वर्ष ०८१ का चर्चित १० घटना : रवि र मनाङे जेलतिर | Khabarhub Khabarhub

वर्ष ०८१ का चर्चित १० घटना : रवि र मनाङे जेलतिर



काठमाडौं– भनिन्छ, बितेको समय जस्तो भए पनि आउने दिन सुखद होस् । हिजोको घटना–परिघटनाबाट पाठ सिक्दै नराम्रा दिन नदोहोर्‍याउने प्रण होस् । वर्ष २०८१ ले बिदाइको हात हल्लाउँदै गर्दा मुलुकले केही नमिठा घटनाहरूको सामना गर्नुपर्‍यो । जसले सतर्क र सजग हुन सिकाएको छ ।

राजनीतिक आन्दोलन, प्राकृतिक विपद्, दुर्घटना र अपराधलगायतका विभिन्न घटनाले नेपालीमनलाई विक्षिप्त बनायो । तर नयाँ वर्ष २०८२ ले यस्ता नमिठा अपराधका घटनाहरूको सामना गर्न नपरोस् ।

दुःखद घटनाहरु बिर्सन लायक हुन्छन् । खुखद घटनाहरु मात्र सम्झन लायक हुन्छन् । आशा गरौं– २०८२ साल सम्झन लायक घटनाहरुको वर्ष बनोस् ।

जाँदाजाँदै ०८१ सालका केही बिर्सन लायक घटनाहरुको एकपटक सिंहावलोकन गरौं–

तीनकुने आन्दोलन

चैत १५ गते राजावादीको आन्दोलनमा काठमाडौंस्थित तीनकुनेमा भएको झडपमा एक पत्रकारसहित दुई जनाको मृत्यु भयो । प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भयो । २९ वर्षीय महर्जन राजावादीको प्रदर्शनमा सहभागी थिए ।

प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो । यसैगरी राजावादीबाट आगजनी भएको घरमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भयो । आन्दोलन दुर्गा प्रसाईंको मुख्य नेतृत्वमा भएको थियो । हाल उनी पक्राउ परी थुनामा छन् ।

सौर्यको जहाज दुर्घटना

सौर्य एयरको भग्नवाशेष

साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खस्यो । नाइनएनएएमई विमानमा चालकदलका एकजना सदस्यबाहेक बाँकी १८ जनाको मृत्यु भएको थियो ।

चालक क्याप्टेन मनिष शाक्यलाई जीवित उद्धार गरिएको थियो । साथै, उक्त दुर्घटनामा एकै परिवारका तीन सदस्यको मृत्यु भएको थियो । जसमा चार वर्षका बालकसमेत थिए । उक्त परिवारका बुवा प्रकाश खतिवडा आफ्नी छोरी र नातिको न्यायका लागि लडिरहेका छन् ।

हेलिकप्टर दुर्घटना


साउन २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भयो । एयर डाइनेष्टीको नाइनएनएजेडी कलसाइन भएको हेलिकप्टर चार जना चिनियाँ पर्यटक लिएर रसुवाको स्याप्रुवेशीतर्फ उडेको थियो ।

काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । हेलिकप्टर पाइलट अरुण मल्ल र चारजना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भयो । सबै शव घटनास्थलमा फेला परेको थियो ।

मःम पसलमा ग्यास विस्फोट

माघ २४ गते काठमाडौँको कमलपोखरीमा रहेको ‘कमलपोखरी शानदार मःम पसल’ मा ग्यास सिलिन्डर विस्फोट भयो । उक्त विस्फोटमा परेर चार जना कामदारले ज्यान गुमाए । बिहान पौने ९ बजेको समयमा विस्फोट हुँदा १४ जना घाइते भएका थिए ।

अस्पताल पुर्‍याइएका ११ जना घाइतेमध्ये सातजना अझै उपचार गराइरहेका छन् । मःम पसलको भान्सा कोठामा ग्याँस सिलिन्डर पड्किँदा भुइँतलामा भएको घरको सिलिङ नै खसेको थियो । माथिल्लो तलाका झ्यालका सिसा पनि फुटेका छन् ।

त्रिशूलीमा दुईवटा बस बेपत्ता



असार २८ गते अविरल वर्षाको समयमा नारायणगढ–मुग्लिन सडकखण्डमा दुईवटा बस बेपत्ता भए । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका थियो ।

सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भयो । जसमा चालकसहित ६५ जना बेपत्ता भए । बिहान ३ः३० बजे उक्त बस त्रिशूलीमा खसेको थियो । उक्त दुर्घटनामा कोही जीवित भेटिएनन् ।

सोलुखुम्बुमा हिमपहिरो

साउन ३२ गते सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुट्यो । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोसीमा ठूलो बाढी आएको थियो ।

बाढीका कारण मानवीय क्षति नभए पनि थामेका कम्तीमा ७० घर पूरै डुबानमा परेका थिए । उक्त बाढीले गाउँका ४० प्रतिशत घरहरू भत्किएका थिए ।

भारतमा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्यु



भारतको कलिङ्गा एन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको मृत्यु शङ्कास्पद भयो । लम्साल ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर ‘बी–टेक’ तेस्रो वर्षमा अध्ययनरत थिइन् । मृत भेटिएकी उनलाई कलेजले जारी गरेको विज्ञप्तिमा आत्महत्या गरेको भनिएको थियो ।

ओडिसाको पत्रिका संवादको अङ्ग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुव्र्यवहारमा परेको जनाएको थियो । सामाजिक सञ्जालमा आएको एक अडियो क्लिपमा उक्त युवक र प्रकृतिबीचको संवाद सुन्दा युवकले उनलाई दुव्र्यवहार र उत्पीडन गरेको बुझिन्छ ।

प्रकृतिको घटनालाई लिएर विद्यार्थीले प्रदर्शन गर्दा सुरक्षागार्ड र होस्टलका वार्डेनहरू प्रयोग गरेर दबाउन खोजिएको थियो । उक्त विषयलाई लिएर कलेज प्रशासनले नेपालसँग माफीसमेत मागेको थियो ।

रुस–युक्रेन युद्धमा ४५ नेपालीको मृत्यु



सन् २०२२ देखि रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई भर्ती गर्दै आइरहेको छ । हालसम्म उक्त युद्धमा ४५ बढी नेपालीले ज्यान गुमाएका छन् । रुसी सेनामा भर्ती भएका कति नेपाली कुन अवस्थामा छन् र कति युद्ध क्षेत्रमा हराइरहेका छन् भन्ने यकिन आँकडा सरकारसँगै छैन ।

तर रुसबाटै सम्पर्कमा आएकाहरूका परिवार, रुसी सेनाबाट भागेर फर्केकाहरूले दिएको जानकारी अनुसार करिब १५ सय नेपाली रुसी सेनामा भर्ती भएको आकलन छ । मानव तस्करले रुसी सेनामा भर्ती गराएका १२४ नेपाली युवा कम्तीमा एक वर्षदेखि परिवारको सम्पर्कमा छैनन् ।

परराष्ट्र मन्त्रालयले रुस–युक्रेनको युद्धमा परेर मृत्यु हुने नेपालीका बारेमा सुरुआतमा प्रेस विज्ञप्ति नै निकालेर जानकारी दिए पनि पछिल्लो समय मृत्यु हुनेहरू सबैको नामावली सार्वजनिक गरेको छैन ।

त्यसैगरी कञ्चनपुरका २३ वर्षीय विपिन जोशीलाई पनि हमासले नियन्त्रणमा लिइएको छ । उनको रिहाइको लागि नेपालले सडकदेखि सदनमा आवाज उठाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा पनि उनको रिहाइको माग गरिएको छ । जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौमा त्यहाँ गएका थिए ।

बेलुन पड्किँदा नेता घाइते



गत फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा कार्यक्रममा बेलुन पड्किँदा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भए ।

कार्यक्रमको उद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्याँस भरिएका बेलुनमा फायर क्यान्डिलबाट निस्किएका झिल्काहरूले भेटेपछि दुर्घटना हुन पुग्यो ।

अर्थमन्त्री पौडेलको अनुहार र हात तथा प्रमुख आचार्यको देब्रे पट्टीको गाला र हातमा चोट लागेको छ । असावधानीका कारण बेलुन आगोसँगको सम्पर्कमा आउँदा दुर्घटना हुन पुगेको थियो । कास्की प्रहरीले बेलुनमा हाइड्रोजन भर्ने व्यक्ति कमलेश कुमारलाई पक्राउसमेत गरेको थियो ।

रवि जेलतिर


राजनीतिमा आउनुअघि नै लागेको सहकारी संस्थाको बचत रकम ठगीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्ततः जेल पुर्या‍एको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गतेको आदेशअनुसार वर्षको अन्तिम अर्थात् चैत २५ गते उनी भैरहवा जेलमा चलान भए ।

सहकारी ठगी प्रकरणमा उनलाई २०८१ कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पार्टी कार्यालयबाटै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो। यो प्रकरणले पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई अन्ततः जेलको बाटो देखायो । जिल्ला अदालत कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलेपछि गत ८ पुसमा लामिछाने सांसदबाट निलम्बित भएका थिए।

रविलाई काठमाडौं, कास्की, रुपन्देही र चितवनका विभिन्न सहकारीको बचत ठगीमा मुद्दा चलाइएको थियो । ती सबै अदालतले करोडसम्मको धरौटी लिएर उनलाई रिहा गरिदिएका थिए ।

तर बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएका उनका साझेदार एवम् पूर्वडीआईजी छविललाई जोशीलाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको थियो। जिल्लाको उक्त आदेशलाई उच्चले सदर गरेर जोशीलाई थुनामै राख्न भनेको छ । रूपन्देही जिल्ला अदालतले सुप्रिमको बचत हिनामिना मुद्दामा रविलाई माघ १३ गते १ करोड धरौटीमा छाडेको थियो ।

सुप्रिम सहकारीमा रवि, छवि र गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित ४२ जनाको संलग्नता थियो । उनीहरूले ५५ करोड अपचलन गरेको मुद्दा चलेको थियो । रवि, छवि र जीबीले १० करोड ९९ लाख ३६ हजार रकम अपचलन गरेको पूरक अभियोगसहितको मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले चलाएको थियो ।

समान प्रकृतिको मुद्दामा रविलाई धरौटी र छविलाई थुनामा पठाएपछि सरकारी वकिलले रविलाई थुनामै राख्नु पर्ने मासगसहित उच्च अदालतमा निवेदन गरेको थियो । छविलालले पनि धरौटीमा छुट्न मागसहित उच्चमा निवेदन दिएका थिए ।

दीपक मनाङे पक्राउ



कात्तिक २० गते गण्डकी प्रदेशसभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरूङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय तोकियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

तर १० वर्षभन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्थाअनुसार उनी रिहा भएका थिए । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिएका थिए । उनी पटक पटक मन्त्रीसमेत बने ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ४४ बजे

सुरु भयो ‘ललितकला मेला

काठमाडौं- नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ

खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग

पोखरा – दुरा सेवा समाजले खजे दुरालाई राष्ट्रिय विभूति बनाउन

ट्रकबाट २५ करोड बरामद प्रकरण- चालक कुशाङ र मालिक नारायणविरुद्ध मुद्दा दायर

काठमाडौं– राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन सम्बन्धी कसूरमा ट्रक

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं :  नेपाल आयगल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

कांग्रेसमा असन्तुष्टि चुलिँदा सरकारको भविष्यमाथि उठ्न थाल्यो प्रश्न

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमाले