कान्ति बाल अस्पतालसँग एक करोड क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा उजुरी | Khabarhub Khabarhub

कान्ति बाल अस्पतालसँग एक करोड क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा उजुरी


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपभोक्ता अदालतले काठमाडौं उपत्यकाका तीन ठूला अस्पताललाई करोडौं क्षतिपूर्ति तिराउने फैसला गरेपछि नेपाल चिकित्सक संघको आह्वानमा देशभरिका चिकित्सकहरू आन्दोलमा उत्रिए ।

उपभोक्ता संरक्षण ऐन २०७७ संशोधन गर्ने सहमति सरकारसँग भएपछि आन्दोलन त रोकियो । तर उचारमा लापरबाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै न्यायका लागि उपभोक्ता अदालत गुहारेका दुई पीडित परिवार अझै न्यायको पर्खाइमा छन् ।

पीडित पक्षले उपभोक्ता अदालतमा दायर गरेका दुई वटा मुद्दा विचाराधीन छन् । उपचारमा लापरबाहीका कारण श्रीमती मनिताको मृत्यु भएको भन्दै श्रीमान् सुवास पराजुलीले काठमाडौंको एभरेष्ट अस्पताल र केएमसी अस्ताल तथा डा. ज्योत्सना शर्मा तिवारीविरुद्ध मुद्दा दायर गरेका छन् ।

सुरुदेखि नै डा. शर्माको निगरानीमा रहेकी मनिताले शर्माकै निगरानीमा एभरेष्ट अस्पतालमा स्वस्थ शिशुलाई जन्म दिएकी थिइन् । बच्चा जन्माएको पछिल्लो दिन स्वास्थ्यमा समस्या देखिएपछि एभरेष्टबाट ह्याम्स अस्पताल रेफर गरिएकी मनिताको उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै कान्ति बाल अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण छोरी दिव्याङ्का उपाध्यायको मृत्यु भएको दाबी गर्दै आमा यशोदा बस्नेतले डा. आशिष श्रेष्ठ र डा. सुमन अधिकारीलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी छन् ।

पीडितले दायर गरेको फिराद–पत्रअनुसार दिव्याङ्का अढाई वर्षमा नै दोहोरो कुरा गर्न सक्ने उनको परिवारकै एक मात्रै सन्तान र भविष्यको आधार थिइन् । यो उमेरसम्म उनलाई कुनै किसिमको रोग थिएन । तर एकैछिनको बिरामी र उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण छोरी गुमाउँदा चित्त बुझाउने विकल्प छैन । त्यसैमाथि यशोदा पाठेघरसम्बन्धी रोग ‘सिस्ट’ को बिरामी भएको हुँदा पुनः गर्भधारण हुने सम्भावना एकदमै कम छ ।

विपक्षीहरूको लापरबाहीपूर्ण व्यवहारले आफ्नो परिवारको आर्थिक, भौतिक, सामाजिक तथा मानसिक क्षति भएको हुँदा सम्मानित अदालत समक्ष फिराद दिन बाध्य भएको भन्दै एक करोड १० लाख २५ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको ।

घटना के हो ?

झापाको बिर्तामोड नगरपालिका– १ स्थायी घर भई हाल ललितपूर–१५ खुमलटार बस्दै आएका बुवा दिवाकरप्रसाद उपाध्याय र आमा यशोदा बस्नेतकी छोरी दिव्याङ्काको उपचारका क्रममा गत जेठ ११ गते कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो ।

पीडित पक्षले अदालतमा पेश गरेको फिराद–पत्रमा उल्लेख भएअनुसार गत जेठ ९ गते दिउँसो ४ बजे अत्यधिक पेट दुखेर अस्पताल ल्याइएकी बालिकालाई इमर्जेन्सीमा कार्यरत चिकित्सक तथा नर्सहरूले सामान्य चेकजाँचपछि ‘ब्लडर’ मा पानीको फोका देखिएको भन्दै भिडिओ एक्सरे, पिसाब, तथा रगत जाँच गर्न लगाएका थिए ।

