शिक्षणका डाक्टरमाझ प्रधानमन्त्रीले भने- तीन हजार वर्षअघि नै चतरामा ऋषि सुश्रुतले सर्जरी गरेका थिए | Khabarhub Khabarhub

शिक्षणका डाक्टरमाझ प्रधानमन्त्रीले भने- तीन हजार वर्षअघि नै चतरामा ऋषि सुश्रुतले सर्जरी गरेका थिए


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय इतिहासका तथ्यले पुष्टि गर्न नसकेका कुरा सुनाउँदै हिँडिरहेका छन् ।

२३ असारमा नेकपा एमालेको पर्यटन विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भगवान् शिव चाम्लिङ थरका हुन सक्ने बताएका ओलीले ठ्याक्कै सातापछि अर्को अनौठो तर्क गरेका छन् ।

उनले २३ असारमा खोटाङस्थित हलेसी महादेवको मन्दिर रहेको स्थान क्षेत्र चाम्लिङहरूको उद्गम थलो भएको बताउँदै भगवान् शिव पनि चाम्लिङ थरका भएको हुन सक्ने सुनाएका थिए । ओलीले यो विषयमा आफूले किटानसहित दाबी नगरेको पनि त्यसबेला बताए ।

त्यसको ठ्याक्कै एक सातापछि उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटनका क्रममा सयौँ चिकित्सकमाझ भाषण दिँदै तीन हजार वर्षअघि सुनसरीको चतरामा ऋषि सुश्रुतले शल्यक्रिया (सर्जरी) अभ्यास थालेको नयाँ दाबी गरेका हुन् ।

योगादेखि चिकित्सकीय पद्धति नेपालमै उत्पति भएको बताउने गरेका ओलीले नेपालको चिकित्सा विज्ञानको इतिहास विश्वकै पुरानो रहेको दाबी गरेका हुन् ।

‘तीन हजार वर्षअघि अहिलेको सुनसरी जिल्लाको चतरामा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए, सफल शल्यक्रिया गरेका थिए,’ उनले दुईजना मन्त्री र सयौँ स्वास्थ्यकर्मीमाझ सुनाए, ‘खेल्ने क्रममा साथीको औँला चुँडिएपछि ऋषि सुश्रुतले सर्जरी गरेर जोडिदिएका थिए । यो नेपालमा सफल शल्यक्रियाको पुरानो उदाहरणका रुपमा छ ।’

ओलीले चतरामा अनुसार जनसंख्या थोरै हुँदा ऋषि सुश्रुत विस्तरमा सेवा दिन भारतको वाराणसी (बनारस) गएका बताए । ‘ऋषि सुश्रुत जहाँ रहे पनि मानव सेवामै जीवन समर्पण गरे,’ त्यसक्रममा पौराणिक समयको कुरा सुनाउँदे भने ।

प्रधानमन्त्री ओलीले २०७८ सालतिर पनि सुनसरीको चतरामा प्रस्तावित सप्तकोशी उच्च बाँधको सन्दर्भमा यस्तै दाबी गरेका थिए ।

‘ऋषि सुश्रुतको कार्यक्षेत्र चतरा थियो। त्यही ठाउँमा उहाँले शल्यक्रिया गरि आधुनिक चिकित्सा विज्ञानको आधार बनाएका थिए’, उनले त्यसबेला पनि भनेका थिए ।

प्रधानमन्त्री ओलीले पौराणिककालका कुरा जोडेर गरेको यो दाबी कुनै नौलो होइन । ओलीको दाबी ऐतिहासिक प्रमाणमा भन्दा सांस्कृतिक र पौराणिक व्याख्यामा आधारित छ ।

हिन्दु धार्मिक मान्यताअनुसार सुनसरीको चतरा र बराह क्षेत्र तपोभूमिका रुपमा परिचित छन् । यहाँ विभिन्न कालखण्डमा अनेक ऋषिमुनि बसेको विश्वास छ। ओलीले भनेझैँ ऋषि सुश्रुत र चतराबीच प्रत्यक्ष सम्बन्ध देखाउने ऐतिहासिक तथ्य भने पाइएको छैन ।

ओलीको सबैभन्दा चर्चित दाबी भने चितवनको ठोरीमा भगवान रामको जन्मलाई लिएर गरेको हो । ओलीले गरेको यो दाबीका कारण भारतसँगको सम्बन्धमै समस्या पनि आएको थियो । भारतले भगवान रामको जन्म अयोध्यामा भएको बताइरहेको छ ।

ओलीका अनौठा दाबीहरूमा चर्चित ऋषि पाणिनीको जन्म अर्घाखाँचीमा भएको पनि हो । उनले पृथ्वीको गुरुत्वाकर्षण भास्कराचार्यले पत्ता लगाएको अर्को दाबी पनि भाइरल भएको छ ।

ओलीले शिक्षण अस्पतालमा लामो सम्बोधन गर्दै पाणिणिबारे पनि व्याख्या गरे । ‘पाणिनीलाई चरकका सन्तान मानिन्छ। चरक अर्घाखाँची भएकाले पाणिनी पनि त्यहीँकै थिए’, उनले भने, ‘प्राचीन कालका वैज्ञानिक पनि ‘प्रोफेसर’ थिए । त्यस समयका ऋषि पनि शिक्षाविद्हरू जस्तै थिए ।’

सम्बोधनमा ओलीले चिकित्सा विज्ञानका जनक हिप्पोक्रेटस पनि २४ सय वर्षअघि जन्मिएको जिकिर गरे । ‘एलोपेथिक चिकित्सा विज्ञानका जनक मानिने हिप्पोक्रेटस करिब २४ सय वर्षअघि जन्मिएका थिए’, उनले भने, ‘नेपालमा त त्यसभन्दा ६ सय वर्षअघि नै सर्जरीको अभ्यास भइसकेको थियो ।’

ओलीले धार्मिक तथा सांस्कृतिक महत्वका विषयमा वर्णन गर्दै दिइरहने यस्ता भाषणहरू भाइरल हुने गरेका छन् । तर ओ‌लीले गरेका यस्ता भाषणहरूको तथ्यगत पुष्टि भएको भने भेटिँदैन।

को हुन् ऋषि सुश्रुत ?

ऋषि सुश्रुत प्राचीन भारतका प्रसिद्ध आयुर्वेदाचार्यमध्ये एक मानिन्छन्। उनलाई ‘शल्यचिकित्साको जनक’का रुपमा चिनाइन्छ । उनीद्वारा रचित ‘सुश्रुत संहिता’आयुर्वेद चिकित्सा विज्ञानको आधारभूत ग्रन्थमध्ये एकमा पर्छ ।

यो ग्रन्थमा नाडी परीक्षण, शल्यक्रिया, प्रसूति, हड्डीसम्बन्धी रोग, आँखाको उपचार, प्लास्टिक सर्जरी लगायतबारे विस्तृत चर्चा गरिएको छ ।

सुश्रुतको कालखण्ड ईशा पूर्व ८००–६०० (करिब २६००–२८०० वर्ष पहिले) को आसपास मानिने गरिन्छ ।

विद्वानहरूले ऋषि सुश्रुत प्राचीन काशी (आजको वाराणसी, भारत) आसपासमा बसोबास गर्ने बताउँछन् । ‘सुश्रुत संहिता’ को भाषा र सन्दर्भ पनि उत्तर भारतसँगै मिल्दोजुल्दो पाइन्छ । ऋषि सुश्रुत चतरामा पनि बसेका थिए भन्ने कुरा ओलीको दाबीले थप अनुसन्धानको विषय भने बन्न सक्छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ४४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका