भयलाई चेतनामा बदल्दै : सर्प उद्धारक रमेश | Khabarhub Khabarhub

भयलाई चेतनामा बदल्दै : सर्प उद्धारक रमेश

सर्प र मानव समुदायबीचको सहअस्तित्व जीवन्त राख्ने लक्ष्य


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– साँझपख मोरङको उर्लाबारीमा एक घरको भान्साकोठाबाट हल्ला मच्चियो । भान्सामा अचानक देखिएको लामो सर्पले सबैलाई त्रसित बनायो । भयवित परिवारका सदस्यले आत्तिँदै नजिकका एक परिचितलाई फोन गरे – उनी थिए रमेश भण्डारी ।

रमेश आए । शान्त स्वरमा सबैलाई ढाडस दिए । सर्पको किसिम बुझे । सावधानीपूर्वक सुरक्षितरूपमा उद्धार गरे । यो एउटा दृश्य हो, जुन रमेश भण्डारीका लागि सामान्य भइसकेको छ । पछिल्ला आठ वर्षदेखि उनी र उनको टिम सर्प उद्धार अभियानमा सक्रिय छ ।

उमेरले २९ वर्ष पुगेका रमेश मोरङको उर्लाबारी–४ निवासी हुन् । हालसम्म १५०० बढी सर्पहरूको सफल उद्धार गरिसकेका छन् उनले । खेत, घर, खोर, विद्यालय, जङ्गल, पोखरी, सडक, नाली— जहाँ जहाँ सर्प देखिए पनि रमेश पुगिहाल्छन् । आफ्नो जीवनको जोखिम मोलेर उनले सर्प र मानव समुदायबीचको सहअस्तित्वलाई जीवन्त बनाइरहेका छन् ।

२० वर्षको उमेरमा सर्पप्रति चासो राख्न थालेका रमेशले वन प्राविधिक प्रेम विष्टसँग सर्प समात्ने सीप सिके । सुरुमा उनी विषरहित सर्प मात्र उद्धार गर्थे । तर अनुभव र आत्मविश्वास बढ्दै जाँदा उनले अत्यन्तै विषालु सर्पहरू ‘कोब्रा’, ‘करेत’, ‘रसेल्स भाइपर’ जस्ता प्रजातिसमेत उद्धार गर्न थाले ।

‘सर्प आफैंले आक्रमण गर्दैन, डरका कारण मानिसहरूले झटपट निर्णय लिँदा उल्टै क्षति हुन्छ ।’ उनी भन्छन् ।

प्राकृतिकरूपमा सर्पहरूले मुसा, छेपारो, कीराबिजन खाएर वातावरणको सन्तुलनमा सहयोग पु¥याउँछन् । तर जब मानवीय गतिविधिले जङ्गल, खोल्सा, र वन क्षेत्रहरू मास्न थाल्छ तब सर्पहरू बाँच्नका लागि बस्ती पस्न बाध्य हुन्छन् ।

रमेश सर्पलाई मित्र मान्छन्, काल होइन । सर्पप्रति मानिसहरूमा रहेको डर र भ्रम हटाउने उद्देश्यले उनी विभिन्न विद्यालय, सामुदायिक संस्था, कृषक समूहमा सचेतनामूलक कार्यक्रम गर्छन् ।

‘सर्प नभएको भए खेतबारीमा मुसाले जति बाली नष्ट गर्थे, हामीले सोच्नै सक्दैनौँ’, उनी भन्छन्, ‘तर दुर्भाग्यवश मानिसहरूले अझै सर्पलाई नकारात्मक रूपमा मात्र हेर्छन् ।’

रमेशले आफ्नो व्यक्तिगत खर्चमा पोस्टर, पम्प्लेट र सामाजिक सञ्जालमार्फत् सर्पबारे जानकारीमूलक सामग्री पनि वितरण गर्दै आएका छन् । कहिलेकाहीँ स्कुले बालबालिकाले उनलाई चिठ्ठी लेखेर धन्यवाद दिन्छन्, जसलाई उनी आफ्नो ठूलो उपलब्धि मान्छन् ।

सर्प उद्धारको काम ‘९ देखि ५’ को जागिर होइन । उनीकहाँ कहिले बिहानीपख त कहिले आधा रातमा फोन आउँछ । बर्खायाममा त झन् दिनको पाँच–छ पटकसम्म उद्धारका लागि बोलाउने गरिन्छ । सर्पले ओछ्यानमा सुतिरहेका मानिसहरूका छेउमा पुगेको, खोरमा पालेका गाईबस्तुका बीच पुगेको, बालबालिकाले खेल्ने ठाउँमा देखिएको— यस्ता थुप्रै घटनामा रमेशले उद्धारका काम गरेका छन् ।

सर्प समात्ने काममा खतरा पनि उत्तिकै छ । ‘कहिलेकाहीँ उद्धार गर्दा कोब्रा उफ्रेर अनुहारसम्म आउँछ, कहिले करेत सर्प चुपचाप झोलाभित्र पसेको हुन्छ । एकपटक त सुतिरहेको सर्पलाई समात्न जाँदा उसले एक्कासी टोक्न खोज्यो’, उनी सम्झन्छन्, ‘त्यो क्षण मैले आफूलाई बचाउन सकेँ, तर यस्तो जोखिम त हरेक पलमा हुन्छ ।’

सुरुका दिनमा रमेशको परिवार चिन्तित हुन्थे । ‘किन यस्तो खतरनाक काम गर्छस् ?’, ‘अरू काम गर, पैसा कमा,’ भन्ने सल्लाह बारम्बार आइरहन्थ्यो । तर रमेशले आफ्नो उद्देश्य प्रष्ट्याउँदै जाँदा अहिले उनीहरू नै गर्व गर्छन् । छरछिमेकमा पनि उनलाई ‘सर्प डाक्टर’ भनेर चिनिन्छ । रमेश भन्छन्, ‘म पैसा कमाउँदिन, तर जनमानसको विश्वास र सम्मान कमाएको छु । यही मेरो वास्तविक सम्पत्ति हो ।’

रमेशको यो कामलाई कतिले पेशा ठान्छन् । कतिले सोख । तर रमेशका लागि यो न त सोख मात्र हो, न पेशा । यो जीवनको अभियान हो । ‘मलाई कुनै संस्था वा सरकारबाट तलब आएको छैन’, उनी भन्छन्, ‘म स्वयंसेवक हुँ, सर्प र मानिसबीचको सन्तुलन बचाउने यो मेरो धर्म हो ।’

उनले भविष्यमा सर्प उद्धारलाई अझ व्यवस्थित बनाउने लक्ष्य लिएका छन् । कुनै दिन सर्प उद्धार, रेस्क्यु तथा शिक्षा केन्द्र स्थापना गर्ने सपना पनि राखेका छन् ।

‘हामीसँग एउटा सानो टिम छ’, उनी भन्छन्, ‘तर ठूला योजनाको लागि सरकारी वा निजी क्षेत्रको साथ आवश्यक छ ।’

रमेशको सन्देश स्पष्ट छ– सर्प मारेर होइन, बुझेर मात्र हामी सुरक्षित रहन सक्छौं ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : ०६ बजे

प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ

बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

बागमती– बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र

नदी कटान नियन्त्रण गर्न ग्याबिन पर्खाल

तनहुँ – व्यास नगरपालिकास्थित शिसाखोला–बुल्दीखोला, छबिसेदेखि घाँसीकुवासम्म नदीले कटान हुने

बालेनलाई लक्षित गर्दै सुनिताले भनिन् : आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो नरोजौँ

काठमाडौं– ‘डुङ्गा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाँच्ने

लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।