सबै जाँचको रिपोर्ट सामान्य आएकाले केही औषधि खान दिएर राति ९ः३० बजेतिर सर्जिकल वार्डमा पठाइएको थियो । त्यसबेलासम्म बालिकाको अवस्था सामान्य रहेकोमा त्यसको भोलिपल्ट जेठ १० गते बिहान ३ बजे छोरीलाई ज्वरो आएपछि डाक्टरले औषधि खान दिए । पुनः रगत, पिसाब जाँच तथा भिडिओ एक्सरे गर्न लगाएर रिपोर्ट सामान्य आएको जानकारी गराए ।

सोही दिन १२ बजे छोरीको एक्कासी पेट फुल्न थाल्यो । के भएको भनेर सोद्धा स्पष्ट जानकारी नदिएको पीडितको आरोप छ । केही समयपछि छोरीले लगातार रुपमा बान्ता गर्नुका साथै हरियो र रगत मिसिएको दिसा गरिन् । पीडितका अनुसार शरीर चिसो भए पनि ज्वरो नाप्दा १०३–१०४ डिग्रीसम्म देखाइरहेको थियो । बच्चाको यस्तो संवेदनशील अवस्थामा पनि बच्चालाई यस्तै हुन्छ, यो सामान्य हो भन्दै डाक्टरले टारे ।

फिराद–पत्रको व्योहोराअनुसार सोही दिन राति ९ बजेपछि पुनः एक्सरे गरेर बच्चाको थप उपचारको लागि नाकबाट पाइप समेत राख्नुपर्ने हुनसक्छ भनेर इञ्चीटेपले पेट नापेर नाकबाट पाइप छिराएर पेटमा भएको फोहोर निकाल्नुपर्छ भनियो । उक्त समयमा बच्चाले पानी माग्दा पनि खान नदिई चरम ‘मेडिकल नेग्लिजेन्सी’ अर्थात् चिकित्सकीय लापरबाही गरेको प्रष्ट हुन्छ ।

यसैबीच जेठ ११ गते आइतबार ९–१० बजेतिर थप उपचारका लागि भनेर लगियो । यस बेलासम्म पनि छोरीको स्वास्थ्य अवस्था सामान्य नै छ भन्ने जानकारी उपचारमा संलग्न चिकित्सकहरुले दिइरहेका थिए । त्यसको केही समयपछि डा. अधिकारीसहितको टोली उपचारका लागि आयो र बच्चाको बारेमा सोद्धा यो मेरो ‘फेकल्टी’ होइन पछि जानकारी पाउनुहुन्छ भन्दै सत्य कुरा लुकाइयो ।

‘सोही दिन १२ बजेतिर बच्चालाई निमोनिया भएको र फोक्सोमा पानी जमेको छ भन्ने सूचना आयो । यसरी लगातार शुक्रबार, शनिबार पटक पटक सबै जाँचहरू गर्दागर्दै पनि पछि एक्कासी फोक्सोमा पानी जमेको छ भन्नुले विपक्षीबाट उपचारमा लापरबाही भएको कुरा प्रष्ट देख्न सकिन्छ ।’ फिराद–पत्रमा उल्लेख छ ।

त्यस्तै सोही दिन शनिबार राति १०ः३० बजे चिकित्सकहरूले फेरि भिडिओ एक्सरे गर्नुपर्ने बताए । अस्पतालमा शनिबार उक्त सेवा नहुने भएकाले बाहिर कतै लगेर एक्सरे गर्नु भनेर कुनै अस्पताललाई रेफर नै नगरी डाक्टरको प्रेसकिप्सन बिनै बाहिर पठाइयो ।

‘रातिको समयमा कतै पनि भिडिओ एक्सरे गर्ने ठाउँ नभेटिए फर्कियौं पछि अस्पतालले भिडिओ एक्सरे गर्नुपर्ने बिरामीको सामान्य एक्सरे मात्रै गर्‍यो । यहीँबाट पनि अस्पताल तथा चिकित्सकहरूले आफूलाई मनलाग्दो किसिमले स्वास्थ्य उपकरण चलाई लापरबाही गरेको तथ्य प्रष्ट हुन्छ ।’ फिराद–पत्रमा भनिएको छ ।

उपचार सुरु गरेको तीन दिन पछि आइतबार करिब ११ बजे डा. सुमन अधिकारीको ग्रुप आई सम्पूर्ण चेकजाँचसहित फेरि भिडिओ एक्सरे गर्न लगाइएको र यसबेला बच्चाको अवस्थाबारे बुझ्दा डा. सुमनले बच्चाको रगतमा र छातीमा केही समस्या छ । यो मेरो ‘फेकल्टी’ होइन अर्को डाक्टरले हेर्नुहुन्छ भन्दै रेफर गरियो । यस्तो संवेदनशील अवस्थामा बच्चालाई रेफर गरेको र डाक्टर तीन बजेमात्रै आइपुगेको पीडितले बताएका छन् ।

पीडितका अनुसार डाक्टर आएपछि ३ः४५ बजे मात्रै आइसियुमा लगिएको र केही स्वास्थ्य उपकरण र औषधि छिटो किनेर ल्याउन भनियो । डा. आशिष श्रेष्ठसहितको टोलीले बच्चालाई भेण्टिेलेटरमा लगिसकेको रहेछ । सोको बारेमा आभिभावकलाई जानकारी गराई अनुमति लिनुपर्नेमा आफूहरूलाई कुनै जानकारी नगराई त्यसको केही समय पछि ६ः३० बजेको समयमा बच्चाको मृत्यु भएको जानकारी गराएको पीडिटको भनाइ छ ।

यसरी अस्पताल जानुअघि तथा अस्पताल लगेको भोलिपल्टसम्म हाँस्ने खेल्ने बच्चा एकै दिनमा एचडीओबाट आईसीयू, आईसीयूबाट भेण्टिलेटरमा पुर्‍याई कसरी मृत्युवरण गर्न पुग्छ ? निमोनियाकै कारण एकै दिनमा बच्चाको कसरी मृत्युवरण हुन पुग्छ ? यी सम्पूर्ण उब्जिएका प्रश्नहरूले लापरबाही भएको प्रष्ट हुन्छ फिराद–पत्रमा भनिएको छ ।

बिग्रिएको मेसिनबाट उपचार

फिराद–पत्रमा उल्लेख भएअनुसार अस्पतालकै एकजना चिकित्सकले एजीबीको मेसिन बिग्रिएको पीडितसँग बताएका थिए । तर अस्पतालले यसरी बिग्रिएकै मेसिनबाट बच्चाको उपचार गराएर चरम लापरबाही गरेको छ ।

त्यस्तै अस्पतालले आफूहरूलाई दिएको रिपोर्टमा ४५ मिनेट सीपीआर गराइएको छ भनिएको छ । सोको बारे समेत जानकारी नगराएको पीडितले बताएका छन् । ‘मिति २०८२ जेठ ९ र १० गतेको ‘एक्स रे एण्ड क्लिनकल टेष्ट’ गरेर हेरे पछि दायित्व पूरा नगरेको कारणले हामीले हाम्रो छोरी गुमाउनु परेको अवस्था छ । विपक्षीहरूले उपलब्ध गराएको कागज हेर्दा पनि चिकित्सकीय लापरबाहीका कारणले हाम्री छोरी मारिएको अवस्था हो ।’ पीडितले भनेका छन् ।

‘संविधानको धारा ४४ (२) ले यस्तो प्रकृतिको लापरबाही उपर विपक्षीहरूबाट क्षतिपूर्ति पाउने मौलिक हक र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क), (ढ), र (थ) बमोजिमको अनुचित व्यवसायजनक कार्य गरेको हुँदा म फिरादीले क्षतिपूर्ति पाउने प्रष्ट भएकाले माग बमोजिम इन्साफ हुने प्रस्ट छ ।’ फिराद–पत्रमा भनिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ का दफा (४१) कोे (१) बमोजिम नेपाल राजपत्र २०८१–१० –२८ मा गठित उपभोक्ता अदालतको क्षेत्राधिकारभित्र पर्ने भएकाले यस विषयमा आफूले अन्यत्र फिराद नगरेको पीडितले बताएका छन् ।

के भन्छन् आरोपित चिकित्सक ?

कान्ति बाल अस्पतालका डा. सुमन अधिकारीले अस्पतालमा उपलब्ध प्रविधिको प्रयोगद्वारा उपचार गरिएको बताए ।
उनी भन्छन्– पीडितलाई केमा चित्त बुझेन त्यो हामीलाई थाहा भएन । यो–यो विषयमा त्रुटि भयो पनि उहाँले भन्नुभएको छैन र कोही डाक्टरले हेरेनन् पनि भन्नुभएको छैन । बच्चाको उपचार त ५–६ जना डाक्टरको टिमले गरेको हो । आफ्नो बच्चा गुमाउनुपर्दाको तनावले भावुक भएर मात्रै यस्तो गम्भीर आरोप लगाएको हो कि, के हो ? बुझ्न सकिएको छैन ।

बच्चालाई निमोनिया भएको कुरा लुकाइयो भन्ने पीडित पक्षले लगाएको आरोपको खण्डन गर्दै डा. अधिकारीले भन्छन्– निमोनिया भनेको कि त लक्षणका आधारमा थाहा पाउने हो, या त एक्सरे गर्दा देखिने हो । तर बिरामीलाई उपचारका लागि ल्याएको समयमा कुनै लक्षण पनि थिएन र रगतमा कुनै इन्फेक्सन थिएन भने श्वास–प्रश्वासमा पनि कुनै समस्या देखिएको थिएन ।

बच्चामा पहिलेदेखि नै सर्जिकल समस्या रहेको र लक्षण पनि पेट दुखाइको लिएर आएपछि त्यसतर्फको जाँचहरू गरिएको डा. अधिकारीले बताए । उनका अनुसार घटना हुनुभन्दा २–३ हप्ता अगाडि पनि बच्चालाई कान्तिको ओपीडीमा ल्याइएको थियो । कान्ति आउनुभन्दा पहिले बिरामीलाई पाटनको कुनै अर्को अस्पतालमा लगिएको थियो । त्यसपछि एभरेष्ट अस्पताल लगिएको थियो । एभरेष्टमा पनि कान्तिकै एकजना सर्जनले उपचार गराउने हुँदा हामी कान्तिमै आउँछौँ भनेर कान्तिमा आएर उपचार सुरु गरिएको हो ।

डा. अधिकारी भन्छन्– कान्तिमा आइसकेपछि एउटा सिटिस्क्यान गरियो । त्यसमा पेटभित्र पानीको फोका देखिएको र जसको उपचार शल्यक्रियाबाटै गर्ने भनेर इमर्जेन्सी नभएकाले समय दिएर पठाइएका थियोे । त्यसपछि बच्चाको पेट दुखेको समस्या लिएर आएपछि सर्जिकल समस्याकै कारण पेट दुखेको होला भनेर भर्ना गरेर औषधि दियौं । जसले गर्दा बच्चालाई दुखाइ कम भयो रातिको समयमा भिडिओ एक्सरे नहुने भएकाले भोलिपल्ट मात्रै भिडिओ एक्सरे गराइयो । रिपोर्टहरू सामान्य आयो । सर्जिकलसँग सम्बन्धित कुनै समस्या देखिएन ।

त्यसपछि एन्टीबायोटिक चलाएर बच्चालाई अस्पतालमै राखिएको थियो । आइतबार गरिएको जाँचमा सबै रिपोर्टहरू फरक आयो । बच्चालाई पेटको समस्यासँगै निमोनिया पनि देखिएको थियो । यसबारेमा मैले आफै उहाँहरूलाई जानकारी गराएको थिएँ ।

त्यसपछि विज्ञ पेडियाट्रिक कार्डियोलोजिष्टलाई पनि देखाएर उहाँकै सल्लाहमा एन्टीबायोटिक चलाइएको उनले बताए । त्यसपछि सोही दिनबाटै ज्वरो आउने बान्ता हुने समस्या देखिएको रहेछ । जसबारेमा मलाई जानकारी थिएन । भोलिपल्ट आइतबार ६ बजे मलाई ड्युटी डाक्टरले जानकारी गराएको हो । त्यसपछि नाकमा एउटा पाइप हालेर एचडीओमा सिफ्ट गर्न सल्लाह दिएँ ।

अधिकारी भन्छन्– मैले आफ्नो तर्फबाट गरेको र मलाई जानकारी भएको यत्ति नै हो । यसमा मेरो कहाँनेर गल्ती भयो ? उहाँहरूलाई के कुरामा चित्त बुझेन, त्यो थाहा भएन । मसँगै एकजना अर्को रेजिडेण्ट डाक्टरको नाम पनि यो मुद्दामा जोडिएको छ । आशा छ, अदालतले एकतर्फी मात्रै नहेरी हामीलाई पनि न्याय दिनेछ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : १४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका