काठमाडौँ- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले आफ्नो ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा राजेन्द्रध्वज जोशी, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ र मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा उपेन्द्र कोइरालालगायत सहभागी भएका थिए ।
कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञहरूले नेपालको शैक्षिक अवस्था, शिक्षाको गुणस्तर र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको बढ्दो प्रवृत्तिबारे धारणा राखेका थिए । उनीहरूले विद्यार्थी पलायन रोक्न स्वदेशमै गुणस्तरीय र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
यसका लागि हिसानले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ थियो । हिसानका अध्यक्ष युवराज शर्माले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रको विकासमा संस्थाले योगदान गर्दै आएको बताए । उनले यस क्षेत्रमा संस्थाका गतिविधिलाई निरन्तरता दिइने जानकारी दिए ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा जोशीले शिक्षा क्षेत्रमा हिसानले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए। उनले संस्थाले आफ्नो योगदानलाई थप विस्तार गर्दै लैजानुपर्ने धारणा राखे । स्थापना दिवसकै अवसरमा हिसानले आज बिहान काठमाडौँमा म्याराथन दौडसमेत आयोजना गरेको थियो।

















प्रतिक्रिया