दा हुन्छ । कमल थापा दाइले पनि बुझ्दा हुन्छ । राजेन्द्र लिङदेन दाइले पनि बुझ्दा हुन्छ । म सम्मान गर्छु । तपाईहरु उमेरले मभन्दा जेठो हो ।
हाम्रो ज्ञानेन्द्र शाही हुनुहुन्छ नि, माथि… जुम्लाको यार्सागुम्बा खाएको भाइ । उहाँलाई पनि भन्न चाहन्छु– त्यसरी फोटो नखिच्नोस् । तपाईको पपुलारिटी पनि देखेको छ ।
मैले अभियान चलाएको हुँ, अभियानमै रमाएको छु । नेपाली नागरिकका लागि आवश्यकता पर्यो भने, भोलि लघुवित्तपीडित, सहकारीपीडित, बैंक पीडित र विदेशमा ७ हजार जेलमा छन्, उनीहरु सबैको आवाजले ‘दुर्गा प्रसाईँ तँ पार्टी खोलेर अगाडि बढ्’ भनेछन् भने त्यतिखेर बढौंला । तर, अहिले म गतिछाडा काम गर्दिनँ ।

यहाँ कसैले प्रधानमन्त्री हुने रहर गरेका छन् । मखमलका लुगा लगाएका छन् । भविष्य हेरेका छन् । दुर्गा प्रसाईलाई प्रधानमन्त्री हुन लेखेको छैन भन्छन् । मैले यो काम प्रधानमन्त्री हुनका लागि गरेकै होइन । म प्रधानमन्त्री हुन लायकको मान्छे होइन भनिरहेको छु त । मेरो काम व्यवस्था परिवर्तन गर्ने हो ।
राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनुपर्छ । म उहाँहरुलाई के भन्छु भने सदन छोडेर हाम्रो अभियानमा आउनुपर्छ । व्यवस्था परिवर्तन गरौं । प्रधानमन्त्री कसलाई हुन मन लाग्छ होउन्, म अहिल्यै लेखेर दिन्छु ।
कोही–कोही माननीय (राप्रपाका सांसद) हरु ‘खलाँसी’जस्तो भएर झुण्डिइराखेका थिए । अनि अघि पछि गरेर चटक देखाउँथे । त्यस्तो खेदेपछि मलाई त रमाइलै मात्रै लाग्यो त्यो दिन । मैले तीन वर्षमा गरेको काम सफल भयो नि त भाइ ! अनि मचाहिँ नाचेको नाच्यै !
प्रतिक्रिया