चुरेमा हात्तीको बथान, बस्तीमा त्रास « Khabarhub

चुरेमा हात्तीको बथान, बस्तीमा त्रास


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ । भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ ।

यस वर्ष हात्तीको बथान अरू वर्षको तुलनामा चाँडै चुरे क्षेत्रमा पुगेको छ । हात्तीको बथान बस्ती नजिकैका वन क्षेत्रमा दैनिक देखा पर्न थालेपछि सामुदायिक वनमा उपभोक्तालाई नजानका लागि सचेत गराउने कार्य भइरहेको छ । 

हात्ती रहेको क्षेत्रमा घाँस, दाउरा, सोतरका लागि पुग्ने उपभोक्तालाई जानबाट रोक्ने कार्य भइरहेको वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले बताए। उनका अनुसार वन क्षेत्रमा जान पूर्ण रूपमा निषेध गरिएको छ । 

‘हात्तीको बथान सामुदायिक वनको कार्यालय नजिकैको बाँसघारीमा दैनिकजसो बाँसका टुसा खानका लागि पुग्ने गरेका छन्’, उनले भने, ‘उपभोक्तालाई वन क्षेत्रमा नजानका लागि आग्रह गर्दै आएका छौँ ।’

मानवीय क्षति हुन नदिनका लागि उपभोक्तालाई सचेत पार्ने कार्य भइरहेको उनले बताए। बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा हात्तीको गतिविधि दैनिक नियाल्दै आएको बताउँछन्। 

‘मानव बस्तीमा हात्ती छिर्न सक्ने प्रबल सम्भावना हुन्छ,’ उनले भने, ‘हात्ती धपाउनका लागि स्थानीय बासिन्दा जाँदा मानवीय क्षति पनि हुन सक्छ, त्यसलाई रोक्न हात्ती कुन ठाउँमा पुगेका छन् भनेर चियोचर्चो गर्ने कार्य गरिँदै आएको छ ।’

वन क्षेत्र भएर धारापानी, पिलरीफाँटा जाने स्थानीय बासिन्दालाई साँझबिहान जानका लागि रोक्ने कार्य गरिँदै आएको उनले बताए। दिउँसो वन क्षेत्र भएर जानेलाई पनि सतर्कता अपनाएर जानका लागि सल्लाह दिने गरेको उनले बताए। कम्तीमा १० देखि १५ को सङ्ख्यामा हात्तीको बथान चुरे क्षेत्रमा रहेको छ । विगत तीन वर्षदेखि हात्तीको बथानले बस्तीमा छिरेर मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएको छ ।

किसानले धान नभित्र्याउँदासम्म हात्तीको बथान चुरे क्षेत्रका वनमा रहने गर्दछ । वर्षात् कम हुँदै गएपछि चुरे क्षेत्रबाट तलका बस्तीमा पुगेर धान, उखु, केरालगायतका बालीमा नोक्सानी पुर्‍याउने गर्दछ । हात्तीकै कारण विशेषगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले बालीनालीमा बढी क्षति बेहोर्दै आएका छन् ।

हात्तीलाई रोक्नका लागि मध्यवर्ती क्षेत्रका केही ठाउँमा ‘मेसवायर’ जडान गरिएको भए पनि हात्तीले त्यसलाई भत्काएर खानाको खोजीमा बस्तीमा प्रवेश गर्दै आएको छ । नगरपालिकाको वडा नं ७ का बासिन्दा दानसिंह कुवँर मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सिमलफाँटा क्षेत्रमा जडान गरिएको मेसवायरमा हात्ती नियन्त्रण गर्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय करेन्ट छाड्ने व्यवस्था गरिदिनका लागि माग गर्दै आएको बताउँछन्।

‘करेन्ट प्रवाह भएको मेसवायर हात्तीले भत्काउँदैन’, उनले भने, ‘हात्ती बस्तीमा प्रवेश गर्न पाउँदैन, प्रवेश नगरे बालीनाली र जीउज्यान जोगाउन सकिन्छ ।’

हात्तीकै कारण खेतबारी लगाएको अन्न भित्र्याउन नपाइने गरेका कारण सिमलफाँटाका अधिकांश बासिन्दा रोजीरोटीका लागि भारततर्फ लाग्ने गरेको उनको भनाइ छ ।
 
हात्ती नियन्त्रणका लागि वडादेखि नगरसम्म ध्यानाकर्षण गर्दै आए पनि सुनुवाइ हुन नसकेको गुनासो उनले गरे  । हात्तीको बथान धानबाली किसानले भित्र्याई सकेपछि मात्रै दुधुवा नेसनल पार्कतर्फ लाग्ने गर्दछ । त्यसपछि  गहुँबाली खेतमा हरियो हुन थालेपछी पुनः यी क्षेत्रमा फर्कने गर्दछ । 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : २९ बजे

गम्भीर विवादमा प्रधानमन्त्री, आलोचना र विरोध चर्किँदा रास्वपा नेताहरू ‘तैँ चुप मै चुप’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सिमाना पनि मिचेको भनेर

संयोजक दाहालको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इटहरीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धरान– कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण

संसद्‍मा पहिलो सम्बोधनबाटै गम्भीर विवादमा बालेन, विपक्षी र विज्ञले भने : कि क्षमा माग कि राजीनामा देऊ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा

वालेन्द्रको भनाइबारे नारायणकाजीको टिप्पणी : संसद्‍मै उभिएर माफी मागून्

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको