झरना राई आमसञ्चारमा चिनिएको नाम हो । न्युजरुम, टीभी स्क्रीन, रिपोर्टिङदेखि उत्पादनसम्म उनको दख्खल थियो । मिडियामा जमेकी झरना एकाएक अमेरिकी सैनिकको कम्ब्याक्टमा देखा परिन । सामाजिक सञ्जालमा बधाई र शुभकामना दिनेको ओइरो लाग्यो । कलम छोडेर उनी राईफल समाउन कसरी पुगिन ? यो उनको रहर हो कि बाध्यता ? झरनाको जीवनयात्रा उनकै शैलीमा ।

शिक्षा
समता शिक्षा निकेतनमा कक्षा १ देखि एसएलसीसम्म पढेँ । त्यहाँ अक्सफोर्ड युनिभर्सिटीको पाठ्यक्रममा पढाइ हुन्छ । हाम्रो परिवार त्यतिबेला आर्थिक रूपले त्यति सक्षम थिएन । सही समयमा उक्त स्कुल स्थापना भयो । जोसँग पढ्नको लागि पैसा थिएन, उनीहरूको लागि उत्तम स्कुल हो– समता । किताबकापी पढाइ सबै नि:शुल्क थियो ।
निकै क्षमतावान शिक्षकहरू हुनुहुन्थ्यो । विदेशीहरू स्वयंसेवकको रुपमा आएर पढाउनुहुन्थ्यो । ए ग्रेडको शिक्षा थियो । गोल्डेनगेटबाट पत्रकारितामा स्नातक गरे ।
पत्रकारिता यात्रा
स्नातक तहको पहिलो वर्ष इन्र्टनसीप गर्नुपर्ने थियो । पत्रकारिता पढाउने कलेजकै सरहरु पनि मिडिया क्षेत्रकै हुनुहुन्थ्यो । उहाँहरूले नै हिमालय टीभीमा भ्याकेन्सी खुलेको छ । त्यहाँ एप्लाई गर्न भन्नुभयो । कक्षाका सबैले एप्लाई गरेका थियौ । इन्टर्नको लागि टिभीले बोलायो ।

दुई महिना अभ्यास गराइसकेपछि अनस्क्रिन टेष्ट भयो । त्यसमा जम्मा दुई जना छनौट भयौँ । म र श्री पाण्डे । पाण्डे जो केही समय अगाडीसम्म कान्तिपुरमा थिइन् । उनी सेलिब्रेटी न्यूज एङ्कर रुपमा आफूलाई स्थापित गर्न सफल छिन् । हाल उनी विभिन्न कम्पनीको ब्राण्ड एम्बेस्डरसमेत रहेर काम गरेकी छिन् ।
त्यहाँबाट टेलिभिजन यात्रा सुरु भयो । समाचारमा दुई वर्ष काम गरेपछि प्रोडक्सनमा रुचि बढ्दै गयो । टिभीमा समाचारबाहेक पनि समाचारलाई पूर्ण बनाउन भिडियोदेखि सम्पादन सबै काम हुन्छ । चलचित्र पत्रकारिताको उत्पादनमा विशेष रुचि बढ्दै गयो । अनस्क्रिन भन्दा पनि ब्याकस्टेजमा बसेर काम गर्न मन लाग्यो । यो सबै कार्यक्रम कसरी बन्छ ? कसरी बनाउन सकिन्छ भन्ने भयो ।
समाचार बुलेटिन पढेर सकेपछि प्रोडक्सनमा गएर काम सिक्न थालेँ । प्राय समाचार रातसम्म पार्नुपथ्र्यो । प्रोडक्सन दिउँसो भन्दा राति खाली पनि हुने । त्यसकारण सिक्न सजिलो भयो ।
त्यहाँ सिनियरहरूले झर्को नमानी सिकाइदिनुहुन्थ्यो । उहाँहरूलाई डमी बनाइदिनु भन्थेँ र आफैँ पनि प्राक्टिस गर्थेँ । प्रोफाइल प्रोजेक्ट बनाएर गर्थे । प्रोडक्सनमा पनि मैले काम गरेको अफिसमा नोटिस हुन थालेछ । न्युज र प्रोडक्सनको स्टुडियो एकै हो । त्यसपछि प्रोडक्सनमा पनि सहायकमा ठाउँ पाए ।

टिभीबाट ‘रोडिज’ कार्यक्रम प्रसारण हुन्थ्यो । अमनप्रताप अधिकारी जो उक्त कार्यक्रमको निर्देशक हुनुहुन्थ्यो । अर्को ‘भ्वाइस अफ नेपाल’ मा पनि काम गर्ने अवसर पाएँ ।
नारायण पुरी र लक्ष्मण पौडेल सरहरुसँग काम गरेँ । उहाँहरूको भ्वाइस चलिरहेको बेलामा अन्तर्वार्ताको लागि आउनुभएको थियो । मैले छुट्टै सामाजिक सञ्जालको लागि कन्टेन्ट तयार गरेको थिएँ । त्यो देखेर उहाँहरुलाई यसले गर्न सक्छ भन्ने भयो । प्रोडक्सनको आइडिया रहेछ भन्ने भएपछि कामको अफर गर्नुभयो । त्यसपछि भ्वाइसमा सहायक प्रोडक्सनमा काम गर्न पाएँ । मिडियामा करिब ८ वर्ष काम गरेँ ।

अमेरिका यात्रा
डिभी परेर अमेरिका प्रवेश गरेँ । दाइ पहिले नै अमेरिका हुनुहुन्थ्यो । नेपालमा बैनीको लागि सबै राम्रो छ । उसको कामको पहिचान छ । इज्जतको काम छ । मिडिया क्षेत्र राम्रो पनि छ । आफ्नो व्यक्तित्व विकास पनि सन्तोषजनक नै छ । तर एक वर्ष बैनीले विदेशको जीवन बुझिदिए हुन्थ्यो भन्ने थियो ।

नेपालमा परिवारसँग बसेर काम गर्नु र विदेशमा एक्लै बसेर हरेक संघर्ष गर्नुबीचको फरक थाहा हुनुपर्छ भन्ने रहेछ । दाइ आफैँले डिभी भर्दिनुभएको रहेछ । डिभीको फर्म भर्दा फोटो पठाउन भन्नुभयो । मलाई जाँगर थिएन तर दाइको मन राख्न आफैँलाई फोटो सप आउने, बनाएर पठाएँ ।
अर्को वर्ष डिभीको रिजल्ट आयो । मलाई पर्ने नपर्ने केही चासो थिएन । राती २ बजे दाइले फोन गरेर डिभी परेको सुनाउनुभयो । धेरै खुसी पनि भइनँ तर दुख हुनुपर्ने पनि केही थिएन । डिभी पनि भाग्यले पर्ने हो । परिहाल्यो, एकपटक अमेरिका जान्छु भन्ने भयो । २०२४ को फेब्रुअरीमा अमेरिका पुगेँ ।
पारिवारिक पृष्ठभूमिले फौजीमा तान्यो
मिडिया छोडेर अर्कोमा काम गर्न परे आर्मी अथवा प्रहरी सेवामा जान्छु भन्ने पहिलेदेखिको योजना थियो । मेरो परिवार र नजिकका साथी विन्दु शर्मा र श्री पाण्डेलाई आफ्नो योजना सुनाएको थिएँ ।
मेरो परिवारमा हजुरबुवा इन्डियन आर्मीमा हुनुहुन्थ्यो । हाल उहाँको देहान्त भइसकेको छ । तर मेरो बुवालाई यो क्षेत्रमा रुचि थिएन । सानो छँदा अरु साथीले डाक्टर, पाइलट भन्थे । तर मैले सानैदेखि पुलिस बन्ने भन्थेँ । घरमा त्यही वातावरण थियो । त्यसको प्रभाव मलाई परेको हुन सक्छ ।

मनमा आर्मी बन्ने इच्छा भएपनि मिडियामा रमाएकै थिएँ । तर आफ्नो रुचि भएको सबै क्षेत्रमा काम गर्न सम्भव नहुने रहेछ । अमेरिका आएपछि ग्रिनकार्ड हुनेले मिलिटरी प्रवेश गर्न मिल्छ । नेपालबाट अमेरिका जाँदै गर्दा मैले अब अर्को करिअर सुरु गर्छु भन्ने मनसाय लिएरै आएँ । एकै वर्षमा ग्रिनकार्ड बन्यो र मिलिटरी प्रवेश गरेँ ।
मिडियामा पनि केही समय काम गरेँ । जति गरे खुसी भएर गरेँ । मिडियाबाट मलाई चाहिने खुसी अथवा सन्तुष्टि मिल्ने गरी नै गरेँ । अब समय हुँदा अर्को लक्ष्य पनि पुरा गर्छु । जति सक्छु गर्छु रिटार्यडमेन्टसम्म सके त्यति नै गर्छु । अथवा निरन्तरता दिने नदिने आफ्नै हातको कुरा भयो । जति सक्छु गर्छु । तर मन परेको काम उमेर हुँदै गर्छु भन्ने अठोट लिएँ । अहिले साेचेको जस्तो सबै भएको छ । दाइको इच्छा पनि पूरा भएको छ ।

अन्य देशको तुलनामा अमेरिकामा आर्मी हुन सजिलो छ भन्ने धेरैलाई लाग्छ । तर सोचे जति सजिलो छैन । अरुले गरेको देख्दा सजिलै लाग्छ । तर भित्र छिरेपछि यहाँको तालिम कठिन हुन्छ । यहाँको भित्री कुराहरू भन्न मिल्दैन तर अमेरिकन आर्मी हुन सजिलो छैन । फिटनेसको सवालमा वा अन्य तालिमको कुरामा अमेरिकन आर्मी हरेक कुरामा सक्षम र बलियो मानिन्छन् ।
अण्डरग्राउण्ड आइसोलेट बस्नुपर्छ । परिवार तथा बाहिरी दुनियाँ सबैसँग सम्पर्कविहीन भएर बस्नुपर्छ । हप्तामा एकपटक १० मिनेटदेखि एक घण्टा फोनमा परिवार आफन्तसँग बोल्न दिइन्छ । शारीरिक र मानसिक सबैको तालिम हुन्छ । मलाई तालिमको बीचमा पुगेर निकै गाह्रो भयो । नसक्ने पो हो कि भन्नेमा पनि पुगे । अरुको देशमा नेपाली निकै कम हुन्छन् । अर्को भेटे पनि बोल्न पाइँदैन । धेरै देशको मान्छेहरूसँग बाँडिएर बस्नुपर्छ ।
त्यतिबेला आफूलाई मानसिक रुपमा बलियो बनाउनुपर्छ । आफैँले आफैँलाई कन्भिन्स गर्नुपर्छ । तुलना गर्दा अन्य देशका साथीहरू हामी नेपाली भन्दा अग्ला र बलिया हुने । दौडमा छिटो हुने । अनि यस्तो बेला हामी पछाडि परिन्छ कि भन्ने त्रास हुने रहेछ ।

एक महिनाको तालिमपछि शरीर नै परिवर्तन भइसकेको हुन्छ । गर्न सक्दिनँ भन्ने लागेको काम गर्न सक्ने भइन्छ । थाहै नपाइ परिवर्तन भइन्छ, त्यसरी तालिम गराइन्छ ।
उमेरहद ४२ वर्ष सम्मकोले आर्मी हुन पाउँछ । पहिले ४० वर्ष थियो । अहिले दुई वर्ष बढाएको छ । तर शारीरिक तथा मानसिक रुपमा स्वच्छ र फिट हुनुपर्छ । आर्मी हुनको लागि बनाएको आवश्यक शारीरिक र शैक्षिक योग्यता पूरा गरेको हुनुपर्छ ।
यहाँ प्राय सबै अग्लो हुने भएकाले उचाइको त्यति मतलब हुँदैन । नेपालमा आर्मी बन्नको लागि हाइटलाई जति प्राथमिकतामा राखिन्छ, यहाँ छैन । साढे चार फिटको मान्छे पनि आर्मी हुन्छ ।

हातहतियार विभाग
मलाई आर्मीभित्र पनि थरीथरीको विभाग हुन्छ भन्ने थाहा थिएन । अमेरिकामा सयभन्दा माथि आर्मीका छुट्टाछुट्टै काम हुने रहेछन् । मेडिकलमै सिजरदेखि डेण्टलसम्म । मेकानिक, एभियसन लगायत छन् । म युनिट सप्लाईमा छु । पुरा बिग्रेटलाई चाहिने हातहतियार, सामान, गाडी सुविधाको प्रशासन, सप्लाई हेर्नुपर्छ । काम छान्न पाइन्छ । तर लिखित परीक्षा पास भएपछि त्यसको नम्बरले कुन काम भन्ने निर्धारण हुन्छ । लिखितमा राम्रो अंक ल्यायो भने राम्रो अवसर प्राप्त गर्न सकिन्छ ।
फ्रन्टलाइनमा उभिएर युद्धमा जानु पर्दैन । तर आवश्यक परेमा जानुपर्छ । त्यसको लागि हामीलाई तालिम दिएर तयार गरिएको हुन्छ । यहाँभित्र पनि मिडिया नै गर्छु भन्ने थियो । तर त्यसको लागि अमेरिकी नागरिक नै हुनुपर्ने रहेछ ।
नेपालबाट आएका धेरै आर्मीमा जान्छन् । कतिपय इच्छा नहुँदा पनि जान्छन् । किनभने आर्मीमा आकर्षक सेवासुविधा रहेको छ । सामान्य अरु नागरिकको भन्दा आर्मीको सेवासुविधा बढी छ । जीवनभरको लागि सेवासुविधा छ ।
यहाँ न्यूनतम ३ वर्ष देखि माथि ६ वर्ष वा त्यो भन्दा माथि कन्ट्रयाक्टमा काम गर्ने हो । कतिवर्ष गर्ने भन्ने कुरा व्यक्तिको इच्छा हो ।
वर्षमा एक महिना ‘पेड लिभ’ हुन्छ । हप्तामा दुई दिन बिदा हुन्छ । त्योबाहेक अमेरिकाको राष्ट्रिय बिदामा सबै बिदा पाइन्छ । आवश्यक परेको खण्डमा एक हप्ता थप बिदा लिन पाइन्छ ।

डिउटी समय कामको प्रकृति हेरेर हुन्छ । म अहिले ९–५ काम गर्छु । काम सकियो भने २ बजे निस्कन पनि मिल्छ । कसैको २४ सै घण्टा खटिनुपर्ने प्रकृतिको पनि हुन्छ । म विवाहित पनि हुँ । श्रीमान् सँगै हुनुहुन्छ । परिवारलाई पनि समय दिनुपर्ने भएकाले यो प्रकृतिको जब छानेको हुँ । मेरो श्रीमान् फरक क्षेत्रमा काम गर्नुहुन्छ ।
तालिमको क्रममा नेपाली एकजना भेटेँ । अहिले यहाँ गणमा १५ जना हुनुहुन्छ । अमेरिकनहरुले पनि नेपालीहरूलाई गोर्खाली भनेर चिन्ने रहेछन् । गोर्खाली वा सगरमाथा भएको देशको भनेर चिन्ने रहेछन् । नेपाली आर्मी धेरै राम्रो छ भन्ने उनीहरूलाई थाहा छ । नेपालीहरू मिजासिलो, सबैसँग मित्रवत् व्यवहार गर्ने भनेर चर्चा हुने रहेछ । यहाँको मान्छे व्यक्तिगत हुन्छन् । अरुसँग घुलमिल हुँदैनन् । विदेशीले आफू पहिले भन्ने सोच्छन् । तर नेपालीहरू अरु पहिलो अनि आफू भनेर सोच्छन् । यसकारण पनि नेपाली मन पराइन्छन् ।
पाँचदेखि सात किलोसम्मको हातहतियार हुन्छ । बोक्दाखेरि सुरुमा हात धेरै दुख्छ । तालिमपछि ती हतियार हल्का हुँदै जान्छन् । ३०० मिटरसम्मको बन्दुक हान्ने तालिम पास गर्नुपर्छ । बन्दुक बोकेर दौडने, सुतेर हान्ने, अट्याक भइराछ भने त्यो बेला हान्नुपर्छ । चार सेकेण्डमा ढालिसक्नुपर्छ । पास नहुँदासम्म गर्नुपर्छ ।
पहिलेदेखि रुचि भएर होला बन्दुक समाउँदा डर लागेन । कुनैपनि हतियार समाउँदा मलाई डर लागेन । बरु खुसी लागेर ओ हो ! भन्ने भयो । हिमाल चढ्नेहरु खुसी हुन्छन् नि हिमालको चुचुरोमा पुगेपछि हो, त्यस्तै हतियार समाउँदा मलाई त्यस्तै खुसी लाग्यो । तालिममा धेरैको हात काम्ने, नर्भस एन्जाइटी पनि हुँदोरहेछ ।
पेन्सनको लागि भने २० वर्ष सेवा गर्नुपर्छ । अमेरिकन आर्मीमा केही जानकारी राखेर आउँदा राम्रो हुन्छ । बाहिर सुनेर मात्रै आउँदा आर्मीको तालिम त्यसपछिको आर्मी जीवनशैलीमा फिट हुन सक्छु , सक्दिनँ निर्क्यौल गर्नुपर्छ ।
प्रतिक्रिया