कतारको उपहार ट्रम्पलाई निल्नु न ओकल्नु | Khabarhub Khabarhub

कतारको उपहार ट्रम्पलाई निल्नु न ओकल्नु

बढ्यो अमेरिकी एजेन्सीहरूको सुरक्षा चिन्ता


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

दोहा- अरब मुलुक कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक विलासी जहाज उपहारमा दिँदैछ । मध्यपूर्वको भ्रमणमा रहेका ट्रम्पलाई उपहारका रूपमा कतारले एक भव्य विमान दिने तयारी गरेको हो ।

तर यसलाई लिएर अमेरिकी जासुस विभागमा हलचल भएको छ। यो उपहारले अमेरिकामा सुरक्षा चिन्ता बढाएको छ । ट्रम्पका लागि यो उपहार स्वीकार्ने वा नगर्ने दुवै कुरामा समस्या खडा भएको छ।

कतारले ट्रम्पलाई उपहारस्वरूप एक शानदार बोइङ ७४७ जेट विमान दिने प्रस्ताव गरेपछि अमेरिकी जासुसी एजेन्सीहरूमा खलबली मच्चिएको हो ।

अमेरिकास्थित सुरक्षासम्बन्धी विशेषज्ञहरूले यसबारेमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरू भन्छन्, ‘विदेशी सरकारबाट आएका यस्ता उपहारहरूले निगरानी, जासुसी वा सञ्चार प्रणालीमा हस्तक्षेपको खतरा बोकेका हुन्छन् ।’

विलासी विमानको कथा

यो विमान सन् २०१२ मा कतारका पूर्व प्रधानमन्त्री तथा शाही परिवारका सदस्य हमाद बिन जसीम बिन जबेर अल थानीका लागि बनाइएको बोइङ ७४७ जम्बो जेट हो ।

विमानको भित्री सजावट फ्रेन्च डिजाइनमा आधारित छ । हातले बनाइएका सामाग्री, मूल्यवान काठ र चर्चित कलाकार अलेक्जेन्डर काल्डरका कलाकृतिहरूले यो सु-सज्जित छ।

माथिल्लो तलामा मास्टर बेडरूम, बाथरूम, पाहुना कक्ष र निजी लाउन्ज छन् । तल्लो भागमा कार्यालय, चालक दल क्षेत्र र अन्य लक्जरी लाउन्जहरू छन्। यस विमानमा झण्डै ८९ यात्रु अट्न सक्छन्।

सुरक्षा चिन्ता

अमेरिकी एजेन्सीहरूलाई यो विमान ट्रम्पको जासुसी गर्न प्रयोग हुन सक्ने चिन्ताले सताएको छ । सीआईएका एक पूर्व अधिकारी थ्याड ट्राय भन्छन्, ‘यदि यस्तो विमान दिन लागिएको हामीलाई पहिल्यै थाहा हुन्थ्यो भने हामी निश्चय नै त्यसमा निगरानी उपकरणहरू जडान गर्थ्यौँ ।’

उनले सोभियत युगको उदाहरण दिँदै विगतमा पनि यस्ता जासुसी प्रयासहरू भइरहने उल्लेख गरेका छन् ।

विशेषज्ञहरूका अनुसार यस विमानलाई अमेरिकी राष्ट्रपतिको प्रयोगका लागि उपयुक्त बनाउन त्यसमा एयर फोर्स वन जस्तै सुरक्षात्मक सामग्रीहरू जडान गर्नुपर्छ । जस्तै, विस्फोट प्रतिरोधी यन्त्र, हावामा इन्धन भर्ने सुविधा, सुरक्षित सञ्चार प्रणाली र रक्षा प्रणालीहरू।

ट्रोय भन्छन्, ‘यसका लागि विमानलाई पूर्ण रूपमा खोलेर जाँच गर्नु आवश्यक हुन्छ । त्यसो गर्दा ट्र्याकिङ डिभाइस वा जासुसी उपकरण छैन भन्ने सुनिश्चित गर्न सकियोस्। यही कारण एयर फोर्स वन बनाउन लामो समय लाग्छ।’

ट्रम्पको तर्क- उपहार किन नलिने ?

ट्रम्पले उपहार स्वीकार्ने पक्षमा तर्क गरिरहेका छन् । ‘केही मानिस देशका लागि उपहार नलिनु राम्रो हो, तर मेरो विचारमा – किन नलिने? हामी अरूलाई दिन्छौँ भने आफूले किन नलिने?’, उनले तर्कसहित भने । ट्रम्पले खाडी देशहरूसँग अमेरिका भन्दा ठूला र नयाँ विमान रहेका तर्क गरे । त्यसैले अमेरिकासँग पनि उत्कृष्ट विमान हुनुपर्ने उनको तर्क छ ।

चौतर्फी आलोचना

यो उपहारका लागि ट्रम्पलाई विपक्षी दल डेमोक्रेटिकसहित आफ्नै समर्थकहरूले पनि आलोचना गरिरहेका छन्। दक्षिणपन्थी नेता बेन शापिरोले यही उपहार डेमेक्र्याटले लिएको भए अमेरिका अर्कै अवस्था हुने तर्क गरे।

‘यदि यही उपहार हन्टर बाइडन र जो बाइडनलाई दिइएको भए हामी सबै आक्रोशित हुन्थ्यौं’, उनले थपे, ‘ट्रम्पले आफ्नै नीतिविपरीतको कार्य गरिरहेका छन् ।’

धूर दक्षिणपन्थी अभियन्ता लौरा लुमरले पनि सामाजिक सञ्जालमा लेखेर आलोचना गरेकी छन् । ‘यदि यो सत्य हो भने, ट्रम्प प्रशासनमाथि यो ठूलो धब्बा हो । ट्रम्पका लागि गोली खानसमेत तयार एक समर्थकको हैसियतले म भनिरहेकी छु, यो निर्णय गलत हो ।’

उपहार अस्वीकार्नु पनि जोखिमपूर्ण

अरब संस्कृतिमा उपहार दिनु सम्मान र मित्रताको प्रतीक मानिन्छ। त्यसैले यदि अमेरिकाले यो विमान अस्वीकार गरे कतार र अन्य अरब मुलुकहरूका लागि अपमानजनक ठहरिन सक्छ ।

विशेषतः अहिलेको अवस्थामा कतार गाजा संघर्ष समाधानमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। सेन्टर फर इन्टरनेशनल सेक्युरिटी स्टडिज, अष्ट्रेलियाका प्रमुख जेम्स डेर डेरियनले भने, ‘यो विमान अब केवल एक प्रविधिसम्बन्धी विषय होइन, प्रतीक बनिसकेको छ। यसको अस्वीकृतिले अमेरिका-कतार सम्बन्ध मात्रै होइन, समग्र अरब विश्वसँगको सम्बन्धमा असर पार्न सक्छ ।’

कतारको भूमिका र कूटनीतिक अप्ठेरो

कतार अमेरिकाको पुरानो रणनीतिक साझेदार हो । अहिले कतारले इजिप्टसँग मिलेर गाजा युद्ध रोक्न इजरायल र हमासबीच मध्यस्थता गरिरहेको छ । यद्यपि, कतारमा हमासको राजनीतिक कार्यालयसमेत छ । जसका कारण पनि अमेरिकी सुरक्षा निकायहरूका चिन्तालाई अझ गम्भीर बनाएको छ।

जेम्स डेर डेरियन भन्छन्, ‘कतार सोभियत संघ जस्तो त होइन, तर यसका जासुसी एजेन्सीहरू निकै सक्रिय छन् । कतारले आफ्नो आकारभन्दा धेरै ठूलो प्रभाव विश्वभर पार्न सफल भएको छ । ट्रम्पलाई विमान उपहार पनि त्यही प्रभावको एउटा रूप हो ।’

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ३ : ०७ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको