युद्धको त्रासदिमा बाँचेका कश्मीरबासीको चिन्ता- आकाश कहिलेसम्म शान्त रहला ? | Khabarhub Khabarhub

युद्धको त्रासदिमा बाँचेका कश्मीरबासीको चिन्ता- आकाश कहिलेसम्म शान्त रहला ?


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोहम्मद इकबाल एक पावर प्लान्टमा रात्रिकालीन काम गरिरहेका थिए, जब उनलाई उनको परिवारबाट त्रासदिपूर्ण फोन आयो । उनीहरूको घर वरिपरि तोपखानाका गोलाहरू विस्फोट भइरहेका थिए ।

‘मैले उनीहरू सबैलाई भुइँ तल्लाको एउटा कोठामा सँगै बस्न भनेँ र आशा छ बिहानसम्ममा सबै कुरा ठीक हुनेछ,’ उनले सीएनएनसँग कुराकानी गर्दै भने ।

तर बिहानले कुनै राहत दिएन । चार दिनसम्म जारी रहेको गोलाबारीबाट भारत र पाकिस्तान दशकौंपछिको सबैभन्दा तीव्र द्वन्द्व लड्दै गर्दा पूर्णयुद्धको डर बढ्यो ।

४७ वर्षीय इकबाल भारत प्रशासित कश्मीरको पुंछ शहर नजिकै बस्छन्, जुन पाकिस्तानसँगको वास्तविक सीमाबाट घुयेँत्रोको दूरीमा छ । यो सल्लाको फेद र फूलले भरिएको घाँसे मैदानको क्षेत्र हो, जहाँ अग्ला, हिउँका चुचुराहरू छन् ।

तर यो रमाइलो दृश्य भ्रामक छ – कश्मीर विश्वको सबैभन्दा सैन्यीकृत क्षेत्रहरू मध्ये एक हो र भारत र पाकिस्तान बीच धेरै युद्धहरूको कारण बनेको छ । दुवै देशले यस क्षेत्रलाई पूर्ण रूपमा दाबी गर्छन् तर आंशिक रूपमा मात्र नियन्त्रण गर्छन् ।

गत महिना भारत प्रशासित कश्मीरमा पर्यटकहरूको नरसंहारपछि नयाँ दिल्लीले छिमेकी पाकिस्तानलाई दोष लगाएको थियो । तर पाकिस्तानले अस्वीकार गर्दै आएको छ । गत हप्ता आणविक हतियारधारी छिमेकीहरूले चार दिनसम्म मिसाइल, ड्रोन र गोलाबारी गरे ।

गत बुधबार गोलीबारी सुरू भएको दुई घण्टा पछि, इकबालले आफ्नो सालाको घरमा आक्रमण भएको खबर पाए ।

गोला नजिकैको पानीको ट्याङ्कीमा विस्फोट भएको थियो । झ्यालहरू भत्किएका थिए । काँचका टुक्राहरू उडेर उनको सालो र भतिजीलाई लागेको थियो । घाइतेहरूलाई नजिकैको अस्पताल पु¥याउन ठूलो दौडधुप भयो ।

‘मानिसहरू बाहिर निस्कन थालेपछि गाउँमा केही मानिसहरू कारसहित भेटिए । मानिसहरूले जुन गाडी भेट्टाउन सके, त्यही चढे,’ इकबालले भने, ‘केही घण्टासम्म एकआपसमा भेट हुन गाह्रो भयो । मानिसहरू छुट्टिए । अन्ततः अस्पतालमा मेरो परिवार भेला भयो ।’

त्यहाँ उनले प्रहरीका रूपमा काम गर्ने आफ्ना सालालाई गम्भीर घाइते भेट्टाए । चिकित्सा कर्मचारीहरू घाइतेहरूको उपचार गर्न संघर्ष गरिरहेका थिए ।

इकबालका साला बाँचे । तर उनका दुई छिमेकी बाँचेनन् ।

मे ८, २०२५ मा भारत प्रशासित कश्मीरको उरीको सलामाबाद गाउँमा गोलाबारीबाट ध्वस्त घर बाहिर उभिरहेकी महिला । तस्बिर- सज्जाद हुसेन/एएफपी/गेटी इमेजेज

पाकिस्तानले मंगलबार भारतीय गोलीबारीमा ४० सर्वसाधारणको मृत्यु भएको र १२१ जना घाइते भएको उल्लेख गरेको छ । आफ्नो सशस्त्र सेनाका ११ सदस्यको मृत्यु भएको पाकिस्तानले उल्लेख गरेको छ ।

भारतले यसअघि १५ सर्वसाधारणको मृत्यु भएको र ५९ जना घाइते भएको साथै पाँच सैनिक गुमाएको बताएको थियो ।

विवादित क्षेत्रमा बसोबास गर्ने लगभग १ करोड ५० लाख मानिसहरूका लागि, पछिल्लो शत्रुतापूर्ण लडाइँले राजनीतिक समाधानलाई पहिलेभन्दा धेरै टाढा धकेल्ने देखिएको छ ।

तर कश्मीरको दुवैतिरको तत्कालको चिन्ता भनेको आकाश कति समयसम्म शान्त रहनेछ भन्ने हो ।

‘यहाँ असहज शान्ति छ,’ भारत प्रशासित कश्मीरको अखनूर शहरका २५ वर्षीय अमिर चौधरीले आइतबार युद्धविराम लागू भएको केही घण्टापछि सीएनएनलाई भने ।

‘बजारहरू फेरि खुलेका छन् र केही मानिसहरू जो गएका थिए, बिस्तारै फर्कन थालेका छन्,’ उनले भने ।

‘रात पर्दा के हुन्छ भन्ने चिन्ता अझै पनि छ,’ उनले थपे ।

नियन्त्रण रेखाको अर्कोपट्टि, पाकिस्तान प्रशासित कश्मीरमा, साइमा अशरफले आफ्ना भावना साटिन्– ‘अनिश्चितता अझै पनि छ,’ उनले भनिन्, ‘धेरैले यो (युद्धविराम) स्थायी समाधान होइन भन्ने विश्वास गर्छन् ।’

बुधबार, मे ७, २०२५ मा पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद नजिकैको शंकास्पद भारतीय क्षेप्यास्त्र आक्रमणबाट क्षतिग्रस्त मस्जिदको भग्नावशेषबाट शव निकालेपछि स्वयंसेवकहरू । तस्बिर- एमडी मुगल/एपी

कश्मीरमा रहेकाहरू कहिले आफ्नो घर र गाउँ फर्कन सकिएला भन्नेबारे अस्पष्ट छन् ।

‘धेरैजना फर्कनेबारे निर्णय गर्नुअघि परिस्थिति कसरी विकसित हुन्छ भनेर पर्खिरहेका छन्,’ पाकिस्तानको नीलम उपत्यकाका स्थानीय प्रशासन अधिकारी अख्तर अयुबले रोयटर्सलाई भने ।

भारत–पाकिस्तान सीमा नजिकै बस्ने राजा शौकत इकबालले युद्धविरामलाई ‘कश्मीरका जनताका लागि आवश्यक’ भनेर वर्णन गरे । जसले विभाजनको दुवै तर्फ उच्च मूल्य चुकाइरहेका छन् ।

‘यो शान्ति अन्तर्राष्ट्रिय स्तरमा पनि आवश्यक थियो किनभने दुवै देश आणविक शक्ति सम्पन्न छन्, कुनै पनि देशको कुनै पनि गल्ती वा क्रोधले दुई अर्ब मानिसको मृत्यु हुन सक्छ,’ उनले भने ।

फर्केर हेर्दा

सन् १९४७ देखि नै कश्मीर विवादको केन्द्र बनेको छ, जब ब्रिटिश भारतलाई यसका पूर्व औपनिवेशिक शासकहरूले हतारमा दुई भागमा विभाजित गरेका थिए ।

त्यसपछि दुई राष्ट्रहरूको जन्म भयो : हिन्दूबहुल भारत र मुस्लिमबहुल पाकिस्तान । लाखौं मानिसहरू अचानक नयाँ सीमाको ‘गलत’ छेउमा पुगे । जसले गर्दा उन्मत्त र रक्तपातपूर्ण सामूहिक बसाइँसराइ भयो समुदायहरूलाई विभाजित गर्यो ।

हिन्दू राजाको नेतृत्वमा रहेको मुस्लिम बहुल राज्य कश्मीरको स्थिति अद्वितीय थियो । पाकिस्तानले उक्त क्षेत्रमाथि दाबी ग¥यो र राजकुमारले भारतलाई रोजे ।

बुधबार, मे ७, २०२५ मा पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद नजिकै भएको शंकास्पद भारतीय क्षेप्यास्त्र आक्रमणबाट क्षतिग्रस्त मस्जिद भवनको छतमा एक सैनिक पहरा दिँदै। तस्बिर- एमडी मुगल/एपी

उग्र राष्ट्रवादले ग्रसित दुई राष्ट्र पाकिस्तान र भारत दुवैले मुस्लिम बहुल कश्मीरलाई आफ्नो देशको अभिन्न अंग मान्छन् ।

दक्षिण एसियाका मुस्लिमहरूको मातृभूमिको रूपमा स्थापित पाकिस्तानका लागि कश्मीरको विभाजनलाई गम्भीर ऐतिहासिक अन्यायको रूपमा हेरिन्छ ।

देशको शक्तिशाली सेना जनरल असीम मुनीरद्वारा सञ्चालित छ । जो भारतप्रति आफ्नो कट्टर अडानका लागि परिचित छन् । स्थानीय मिडिया रिपोर्टहरूका अनुसार पछिल्लो द्वन्द्व हुनुभन्दा केही हप्ता अघि उनले कश्मीरलाई पाकिस्तानको ‘घाँटीको नसा’ भनेर वर्णन गरेका थिए ।

भारतले लामो समयदेखि कश्मीरमा आतंकवादी समूहहरूलाई आर्थिक सहयोग गरेको पाकिस्तानमाथि आरोप लगाउँदै आएको छ । जुन आरोप इस्लामाबादले अस्वीकार गरेको छ । यसैबीच, पाकिस्तानले यस क्षेत्रमा हिंसाको कारणलाई नयाँ दिल्लीको कथित ‘दमन’ को परिणामको रूपमा राख्न खोजेको छ ।

हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित भूमिमा अझ सम्झौताहीन अडान लिएका छन् ।

२०१९ मा, उनको भारतीय जनता पार्टी (भाजपा) सरकारले पूर्व राज्यलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन ग¥यो । जसले गर्दा नयाँ दिल्लीको सरकारलाई मुस्लिम बहुल क्षेत्रमा बढी नियन्त्रण मिल्यो ।

‘हाम्रो परिवार सँगै छ’

भारत र पाकिस्तान दुवैले आफ्नो पछिल्लो द्वन्द्वबाट विजय हासिल गरेको दाबी गरेका छन् ।

नयाँ दिल्लीले पाकिस्तानी भूभागभित्र गरिएको आक्रमण (१९७१ पछिको सबैभन्दा गहिरो) ले भारतमा आक्रमणको योजना बनाउन प्रयोग गरिने आतंकवादी शिविरहरूलाई ध्वस्त पारेको बताएको छ । जसमा गत महिना द्वन्द्व निम्त्याउने पर्यटकहरूको नरसंहार पनि समावेश छ ।

पाकिस्तानले आफ्नो वायुसेनाले फ्रान्समा निर्मित उन्नत राफेल लडाकु विमानहरूसहित पाँच भारतीय युद्धक विमान खसालेको दाबी गरेको छ ।

मे १०, २०२५ मा भारत प्रशासित कश्मीरमा एक आवासीय भवन नजिकै गोलाबारीबाट क्षतिग्रस्त एउटा गाडी। तस्बिर- अनिन्दितो मुखर्जी/गेटी इमेजेज

सोमबार, लडाइँ सुरु भएदेखिको आफ्नो पहिलो टिप्पणीमा मोदीले भने, ‘भारतले पाकिस्तानको आतंकवाद र सैन्य केन्द्रहरूमा प्रतिक्रियात्मक आक्रमणलाई मात्र स्थगित गरेको छ ।’

उनले आगामी दिनमा पाकिस्तानसँगको सम्बन्धमा फुकीफुकी पाइला चाल्ने बताएका छन् ।

सीमाको दुवैतर्फका मानिसहरू लामो समयदेखि गोलाबारी र हमलाको खतरामा बाँचिरहेका छन् ।

भारत प्रशासित कश्मीरस्थित उरीका एक विद्यार्थीले गत हप्ता आफ्नो घर हल्लाएको बेला जागा रहेकोे सीएनएनलाई बताए ।

‘हामी चुपचाप बस्यौँ, अत्यन्तै डराएका थियौँ,’ उनले भने, ‘अर्को निशाना हाम्रो परिवार वा हाम्रो घर नहोस् भन्ने प्रार्थना गर्दै थियौँ ।’

सुरक्षाको कारणले गर्दा सीएनएनले नाम नखुलाएका ती विद्यार्थीले युद्धविरामको घोषणा भएको खबर खुशीको क्षण भएको बताए ।

‘हाम्रो अनुहारमा मुस्कान छायो, र हामीले अँगालो हाल्यौँ,’ उनले भने, ‘हामी अब यो युद्धविराम कायम रहोस् भन्ने चाहन्छौं । दुवै देशले दीर्घकालीन समाधान खोज्नु आवश्यक छ ।’

विद्युत केन्द्रका कामदार इकबालले क्षति भए पनि आशावादी रहने प्रयास गरिरहेको बताए । ‘हामी भाग्यमानी छौँ,’ उनले भने, ‘हामीसँग पुनः निर्माण गर्न घरहरू मात्र छन् र हाम्रो परिवार सँगै छ । मलाई आशा छ यी यावत् कुरा फेरि सुरु हुने छैनन् । तर कुनै ग्यारेन्टी छैन ।’

***

‘सीमाले विभाजित, डरले एकत्रितः भारत–पाकिस्तान सीमाबाट हटेपछि उठाउनेछन् कश्मीरीले अवशेष’ शीर्षकबाट अनुदित सामग्री ।

(सीएनएनका लागि इशा मित्रा, इम्मद उद् दिन, मुख्तार अहमद, ऐश्वर्या एस. ल्येर, सोफिया सैफी, रोज एडकिन र रिआ मोगुलको रिपोर्ट)

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ४४ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको